(कविता सहित)

समाचारदाता

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोरिया च्याप्टरद्वारा आयोजना गरिएको

विश्वव्यापी कविता प्रतियोगिता २०१७ मा उत्तम लिम्बुको कविता

“युगका स्वरहरू” प्रथम भएको छ | प्राप्त करिव तीनसय कविता मध्ये गरिएको तीन चरणको छनोट प्रक्रिया पूरा गर्दै  निरज दाहालको “गरिबका आँशु” द्वितीय भएको छ भने ज्ञानेन्द्रबहादुर सिंहको “नेपाल मेरो भन” तृतीय भएको छ | प्राप्त कवितालाई तीन चरणमा मूल्यांकन गर्दै उक्त निर्णय गरिएको हो | पुरस्कृत कविहरूले क्रमश: रु. बीस हजार, दस हजार र पाँच हजार नगद तथा प्रमाणपत्र प्राप्त गर्ने छन् |

अनेसासका केन्द्रीय महासचिव तथा साहित्यकार गोवर्धन पूजाको संयोजनमा सम्पन्न उक्त प्रतियोगिताको बिभिन्न चरणको निर्णायकमा श्रीओम श्रेष्ठ रोदन, प्राडा. खगेन्द्रप्रसाद लुइँटेल, गोवर्धन पूजा,  देवी नेपाल र प्रमोद सारंग रहेका थिए |

( प्रथम )

युगका स्वरहरु

उत्तम लिम्बू

 

चुल्ठोमा सिउरेर चमेली

गुराँस आफ्नै मात्र नभन्नु

छातीमा राखेर पहाड

हिमाल आफ्नै मात्र नभन्नु

हत्केलामा बोकेर माटो

देश आफ्नै मात्र नभन्नु।

देश नभएर पनि

खुशी छन् बादलका लस्करहरु

देश नभएर पनि

स्वतन्त्र छन् चराका हुलहरु

देश नभएर पनि

हाँसेका छन् फूल नभनिएका फूलहरु।

एउटै रुखले सत्य थाम्ने भए

किन उम्रनु हजार वृक्षहरु ?

एउटै साँझले जुनी बित्ने भए

किन उदाउनु लाख दिनहरु ?

साथी !

सुकेको हाँगा टेकेर

कसरी माथि चढ्नु ?

जमिनमा टाउको जाेतेर

कसरी आकाश हेर्नु ?

सम्झिनुहोस्!

अन्त्य हुँदैछ छेपाराको  शताब्दी

जो अँध्यारोमा

घर बनाउने सपना देख्छ

र उज्यालोमा बिर्सन्छ।

रात ओभाएपछि

तारा थन्काइराख्नु पर्दैन

जस्तै कि,

झरिरहेछ हाँगाबाट

डेटएक्स्पायर पतिंगर

रुखलाइ थाहा छ

शीतल बाँड्न

नयाँ पातहरु चाहिन्छ ।

मनमा घाम राख्नुपर्छ

संसार उज्यालो देखिन्छ

जब भुँइको धुलो  माटो हुनेछ

जब पुतली फुल हुनेछ

शायद साबित हुनेछ

ढुङ्गा सिर्फ ढुङ्गा मात्र हाेइन

ईश्वर पनि हो ।

चाल्नुहोस् कदमहरु

सिक्नुहोस् आयामहरु

जस्तै हेर्नुहोस्

कमिलाको एकता

कसरी उचाल्दै छ झुसिल्किरा ?

हेर्नुहोस् गौथलीको  मेहनत

कसरी बनाउँदैछ घर ?

हेर्नुहोस् चराको  निरन्तरता

कसरी सिन्का सिन्का जोडेर

मजबुत पार्दैछ गुँड ?

साथी !

आफ्नै नङ्ग्रा जोतेर

आफ्नै घरबारीका बाँझो फोर्नु

फुटाएर आफ्नै पसिनाले

अहमका डल्लाहरु

अलिकति उमार्नु

आफ्नै करेसामा रायोको  साग

देश बनाउनु पर्दैन

देशआफैँ बन्नेछ

 

 

( दोश्रो )

निरज दाहाल

 

गरिबका आँसु

 

यो आकाश पनि बडो निर्दयी छ

एक तमासले नियाल्छ पाताल

अनि दर्किदिन्छ गरिबको छानो माथि

जुन छानोले पानी थेग्न सक्दैन

चुहिन्छ तप्प तप्प

छानोबाट पानी

चुहिन्छ तप्प तप्प

गरिबको आँखाबाट आँसु

भोकाएको गरिबको छोरो

प्वाल परेको छानोबाट चन्द्रमा हेर्छ

अनि आमालाई प्रश्न गर्छ

आमा !

रोटीको आकार

त्यो देखिएको जून जत्रै हुन्छ हो ?

फेरि चुहिन्छ आँसु तप्प तप्प

आमाको आखाबाट |

जब छोराले सोध्यो

बालाई –

म त भर्खर पन्ध्र बर्षको पुगे

तर

मेरो राहदानीमा

किन म बीस बर्ष भनेर लेखियो ?

बा खुब रुनु भयो

-छोरा !

यो उमेर गरिबीले लेख्यो भनेर

जवाफ दिन बालाई  आँट आएन |

बेलुकी  हरिमाया दिदीको घरमा

साथी सुतिदिन गएकी छोरीले फर्केर आमालाई

बिहान सोधी –

आमा !

छोरी मान्छेको त

भित्रबाट पनि लगाउने लुगा हुदो रहेछ है ?

आमा भक्कानिनु भयो |

गरिब भएर जन्मनु पनि

प्रश्न बोकेर जन्मनु रहेछ

 

नभए किन सोध्छ

गरिबको छोराले

बाउलाई –

बा !

मैले इटाभट्टामा बोक्ने इटाभन्दा

जमिनदारको छोराले बोक्ने

विद्यालयको झोला

कत्ति हलुको होला है ?

 

गरिब त हाँसे पनि

रोएजस्तो देखिदो रहेछ हजुर

यो संसारमा

मर्न त सास त्याग्नु पर्छ

ए भगवान !

यो संसारमा

बाच्न चाहिँ के त्याग्नु पर्छ ?

(तेश्रो )

नेपाल मेरो भन

ज्ञानेन्द्रबहादुर सिंह

 

माटोको किन प्यार छैन मनु हो हुर्केर यै ठाउँमा ।

जानै हुन्न कदापि अन्त अब ता कामै हुँदा गाउँमा ।।

आफ्नो देश बनाउने प्रण भए फर्केर आऊ जन ।

पार्टी, जात र क्षेत्र, धर्म नभनी  नेपाल मेरो भन ।।

 

लाखौं लाख विदेश पो विवश भै भागेर जान्छ्न् हरे!

मिल्नेछ अनि काम देश भरमा उद्योग खोल्दै गरे ।।

हो,सम्झेर व्यथा निकै स्वजनको  दुख्दैछ मेरो मन ।

पार्टी,जात र क्षेत्र ,धर्म नभनी  नेपाल मेरो भन ।।

 

बाँझो खेत छ रुन्छ त्यो विरहले खै? काम पो भन्दछ ।

सस्तो दाम लिएर झर्छ पसिना नेपाल के बन्दछ ?

चिन्ताले अति ग्रस्त भो मगज यो दुख्दैछ साह्रै तन ।

पार्टी,जात र क्षेत्र ,धर्म नभनी  नेपाल मेरो भन ।।

 

पाए काम यता कुनै सहज नै यो देशमा गर्दथे ।

उर्जावान युवा अनर्थ किन पो पर्देशमा मर्दथे।।

सारा यौवन दर्दमै बितिसक्यो खोजेर अन्तै धन ।

पार्टी,जात र क्षेत्र ,धर्म नभनी नेपाल मेरो भन ।

 

अर्काको उपकार गर्न नसकी ब्यर्थै बितायौ दिन ।

स्वार्थी बन्नु थियो तिमी यदि भने नेता बनेको किन ?

साह्रै बित्दछ मस्त भै हरघडी बिर्सेर आफ्नैपन ।

पार्टी,जात र क्षेत्र ,धर्म नभनी नेपाल मेरो भन ।

०००

 

 

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *