विमलगुरुङ स्मृति पुस्तकालयले आयोजना गरेको सत्ताइसौँ वार्षिक कविता प्रतियोगितामा असिम सागर, प्रकाश रम्घालि र मनोज मुस्किल क्रमशः प्रथम, दृतिय र तृतीय हुनु भएको छ । निर्णायकद्बय कवि मनु मन्जिल र कवि बद्रि भिखारी हुनुहुन्थ्यो ।
प्रथम कविता
शिर्षक:- चक्र
कुनैदिन
म गड्यौला थिएँ
सयौं कमिला मिलेर
आफ्नो लागि आहारा बनाए
त्यसपछि
म कमिला भएँ
निरकुङ्कुस चराहरुले
आफ्नो लागि चारो बनाए
त्यसपछि
म चरा भएँ
तानाशाही बाजहरुले
आफ्नो लागि सिकार बनाए
त्यसपछि
म बाज भएँ
र बर्षौंदेखि चराहरुको सिकार गर्दै आईरहेको
म तानाशाही बाज
खै कतिबेला झरेछन् मेरा अहंका प्वाँखहरु
र बाँकि बचेछन् मात्र झुसहरु
त्यसपछि
सिमी र फर्सिको पात खाँदै हिँडने
म झुसिल्किरा भएँ
जुनदिनदेखि म झुसिल्किरा भएँ
त्यहि दिनदेखि मेरो सिकार कम भएको छ
लाग्छ कुरुप हुनुपनि
जीवनको एकपक्ष सुन्दर हुनुरहेछ
एकदिन
कहिल्यै घाम नछिर्ने कन्तुरले
खोपिल्टा परेको गुफाजस्तो मेरो पेटलाई भन्यो
उड्न त झिंगा र लामखुट्टेहरु पनि उड्छन्
चरा भएर उड्नु पो उड्नु
माया त माटोले जरालाई पनि गर्छ
सहिदले देशलाई गर्ने माया पो माया
अँध्यारोमा बस्नेहरुसँग नै
उज्यालोको भोक हुन्छ
जसले मलाई झुसिल्किरा मात्रै भएर बस्न दिएन
विकृतिका सारा झुसहरु उखेलिए
समयले पखेटा हालिदियो
अनि म झुसिल्किराबाट पुतली भएँ
र रमाईरहेछु यो देशको फूलबारीमा
यदि कतै सहिद भएछु भनेपनि
दुईथोपा शीतका अाँसु खसाएर
अब मेरा लागि फूलहरु रुनेछन्
सिङ्गो बगैंचा रुनेछ।
-असीम सागर
सन्धिखर्क नगरपालिका-४, अर्घाखाँची
हाल:- लगनखेल, ललितपुर
बिमल पुस्तकालय, धरान
आदिम लय
——————
–प्रकाश रम्घाली दृतिय
गीत गाउदै-गाउदै उडुन्
–चराहरु आकाशमा
बादलले पटक्कै नछेकोस्
–जून-ताराको सुन्दरता
नथाकी पुरा गरोस्
–जूनले धर्तिको यात्रा
र, कृपया घामले
–ठट्टा नगरोस् मान्छेहरुसंग ।
—नदी सभ्यताको लागि बगोस्
—पहाडहरु उभियून् सिमानाको रक्षार्थ !
गाउनुपर्ने बाँकी
–दुखको गीत नहोस्
नओईलाउन अबोध ओठबाट
–फूलजस्ता मुस्कानहरु
र, नबल्झियोस् देशको पीडा
परदेशीहरुको छातीमा ।
ताजै हुन् स्मृतिका कलसमा
–फूलका सुगन्दहरु
बिरानो नहोस्
–कसैको सिमान्तकृत आवाज
र, मेटियुन् विभेदहरु
–सिसा कलमको अंक्षरझै ।
बिरानो भईसकेको
–सारङगीको तारबाट
फेरि जन्मियुन्
–झलकमान गन्धर्वका स्वरहरु
ईन्द्रेणी सुखबाट
–नछुटोस कुनै यौटा रङ
र, नचुडियोस्
–कसैको सनकमा लालुपाते देश ।
हिड्नु छ भने हिडोस्
आफ्नै विचारसंग
असहमति राखेर समय
तर, जानु अघि–
निशर्त: छाडी जानु पर्ने छ
पहाड जत्तिकै पुरानो
–चराहरुले गाउने गीत
र, नदीझै बगि हिड्ने
–मानिसहरुको आदिम लय !
□□□
तनहूँ
मोबाइल नम्बर सहित फेरि पठाए।
कबिता
#हुलाकी दाइ
सिमलको मसिनो भुवा जस्तो हावामै
बतासिएर आइपुग्यौ कि ?
बाटोले बिर्सीगएको बटुवा जस्तो
भौतारिदै आइपुग्यौ?
या आइपुग्यौ कि? उज्यालहरुले छाडी हिडेका गलत पदचाप पहिल्याउदै पहिल्याउदै
यो साझको सङ्घारमा
कसरी पो आइपुग्यौ? हुलाकी दाइ ,
बतासले सम्म बाटो बिराउने मेरो बेठेगान ठेगानामा
आइपुग्दैनन ,
जुनका निलम यात्राहरु हिजो आज बार्दली सम्म आइपुग्दैनन
न त आउँछ सिकुवा ,मझेरी भरी पोतिएर बिहानी
अब त सपनाहरु समेत सिरानीलाई भेट्न नआएको बर्सौ भै सक्यो
कहिल काहीँ ,कोहि कोहि
आउन त आउछन – आधी जस्तै,
चुपचाप चुपचाप आउछन
र उडाएर लैजान्छन छानाजस्ता रहरहरु
आउन त आउछन – पहिरो जस्तै,
चुपचाप चुपचाप आउछन
र भत्काएर लैजान्छन पाखा जस्ता सपनाहरु
अब त हिक्क हिक्क बाडुलिहरु समेत सम्झना भेट्न न आएको बर्सौ भै सक्यो
कसरि पो आइपुग्यौ? हुलाकी दाइ
बाटाहरुले सम्म बाटो बिराउने मेरो बेठेगान ठेगानामा
हिजो आज रात रात भर
दम लागेको बूढो जर्नेल जस्तो
किन खोकीरहन्छ बासघारी ?
किन कान्ला पारि बिरह गाइरहन्छ हाब्सिलो?
टिनमा एकतमास ढुङ्गा हानिरहने त्यो अग्यात हात कस्को हो?
कस्को हो ?सिकुवा सम्म आएर टक्क अडिएको पैताला
बिरोधमा उतृएको कालो झन्डाझै किन आन्दोलन गरिरहेछ बायापट्टिको परेला?
मध्यरातमा मात्र तप्प्प तप्प किन रोइरहन्छ बलेसी?
किन धुरी छुन्छु भनी बौलाइरहन्छ अगेनामा आगो ?
किन करेसामा कर्कस चरिरहन्छ थलोमा बाधेको गोरु?
कालो छाया जस्तो कौवा किन पाइलै पिच्छे पछ्याइरहन्छ ?
सोकको आर्तनादमा किन भुकिरहेछन
टोलभरीका कुकुरहरु ?
किन पिपलमा मात्रै घुमिरहेछन मलामी जस्ता चमेरा हरु?
किन नरमाइलो गरि उर्लिरहेछ सपना भरी हाङ्देवा?
र किन डुब्न खोज्दै छ हाङ्देवा पारीको सेतो घाम ?
केही दिन देखि
रातका यी अनिदा प्रस्न हरु अनुत्तरित छन मेरो मस्तिष्कमा
एसरी पोल्टाभरि अँध्यारो बोकेर त
कि खाममा बाधिएर परदेशी छोरो आइपुग्छ
कि युद्धमा जिन्दगी हारेको देशभक्त बाबू
कि त आइपुग्छिन रातो आसुमा लतपतिएर सहर पढ्न हिडेकी छोरी
मलाइ जान्नु छ
हुलाकी दाइ
एसरी खोला नाला डाडा काडा बौरिएर
बायुमा तैरिदै तरिदै
जीवन छाडी आएको हंश जस्तै लाग्ने तिम्रो स्वरुप कुन मृत्युको हो?
नाम : मनोज मुस्किल तृतिय
ठेगाना: रतुवामाइ नगरपालिका
वार्ड न. ५ , मोरङ
हाल : बिराटनगर
savhar from Chewan Rai Dharan