– डा. तारानाथ शर्मा

हाम्रो मातृभूमिमा विचित तीर्थस्थलहरु अत्यन्त धैर्यसाथ हामीलाई पर्खेर ठाउँठाउँमा बसेका छन्। ती तीर्थस्थलहरु मात्र पुग्न पाइयो भने नेपालको प्राकृतिक सौन्दर्यको अवलोकन त राम्ररी गर्न पाइन्छ पाइन्छ, त्यसका साथै हाम्रा विभिन्न स्थलमा बसेका बन्धुहरुको जनजीवनको पनि निकट परिचयले लाभान्वित हुन सकिन्छ।

मेरो सौभाग्यले यसै सालको बैशाख ७ गते देवहरुका पनि देव हाम्रा महादेवसमेत लुकेर बसेको गहिरो गुफामा तिनसित भेट्ने ठूलो मनोकाङ्क्षा लिएर बल्ल म पनि हलेसीतर्फ हिडेँ। यस वाक्यमा ‘हिँडे’ भन्ने क्रियापदले र ‘लुकेर बसेको’ भन्ने लेखाइले पाठकलाई झस्क्याए नै होलान्, किनभने खोटाङ जिल्ला अन्तर्गत पर्ने हलेसी डाँडामाथि केही समय अघिसम्म पनि आफ्नै पाइलाहरु सारेर हिँडेरै मात्र पुग्न सकिन्थ्यो तर अचेल त गाडी चढेर सजिलै पुग्न सकिन्छ। हुनपनि ओखलढुङ्गा र भोजपरतिरका मानिसहरुले मलाई धेरै वर्षअघिदेखि नै हलेसी जाने दुइटा बाटा छन् भनेका थिए। एउटा बाटो जसरीतसरी रुम्जाटार पुगेर अर्थात् पाइएदेखि विमानबाट रुम्जाटार पुगेपछि त्यहाँबाट पहाडतिर हिँड्दै खोटाङको सदरमुकाम दिक्तेल गई त्यहाँबाट पनि हिँडेर पैदलै हलेसी डाँडासम्म पुग्ने उकालो बाटो छ भनी तिनले भनेका थिए भने अर्को सजिलो चाहिँ तराईबाट उदयपुरको डाँडो काटी तल झरेर दूधकोसी तरेपछि उकालो पैदलै हिँडी सजिलैसित हलेसीको अति नै सुन्दर ठाउँमा पुगिने कुरो तिनले सुनाएका थिए। ती दुवै बाटाहरु अत्यन्त विकट हुनाले जतिसुकै इच्छा भएपनि जान पाउँला भन्ने मलाई पटक्कै लागेको थिएन।

पैदल हिँड्नुपर्ने लामो समयको पीडा बोधले नै हठात् भाग्यवश गुडेर जान पाउँदा समेत मेरो कलमले ‘हिँडे’ लाई प्राथमिकता दिएको हो। अब दोस्रो झस्को चाहिँ भस्मासुरसम्बन्धी किंवदन्तीकै फलस्वरुप मेरो लेखनबाट फुत्केको हो, किनभने हलेसी भन्नेबित्तिकै अग्लो डाँडाका भूइँमुनिको गहिरो ओढारको स्मरण हुन्छ र त्यस ओढारभित्र महादेव किन पसेर लुक्न पुगे त भन्ने स्वभाविक जिज्ञासा उत्पन्न हुन्छ। त्यसकै फलस्वरुप त्रिकालदर्शी र सर्वशक्तिसम्पन्न महादेवजस्ताले पनि आफूलाई बचाउन भाग्नुपर्ने स्थिति आइपर्दा त्यस्तो किंवदन्तीको प्रचलन भएको हो भनिन्छ। हुनपनि जति जो सद्गुणहरुले युक्त भयो उतिनै ऊ सोझो स्वभावको हुँदोरहेछ र बाङ्गो सोच्दा अरुलाई धोका दिएर आफ्नै घृणित स्वार्थपूर्ति गर्नैपट्टि मरिमेट्ने चाहिँ भस्मासुरजस्तै कपटी, धूर्त र भ्रष्टाचारी हुँदो रहेछ भन्ने कुराको ज्ञान यस दन्तेकथाबाट हामीलाई छर्लङ्ग भएको छ। दन्तेकथा पनि कम रमाइलो छैन।

