– ईन्द्र अधिकारी
दृश्य १
(राजा आफ्ना मन्त्रि तथा उच्च कर्मचारीलाई निर्देशन दिदै)
राजा: उपस्थित मन्त्रिगण, कर्मचारी मित्र र अन्या ब्यक्तित्व । आज मैले तपाईहरुलाई सहयोगका लागि बोलाएको छु । यो देश बचाउने सहयोग । समाज भाडिन लागेको छ, त्यसैको रोकथामको निम्ति । देशमा व्याप्त अव्यवस्थालाई उन्मुलन गर्न म तपाईहरुको आवश्यकता देख्छु अनि आज सम्बोधन हुने कानूनी कार्वाहीहरुलाई प्रत्येक क्षेत्रमा पुर्या उने काममा पनि म तपाइहरुको सहायता माग्दैछु । मैले केही नीतिहरुको तर्जुमा गरेको छ, र म यिनलाई जनता सम्म पुर्यारउने काम तपाइहरुलाई दिदैछु ।
१. देश र नरेशको विरुद्ध बोल्नेलाई मृत्यु दण्डको सजाय हुनेछ ।
२. नरेशले मानेको संस्कृति र भेषलाई सबैले मान्नु पर्नेछ । त्यही सबैतिर लागु भएको हुनु पर्नेछ ।
३. प्रजातन्त्रको नाममा अमानवीय व्यावहार गर्ने अनि त्रुटिपूर्ण भ्रम फैलाउनेहरुलाई कडा भन्दा कडा सजाय दिइने छ ।
४. नरेशको आदेश पालना नगरी त्यसको विपक्षमा काम गरे त्यसलाई पनि कडा सजाय दिइने छ ।
५. एउटा देशमा एउटै मात्र भाषा, संस्कृति र भेष हुनुपर्छ भन्ने मन्याता लाई सबैले मान्नु पर्नेछ ।
यी कुराहरुलाई तपाइहरुले सबैतिर प्रचार गरिदिनुहुनेछ भन्ने मैले आशा लिएको छु । अनि आन्दोलन गर्न खोज्नेहरुलाई जहिले पनि कडा सजाय दिदा राम्रो हुने कुरा यहाहरुलाई अवगत गराउछु । आजको बैठक यही अन्त हुन्छ ।
(सबै केही नबोली उठेर बाहिर निस्कन्छन् । )
पर्दा खस्छ ।
—————————————————————–
दृश्य २
(दुइ मन्त्रि देशको कुनै भागमा शासकको निर्देशन सुनउँन पुगेका छन् । मानिसको ठूलो भीड छ । उनीहरुको अघिल्तिर निकै राम्ररी सजाएको मञ्च छ ।)
उद्घोषक: आदरणीय दाजु भाइ तथा दिदी बहिनी । आज हामी तपाइहरुलाई कुनै मनोरञ्जन दिन नभएर देशमा उत्पन्न समस्या र त्यसको निराकरणका बारे बताउन उपस्थित छौं । त्यसका लागि हामीले मन्त्रिज्युहरुलाई पनि बोलाएका छौं । अब म मन्त्रि भौमलाई यहा आएर तपाईहरुसमक्ष केही भनिदिनुहुन अनुरोध गर्छु ।
भौम: आदरणीय उपस्थित जन समुदाय । तपाईहरुला भेटेर केही कुरा बोल्न पाउँदा मलाई खुशी लागेको छ । तपाईहरुका निम्ति सरकारबाट केही उपयोगी निर्देशनहरु प्राप्त भएको छ । त्यही सन्देश लिएर हामी तपाईहरुसामु आएका छौं । हिजो आज हाम्रो देशमा प्रजातन्त्रको नाममा आतंकवादी गतिविधि फस्टाइरहेको छ । यस्ता आतंकवादीहरुले अब आफ्ना कृयाकलापहरु तुरुन्त बन्द नगरे मृत्युदण्ड पाउनेछ् । आफ्नो