मृत्यू छ र त जीवन यहाँ सन्त्रासमा छ

भयले कोरेका कम्पास रेखाहरु

गुरुत्वाकर्षण भन्दा बेग्लै कुद्छन

सुखद अनुभूति संगाल्न  भूगोल भरि यात्रामा निक्लेकाहरु

सतर्कता र होसियार साथ जीवनलाई चुमिरहेछ्न

रंगमंच अनि बासनाले घनिभूत नशा

जो मृत्यूको विलोम  जीवनमा छ

र त झन् प्यार भड्किन्छ घरि घरि,

समर्पण हुँदा हुँदै

इश्वर पुकार्छ मान्छे

बाबाको दर्शन गर्छ

अनेकौ जडी बुटी कन्तुरमा लुकाउँछ

आफ्नो सुखद भविष्यमा रातका आँशु सुकाउँछ  ,कलेजो दुखाउँछ

यी स्वप्निल रहरहरु  बीच पनि मृत्यूको हाँसो धावा बोलिहाल्छ

मेरो गोधुली समेटिन सक्या छैन  आज

आफ्नै छायाको निर्देशन मैले बुझ्न सक्या हैन आज

किनकि आफु छेउमा बसेर  मैले प्रिय सानिमाको  मृत्यू अनुभूत  गर्न सकिन

ति करुणाका धेरै  रोदनहरुमा मा साक्ष्यात्कार हुन सकिन

त्यो एसिड छरिएको मझेरी

त्यो निभ्दै गरेको दियो

त्यो ढल्दै गरेको घाम

त्यो देह छोड्दै गरेको आत्मा

हुडल्लीरहेको बादल मैले देख्न सकिन

चिरिएर छाति रोइरहेको वर्तमानले

मलाई गिज्याई रह्यो

सानिमाको मृत आत्मा

किशोरको अव्यक्त भाव

अनिश्रित आँशु र

उसका मन भित्र सलबलाएका लाभाहरु

दुर क्षितिजमा बिरह पौडी खेलिरहेछ

तमोर खोला माथिको मलामी खाजा बाँड्ने पाटी

शोकलाई पखाल्ने तमोरको पानी

उँभो तारेभीर

भर्खरै टुसाएका मुजुराहरू

बाँच्ने खोजिरहेका नयाँ जीवनहरु

शोकलाई सक्तिमा बदल्नु पर्ने यो समय

सानिमाले छोडेका जीवनका पदचापहरु

किशोर !शोक लामो समय सम्म रहन दिनु हुन्न

खुलेको आकाश

जीवनको इतिहास

अजम्बरी कोहि छ यस दुनियाँमा ?

 

” मार्च २,२०११मा दिवंगत हुनु भएकी सानिमा हरिमाया उप्रेतिमा समर्पित ”

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *