उनले राति सुत्नुअगाडि भगवान्लाई पुकारेकी थिइन् । कुनै अनिष्ट होस्, बरु आजै बिमारी परूँ वा महिनावारी भएर अलग्गै बस्नुपरोस् । तर त्यो घरमा जान नपरोस् भनेर घरको मन्दिरमा रहेका सबै भगवान्लाई दुई हात जोडेर पुकारेकी थिइन् । कति बिन्ती गरिन् तथा अनेकौँ बहाना बनाएर आमा र बुबालाई भोलि त्यहाँ जान नपरोस् भनेर भनेकी थिइन् । तर हरेक प्रयास विफल भएको थियो उनको । त्यहाँ जान बाध्य भइन् उनी ।
रातको कालो घुम्टोलाई उघारेर सूर्यले आफ्नो उज्यालो छरिसके तापनि उनलाई आजको सूर्यको उज्यालोप्रति मोह पटक्कै भएन । हरेक बिहानीमा उठेर उदाउँदै गरेको सूर्यलाई हेर्ने आफ्नो बानीलाई आज स्थगित गरिन् । उनलाई सबै जनासँग चित्त दुखेको थियो, उनीभित्रका पीडालाई बुझ्ने कसैले पनि कोसिस नगरेकोमा । उनको आफ्नो भन्ने सबै छन् । बाबु, आमा, हजुरबुबा, हजुरआमा, काका, काकी, फुपूहरू सबै । तर पनि उनी आज आफूलाई एक्लो महसुस गर्दै छिन् । विगत चारपाँच वर्षदेखि आफूले भोग्दै आएको पीडालाई ठूलो साहस बटुलेर उनले बाबु र आमाको अगाडि भक्कानिँदै एकएक गरेर मनलाई हल्का पारेकी थिइन् । त्यस समयदेखि भोग्दै आएकी त्यो घृणित दुष्कर्मलाई बाबु र आमालाई भन्नसमेत उनले पाँच वर्ष लगाइन् । यति बेला उनी आफ्नै ओछ्यानमा नै पल्टिराखेकी छिन् । मनमा डर, त्रास र अनेकौँ आशङ्काले उनको शरीर कामिराखेको छ ।
के छ त्यस घरमा, जहाँ जानलाई उनी यतिविघ्न डराइराखेकी छिन् ?
हुन त, त्यस घरमा उनको सबैभन्दा नजिकका मान्छेहरू बस्छन् । तर त्यो घर र त्यहाँ बस्ने मान्छेहरूबीच मान्छेको मकुन्डो लगाएर एक राक्षस पनि बस्ने गर्छ । जसको कारण नै यतिविघ्न डराइराखेकी छिन्् उनी ।
‘छोरी चाँडो गर । सबै जना हामीलाई नै कुरिराखेका होलान् ।’ आमा ढोकानिर आएर भन्छिन् ।
‘आमा, म नगए हुँदैन । मलाई आज सन्चो पनि छैन । तपाईंहरू जानू न ।’ उनले अन्तिम पटक अनुरोध गर्छिन् आमालाई ।
‘छोरी, तिमी कत्ति पनि नडराऊ । म छु नि तिम्री आमा । तिमीलाई म सँगै राख्नेछु त्यहाँ । के गर्नु, हामी दुईले चाहेर मात्र केही हुँदैन । अहिले फेरि तिम्रा बाबाले यही कुरामा उठिबास लगाउँछन् हामी दुईलाई । त्यसैले हामी जानुपर्छ छोरी ।’ आमा उनलाई फकाउँदै लुगा लगाउन आग्रह गर्छिन् ।
दुई आमाछोरी पुग्नु अगावै त्यहाँ सबैको जमघट भइसकेको छ । बियर तथा वाइनका चुस्की लगाउँदै अरूका कुरा काटी बसिराखेका आइमाईका छेउमा गएर बस्छन् आमाछोरी ।
‘छोरी, जाऊ दिदीहरूसँग खेल । डर मान्नु पर्दैन । म हेरिरहनेछु तिमीलाई यहीँ बसेर ।’ आमाले आग्रह गर्छिन् ।
मन नलागीनलागी दिदीबहिनीहरूको माझमा पुग्छिन् । तर, पनि उनको आँखा यताउता नै डुलिराखेको हुन्छ । कतै त्यही दानव उनको सामु आउने पो हो कि र फेरि पनि विभिन्न बहानामा उनलाई शरीरका विभिन्न अङ्गहरूमा छुने पो हो कि । यस पटक उनी पहिलाभन्दा बढी नै सतर्क भइन् । अब उनले यो राम्ररी बुझिसकेकी थिइन्, त्यस दानवको उनीप्रति गरिने हरेक क्रियाकलाप एक आफ्नी छोरीसमान बाह्र वर्षकी बच्चीलाई गरिने माया थिएन भनेर ।
‘नानू, तिमी यहाँ पो छ्यौ । झन् अघि नै देखि तिमीलाई नै खोजिरहेको थिएँ म ।’ भन्दै ठिङ्ग अगाडि देखा पर्छ त्यही दानव ।
त्यस दानवलाई देख्नेबित्तिकै उनको मुखबाट कुनै शब्द नै निक्लिँदैन । उनी दौडेर पर बसिराखेकी आमाकोमा जान खोज्छिन् । तर त्यस दानवले उनको हात समात्छ । उनले अनेकौँ प्रयास गर्छिन् त्यस दानवको हातबाट आफ्नो हात छुटाउनलाई तर बिचरी सक्दिनन् ।
‘के भएको छ नानु तिमीलाई ? अचेल मलाई देख्यो कि टाढाटाढा भाग्छ्यौ । झन् सबैभन्दा बढी माया गर्छु म तिमीलाई । आफ्नो अङ्कलसँग पनि यसरी पर भाग्ने हो त ?’ उनको कानमा बिस्तारै भन्छ ।
उनी डरले लगलग काम्छिन् । मनमनै भगवान्सँग पुकार्न थाल्छिन् । हे भगवान् मेरी आमाको नजर यता पारिदेऊ । जसले गर्दा म यस पिपासुबाट मुक्त हुन पाऊँ ।
‘अङ्कल, हजुर त जहिल्यै पनि दिदीलाई मात्र माया गर्नुहुन्छ । चकलेटहरू पनि दिदीलाई नै धेरै दिनुहुन्छ । हजुरसँग म बोल्दिनँ अबदेखि ।’ भनेर त्यस दानवको अगाडि घुर्की देखाउन थाल्छिन् एउटी सानी नानी ।
‘तिमीलाई त म झन् बढी माया गर्छु नि ।’ भन्दै बोकेर गालामा माया गर्न थाल्छ त्यो राक्षस । बल्ल उनी दौडेर आमा भएको ठाउँमा पुग्छिन् ।
‘कस्तो बच्चाबच्चीहरूलाई माया गर्ने ज्वाइँसाहेब त । झन् आफ्नै छोरी भएको भए कति माया गर्नुहुन्थ्यो होला ! बच्चाबच्चीलाई माया गर्ने मान्छे सारै कमलो मनको हुन्छ नि । कति भाग्यमानी छे हाम्री छोरी त्यस्ती श्रीमान् पाई ।’ एक महिलाले बोलिन् ।
‘हो त नि । हिजो नै भन्दै थिई मेरी नातिनी पनि अङ्कलले कस्तो माया गर्नुहुन्छ । केके मीठोमीठो खाने कुराहरू दिनुहुन्छ । काखमा राखेर आफ्नै छोरी जस्तै गालामा माया गर्नुहुन्छ भनेर ।’ अर्की महिलाले भनिन् ।
ती दुई आमाछोरी ती महिलाहरूले भनेका कुरा सुनिरहन्छन् र आआफ्ना पीडाहरू सम्झन्छन् ।
के त्यसो भए छोरीलाई मात्र नभएर आमालाई पनि त्यस दानवले … ?
हो, आमालाई समेत त्यसले विभिन्न तरिकाबाट नजिक हुने । शरीरमा छुन खोज्ने तथा शब्दहरूको जाल फ्याँकेर आफ्नो घृणित स्वार्थ पूरा गर्न खोजेको थियो । तर, सफल हुन सकेन ।
उनले धेरै पटक त्यस कुकर्मको उजागर गर्न खोजिन् । तर हरेक पटक त्यस कुरालाई दबाइयो । आफन्तका माझमा मन नपराइएकी श्रीमती, बुहारी, भाउजू थिइन् र त्यस दानव सबैभन्दा पूजनीय व्यक्ति थियो । जसको हरेक कुरा पवित्र सम्झिन्थे त्यस घरमा । जसकारण उनले जति रोए पनि कराए पनि अन्तमा दोष उनीमाथि नै लगाइयो । त्यसैले मनमा नै दबाएर बस्न बाध्य भइन् उनी । उनको घर, आफन्त र समाजमा गएर विरोध गर्न नसक्ने पारियो यही खोक्रो लोग्ने र स्वास्नीको सम्बन्धको धागो चुँडाइदिने धम्कीका आधारमा उनलाई ।
त्यस पार्टीबाट चाँडै घर फर्कन्छन् आमाछोरी र आआफ्ना रुमतिर लाग्छन् मनमा अनेकौँ पीडाका साथ । नजिक आउँदै गरेको एक्जामप्रति पनि उनलाई पटक्कै ध्यान छैन । ध्यान छ त मात्र त्यस दानवले विगत पाँच वर्षदेखि गर्दै आएको दुष्कर्ममा ।
‘के भयो तिमीलाई ? तिम्रो दिन–प्रतिदिन पढाइको लेभल खस्किँदै छ । त्यस्तो राम्रो पढ्ने बच्चा झन्झन् लेभल अप हुनुपर्नेमा खस्किँदै छ । घरमा केही प्रोब्लम छ ? कसैले केही ग¥यो तिमीलाई ? यु क्यान सेयर एनिथिङ । आई एम नट योर टिचर बट अल्सो योर फ्रेन्ड ।’ क्लास टिचरले एउटा रुममा राखेर सोधेकी थिइन् । आँसुका धाराले टिचरको प्रश्नहरूको उत्तर दिएकी थिइन् । उनले कैयौँ पटक टिचरलाई सबै कुरा बताउन खोजेकी थिइन् ।
त्यसो भए किन सकिनन् त भन्नलाई ?
घरको वातावरणले गर्दा । आमाबाबुको दिनरातको झगडा । ठूलो साहस गरेर भनेकी थिइन् उनले आमा र बाबुको अगाडि तर उल्टै गाली खानु परेको थियो बुबाको ।
‘तिमीहरू दुवै आमाछोरी गतिला नभएर यी सब हुन गएको ! तैँले पनि आमाको बिँडो समात्ने भइस् होइन ! तिमीहरू दुवै आमाछोरीको दिमागमा गोबर भरिएको छ र कसैले गरेको मायालाई गलत दृष्टिकोणबाट हेर्छौ । तँलाई आमाले सिकाको होला होइन ? अहिले यो कुरा बाहिर गएमा के हुन्छ, थाहा छ ? तिमी दुई आमाछोरीको कारण मेरो फेमिलीले समाजमा मुख देखाउन गाह्रो हुनेछ । न तेरी आमाले माइतीबाट राम्रो संस्कार सिकी न तँलाई नै राम्रो संस्कार दिन सकी । यो सब मेरो परिवारलाई एक आपसमा जुधाउन गरेको चाल हो । के अझै चित्त बुझेन रे तेरी आमालाई कि अझै यस्ता घृणित चाल रचिराखेकी छे ? के गरेकी छे तेरी आमा र त्यसको माइतीले मलाई र अझै घमन्डी गर्नलाई ? सँगैका आफन्तका ससुरालीहरूले कसैले जग्गा त कसैले घर बनाइदिएका छन् । के दिएका छन् तेरी आमाको माइतीले मलाई र अझै फुर्ती देखाउनलाई ? देखेको छेस् यो के हो ? तेरो स्कुलको बिल हो एक–एक लाखको । कसले तिर्छ यो पैसा ? तेरी आमाले तिर्छे ? यो घरको भाडा कसले तिर्छ ? आमा त बिग्री–बिग्री अब तँ पनि त्यही आमाको सिको गर्ने !’ भन्दै उनलाई कपालमा समातेर बाबुले पिटेको र दिनरात आफ्नै आमाप्रति बाबुले गर्ने गरेको व्यवहार तथा उनलाई र उनकी आमालाई घरबाट निकालिदिने धम्कीका कारण पनि उनी चुप लागेकी थिइन् ।
यसैले दिन प्रतिदिन उनी मानसिक तथा शारीरिक रूपबाटै कमजोर हुँदै गइराखेकी थिइन् । कोहीसँग बोल्न डराउने । छिनछिनमा तर्सिरहनेले गर्दा अब उनी स्कुल कम हस्पिटल ज्यादा जानुपर्ने भइसकेको थियो । तर पनि उनको मनको पीडा बुझ्ने कोही निस्केनन् । कुनै डक्टरहरूबाट पनि उनी ठीक हुन नसकेपछि अन्तमा उनी भर्ना भइन् हस्पिटलमा ।
उनलाई भेट्न आउने मान्छेहरूका हूलमा त्यो राक्षसको पनि अब आउने क्रम बढ्न थाल्यो हस्पिटलमै । जसको कारण उनी झन् मानसिक बिमारी हुन पुगिन् । अब उनलाई निद्रा लाग्ने औषधी खुवाउन थालियो । मान्छेहरूले अनेकौँ कुराहरू काट्न थालिसकेका थिए र ती सब सुनेर बस्न बाध्य थिइन् उनकी आमा । उनी पनि एक प्रकारले गलिसकेकी थिइन् । छोरीको त्यो हालत त्यसमा लोग्नेको दिनरातको टोकेसो ।

एक बिहान उनी हस्पिटलको बेडमा पल्टिराखेकी हुन्छिन् । त्यत्तिकैमा उनकै बहिनी बिस्तारै भित्र पस्छिन् । उमेरले छ–सात महिनाको फरक भए तापनि साथी बढी थिए उनीहरू । उनलाई कोहीसँग बोल्न मन नलागेर होला आँखा चिम्लेर पल्टिरहिन् । उनको बहिनी बिस्तारै उनको छेउमा आएर बस्छिन् । त्यसको केही क्षणमा नै उनलाई यो थाहा हुन्छ, उनकी बहिनी घुँक्कघुँक्क गरेको रोइराखेकी छे ।
‘दिदी, अहिले नितान्त एक्लो भएको छु म । मेरो मनमा गुम्सिएर बसेको पीडा कसैलाई भन्न सकिराखेको छैन । भित्रभित्रै म जलिराखेकी छु दिदी । जसलाई मैले आफ्नो बाबुसमान श्रद्धा गर्थें । त्यसै व्यक्तिले मलाई कुदृष्टि लगायो । हुन त त्यस कुकुरले धेरै पहिलादेखि नै मलाई माया गरेको बहानामा मेरो अङ्गहरू छोएको थियो, तर मैले त बाबुसमान माया सम्झेकी थिएँ । मलाई के थाहा थियो, त्यसको नियत मप्रति बेग्लै रहेछ भन्ने । म उमेर तथा नाताले पनि धेरै सानी र आफ्नी थिएँ त्यसको । कत्ति इज्जत गर्थें तर म जस्ती बच्चीलाई पनि घृणित काम ग¥यो । ती सबै कुरा त्यसकी श्रीमतीलाई बताउँदा उल्टै मैले गाली खानुप¥यो । माया गरेको रे मलाई । आफ्नै छोरी सम्झेर माया गर्दा उल्टै बढी बोल्छिस् भनेर गाली खानुप¥यो । यो कुरा बाहिर गएर लगाइस् भने तँलाई नै नराम्रो भन्छन् भनेर आफ्नै लोग्नेको ढाकछोप गरिन । अब म यस्तो व्यवहार सहेर बस्न सक्दिनँ ।’ भन्दै रुँदै गरेकी बहिनीलाई हेरिरहन्छिन् उनी ।
बिस्तारै उठेर बहिनीलाई अँगालो मारेर रुन थाल्छिन् उनी पनि ।
‘तिमी जुन पीडामा छौ र जुन राक्षसको कुरा गर्दै छौ । हो, म पनि त्यही राक्षसको कारण आज यस हस्पिटलमा बस्नुपरेको । तिमी दुई वर्षदेखिको कुरा गर्छौ । म त अझ पाँच वर्षदेखि पीडित छु । त्यो राक्षस खुलेआम छाती फुकाएर हिँडेको । निर्धक्क हाम्रै घरमा आएर हामीलाई अनुचित कार्य गर्दा समेत हामी केही गर्न सकेनौँ बहिनी । किनकि घरमा आमा र बाबुको दिनरातको झगडा र घरको कमजोरीले गर्दा त्यसको फाइदा उठायो त्यस राक्षसले । हामी जस्ता अनेकौँ साना बच्चीहरूलाई त्यसले त्यस्तो कार्य गरेको होला । अब अति भयो । अब पनि हामीले हाम्रा परिवारको दबाबमा चुप लागेर बस्ने हो भने त्यस राक्षसको झन् मनोबल बढ्नेछ । अब हामी चुप लागेर बस्नु हुँदैन ।’ एक्कासि उनमा विद्रोहको भावना पलाउँछ ।
‘म तिम्रो साथ दिन्छु दिदी ।’ बहिनीको सपोर्टले झन् उनीमा तागत पैदा हुन्छ र छेउमा राखेको मोबाइल झिकेर ‘१००’ नम्बरमा डायल गर्छन् ।
‘हेल्लो … !’

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *