-शोभा सुनुवार “जुलियट”
म त लाटो मान्छे
सोझो जाँठो मान्छे
जाँड खाने जाबो मान्छे
यही माटोको रैथाने घाँडो मान्छे ।
तर पनि,
देशलाई माया गर्ने मान्छे
खोलासँगै नागबेली बन्दै
ढुङ्गासगै डट्ने मान्छे
माटोसँग भुत्भुती खेल्ने
उकाली ओरालीसँग
सकस झेल्ने मान्छे
देशलाई आसाद्धै माया गर्ने मान्छे ।
कन्दमूलले पेट भरेर
पातले जिउ बेरेर
वनवनै सिकार गरेर
खोरिया फाँडेर
धुस्रुको कटेरोमा दिन काट्ने म
यो वनजङ्गलको संरक्षक,
प्राकृतिक सम्पदाको मालिक,
आदिम मूलवासी आदिवासी,
यो धर्तीको खाँटी रैथाने
चराचुरुङ्गीसँग मीत लगाउँदै
वन्य जीवजन्तुसँग रमाउँदै
जल, जमीन, जङ्गलको अधिपति
माटोको बासनामा रमाउने मान्छे
सुन्दर प्राकृतिक छटामा मग्मगाउने मान्छे ।
यहीँ नै उब्जेको
यहीँ नै हुर्केको
यहीँ बाँचीरहेछु
मर्ने पनि यहीँ नै हो
पक्का, हो हजुर
सत्य मा कसम धरोधर्म
म यो माटोको मान्छे !
जेवु,
के मलाई चिन्नुहुन्छ ?