पितृस्वभावश सबैलाई अत्यन्त माया गर्ने हाम्रा महादेव अति दयालु र चाँड प्रसन्न हुने हुनाले उनलाई हामी ‘आशुतोष’ भनेर पनि चिन्छौं। उनका साथमा माता पार्वतीलाई देखेर उनले अप्रतिम सौन्दर्यबाट भुतुक्क भई भस्मासुरले महादेवलाई झुक्याएर आफूसित पार्वती लाने दुष्ट योजना बनाई महादेवको तपस्या गर्न थालेछ। आशुतोष न हुन्, सोझा महादेव प्रसन्न भइहाले र ‘भन, के माग्छस्?’ भनेर सोधे। भ्रष्ट भस्मासुरले भन्यो, ‘म जसका शिरमाथि हत्केला रा छु त्यो भस्म भइहालोस्!’ महादेवको स्वच्छ मुखारविन्दबाट ‘तथास्तु’ (अर्थात् त्यस्तै होस्!’) भन्ने वरदान झरिहाल्यो। अनि जब उसले त महादेवैको शिरतर्फ पो हत्केला बढायो अनि त उनी वायुवेगले उफ्रेर आफ्नो नन्दी भन्ने साँढेमा चढी त्यहाँबाट उड्दै हलेसीतिर लागे। हलेसीडाँडामाथि तल भूइँतिर जाने गहिरा न गहिरा दुई ओढार छन्। तिनमध्ये एउटामा पस नन्दी साँढेलाई त्यहीँ छाडेर उनी अझ सुरक्षित रुपले लुक्न त्यसै डाँडाको अर्को ओढारमा छिरी लुकेर बसे। अझै महादेव त त्यहीँ बसिरहेकै पो रहेछन्।

यता कपटी भस्मासुरको चाल देखेर विष्णुले मोहिनी रुप धारण गरी त्यसलाई ठीक पारेका थिए। आफैं अति सुन्दरी नर्तकी भएर विष्णु नाच्दै भस्मासुरका समीपमा गएपछि लोभिएर ऊ पनि ल_ पर्दै नाच्न थालेछ र नर्तकीले आफ्ना हत्केला घरिघरि कपालमाथि लगेको देखी आफ्नो स्वार्थपूर्ण कुउद्देश्य भुसुक्कै बिर्सेर भस्मासुरले पनि हात आफ्नै शिरमा राखेछ र लगत्तै ऊ खरानी भएछ।

अब त काठमाडौंबाट सोझै हलेसीसम्म नै गाडी चल्ने बाटो पनि बनिसकेको छ। एकदिनभित्रै सजिलै गाडीबाट हलेसी पुगी भोलिपल्ट बिहान महादेवको दर्शन गरी बेलुकातिर काठमाडौं आइपुगिने रहेछ। त्यसै हुनाले म, मेरी जीवनसंगिनी र हाम्रा नातादारहरु र मित्रहरु दस जना मिलेर एउटा जीपको व्यवस्था गरी हलेसीतिर हिँडेका (अर्थात् गुडेका) थियौं।

हलेसी गइरहने जीप भएतापनि गोपीकृष्ण चित्रघरबाट चक्रपथ समाती चाबेल, गौशाला, वायुयान बिसौनीको मूल ढोका अघिल्तिरबाट कोटेश्वर हुँदै भक्तपुर जाने फराकिलो बाटातर्फबाट लैजाला भनेको त चालकले सरस्वतीनगरबाट उत्तर लागि सस्याना गल्ली छिचोल्दै जोरपाटीबाट चोरबाटो गोठाटारतिर गाडी हुइँक्याएको देखेर मैले सोधे,‘मूलबाटो सोझै जाँदा सजिलो हुँदैन र?’

