हेश्वर पन्त
मलाई तेल घसेर बिहानको पारिलो घाम परेको पिँढीमा सुताउनुभएको थियो रे मेरी
आमाले । गाउँमा कति मान्छे आउँथे, कति जान्थे हरेक दिन पत्तै नहुने रे ।
प्रायः मलाई हेर्न आउने गर्थे भन्नुहुन्थ्यो आमा । त्यसमा पनि हाम्रो घर चोकमै
पर्ने, घरछेउमै
निम्नमाध्यमिक विद्यालय र केही चिया पसलहरू पनि थिए । स्कुलको छेउमै बरपिपलको
चौतारी थियो । जहाँ हरेकक्षण गाउँका भद्रभलाद्मीदेखि, केटाकेटी दिनभरि तास
खेल्ने र चाहिँदा नचाहिँदा गफ लडाएर बस्नेहरूको लागि त्यो चौतारी साझा स्थल
 थियो । बरपिपल सँगै मिलेर बसेका थिए, कहिल्यै झगडा गर्दैनथे । सबैलाई छाहारी
दिएका थिए उनीहरूले । कति चराचुरुङ्गीहरूलाई आफ्नै हाँगाबिँगामा घर बनाएर बस्न
दिएका थिए ।
म सानो केही महिनाको बच्चा भएकोले मलाई हेर्न आउने निहुँमा महिलाहरू आमासँग
दिनभर गफ लडाएर बस्थे रे । गाउँमा एक अर्काको कुरा काटेको मेरी आमाले दिनभर
सुन्नुपथ्र्यो रे । प्रायः सबैजसो सभ्य र राम्रो परिवारका मै हुँ भन्ने
महिलाहरूले— “बच्चा कति राम्रो छ, यसरी बाहिर नसुताउनुस्, आँखा लाग्लान्, यहाँ
त फलानी बोक्सी हो, ढिस्कानीले तन्त्रमन्त्र गर्छे, बच्चा भित्र
लुकाउनुहोस् ।” जस्ता कुरा सुनाएर मेरी आमाका कान पकाउँथे रे । तर आमाले एक
कानले सुनेर अर्को कानले उडाउनुहुन्थ्यो रे । मेरी आमा धेरै शिक्षित नभए पनि
यस्तो रुढिवादी कुरामा कहिल्यै विश्वास गर्नु हुन्नथ्यो ।
यस्ता कुराको लाञ्छना ती निमुखा, गरिब परिवारका नराम्रा देखिने, श्रृङ्गार
नगरी हिँड्ने महिलालाई लाग्थ्यो । गाउँमा पुरुषहरूलाई बोक्सी भन्ने प्रायः चलन
थिएन । हाम्रो गाउँमा एउटी काली बुढी थिइन् । जसले भएभरका गाउँका नराम्रा
कुराको दोष बोक्नुपथ्र्यो । सामाजिक रूपमै उनलाई हरेक पल सरापिन्थ्यो । मानसिक
र  शारीरिक पीडा दिइन्थ्यो । बच्चा बिरामी भए, भँैसीले दुध नदिए, बुहारीको पेट
दुखे, सासुको आची नआए, बाख्री ब्याउन नसके, बाच्छो मरे आदि जेजे हुन्छन्
त्यसको दोष जति काली बुढीले व्यहोर्नुपथ्र्यो । राम्रो भएमा उनीहरू आफ्नो
भाग्य, राम्रो कर्म र ‘खानदान कसको ?’ जस्ता उच्च शब्दहरू आपैmँले आफैँलाई
चढाएर नाक फुलाउँथे । मेरा आमाबा लगायत गाउँमा औँलामा गन्न सकिने मान्छेले
मात्र यो बोक्सीप्रथाको विरोध गर्थे । “बच्चा बाहिर नसुताउनु नत्र बोक्सीले
बच्चा मारिदेलान्” भन्नेहरूलाई मेरी आमाले अगाडि नै भन्नुहुन्थ्यो— “त्यो त
कर्मको फल हो । आपूmले कसैलाई नराम्रो नगरे आपूmलाई पनि राम्रो हुन्छ । यो सबै
ऐँचोपैँचो जस्तै हो ।”
‘काली बुढी’ अर्थात् धनेकी आमा । उनको आफ्नै नाम पनि उनलाई थाहा थिएन ।
नराम्री, काली, जगल्टे, कहिल्यै कपाल नकोर्ने, कैलेकाहीँ मात्र नुहाउने र गरिब
भएकीले सबैले बोक्सीको आरोप लगाउँथे, उनलाई । उनको एक मात्र छोरो धने, अठाह्र
वर्षे उमेरमा लाहुरे हुन गयो तर आजसम्म फर्केन । धने जन्मेको केही वर्षमै उनको
बुढो भिरबाट खसेर मरेको थियो । सम्पत्तिको नाममा एकहल बारी, एउटा झुपडी र
गोठबाहेक केही थिएन । कसरी यति लामो एक्लो दुःखी जिन्दगी कति तिरष्कृत हुँदै
बाचिन् होली उनी ?
मेरो घरमा बिहानै चिया पाक्थ्यो । उनी चिया खान आउँथिन् । यदि मलाई आमाले
बाहिर सुताउनुभएको थियो भने भन्थिन् रे— “ठूली ! म त बोक्सी, तिम्रो पनि बच्चा
भित्र लैजाऊ, फेरि बोक्सी लाग्ला ।”
“हैन धनेकी आमा ! केही हुँदैन, म त्यस्तो मान्दिनँ, आऊ बस, लेउ बाबु समात, म
चा पकाउँछु ।”
उनले मलाई काखमा लिन्थिन् । आमाले ढुक्कले मलाई उनको जिम्मा दिनुहुन्थ्यो । म
यदि बिरामी भएँ भने आमाले झारफुक गर्न त लगाउनुहुन्थ्यो तर बोक्सी लाग्यो भनेर
हैन । काली बुढीले बोक्सी लगाइ भनेर हैन । झारफुक गर्ने गाउँको चलन भए तापनि
तातो पानी खुवाउनु र खरानी दलेर अलिकति चटाउँदा स्वास्थ्यलाई राम्रै हुन्छ
भनेर । तर आमाबाले हेल्थपोष्ट लान भने कहिले छोड्नु भएन । म धेरै बिरामी
हुन्थेँ रे । रातभर बाआमाले नसुती नसुती काखमा लिनुभएको थियो रे । वहाँहरूलाई
म बिरामी हुनाको कारण थाहा थियो । गाउँमा धेरै बच्चालाई हेल्थपोष्ट दौडाएर
बचाइदिनुभएको छ मेरो बाले । नत्र बोक्सी भनेर झाँक्री राख्दाराख्दै बच्चा
मरिसक्थे, कति त मरे पनि ।
धनेकी आमा हाम्रो घरमा आइरहन्थिन् । आमालाई काममा सघाउँथिन् । पछि मेरो भाइ र
बैनी जन्मेपछि पनि उनले आमालाई सघाइन् । आमाले उनलाई खानेकुरा, लगाउने
कपडाजस्ता आवश्यक कुराहरूमा सहयोग गर्नुहुन्थ्यो । उनी आउँदा म पनि खुशी
हुन्थेँ । हामी उनलाई ‘बोई’ भनेर सम्बोधन गथ्र्यौं । कति खुशी हुन्थिन् उनी ।
हामीलाई आसिक दिन्थिन् तर हामीलाई बोक्सी कैल्यै लगाइनन् । मेरी बैनी अलि
डराउँथी उनीसँग । तर भाइले र मैले डो¥याएर ल्याएपछि भने मान्थी ।
धनेकी आमाको मुख कालो चाउरी परेको थियो । चाउरी पनि यति धेरै थियो कि मुखभरी
छाला रेसारेसा परेको मात्र देखिन्थ्यो । चाउरी नपरेको कुनै ठाउँ थिएन । मेरी
बैनीले उनको मुखमा हेरिरहन्थी । एउटी सानी बच्ची, उनलाई देखेर केके
सोधिरहन्थी । उनलाई बिस्तारै नजिकै गएर प्रश्न गर्थी— “दुख्यो ?” उनका गालामा
दुवै हातले सेक्थी । औषधि हुन्छ जस्तै गरेर बिस्तारै फुक्थी । धनेकी आमाले
मेरी बैनीलाई अँगालोमा च्याप्थिन् । उनका आँखाका आँसु वर्षौँसम्म बग्दाबग्दै
थाकेर सुकिसकेका थिए । निरुत्तर यताउता घुमिरहने उनका आँखाका नानीहरू त्यसै
कताकता कसैलाई खोजेजस्ता देखिन्थे । अनुहारमा कतै पनि हाँसोको कुनै लक्षण
देखिँदैनथ्यो । संसारबाट तिरष्किृत एउटा दुःखी मूर्तिजस्तै थिइन्, उनी ।
जिङ्ग्रिङ्ग परेको कपाल बाँसका जराजस्तै देखन्थे । मेरी आमाले प्रायः उनलाई
केही न केही खान दिनुहुन्थ्यो । हामी वरिपरि बसेर उनले खाएको हेथ्र्यौं ।
धनेकी आमा प्रायः कसैसँग पनि धेरै बोल्दिनथिन् । धेरै मान्छेहरू उनीसँग
‘बोक्सीबुढी’ भनेर बोल्दैनथे । उनी पनि मानव नै हुन् । उनका पनि मान्छेका
जस्तै सपना होलान् । कस्ता होलान् उनका सपना ?
वर्षौँ अगाडि मरेका आफ्ना लोग्नेलाई देख्छिन् होला र भन्छिन् होला— “फर्केर
आउन धनेका बा ! म त एक्लै भएँ ।  तिम्रो छोरो धने पनि लाहुरमै हरायो, धनेका बा
! कि त मलाई पनि माथि नै बोलाऊ । म थाकेँ, मलाई पनि लैजाऊ न !” फेरि केही
सम्झेजस्तो गरेर भन्छिन् होला— “तर म त धनेलाई पर्खिरहेकी छु,  धनेका बा ! यदि
धने फिर्ता आयो भने कसलाई आमा भन्ला ? तिमी पनि त छैनौ ! उसलाई यो घरमा बुहारी
कसले भित्र्याइदेला ? हाम्रा गोठमा दाम्ला छन् तर गाईभैँसी छैनन् ।
वर्षौँवर्षदेखि दाम्लाहरूले धनेलाई कुरिरहेका छन् । कैले धने आउला अनि
गाईभैँसी किनेर ल्याउला ! फेरि हाम्रो गोठ, गोठजस्तो होला । धनेले बुहारी
ल्याउला, नातिनतिना होलान् । म  नभए कसलाई ‘बोई’ भन्लान् ! अनि हाम्रो घर पनि
घरजस्तो होला । मलाई गाउँमा ‘काली बोक्सी बुढी’ हैन
‘धनेकी आमा’ भन्लान् ।
मलाई ‘काली बोक्सी’ भनेर आरोप लाउँछन्, धनेका बा ! तिमीले मलाई छोडेर गएको
केही वर्षमै धने पनि पर्देश गयो । म एक्लै भएँ, नराम्री भएँ । श्रृङ्गार गरौँ
पनि कसका लागि गरौँ ? मुर्झाएको पूmलजस्तै छु । म त बूढी भैसकेँ, झरेको
पातजस्तै भएँ । मेरो धर्तीमा केही काम छैन, धनेका बा ! मलाई तिमीसँगै सधैँका
लागि आउने रहर छ । मेरा यी बूढा आँखाहरू धनेलाई पर्खिरहेका छन् ।” भन्दै
सपनामै रुन्छिन् होला । गाउँमा त उनका आँसु देख्ने को नै छन् र ? सबैले उनलाई
आँसु मात्र दिन्छन् । उनलाई आफ्नो हराएको छोरो धनेलाई पर्खेर बाँच्ने अधिकार
पनि छैन । सायद, उनको भागको धर्ती नै छैन । यत्रो ठूलो धर्तीमा धर्तीमाताले
उनलाई उनको भागको टेक्ने धर्ती पनि दिइनन् ।
गरीबले सपना पनि के नै देख्छन् र ? टन्न खाना खाएको देख्लान्,  राम्रा कपडा
लगाएको देख्लान्, एकैछिन् भए पनि सपनामा हाँसेको देख्लान् । तर ब्यूँझेपछि
फेरि त्यही गह्रौँ संसार उनीहरूको
काँधमा पर्नेछ । तर उनको भने सपना बेग्लै थियो ।
मेरी आमा सधैँ चिन्ता गर्नुहुन्थ्यो— “कसरी बाँच्लिन् यी बूढी ? कुन दिन
बोक्सीको आरोपमा कुटेर मार्ने हुन्, यी रुढीवादी परम्पराबाट ग्रसित
गाउँलेहरूले । नपढेकाले त भने भने तर यी शिक्षित भनाउँदाहरू पनि उस्तै ?”
आमाको पुट्पुट् र भुट्भुट् सधैँ थियो धनेकी आमाप्रति । उनका भन्ने कोही
थिएनन्, यो दुनियाँमा । आपैmँले पकाएर खान पनि नसक्ने भएकी थिइन् उनी । मागेर
दिने पनि थोरै मात्र घर थिए । उनको खरले छाएको पुरानो झुपडी पनि भत्किने
अवस्थामा थियो । उनको गोठले त केही वर्ष पैला नै घुँडा टेकिसकेको थियो । अब
सुत्ने ठाउँ मात्र बाँकी थियो । घर वरिपरि सानातिना रुख बिरुवाहरूको झाडी नै
भइसकेको थियो । उनको घरबाट निस्केर गाउँतिर आउने घरपछाडिको बाटोमा पनि झार
उम्रेर बाटोको निशानी मेटाउँदै थियो । उनको घरमा जाने र आउने मान्छे प्रायः
कोही थिएनन् । उनी मात्रै एक्लै हिँडेर कति नै झार मार्थिन् र ?
उनको घरमाथिको कान्लाबाट स्कुले केटाकेटीले आउँदाजाँदा
‘काली बोक्सी’ भनेर उनको घरको छानामा ढुङ्गा नहानेको दिन हुँदैनथ्यो । एकदिनको
कुरा हो, धनेकी आमा बिहान झिसमिसेमा पाखोमा दिसा बसेकी थिइन् । पँधेर्नीले
देखेछन् र “बोक्सीले छौँडा खेलाउँदै छे” भनेर ढुङ्गा हानेछन् । ढुङ्गाले उनको
टाउकै फुटेछ । मेरा बाआमाले हेल्थपोष्ट लगेर मलमपट्टि लगाएर बचाउनुभयो । उनी
आजकल रुँदिनन् । मनमनै बोलेकोजस्तो देखिन्छ उनका आँखामा । छोरो धनेको नाम
लिन्छिन् घरिघरि । आँखाका आँसु भने सुकिसकेका छन् ।
हामीलाई पनि गाउँलेले त्यति राम्रो नजरले हेर्दैनन् आजकल । हामीले ‘बोक्सी
भन्ने कुरा भ्रम हो र धनेकी आमा असाहय, एक्ली बूढी हुन् तर बोक्सी हैनन्’
भनेको गाउँलेलाई मन परेको थिएन । एउटी बोक्सीलाई आश्रय दिएको कारणले हाम्रो
विरुद्धमा लागेका थिए गाउँलेहरू । मेरी आमा डराउनु हुन्नथ्यो । अब त म र मेरो
भाइ पनि ठूला भैसकेका थियौँ । बैनी पनि  स्कुल जान थालेकी थिई । बाआमालाई केही
आधार लाग्दो हो, हामी हुर्केकोमा । बा बढी पेशामै व्यस्त हुने हुँदा सारा कुरा
देख्नु, सुन्नु र बेहोर्नु आमाले नै पथ्र्यो ।
वर्षाको बेला थियो, रातभरको पानी र हावाले धनेकी आमाको झुपडीको छानो खसेछ ।
रातभर पानीको आहालमा सुतिछन् । बिहान बाले देख्नुभएछ, घरमा लिएर आउनुभयो ।
गाउँमा कसैले वास्ता गरेनन् । केही दिन हाम्रै गोठमाथि मतानमा सुतिन् । केही
दिनपछि स्कुलका केही मास्टर र बाआमाले पैसा उठाएर खरको छानो हालिदिए । तर उनको
गोठ भने बस्यो, फेरि नउठ्ने गरी । उनका गाईबस्तु बाँध्ने ती दाम्ला पुरिए ।
बूढीले धेरै दुखेसो गरिन् मेरी आमासँग । हामीले के नै गर्न सक्थ्यौँ र ! सानो
पूँजीका मान्छेले । मन मात्र भएर नहुने ! उनका ती सपनाका गाईभँैसी पनि त्यसै
गोठसँग पुरिएर मरे ।
गाउँमा परघरे बूढा बिरामी थिए, लामो समयसम्म । उनका छोराले झारफुक गर्न माथि
लेकको जङ्गलमा बस्ने लामा ल्याएछन् । घरभरि भीड थियो । हामी पनि रमिता हेर्न
गएका थियौँ । लामा ढ्याङ्ग्रो ठोक्दै आगोको लप्का मुखमा हालेर निल्दै निकै बेर
उफ्रिए ।
केहीछिनमा सिथिल भए र आँखा चिम्म गरेर बक्न थाले । त्यति बेला उनी लामा बनेर
हैन— भगवान् ! जसले त्रिलोक चौंधै भुवनमा के भैराखेको छ ? जस्तो जान्ने भएका
थिए । लामाले झाँक्रीजस्तै हल्लेर भने— “हेर, हेर, मनुवा ! यी.. बूढालाई...
काली... बोक्सी... लागेकी... छ । यसै... गाउँकी... ठूलो... रुखको... छेउमा...
घर.. भएकी.. काली... बोक्सीले नै... यी बूढा मान्छेलाई खान आँटेकी छ ।
हुहुहुहु हेर मनुवा !”
बाहिरबाट परघरे बूढी चिच्याइन्— “हो, हो, त्यही काली बूढीले मार्न आँटेकी छ
मेरा बूढालाई । मरिजाओस्, त्यो काली बोक्सी ।”
सबैले जिब्रो एक बित्ता बाहिर निकाले । काली बूढीलाई सराप्नु सरापे । भीडबाट
परघरे बूढाका छोरा चिच्याए— “अब बालाई बचाउन के गर्नु पर्ला त भगवान् ?” भन्दै
लामाको खुट्टामा घोप्टिए । लामा अभैm हल्लिएकै छन्, फेरि बिस्तारै बक्न थाले—
“एउटा... कालो... बोको... मध्यरातमा... काटेर... बली... चढाउने, दोबाटोमा...
एक टुक्रा... सुनसहित... फुलपाती... चढाएर... तामाको भाँडामा... दियोसमेत...
बालेर छाडी... दिने... । घरभरि... गाईको गउँत... छर्ने र... बिरामीलाई...
सुनपानी... छर्केर... त्यही गाईको... गउँत... खान दिने, भोलि... दिनभरमा...
यो... गाउँमा... भएका सारा... बर...पिपल वरिपरि... सेतो... रातो ध्वजा..
बाँधी... दिने...हु हु हु हु । हेर, हेर, मनुवा ! यति... गरिस्... भने.. तेरो
बा... बाँच्न सक्छ । हु हु हु हु” भन्दै मन्त्रलाई तीनपटक दोहो¥याएर लामाको
टनटन र फनफन बन्द भयो ।
राती कालो बोका काटियो, घरभरि आगो पुत्याइयो, घरभरि धुवाँ भरियो । परघरे
बूढाले रातभर खोके । पेट दुख्ने गरी मजाले खोके । बूढाले खोक्दा सबले भने— “ऊः
ऊः बोक्सीले बूढाको शरीर छोड्न लागेर बूढाले खोके ।” बिस्तरामा लम्पसार परघरे
बूढाले एकोहोरो खोकी नै रहे । रातभर लामा र उनका सहयोगीले त्यही कालो बोकाको
मासु र रक्सी टन्न खाए । बिहानपख बूढाको खोकी बन्द भयो । छोरा र बूढी बिहान
बूढा सुतेको ठाउँमा हेर्न गए । बूढाको खोकीसँगै सास पनि बन्द भइसकेको रहेछ ।
दमको बिमारी, बूढा रातभरको धुवाँले सास फेर्न पर्याप्त अक्सिजन नहुँदा
मरेछन् । घरपरिवार रुँदै काली बोक्सीलाई सरापे । परघरे बूढा परधाम पधारे ।
लामा दोबाटोमा चढाएको सामान र प्रशस्त पैसा बटुलेर लेकतिर लागे ।
बोक्सीका यस्ता घटना यो गाउँमा प्रशस्त भए । उपचार पनि प्रशस्त भए । तर एकदुई
संयोगबाहेक लामा झाँक्रीले कसैलाई बचाउन सकेनन् । मेरा बाले कतिपटक जिल्ला
प्रशासनलाई पनि यस्ता घटनाको उजुर गर्नुभयो तर कसैले टेरपुच्छर लगाएनन् ।
बाआमाले बोक्सी आरोप लगाउने प्रथाविरुद्ध प्रचारप्रसार पनि गर्नुभयो तर
पुर्खौँदेखि मान्छेको मष्तिस्कमा नराम्रोसँग परेको छाप यति सानो पहलले पखाल्न
सकेन । कति भविष्यका कर्णधार केटाकेटी उपचार नपाएर मरे । कति अधबैंशे,
बुढापाका गलत उपचारको शिकार बनेर मरे । कति सुत्केरी महिलाहरू, कति गर्भवतीहरू
हेल्थपोष्ट नदेखेरै घरमै मरे । मान्छे त मरे मरे, घरपालुवा जनावरहरू पनि सही
उपचार नपाएर मरे ।
पाडाबाच्छालाई गोटा पर्दा, भैँसीले मुत्न नसक्दा, गाई सुनिएर लड्दा, बाख्राले
पाठो फाल्न नसक्दा मान्छेले बोक्सीलाई आरोप लगाएर झारफुक गरे । यसरी
घरपालुवाहरू बिना उपचार मरेका म¥यै छन् । कसैले सम्झाएर यो गलत प्रथाको अन्त्य
भएन । धनेकी आमा यसै प्रथाको शिकार भइरहिन् ।
आज बिहानैदेखि गाउँका एकजना ठूलाबडा महाजन्को घरमा हल्ला थियो । धेरै मान्छे
जम्मा भएका थिए । ठूलो भेलाजस्तै थियो । आमा, म, भाइ र बैनी पनि के भएछ ?
भन्दै दौडियौँ । महाजन्को गोठमा लैनो भैँसी उत्तानो परेर लडेको थियो ।
महाजन्नी बजै फलाक्दै काली बूढीलाई सराप्दै रोएकी थिइन् । हामीले
बुझिहाल्यौँ । आमाले मतिर हेरेर बिस्तारै भन्नुभयो— “आज यिनीहरूले धनेकी
आमालाई मार्छन् । गाउँमा यिनको कुरा कसैले टार्न सक्दैनन् ।” आमा धनेकी आमाको
घरतर्पm दौडिनुभयो । हामी पनि पछिपछि दौड्यौँ ।
बाटोमा महाजन्का छोराहरूले— “काली बोक्सी ! तैँले हाम्रो लैनो भैँसी खाइस् !”
भन्दै लतार्दै धनेकी आमालाई आफ्नो घरतर्पm ल्याउँदै थिए । आमाले उनीहरू माझ
हात जोड्नुभयो, बिलौना गर्नुभयो ।
“बाबु हो ! यो बूढीले केही गरेकी हैन, तपाईंहरूको भैँसीलाई । यो बूढी बिरामी
छे, मर्छे यस्तो नगर्नुहोस् । कृपया ! क्षमा गर्नुहोस्, मानवताको नाताले पनि ।
तपाईंको भैँसी त अब बाँच्दैन, किन पिट्नुहुन्छ यो एक्ली बूढीलाई ?”
आमाको कुरा सुनेनन् उनीहरूले । उनीहरू बलिया थिए । गाउँमा उनीहरूकै बोलवाला
थियो । गाउँमा कोही पनि उनीहरूको अगाडि एक शब्द बोल्न सक्दैनथे । आमालाई धकलेर
लडाए, बूढीलाई लतार्दै गोठमा पु¥याए ।
चारैतिर रमितेहरूको घेरा थियो । लगभग साठी वर्षे धनेकी आमालाई मरेको भैँसी
बाँधेको खामोमा बाँधियो । सारा भीड उनको विरुद्ध करायो । ब्वाँसोहरूको अगाडि
फालिएको बाख्राजस्तै भइन्, धनेकी आमा । सबैले लुछे । भीडबाट मिश्रित आवाज
आइरहेको थियो— “मार, यो बोक्सीलाई लैनो भैँसी खाई ।” कसैले भने “यही भैँसीको
मासु खा एऽ बोक्सी !” केही महिलाहरूले आक्रोशित भएर जगल्ट्याएर बूढीलाई पिट्नु
पिटे । महाजन्नीले निर्णय सुनाइन्— “हेर गाउँले हो ! यो बोक्सीले मेरो मात्रै
हैन, तपार्इंहरूको पनि धेरै नोक्सान पारेकी छे । त्यसैले आज यसलाई मान्छेको
गुहु ख्वाउनुपर्छ । यो बोक्सीलाई जिउँदो छोड्नु हुँदैन ।”
महाजन्को कान्छो छोराले पातमा गुहु लिएर आयो । महाजन्नीले छेस्कोमा चोबेर
धनेकी आमालाई गुहु खुवाइन् । सारा गाउँलेले ताली बजाए । धनेकी आमाले बिलौना
गरिन्— “हजुर म बोक्सी हैन..., मलाई यसरी पीडा नदिनुस् हजुर ! बरु एकैपटक
मारिदिनुस् ।” तर उनको बिलौना कसैले सुनेनन् । यति बिलौना गरेको भए सायद
ब्वाँसोले पनि आफ्नो शिकारलाई माफ गथ्र्यो होला । मान्छेमा मान्छेका लागि
एकरत्ति पनि दया पलाएन । धिक्कार ! यी मान्छेहरूलाई । धिक्कार ! ती भगवान्लाई
। जसले यिनीहरूलाई मान्छेको चोला दियो । महाजन्का छोराले सबै गाउलेहरूलाई आदेश
दिए— “यसलाई कसैले पनि बचाउने कोसिस नगरेस् । कोसिस मात्र गरे, ऊ पनि हाम्रो
हातबाट बच्नेछैन ।”
धनेकी आमा रगताम्मे भइन् । मर्न मात्र बाँकी भएपछि पर जङ्गलको खोल्सामा लगेर
फालिदिए । मेरी आमा धेरै रुनुभयो । आमासँगै हामी पनि रोयौँ । मध्यरातमा बाआमा
र केही गाउँले मिलेर धनेकी आमालाई खोज्न गए । त्यहाँ रगतको आहाल थियो तर धनेकी
आमा जिउँदी थिइनन् ।
उनीसँगै उनका सपनाहरू पनि मरे । उनको गोठ फेरि कहिल्यै बनेन । उनको छोरो धने
कहिल्यै फर्केन । उनी सदाका लागि आफ्नो बूढोसँग गइन्— मृत्युलोकमा । आजकल
गाउँमा फेरि अर्की बोक्सीको खोजी जारी छ ।
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *