जीवन मात्र छैन आफूसित
अरु अनेक कुरा छन्
यो जीवन
तिनको रस चुसेर बांच्तो रहेछ
जीवन मात्र भैदिएको भए
कति स्याहारसुसारले, प्रेमले
एकान्तमा, आनन्दमा
भनेजस्तो गरी हुर्काउथें होला
तर जीवन मात्र छैन आफूसित
अरु अनेक थोक छन्
त्यसले मेरो यात्रामा
सधै कत्रो अलमल छ !
कहिले त साइत् नै रोकिन्छ
पँधेरा हिड्ने बेलामा
कोक्राको नानी रुँदा
आमालाई कस्तो हुन्छ !
गाई बाँध्ने बेलामा
बाछो फुकेर चुस्न थाल्दा
बालाई कस्तो हुन्छ !
मलाई बारम्बार त्यस्तै हुन्छ
बेबी स्लिङ्गमा हाल्नू
अथवा
ट्रलीमा घुमाउनू
भन्दै हिडिन् सोफिया
उनको अपिस छ
कसरी यस्तरी सिर्जना गर्न सकिन्छ
म झोक्राइरहेको छु
बालाई भन्नू
अबदेखि सदाको लागि
गाई फ़ुकाइदिनू
बोलाम्बस डेरीको काउमिल्क
किनेर बेबिलाई पिलाइदिनू
ठिक बारबजे
भन्दै हिडिन सोफिया
आज उनको ओबरट्याम छ
यता देशमा अशान्ति छ
कर्फ्यु र क्रान्ति छ
आज कति मारिए हेर्नु पर्ने
बेबी-ट्रली र टिभी
कसरी एकै ठाउमा हुन्छ
कोक्रामै हालौं भन्दा उनी भन्छिन
— त्यसरी गाउँले हुइन्छ
जीवनका इच्छाहरु मात्र
छैनन् यहाँ
अरु इच्छाले बारम्बार उफार्दा
मलाई कस्तो हुन्छ
बा भन्नु हुन्छ
गहुँबारीमा मल पानी गर
गहुँ मात्र भए पो मल हाल्नु
पानी पटाउनु
त्यहा गहुँजस्तै झार टम्म देख्छु
जीवनका इच्छाहरु मात्र छैनन् यहाँ
थुप्रै अर्थोक पनि
पलाएका छन् संगसंगै
जीवनले तिनको पनि रस चुस्तो रहेछ
१७ भदौ २०७२
सुकर्म टोल, किर्तिपुर
९८५१०८१८४४