चालक वीरबहादुर तामाङ फुर्तिलो र फरासिलो युवक रहेछ, उसले भन्यो, ‘हामीलाई यता काठमाडौंमा मूल सडकहरुमा हाँक्ने अनुमति छैन।’

गाडीले जडिबुटीतिरै भक्तपुरको राजमार्गलाई भेटेपछि हामी सोझै त्यही मार्गबाट भक्तपुर काटि देब्रेतर्फको साँगाको डाँडामा स्थित महादेवको अग्लो न अग्लो मूर्तिलाई ‘आरामै हुनुहुन्छ?’ भन्दै भन्ज्याङ् छिचोलेर बनेपा पुग्यौं। त्यहाँबाट धुलिखेल पुग्न पाँचसात मिनेट जति लाग्यो होला। म त्यताबाट चाहे पलान्चोकी भगवतिथान जाँदा होस्, चरीकोट जाँदा होस् वा जिरी जाँदा होस्, जहिले पनि धुलिखेलबाट देब्रेपर्ने बाटैबाटो अलिक तल झरेपछि पाँचखालको फाँट हुँदै पूर्व हानिन्थें। यसपालि भने चालकले गाडी कुइँक्क घुमाएर दक्षिणतर्फ लाँदा छक्क परेँ। तर हाम्रो बाटो त्यहि रहेछ। दायाँपट्टिको सस्यानो डाँडामा डा. सुरेशराज शर्माको सौजन्यबाट स्थापित काठमाडौं विश्वविद्यालयका रमणीय भवनहरु देखा परे। तिनको अवलोकन गर्दै गाडी ओह्रालो झ:यो। चालकले मलाई भन्यो, ‘हामी भकुन्डेबेंसीतर्फ झर्दैछौं।’

म मनमनै भ्रष्ट भस्मासुरको भाँडभैलो नै सम्झिरहेको थिएँ। त्यस्तैमा ‘म’ बाटै थालिने भकुन्डेबेंसीको नाउँ पहिलोचोटि सुन्दा त म झसँग भएँ। के महादेवलाई खेद्दै भस्मासुर त्यतातिर लागेकाले यो त्यस ठाउँको नाउँ ‘भ’ बाट उठेको त होइन? होइन रहेछ, त्यो त रमाइलो गाउँ रहेछ। त्यसलाई काटेर नेपालथोकतर्फ लाग्दा दुई कुारको अनुभव भयो। एक त चालकले हाम्रो देब्रेतिर बग्ने सुनकोशीमा यतै कतैबाट रोसी भन्ने खोलो मिसिएको छ र त्यसपछि त हामी काभ्रेलाई छाडेर सिँधुली पुगिसकेका हुन्छौं। भनी मलाई सुनायो। रोसी खोलाले फेरि मेरो कल्पनालाई बल दियो। काठमाडौंबाट पूवर्तर्फका स्थानहरुमा जाँदा यही रोसी खोलाको बगरैबगर हिँडेर पारि तर्नुपथ्र्यो रे, तर माथिदेखि नै बाटो ढुकेर बसेका उसका लुटेरा साथीहरुले उसरी नै सोध्थे रे, ‘लैनो कि थारो?’ अनि त्यस ढुकुवाले धनीजस्तो देखे ‘लैनो (=दूध प्रशस्त दिने गाइ)’ र आफूसित भुटीभाङ नभएको जस्तो देखिने यात्री भए ‘थारो है थारो’ भनेर भन्थ्यो रे। त्यस्तो डरलाग्दो इतिहास बोकेको रोसी खोलो आज भने चुपचाप बगिरहेको थियो।

अनि अर्को अनुभव चाहिँ ‘दुम्जा’ शब्दले ममा उब्जायो। ओखल्ढुंगामा जन्मेका र हाल वीरअस्पतालमा कार्यरत विशेषज्ञ मेरा सहयात्री कृष्णप्रसाद कोइरालाले भन्नुभयो, ‘हो, यो दुम्जा हामी कोइरालाहरुको पितृभूमि हो। हाम्रो बाटाको दाहिनेतिर पर्ने पहाडे गाउँभरि कोइरालाहरुका घर छन्।’