संस्कृति र परम्परा भनेको देशको मुख्य व्यक्तिको आधारमा हुन्छ । त्यसैले सरकारले पालन गर्ने संस्कृतिलाई अनुशरण गरेर अन्य स-साना संस्कृतिहरुलाई उन्मुलन गर्नु पर्ने आदेश भएको छ । यसलाई नमान्नेका लागि मृत्यु दण्डको सजाय तोकिएको छ । देशमा एउटै मात्र भाषा हुनुपर्छ भन्ने मान्यताका आधारमा अन्य भाषालाइ पठन पाठनमा राखिने छैन । (मानिसको विचबाट कृष्ण उठेर सोध्छ)
कृष्ण: आजसम्म हामी तपाईहरुकै आदेश-उपदेशले गर्दा यतिसम्म प्रगतिशील हुन सक्यौ । यसले निरन्तरता पाउने छ भन्ने आश गरेका छौं । तर मलाइ केही कुरा सोध्न मन लाग्यो । सरकारले भनेको कुरा नमान्नेलाई मृत्युदण्ड दिइने प्रवधान नियममा थपिएछ । तर के एउटा व्यक्तिको मौखिक आदेशले यो देशका सम्पुर्ण जनताको चित्त बुझाउला । नियम निर्माणमा किन जनताको आवाज र हिस्सेदारी रहन पाउदैन । के जनताको अधिकारलाई शासकवर्गले यसैगरी कुंजी बनाउदै जाने हो भने देशमा शान्ति फैलिएला ?
भौम: (कड्किएर) चुप! त बस । तेरो प्रश्नको उत्तर दिन म यहाँ उचित ठान्दिन । आदरणीय जनसमुदाय, तपाइहरुवीच रहेका यस्तै फटाहाहरुले गर्दा देश विग्रन थालेको छ । तपाइहरुले यस्ता देशद्रोहीहरुलाई पाली राख्नु भयो भने यसले समाज र देशलाई विगार्नेछन् । तसर्थ म तपाईहरुलाई यस्ता भडुवाहरुलाई गाउँ र समाजबाट तुरुन्त निकाल्न अनुरोध गर्छु । धन्यबाद ।
उद्घोषक: माननीय मन्त्रिज्युलाई धन्यबाद । उहाले तपाइहरुसामु सरकारबट प्राप्त केही महत्वपूर्ण निर्देशनहरु राखिदिनु भो । अब म यहा अर्का मन्त्रिज्यु एवं सरकार सुपुत्री राधा सरकारलाई यहा निम्त्याउछु ।
राधा: आदरणीय जनसमुदाय । म तपाईहरुले धेरै कुरा भन्न यहाँ आएकी हैन र पनि मेरा दुई शब्द राम्री सुनिदिनु हुन्छ भन्ने आश गरेकी छु । तपाईहरुका लागि हिजो आज सरकारको मौखिक कानुन लागु हुन थालेको छ । म पनि त्यही परिवारमा जन्मिएकी भए पनि मलाई तपाईहरुको पसिनाबाट उठाएको सम्पत्तिमा रजाई गर्न मन छैन । त्यसैले यस्तो अन्याय र अत्याचारको विरुद्ध तपाईहरु लाग्नुहोस, जुर्मुराउनुहोस । म तपाईहरुलाई सहयोग पुर्यालउने छु, साथ दिनेछु । धन्यबाद ।(सबैतिरबाट तालिको गड्गडाहट सुनिन्छ । मन्त्रि भौमको मुख कालो हुन्छ । सभा सकिन्छ, सबै आ-आफ्नो बाटो लाग्छन् । मन्त्रि राजधानी तिर हानिन्छ, राधा कृष्णको खोजिमा ।)
(उता दरवारमा – शासक, छोरो राम, सैन्य प्रमुख र एक इन्स्पेक्टर । मन्त्रि भौमको प्रवेश)
भौम: दर्शन सरकार
शासक: के खबर ल्याउनु भो ?
भौम: नराम्रो खबर सरकार । म गएको क्षेत्रमा एउटा व्यक्ति सरकारको नीतिको विरुद्ध उठेको रहेछ । त्यसलाई गाउबाट निकाल्ने आदेश मैले जनतालाई दिएको थिए तर राधा सरकारबाट त्यसको ठीक विपरित त्यस देशद्रोहीलाई साथ दिने घोषणा भयो ।
शासक: म यो के सुन्दैछु ? के यो साँचो हो ?
भौम: सत्य सरकार ! म किन झुटो बोलौं ।
शासक: म यसलाई कसरी सत्य मानौ ? मेरी छोरी मेरा विरुद्ध । यो हुन सक्तैन ।
भौम: हुन नसक्ने थियो तर भयो । अब के गर्ने ? (एउटा प्रहरीको प्रवेश)
प्रहरी: (सलामी ठोकेर) सरकार । राधा सरकार र कृष्ण नाम गरेको व्यक्ति यो देश छाडेर हिडिसके भन्ने खबर आएको छ ।
शासक: प्रहरीले किन पक्रेन ?
प्रहरी: सरकार सुपुत्री भएका कारणले प्रहरीले आदेश विना पक्रने आँट गरेन ।
(शासक रिसले चुर हुन्छ । के गर्नु कसो गर्नु हुन्छ । उसको दिमागले ताजा कुरा सम्झन छोड्छ । उपायहरु नै सबै हराए जस्तो भान उसमा पर्छ ।)
शासक: कमान्डर इन चिफ !
सैन्य प्रमुख: हाजिर सरकार ।
शासक: तिमी अहिले नै खोजेर त्यसको जिउदो वा मृत, यहा ल्याउ । इन्स्पेक्टर गो विद हिम । (दुबै जना सलामी चढाएर जान्छन् ।)
शासक: छोरा तैले पनि यो संकटमा केही उपाय त गर्नु पर्छ ।
राम: मैले उपाय तयार पारेको छु ।
शासक: स्याबास ! के उपाय छ ?
राम: म आजै जसरी भए पनि तिनीहरुलाई लिएर आउछु । ल्याउन नसके, कहाँ छन, के गर्दैछन, पत्तो लाएर आउछु । त्यसपछी तपाई कार्वाही गर्नुहोला ।
शासक: ठीक छ । छिटो जा । जति सक्यो काम छिटो भयो भने राम्रो हुन्छ । समय महंगो छ ।
(राम उठेर जान्छ ।)
(पर्दा खस्छ)
————————————————————————————–
दृश्य ३
(राधा र कृष्ण देशको निरंकुश शासन विरुद्ध सांगठानिक रुपमा अघि बड्न अर्कै मुलुक पुगेका छन् । एउटा होटलमा छन् उनीहरु …..)
राधा: हामी जुन उद्देश्य लिएर अघि बडेका छौ, के यसमा सबैले साथ दिनेछन् त ?
कृष्ण: अवश्य दिनेछन । यो हामीले कुनै पनि नराम्रो काम गरेका हैनौं । यो त केवल शोषणबाट देशलाई मुक्त गराउने एउटा उपाय मात्र हो, जसले गर्दा सबै देशबासी खुशी र सुखी जीवन जिउन सक्षम हुनेछन् ।
राधा: मलाई पनि लाग्छ, यो कुनै अमानवीय कार्य हैन । (अचानक रामको प्रवेश । कोठामा सुन्यता छाउछ ।)
राम: मिष्टर कृष्ण, सायद गुराँसको फुल भवराको लागि हैन । तैले त्यहाँ हात हाल्ने जमर्को गरिछस, परिणाम अलि नराम्रो हुने स्थिति छ, याद राख ।
कृष्ण: तपाइको निम्ति यो अनुचित होला । मैले तपाईको गुरासमा हात हाले होला तर…
राम: तर के ?
कृष्ण: तर यो देशवासीको हित, राजसंस्थामाथिको विश्वास, आस्था र भरोसा अनि मानवीय सम्मानको निम्ति मात्र हो ।
राम: चुप ! मलाई तेरो भाषण सुन्नु छैन ।
कृष्ण: राधाजी, तपाई आफ्नो भाइलाई सम्झाउनोस् ।
राधा: हेर भाइ, तैले पनि अब बुझ्ने समय आएको छ । देशको परिस्थितिलाई समयानुकुल अंगाल्न सक्नुपर्छ । अब यो संसार अर्कै बाटोमा हिड्दैछ ।
राम: के म आफ्नो पराम्परालाई त्यागेर, मुकुट फालेर, खलकको नाक काटेर आफ्नै विरुद्ध अघि बडौं ?
राधा: हो, आफ्नै खलकको इज्जत फाल्न, मुकुट फल्न त मलाई पनि इच्छ छैन । तर त आफै सोच देशका निमुखा जनताबाट लिएको धनले कति दिनसम्म मोज गर्ने ? मान्छेले मान्छे भएर बाँच्नका लागि सबैसामु आफू सम्मानित हुनुपर्छ । तर अत्याचार गरेर हैन । सबैले हृदयदेखि नै सम्मान प्रकट गरे मात्र मानवताको सर्थकता स्पष्ट हुन्छ ।
राम: अब म के देशको उत्तराधिकारी भएर त्यही राजसत्ताको विरुद्ध लडौ त ?
कृष्ण: तपाई आफ्नै खलक विरुद्ध, आफ्नो त्यो कर्तव्य विरुद्ध नलड्नुहो तर त्यसलाई शुद्ध र सफा, जनचाहना अनि सबैको हितैषी राजसंस्था बनाउने तर्फ कदम बढाउनुहोस । यसैमा तपाई अनि देश र जनताको भलाई छ ।
राम: (निकैबेर घोरिएर… विगतमा आफूले देखेका अनेकौ अमानवीय घटनाहरुलाई सम्झन्छ – यौन शोषण, जेल, पिटाई, यातना, मृत्युदण्ड, विना पारिश्रमिक काम, खान नदिएको आदि) । ठीक, मलाई यो कुराको आजसम्म ज्ञान भएनछ । तपाईहरुले आज मेरो आखा खोलिदिनु भयो । अब म त्यसैको पक्षमा लड्नेछु । तपाईहरु बाहिरबाट आफ्नो काम सञ्चालन गर्नुस, म भित्रबाट यसलाई टेवा दिनेछु ।
राधा: भाई, धन्यवाद । तैले पनि हामीलाई सहयोग गर्नेछस भन्ने आशा लिएका थियो र त्यो आज पूरा भयो । अव हामी निर्ढुक्क काममा लागि पर्नेछौं ।
(राम जान्छ । कोठामा निकै बेर सुन्यता छाउँछ । ढोका बन्द छ । सुनसान । राधा र कृष्ण आ-आफ्नै धुनमा व्यस्त । केही समय पछि ढोका ढकढकाएर कोही आएको चाल गर्छ । राधा ढोका खोल्न जान के खोजेकी हुन्छे, सैन्य प्रमुख र इन्स्पेक्टर पेस्तोल तेर्स्याएर भित्र पस्छन् ।)
सैन्य प्रमुख: मिनिस्टर राधा, ह्यान्स् अप ! यो नरेशको आदेश हो । अधिकारको नाममा देशद्रोह गर्ने कसैलाई पनि यो देशको कानुनले छड्दैन ।
राधा: कृष्ण तिमी यसको हत्या गरिदिन सक्छौ । यो मेरो मुखको आदेश हो ।
कृष्ण: यसो गर्नु ठीक हैन । किनकि भोलिको प्रजातान्त्रिक व्यवस्था पछि पनि हामीलाई यस्ता ब्यक्तिको खाँचो पर्छ । सेनापति लानोहोस हामीलाई कहा लानु पर्छ । तपाईहरुबाट भागेर हामीले कुनै फाइदा उठाउनु छैन । हामीलाई दण्ड दिदा यस देशमा शान्ति आउछ, जनताले अमन चयनका साथ बस्न पाउछन भने ठीक छ हामी जस्तो सुकै दण्ड सजाय भोग्न पनि तयार । लाउनुहोस हाथकडी र लैजानोस, कहा लानु पर्छ । हामी जानको निम्ति तयार छौं ।
राधा: यो हुदैन । यसलाई म अस्वीकार गर्छु । सेनापति तिमीले आज नरेश पुत्री तथा मिनिस्टर राधा माथि पिस्तौल उठाउने हिम्मत कसरी गर्यौि । हात झार ।
सैन्य प्रमुख: यो हात नरेश पुत्री अनि मिनिस्टर राधा माथि हैन, देशद्रोही माथि उठेको छ । त्यसैले यो हार झर्दैन ।
राधा: हात तल झार ! इट्स माइ अर्डर ।
सैन्य प्रमुख: एण्ड इट्स द अर्डर अफ द किङ ।
राधा: त्यसो हो भने तिम्रो हत्या हुदैछ । (पिस्तौल निकालेर सैन्य प्रमुखलाई हान्न मात्र के खोजेको थियो, कृष्णले खोसिदिन्छ ।)
कृष्ण: यसो गर्नु उचित हुदैन । यो मानवीय गुण हैन । शान्त भएर काम गर्नु पर्छ । सेनापति, लानोस हामीलाई कहाँ लानु पर्छ ।
(पर्दा खस्छ)
————————————————————————
दृश्य ४
(उही शासकको बैठक कोठा । एकटक निछ्याम । एकलै बसेर शासक के के सोचिरहेको बेला रामको प्रवेश)
शासक: के भो काम छोरा ?
राम: अति राम्रो अनि अलिकति अप्ठ्यारो ।
शासक: भन्न खोजेको के हो . कतै भेटिनस कि ?
राम: भन्न खोजेको त्यही हो, भेटें ।
शासक: खोइ त ती भुतहरु ?
राम: ती भुतले मलाई खाए, अनि म यहाँ एउटा नरकंकालको रुपमा हजुरका सामु उपस्थित छु, जागित्र बनेर ।
शासक: छोरा, त यो के भन्दैछस ? तेरो भाषा नै बुझ्न सकिन त ।
राम: म मेरो मातृ भाषामा बोल्दैछु । जुन भाषा हजुर पनि बोल्नुहुन्छ । जुन भाषा हजुरले मलाई सानै उमेरदेखि सिकाउनु भो ।
शासक: (अलमल्म पर्छ । केही बेरपछि…) त भन्न खोजेको सही कुरा लुकाउदैछस । सिधा भन, सरल भाषामा ।
राम: म सरल भाषामा बोल्दैछ । यो देशको शासन प्रणालीमा सुधार आउनुपर्छ । नत्र भने ठीक मान्ने छैन ।
शासक: यहाँ भन्दा सुधार शासनमा आउदैन छोरा, यो देशमा । यो नै अन्तिम हो ।
राम: त्यसो हो भने मलाई उत्तराधिकारीको पद नदिनोस । म पनि तपाईकै विरुद्ध काम गर्दै जानेछु ।
(शासक अल्मलिन्छ । अक्क न बक्क हुन्छ । निसासिएर, उपाय निकाल्न नसकेर छटपटाए जस्तो देखिन्छ । केही बेरपछी छेउमै उभिएका केही प्रहरी जवानलाई रामलाई लगेर थुन्न आदेश दिन्छ । प्रहरी रामलाई लिएर जान्छन् । उ एकलै कोठाको ओल्लो छेउ र पल्लो छेउ गर्दै बस्छ । केही समयको सुनसान पछि कोठामा आवाज छिर्छ । सैन्य प्रमुख राधा र कृष्णलाई लिएर प्रवेश गर्छ ।)
सैन्य प्रमुख: बाघको पञ्जाबाट उम्कन खोज्ने मृग ।
शासक: स्याबास ! खागो विच्काउन खोजे पछी फेला त परिन्छ नै । मेरो खुन तातेको छ, मलाई आज रिस उठेको छ तर खुसी पनि छु हाहाहाहाह। राधा, तिमीलाई यहा के अपुग थियो ? तिम्रो सेवामा के अभाव थियो ?
राधा: आफ्नो पसिनाको, स्वभिमानको अनि स्वअस्तित्वको अभाव थियो । ‘मेरो’ को अभाव थियो अनि इज्जत र प्रतिष्ठामा प्रश्न उठेको थियो जो आज पनि कायमै छ । ममा हैन, यो देशको शासकमा शासकमा हुनु पर्ने राज्य कौशल र पञ्चगुणको अभाव थियो ।
शासक: वाह तिमी त अति नै दार्शनिक भैछौ । यस्तै प्रवृति बढ्दै गयो भने शायद यहाँ प्लेटो र अरस्तु पनि जन्मेलान ।
कृष्ण: यहा प्लेटो र अरस्तु हैन, जार पल्टाउने रुस जन्मदैछ, लुइस पल्टाउने भोल्टेयर अनि कालो नीतिको अन्त्य गर्ने गान्धी तथा वासिङटन जन्मदैछन । अरु कति योद्धा जन्मदैछन, गन्ति छैन ।
शासक: काल आएपछि मान्छे बढी उत्ताउलो हुन्छ । ताकत देखाउछ, फुर्ती बढ्छ । कृष्णे तेरो फुर्ती बढी हुन थालेको मैले देखे । त्यसैले तेरो अन्त्य गर्नै पर्छ । हा हा हा
राधा: मैले पनि थाहा पाए, राक्षसको काल आयो भने बढी हास्छ । मैसासुर पनि मर्नु अघि धेरै हासेको थियो । त्यसैले मैले यस निरंकुशताको अन्त्य देख्दैछु ।
(कृष्णलाई एउटा खाँबोमा बाधिन्छ । राधालाई भित्र जान भने पनि मान्दिन । छेवैमा दुइ प्रहरी जवान छन् ।)
शासक: म भन्दा त धेरै बुद्धीमानी रहिछस । तर अभाग्यवस त्यो बुद्धि अलि छोटो भएछ । तलाई अब त्यसै छाड्नु उचित छैन । त्यसैले मर्नु भन्दा अघि केही भन्नु छ भने भनिहाल । कसैका लागि सन्देश पठाउनु छ कि? (सबै चुपचाप) दोस्रो पटक – केही भन्नु छ ?
कृष्ण: यो जन्ममा तेरो अन्त्य गर्न सकिन । अर्को जन्ममा तेरो छोरो भएर जन्मने छु र अत्यचारको विरुद्ध लड्नेछु । अन्यायको अन्त्य गरेरै छाड्नेछु ।
शासक: ठीक छ । अब अन्तिम मौका । (छेउमा आएर) केही छ अरु ?
(कृष्णले शासकको अनुहारमा थुकी दिन्छ । त्यसको साथ साथ शासकको हातमा रहेको पेस्तोलबा गोली चल्छ, कृष्णको हत्या हुन्छ । प्रतिशोधमा राधाले पनि शासकलाई गोली हान्छे तर त्यो छेवैमा उभिएको प्रहरीले थाप्छ । प्रहरी मर्छ । रिसमा शासकले राधाको पनि हत्या गर्छ । रगतले भुइ पुरै भरिन्छ । शासक तीन लाशलाई लगेर फाल्ने आदेश दिएर निस्कन्छ ।)
(पर्दा खस्छ )
अगस्ट, १९९९
प्रदर्शन मिति: २९ सेप्टेम्बर १९९९
प्रदर्शन स्थल: भुटानी शरणार्थी शिविर, बेल्डागी २ विस्तारित
(स्रोत : IPAJournal.com)