-कोइँचबु काःतिच
अरनिको राजमार्गबाट गाडीहरु हुइँकिएर चक्रपथको छातीमा बजारिन्छन् । म कोटेश्वर चोकमा अडिएको छु । विहानको ठिक साँडे एघार बजेको छ । अध्यक्ष रणवीर सुनुवारलाई फोन गर्छु, ल पान्थार गाअÞति इन लोः बिश्शा । एच्चि कोतेसोरआ ब्लाःलाथेम्लोमि नुङ । त्यसैगरी कोषाध्यक्ष शोभा सुनुवार र जीवनसंगिनी गंगा (जतिबेला उनलाई मेरो साथ चाहिने थियो । तर शोभा सुनुवारसँग एक्लै छाडेर हिड्दैछु समाजसेवाको नाममा ।) लाई नेपाल खाल्डोबाट पैतो सारेको खबर दिन्छु । झिप्झिप पहेँलो बत्ती बल्दाबल्दै हरियो बत्ती बल्छ । घाइँघुइँ गर्छन् मोटरसाइकाल र घुर्घुर गर्दै गाडि अगाडि अरनिको राजमार्गतिर बढ्छ चक्रपथ छाडेर । म पनि त्यही मेसोमा लाग्छु अरनिको राजमार्ग माथि हुइँकिदै बनेपा–वर्दिवासतिर । पछाडि रुप्श्याक छ साथी । गर्मीको मौसम जति हुइँकिन सक्यो उति नै शितल महसुश हुन्छ । बांगाटिंगा नागबेली विपि राजमार्गको दाप्चा पुल कट्छु । तर वैंशले मात्तिएरको काभ्रेको साँडेले अचानक मेरो बाटो छेक्छ । रनाफनामा पर्छु । एक क्षण धर्फरिन्छु । पछाडिको पैया अडिँदा पछाडि नै फर्कन खोज्छु । अगाडिको पैया टक्क अडिँदा घोप्टिन खोज्छु । आफ्नै बाटो समातेर बाटो लाग्दा पनि जोगिन मुस्किल छ । विपि राजमार्गको काभ्रे जिल्लाभरि गिटी, बालुवा हसुरेर बौलाएका साँडेहरु मैमत्त बनेर त्यसै त्यसै डुक्रिएर जताभावि कुद्छन् । आपैंmले जागिनुपर्छ । म पनि मुस्किलले आफ्नो बाटो छलेर जोगिन्छु र अगाडि भाग्छु किनभने म त्यहाँ अल्मलिएर कुनै काम छैन । मलाई थाहा छ, पुलिस–प्रशासनले त्रिशुल डामेर छाडा छाडेको साँडेसँग मेरो केही लाग्दैन, जसरी अरुको केही दैया चल्नसकेको छैन ।
दाप्चा पुल तरेर रोशी खोलैखोल ओरालो झर्छु । मेरो मनमा रोशीप्रति अचाक्ली श्रद्धाभाव छ । मैले घुमेर हिडेको यात्राहरुमा अहिलेसम्म रोशीले जति अरु कुनै पनि खोलाले मानिसको सेवा गरेको देखेको छुइँन । विपि राजमार्गमा मैले रोशीलाई भेटेदेखि ङाकु (सुनकोशी) मा समाहित हुँदासम्म ङाकु, लिखु, खिम्कु जस्तो स्वार्थी बनेर बगीरहेको महसूश गर्दिन । दायाँबायाँ लमतन्न पल्टिएका फाँटहरुको प्यास मेट्नु मात्रै होइन सँग टाँसिएर कच्कच गरीरहेका क्रसर उद्योगहरुका हिलामैलो पखालेर ङाकुमा हुडालीदिनु पनि रोशीको दैनन्दिनीमा पर्छ । मनमनै रोशीको क्रियाशिलता र सद्भावप्रति हार्दिक नमन अर्पण गर्दै ङाकुमा पच्छाउँछु । खुर्कोट पुगेर थकाइ नमार्दा आफैंलाई अन्याय हुन्छ भन्ने लाग्छ । सधैं सधैं आउँदाजाँदा खुर्कोट मेरो चरनाइलु हो । थकाई मार्नु मात्र झनै हप्हप्ति गर्मीले पसिना निकाल्यो । बस्नै सकिन । ङाकुमासँग छुट्टिएर बर्दिवासतिर बाटो तताएँ सिन्धुलीगडी उक्लिँदै । बाटोमा रोकिने कुनै कामै थिएन । सिन्धुली चियावारीमा एक क्षण विषयपछि अगाडि बढेँ । पानी छिटाउन थाल्यो । अलिकति अगाडि बढेपछि घनाघोर पानी प¥यो । कहाँ विसाउनु, मेरो गन्तव्य सिराहा गोलबजार थियो । बर्षादी आडेर सिन्धुलीमाडी फड्केँ । फिटिङ पुल कटेपछि झण्डैले ठूलो बससँग मित लगाइयो । रोकिन मान्दैन त घोडा । मुस्किलले करेली समातेर तर्काएँ । भिमान पुग्दा छ्याङ्ङै उघ्रियो । बर्षादि खोलेँ । गर्मीमा पानी परेकोले शितल महसूश भयो । रोकिएर बस्ने कुरै भएन । अगाडि हुइँकिरहेँ । रातु कटेर पाटु उकालोको घुम्तीमा बलुवाको चित्त नबुझ्दा झण्डैले उछिट्टिएँ । तै पनि चाँडै बालुवाको मर्मलाई छामेर सम्हालिँदै वर्दिवासमा विपि राजमार्गसँग छुट्टिएर पूर्वपस्चिम राजमार्गको छातीमा बुर्कुसी मार्दै पूर्वतिर लागेँ । बल्ल साँझको ६ बजे गोलबजार सुनुवार गाउँमा बासबस्न पुगे । एकनासले सडकसँग दिनभरी इत्रिएको ज्यान, खाना खाएपछि ओच्छ्यान पसेको एकैचोटी विहान व्युँझिएछु ।
मेघ गर्जिएर पानी परिरहेको रहेछ । राजेश सुनुवार (साला) लाई साथी लिएर जानु भन्ने आदेश छ घरबाट । कसरी बाटो लाग्ने बढो दोधार भएँ । घरि के दुःख दिनु एक्लै जान्छु जस्तो लागीरहन्छ । फेरि लामो बाटो के एक्लै जानु ? साथी लान्छु जस्तो पनि लाग्छ । मनमा कुरा खेलाउँदा खेलाउँदै पानी अलिअलि गर्दै थाँमिदै गयो । साली कान्छी (जेस्पुम तारा सुनुवार) ले खाना बनाइसकिन ।
म पनि जानुपर्छ र भिनाजु भन्दै पल्लो घरबाट राजेश आइपुग्यो ।
जानुपर्छ त, ससुरा बा (डम्बरबहादुर सुनुवार) राजेशलाई सम्झाउनुहुन्छ ।
लु लु खाना खाइहाल्नु भिनाजु । हात धुन पानी दिदैँ राजेशसँग बोल्छन्, एइ ल, तँ पनि भात खाइहाल । ढिलो भयो त हिड्न ।
खाना खाइयो । पानी रोकिएको छैन । कम मात्र भएको छ । राजेश घर गयो । म ओच्छ्यानमा पल्टेँ । अनि एक क्षणपछि वर्षादि ओडेर हिड्न ठिक परेँ । एक्लै जाने हो भिनाजु कान्छीले भनिन् । अँ अब एक्लै जानुपर्ला । म बाटो लाग्न ठिक पर्दै गर्दा कान्छीले राजेशलाई फोन गरिन ओइ तँ नजाने ? भिनाजु त हिड्नु भो त । फेरि मेरो एक मनले राजेश लिएर जानुपर्छ भन्ने भो र लागेँ माथिल्लो घरतिर । राजेश बन्दना भदैनीसँग बसेर नङ काट्दै थियो । जाने होइन हिडेको त भने । बस्नु न । एक क्षण पानी परिरहेको छ भनेपछि विसाएँ । नुहाउन बाथरुप पस्यो राजेश । नुहाएर निस्केपछि मात्र हामी पूर्व लाग्यौं । गोलबजारमा निस्केर रु. ७०० को पेट्रोल भरियो । काठमाडौंबाट जाँदा हजार रुपैयाँको पेट्रोल भरेर हिडेको आधाभन्दा बढी सकिए छ । त्यसपछि राजेशले दौडायो ७०–८० मा । एकै पटक हामी श्रीपुर, सुनसरी पुगेर रोकियौं । झिँगे माछा र भुजिया खाजा खायौं र पानी दुईबोतल पिइयो । त्यसपछि हामी चारआली पुगेर घोडाको चाकार गरियो । खाजा खाइयो । त्यसपछि फेरि घोडालाई खान्की भरियो बुधवारेमा रु. १००० हजारको र उकालो लागियो इलामतिर । सिमसिम पानी पर्न थाल्यो । तर रोकिएनौं ।
क्रमशः