मैले भनें-‘तर प्रसिद्ध कोइरालाहरुमा विश्वेश्वरप्रसाद कोइराला बनारसमा र उनका भाई गिरिजा कोइरला विहारमा जन्मेकाले तिनलाई दुम्जाली भन्न मेरो जिब्रो पटक्कै रुचाउँदैन। बरु दार्जीलिङमा धेरै वर्ष कार्यरत कवि र शिक्षाविद् धरणीधर शर्मा कोइराला भने दुम्जामै जन्मेका थिए र केही वर्ष नेपाल प्रज्ञाप्रतिष्ठानमा रही फर्पिङको विद्यालयमा सेवा पुर्‍याउँदा पुर्‍याउँदै उनको देहावसान भएको थियो।’

दुम्जा गाउँ र माथिको परेवाडाँडा काटेपछि बायाँपट्टि सुनकोशी बगाउँदै हामी पहाडैपहाड जापानले बनाइदिएको राम्रो कालोपत्रे बाटाबाट पूर्व लागिरह्यौं। सुनकोशीमा इन्द्रवती र तामाकोशी अघि नै मिसिइसकेका थिए अनि हामी खुर्को पुग्यौँ । रमाइलो खुर्कोट बजारमा खाजाचिया खाएर बाटो लाग्दा झाँगाझोली, रातामाटा र दुई टारहरु आइपुगे। पहिले देउरालीटार र त्यसपछि दाहिने डाँडाबाट झरेको एउटा खोलो तरेपछि ग्वालटार पुगियो। त्यसपछि भने भस्मासुरले आफ्नो वीभत्स चमत्कार देखायो र हाम्रो गति अनायासै रोकियो। हाम्रो गति रोक्ने बहादुरा भन्ने समस्यानो खोलो हो जो हाम्रो दाहिनेतिरको पहाडबाट झरेर सुनकोशीमा मिसिन्छ। त्यति सानो खोलामा पनि बाढी आउँदा छक्कै पर्‍यौं। केही अघि गएका गाडी खोलो तर्न नसकी फर्केका र हाम्रो गाडी त झन् सानो छाँटको भएकाले बाढीले बगाउला र नभए पनि पहाडबाट मच्चिदै उर्लिएर अघि बढेको बाढीले ढुंगा बगाउँदै ल्याएर गाडी नै बिगार्ला भन्ने त्रास उत्पन्न भएकाले हामी चार घन्टा बाढी घटी पो हाल्छ कि भनेर त्यस ठाउँमा पख्र्यौं, तर न त बाढी घट्यो न हामी अघि जान सक्यौं। हुन पनि कतिपय ठाउँमा विशेषगरी दाहिनेतिरबाट बग्दै आएका खोल्साहरूमा दह्रा र स्थायी साँघु नबनिसकेका र त्यस्ता ठाउँमा खोल्सैतिर माटाका ढिस्का सम्म्याएर लगेका अस्थायी सहायक बाटाहरू तर्नुपर्दोरहेछ।

चारचार घन्टा पर्खंदा पनि बाढी नघटेपछि चालकका सल्लाहबमोजिम हामी बहादुरमाथिको पुरानो झोलुंगे पुलतिर गयौं र त्यहाँ रमाइलोसित निकै बेर हल्लंदै खोलो तरेर पारि पुगी केही हिंडेर घुर्मी भन्ने गाउँमा पुग्यौं। बहादुर तरेपछि सिंधुली जिल्ला सकिएर उदयपुर थालिदों रहेछ। घुर्मी सस्यानो भए पनि रमाइलो बजार रहेछ जहाँ एक ठाउँ हामीलाई भोजन गर्ने र राति आनन्दले सुत्ने ओछ्यानहरू प्राप्त भए। चालक चाहिँ हाम्रो रात बिताउने व्यवस्था गरी ‘भोलि बिहान छ बजे नै गाडी लिएर आइपुग्छु भन्दै गाडीतिरै झोलुंगे साँघुबाट फर्केर आयो।

हामीलाई खाने र बस्ने राम्रो व्यवस्था हुनाले र बिहान छ बजे नै चालक गाडी लिएर बाढी घटेको त्यही बहादुरा तरी आइपुगेको हाम्रो यात्रा हलेसीतिर बढ्यो। घुर्मीबाट सुनकोशी किनारको पूर्वतर्फ डाँडेडाँडामा जापानले बनाएको कालोपत्रे बाटाबाट पछि सुनकोसी पारितिरबाट लिखु खोला आएर मिसिएको देखियो। सहयात्री कृष्णप्रसाद कोइरालाबाट लिखुखोलाले रामेक्षाप र ओखलढुंगालाई छुट्याउँदोरहेछ भन्ने थाहा भयो। निकैबेर गाडीमा हुइँकिएपछि बायाँ पट्टि सुनकोशीमा हालेको अस्यायी पुल(बेली ब्रिज)भेटियो। त्यसबाट पारितरे पछि हर्कपुर टारहुँदै ओखलढुंगा जिल्ला टेकी त्यस्तै पहाडको बाटो उत्तर लागेर जयराम घाटमा दूधकोशीलाई हतार हतार सुनकोशीतिर हुँत्तिदै मिसिन दुगुरिरहेको हामीले भेट्यौं र त्यसमाथिको उस्तै अस्थायी पुल(बेली ब्रिज) तरी खोटाङ जिल्ल कुल्चन पुग्यौं। खोटाङको पहाडी घुमाउरो बाटो हाम्रै नेपाली सेनाले अत्यन्त मिहिनेतसाथ बनाएको रहेछ,तर कालोपत्रे चाहिँ भ्रष्ट ठेकेदार र घुस्याहा सर्कारी कर्मचारीहरूको मिलेमतोमा यसो एकदुई घर भएको ठाउँमा मात्रै बनाएको र अरू ठाउँमा धुलैधूलो छोडिएको पाइयो। खोटाङमा मात्र होइन, उदयपुर र सिंधुलीमा पनि नदी छेउमा बनाइएको यो बाटो कालोपत्रे पार्ने कुरामा दुष्टमति भस्यासुरका आफन्तहरूबाट उसरी नै पीडित रहेछ, अर्थात् पानी पर्दा उकालामा हिलो जमेर गाडी चिप्लिने र डरलाग्दा भिरालमा नाच्तै र ठोक्किंदै तल नदीमा झ्वाम्म खस्ने त्रासले त्राहीत्राही भइँदोरहेछ।

जे होस्, अब जीवनभरि नै इच्छा गरिएको पवित्र हलेसीतीर्थ पुग्न पाइने भइयो र भस्मासुरबाट भागेका हाम्रा त्रिशुलधारीको दर्शन पाइने भनेर फुरूङ्ग पर्दापर्दै हामी च्यास्टमीटार भन्ने दुईचार छाप्रा भएको ठाउँमा निर्दयतापूर्वक रोकिनुपुग्यौं। हातमा रातो रङको घिनलाग्दो टालो हल्लाइरहेका केही उच्छृखंल केटाहरू अशिष्ट बाँदरहरू जस्तै यता र उता हल्लिदै हलेसी जाने र हलेसीबाट फर्कने गाडीहरूलाई जबर्जस्ती इँटा, ढुंगा र काठका मूढाहरूबाटामै थुपारेर र तेर्स्याएर बाधा दिंदै भस्यासुरकै भाषामा च्याउँच्याउँ कराउँदै थिए। सोद्धा बसले हामी विद्यार्थीहरूलाई भाडामा पैसठ्ठी प्रतिशत सहुलियत दिनुपर्नेमा पैंतीस प्रतिशत मात्र दिएकाले यो बाटो बन्द गरेका हौं भन्ने तिनको फलाको सुनेर हामी छक्क पर्‍यौं। जीप बन्दोवस्त गरेर हलेसी जाने हामीहरू जस्ताको नियमित चल्ने बसका भाडासँग कुनै सम्बन्धै थिएन, तर ती भस्यासुरका भाडाका भन्टाङभुन्टुङहरू भने हामीलाई नै चिच्याइचिच्याइ विरोध देखाइरहेका थिए। अचम्मको कुरो चाहिँ हलेसीतिरबाट फर्केका सिक्किम र दार्जीलिङतिरका नम्बर भएका केही गाडीहरूलाई भने ती घुचा बाँदहरूले झुकेर दासले जस्तै सलाम गर्दै जान दिए। भारतीय बन्धुहरूले अझैं पनि अढाइ सय वर्षसम्म राज र मोज गर्ने आफ्ना अंग्रेज प्रभुहरूलाई र तिको भाषालाई विनयपूर्वक ढोगेझैं ती हलेसीका भँडुवा ठिटाहरूले पनि भारतीय प्रभुहरूको सम्मान गरेझैं मलाई लाग्यो।

