-पवित्रा राई
बार्दलीबाट घामले चिहाएपछी
फराकिलो आकाश
खुल्ला आँखाले देख्ने गर्छु म
मेरा पर्वत जस्ता सपनाहरु
भन्नेहरु त
सपना फगत सपना हो भनिदिन्छन्
सपनाको जोड घटाउ र हिसाब किताबले
जीवनको गणित भत्किन्छ भनिदिन्छन
सायद
आँखा चिम्लेपछिको सपना होला
म त पूर्ण चेतनामा हरपल गुणा गरिरहेको छु
हरेक पल्ट योगफलमा
जीवनको पूर्णता पाउँछु
मलाई आफु भन्दा प्यारो छ
मेरा पर्वत जस्ता सपनाहरु ।
आँखा खोलेर देख्ने सपना
केवल फेन्टासी मात्रै हैन
निर्दिष्ट लक्ष्य ताकेको
एक अदभूत अस्त्र हो
जस्ले
लक्ष्यलाई अवश्य भेद्छ
जो देख्ने गरिन्छ
मनहरुमा कुण्ठित चाहनाको फेहरिस्त
खुल्ला आँखाको सपनामा हुँदैन
देखिने
आँखा खोलेपछी नै हो
बन्द आँखामा सपनाको फल
ज्योतिषी र रासिफलमा खोजेपछी
जीवनमा राहु लाग्छ
ईन्दृयहरु सुस्ताएपछिको सपना
केवल लङ्गडो हुन्छ
आफुलाई सम्पूर्ण सञ्चालन गरेर
म त हरफल भोगिरहेको छु
मेरा सपनाहरूको प्रतिफल
पर्वत जस्तै अग्ला छन्
मेरा पर्वत जस्ता सपनाहरु ।
त्यस्तो केही छैन
जो खुल्ला आँखाले नदेखियोस
बन्द आँखाले
केवल अँध्यारो देख्छ
अँध्यारो
अन्त्य जस्तै हो
बन्द आँखाका सपना
फगत अन्त्य हुन्
आँखा नखोलि
केही सुरुवात हुन्न
सुरुवात नै नभए
गन्तव्य पनि हुन्न
गन्तव्य नभए
जीवन पनि हुन्न
जीवनको सुरुवातमै
आँखा खोलेर गन्तव्य नहेरे
जीवनजस्तो जीवन रहन्न
मृत्यु जस्तो जीवन
जिउँनुको अर्थ हुन्न ।
मेरा वरिपरि
सपनाहरुका पत्रै-पत्र
खात लागेका छन्
बिस्तारै फुकाउँदै बढ्नु छ अघि
पुग्नु छ त्यहिँ
जहाँ जीवनको उत्कृष्टता छ
जहाँ जीवनको सर्वोच्चता छ
आफू भित्र समेटेर
आफ्नै अंगालोमा बाँधेर
म सँगै लिएर हिँडिरहेको छु
मेरा पर्वत जस्ता सपनाहरु ।
-ओखल्ढुङ्गा ।
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र