-मञ्जुल मिथोच
एउटा साँझ,
उन्मत्त घाम, छायाँका डोब मेटाउँदै
हिडेर सिलौती तल लाब्रेकुटी माथि डुब्न आईपुग्यो
घामकै पदचाप पच्छाउँदै कतैबाट भर्रर आवाज बोकेर
घर नजिकै किम्बुको रुखमा एक जोडी चराहरु आइपुगे
एउटै हाँगोमा बसे
ठँुडको चुच्चोले प्वाँखहरु बढो मिहिनेत साथ केलाए
प्रेमिल साँझमा रमाउँदै फ्यारेर्र पखेटा फिँजाए
र, गुन्गुनाए प्रेमका गीत मधुर आत्मियताको लयमा ।
बेइमानी बतास
किम्बुको पातभरि लुकामारी खेल्दै
शान्त प्वाँखहरुलाई घचेट्दै, धक्क मार्दै
हुइँकिदै गयो बेतोडले होहल्ला गर्दै अदृष्यतामा ।
ती एक जोड चराहरु
बेइमानी बतासको डरदेखि आँत्तिएर
किम्बुको रुखबाट छुट्टिएनन्
घाम डुबेको आकाश ओडेर
त्यही हाँगामा ध्रुवतारा जस्तै
मायालु आँखा चम्चम चम्काउँदै
एकार्काको प्रेमिल आँलिगानमा रात निखारे ।
मनमनै कुरा खेलाएँ –
“घरप्रतिको माया र मायाप्रतिको भरोसा ।”
किम्बुको रुख र चराहरुलाई यति धेरै चाख राखेकोमा
झ्यालबाट सुटुक्क पसेर मेरो सामुन्ने
फाक्तालुङ मुसुक्क मुस्काइदिँदा पो झसंग भएँ ।
आह ! किम्बुको रुख र चराहरु ।