वास्तवमा यस्तो बाँदरे कुसंस्कृति कुठाउँमा परेका र निर्दोंष जनतालाई पिर्ने र पिल्स्याउने चलन हो भन्ने मलाई अनुभव भयो। राजनैतिक भनाउँदा नेता वा अनुत्तरदायी शासकहरूलाई रिस वा असन्तुष्टि निर्दोष जनतामाथि बन्द लादेर पोख्ने घृणित प्रणाली भस्यासुर र त्यसका अनुयायीहरूकै हो। बन्दका निउँमा निस्सहाय जनताका पसल र गाडीहरूका ढुंगा बर्साएर वा लाठामा बजारेर ऐना फुटाइदिने र अरू प्रकारका क्षति गरिदिने राक्षसी र अमानवीय अपराधहुँदा पनि गणतन्त्रवादी यो हौं त भनी हल्ल्लत हांस्तै पोक्किने शासनधिकारी भस्यासुरहरू भने जुँगा मुसारेर हात हल्लाइ रहेका र कुनै ऐननियम प्रयोग नगरी मख्ख परिरहेका देख्दा ठूलो पश्चात्ताप हुन्छ।

त्यस्तैमा काठमाडौंका शिक्षणअस्पताल, गंगलाल अस्पताल,वीरअस्पताल र ओम अस्पताल जनसेवा र जनस्वास्थ्यमा समर्पित संस्थाहरूको केही गाडीहरू हलेसीबाट काठमाडौं फर्कन त्यहाँ आइपुगे। ती गाडीहरूमा प्रसिद्ध महिला र पुरू ष विशेषज्ञ चिकित्सहरू थिए जो कोही हप्तासम्म निशुल्क स्वास्थ्यसेवाका शिविर चलाएर हलेसीका जनताको निस्वार्थ र अति प्रशंसनीय चिकित्सा गरी फकिंदै थिए। ती उदारहृदयी राष्ट्रसेवी विशेषहरू पनि त्यसरी बाँदरहरूबाट जबर्जस्ती रोकिंदा मेरो त शिर नै पट्ट फु्टलाजस्तो भयो, पीडाबोधले म त थर्थर काम्न थाले। त्यसै बेला एकजना युवक पर्यटकले भन्यो,‘पीडाबोधले म त थर्थर काम्न थालें।’ त्यसैबेला एकजना युवक पर्यटकले भन्यो,‘यी दसबाह्र बाँदरहरूलाई सबै घुइरिएर पिटौं र ठीक पारेपछि मात्र हामीलाई यिनले जोडन्।’

एकजना डाक्टरले थपे,‘मेरो केही मन्त्री र उच्च प्रशासक साथीहरूलाई मोबाइलमा गुहारे,कस्तो बिडम्बना? कोही फोन उठाउँदै उठाउँदै। सर्कार नै नभएको जस्तो भयो यो राष्ट्र हरे।’

अनि त हामी ती बाँदरहरूतिर झम्टियौं र साँच्चै ती भागेर वेपत्ता भए। बल्ल चार घन्टापछि मुक्ति पाएर हामी हलेसीतर्फ लाग्यौं। त्यहाँबाट झन्नै एक घन्टा पहाडका बाटामा घुमेपछि हामी हलेसीको डाँडैमा पुग्यौं। हलेसी पनि हलेसी नै रहेछ -अति रमणीय, अति आकर्षण र प्राकृतिक सौन्दर्यले गर्दा अति दर्शनीय। दुई डाँडामध्ये पहिलामा दुइटा ओढार रहेछन् र दोस्रो अलिक पर्तिरको डाँडो भने बौद्धधर्मालम्बीहरुका रंगीन ध्वजापताकाहरूले चारैतिर ढाकेर विछट्टै राम्रो र हेरिरहुँजस्तो बनाइएको रहेछ। मूल डाँडामा दुइटा टुप्पैमा बनेका ओढारहरू छेउमा एउटा वौद्ध गुम्बा पनि रहेछ। हाम्रा वैदिक र बौद्ध दुवै धर्मको यस्तो सामञ्जस्य र मैत्रीदेखेर मेरो मन गद्गद् भयो। यो हाम्रो राष्ट्रियता एकता र स्नेहको अति सुन्दर परिचय हो भन्ने भावनाले म औधि पुलकित भएँ।

पहिलो गुफामा महादेव आफ्नो साँढे नन्दीमा चढेर पसेका थिए र नन्दीलाई त्यही छाडेर दोस्रो गुफामा छिरी आजसम्म लुकेका रहेछन्। पाँचसात तलाजति मुनि चिप्ला ढुंगाका खुड्किला छेउको बारलाई समस्त्रै ओल्टिएप्छि केही फराकिलो स्थलमा पुगी गुफाको खोपामा महादेवको चुच्चे पत्थर प्रतिमामा मेरी श्रीमती र अरूले पूजा गरेर त्यो प्रसाद लिइ केही फोटा खिचेर फर्कन लाग्दा देब्रेतिर केही अर्कैतिरका खुड्किला चढेर हाम्रो समूहका महिलाहरू पार्वतीको पूजा गर्न गएँ। म भने ओह्रालो झर्दै थाकिसकेकाले फर्खेर बसें। त्यहीँ पूजापाठ पनि हुँदोरहेछ।

बाहिर केही पसलहरू पनि थिए, तर हामी हतारहतार फक्र्यौं। फेरि त्यस दिन पनि धुर्मीमै बास बस्नुपर्ला भनेको त गाडीले ग्वालटार ल्याइपु:यायो र हामी सुनकोशी फेदको त्यही टारको मुर्गी भन्ने ठाउँको एउटा होटलमा टन्न भोजन गरेर मजाले सुत्यौं। भोलिपल्ट बिहानै गाडीमा हामी दुम्जासम्म आई चियाखाजा खाएपछि हाम्रो समूहका धेरैजना सुनकोशी किनारको टारमा कोइरालाहरूले निर्माण गरेको कुशेश्वर महादेवको चिटिक्क परेको मन्दिरमा दर्शन गर्न गए। उनीहरू फर्केपछि हामी फेरि खुर्कोट, नेपालथोक र भकुन्डेबेसीहुँदै र धुलिखेलको उकालो चढ्दै काठमाडौं विश्वविद्यालयलाई वरैबाट प्रशंसा गर्दै बनेपा पुग्यौं। बनेपाबाट साँगा काटेपछि दाहिनेपट्टि उभिएका शिवलाई नमस्ते गर्दै बेलुका काठमाडौंको सरस्वतिनगरमा आइपुग्दा झमक्क साँझ परिसकेको भए पनि हलेसीजस्तो अति सुन्दर तीर्थस्थल पुगेर जीपमा अंकित तथ्यांकअनुसार जम्मा ४६५ किलोमिटर बाटो छिचोली अनि प्रसन्न मुद्रामा आफ्नै आफ्नै घरमा आइपुगेर खाने र सुत्ने सौभाग्य पाउँदा अत्यन्त मख्ख पर्‍यौं।

श्रोत : साहित्य संग्रह

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *