–तारादेवी सुनुवार
अविरल बगिरहेछौ
र, बगिरहनुपर्छ
पानीको बग्दो गति हेरेर
सिक्नेछन् मान्छेले बाटो हिड्न
खोलाको मधुर ध्वनी सुनेर
सिक्नेछन् मान्छेले गीत गाउन
बगाइको अविरल प्रवाहमा
अल्झिएको हुन्छ नदीको माया ।
अविरल हुइँकिरहेछौ
र हुइँकिरहनुपर्छ
हावाको सिर्सिरे वेगसँगै
नाच्नेछन् फररर रूखका पातहरू
सिरीरी पवन प्रवाहमा
फूल्दै रमाउनेछन् रंगीबिरंगी फूलहरू
यो बतासको प्रेमिल लयमा
उड्ने छन् आकाशभरि चराहरू ।
अविरल बगिरहेछ खोला
अविरल चलिरहेछ हावा
अविरल फूलिरहेछन् फूलहरू
अविरल घुमिरहेछ पृथ्वी
यी खोला, हावा, फूल र पृथ्वीको
अविरल गतिसँगै
जन्म–जन्मान्तर
बाँचिरहनु पर्छ हामीले ।
Please follow and like us: