–शोभा सुनुवार जुलियट

धेरै धेरै कोश पर हिड्न निस्केकी यात्री म
आफैलाई बनतरुलको बोटमा पो खोजी हिडे छु
परिबन्दमा मेरा हात खुट्टाहरु बाँधिएका रहेछन्
गन्तव्यसम्म पुग्नबाट निरुत्साहित पो बनाइएकी रहेछु ।

आफैंलाई सुम्सुम्याउँछु र सोच्छु–
थकाइको महसुश कहाँ गरेकी छु र
मेरो यात्रा लामो छ सुस्तरी जानुछ
पाटीपौवाको धुले भुइँमै सुतौंला
कला, दासु, शोकात खाएरै रात बिताउँला
आफ्नै पौरख चुसेर अतृप्त प्यास मेटौंंला
जस्तै चट्टान उभियोस् यात्रा अपुरो छाड्नु हुँदैन ।

हो म !
बाँच्ने अधिकार खोसिएकी यात्री
सिधा बाटोमा बार लगाइएकी यात्री
सिङ्गो पहिचान च्यातिएकी यात्री
बनतरुलको खाडलमा अस्मिता पुरिएकी यात्री
कुरुप अनुहारले मथिङ्गल थिचिएकी यात्री
स्वतन्त्रताको पखेटा भाँचिएकी यात्री ।

जेवु !
त्यो कुरुप अनुहार खोज्दै खोज्दै
अस्मिता अर्मोल उठाउन जोसिँदै जोसिँदै
गौंडा ढुकेर सिकार गर्नेको कथा सुनाउँदै
टन्टलापुर घामको रापमा पनि कति हिडेँ
मुसलधारे वर्षातको पानीमा पनि कति भिजेँ
चिल्ला अलकत्रे सडकमा नि गुडेर हेरेँ
गगन्चुम्बी महलहरुमा नि चढेर हेरेँ
सबै सामु तमासे र रमिते बनेर हेरेँ
लामबद्ध अनुहारलाई बनतरुलको खाडल सम्झेर हेरेँ ।

तर पनि !
अहिलेसम्म
मेरो सुनुवाइ भएन
मेरो अस्मिताको अर्मोल पाउँदै पाइन
बरु
मेरै संस्कृति माथि राजाइँ चलिरह्यो
मेरै खोरिया माथि महल ठडीरह्यो
मेरै छाती खुला खेल मैदान बनीरह्यो
निःशब्द म
स्तब्द म
शदियौंदेखि
मेरै गला अबरुद्ध भइरह्यो ।

त्यसैले
मैले निधो गरिसकेँ
म सृष्टिको जननी,
मैले हरेस खानु हुँदैन
मैले थकाई मार्नु हुँदैन
नैरास्यता बुन्नु हुँदैन ।

बाधा अड्चनका पहाडहरु
अवरोधका नुम्बुर जति नै चुलिए पनि
म म्याच फिक्सिङमा हार्ने खेलाडी जस्तो
स्वनाम जाकटी राख्ने हरुवा यात्री होइन
फेरि पनि
मलाई वनतरुलको खाडाल नसम्झनु
खबरदार !
अब मैले,
विजयका ज्वालामुखी गर्भधान गरीसकेकी छु !
आगोका ताता ताता लाभा ओकलेर बिस्फोट हुँदै छु ।

–बुज, थिन्केप, रामेछाप, हालः काठमाडौं ।

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *