निर्दयी परिस्थिति
परिबन्दको हत्कडी ठोकेर
घरीघरी उभ्याइदिन्छ
अभावको कठघरामा
एक ओठ मुस्कान
बटुल्न निस्किएदेखि
पराइ बनेको हुँ आफ्नैहरुबाट
एकमुठ्ठी साहस
चोबेर अठोटको रङ्गमा
पोतेदेखी गन्तव्य छुने यी कदमहरु
एक्लो एक्लो बनाएको छ समयले
यसरी
घरीघरी
आफ्नैहरुले दुखाउँदा
चिच्याउं लाग्छ बेस्सरी
आरनको भुब्रोमा रन्किएको फलाम झैँ
संसार अँध्यारो हुनेगरी
बुर्कुसी मारुं लाग्छ
आलाप्दै आफ्नै दुखाइहरु
बलेसी बनि पखालुं लाग्छ
यी आफ्नैले दिएका घाउ/टाटाहरु
ओ मौनता
तिम्रो जस्तो कथा
मेरो पनि छ
तिम्रो जस्तो पीडा/व्यथा
म सँग पनि छ
आउ साटौं
हाम्रा एकैखाले दर्दहरू
उस्तै पीडादायक चहर्यइहरु
यो अँध्यारोमा कतै
बगाउँ छातीभरि तमोर
बनउं कतै फेवा, कतै रारा
जसमा आफ्नो दर्पण चिह्यानेलाइ लागोस्
म पनि यसैगरी जम्न सकूँ
समस्त पीडा समेटेर
बगर बनेर ब्युँझेको बिहान
घामले टेकेर जानेछ
एउटा भिजेको लासमाथि…!
सुनिता राई कन्दङवा
तेह्रथुम आठराई