– नारायण आचार्य
पुच्छर भन्नासाथ हामी जनावरलाई सम्झन्छौँ । घाँस खाने होस् या मांश खाने, अझ अर्को अर्थमा भन्ने हो भने चारखुट्टे जनावर भनेर पनि सम्झन्छौँ । जब मान्छेको बुद्धिमा बिर्कोले छोप्छ तब हामी मान्छेलाई पनि पुच्छरविनाको पशु अर्थात् दुईखुट्टे जनावर भन्न पछि पर्दैनौँ । जब कुनै मान्छे आफ्नो बुद्धि विवेकलाई तिलाञ्जली दिएर, जबरजस्ती अर्काको निर्देशनमा निधारभरि खरानी र पहेँलपुर वस्त्रमा कमण्डलु बोकेर हिँड्न थाल्छ तब त्यसलाई हामी पुच्छरको उपमाले ढपक्क छोपिदिन्छौँ अर्थात् ओल्नो त फल्नोको पुच्छर रहेछ वा फल्नो त पल्नोको पुच्छर को पुच्छर रहेछ भन्न थाल्छौँ । जे होस् डार्विनको विकासवादी सिद्धान्तअनुसार मान्छेको पुर्खाको पुच्छर भए पनि अहिले जिरोमा झरिसकेको छ । तर पनि अब फेरि पुच्छर हुन थालेपछि पुच्छर पो पलाउने हो कि ? हुन त कति खेर देखिन्छ र, अत्याधुनिक खरो मानवको सर्वाङ्ग रूप ? जे होस् पुच्छर हुनु राम्रो हो । गिदी भरिने ठाउँमा बिर्सिएर लादी भरिएपछि कसरी टाउको हुनसक्छ र ? शरीरको पुच्छर भए त कम से कम झिंगा र लामखुट्टे धपाउन त सकिन्थ्यो नि, तर बराठ् ! हामी त छौँ पुच्छर को पनि पुच्छर ! पुच्छरको पुच्छर नभए त सातोपुत्लो नै स्वाहा हुन्छ नि । त्यसैले पुच्छरवाद हाम्रो सिद्धान्त हो । पुच्छर हुन्छ पशुको तर सिद्धान्त हुन्छ हाम्रो । कस्ता रमाइला पुच्छरवादी ? जल्दाबल्दा तस्वीरहरू हाम्रै नजर अगाडि झलमल्ल छन् । धन्य हो पुच्छरवादी सर्वेसर्वा ज्ञाताहरू !
घगडान घगडान नायककोे भरमार चर्चाको विषय छ । त्यसो त चर्चा हुनैपर्छ पुच्छरको । किनकि अहिले पुच्छरहरूको पुच्छरकै बिगबिगी छ । पुच्छर राख्ने कि हटाउने ? जनावरहरूको जस्तै झ्यापुल्ले पुच्छर ! यो स्वाभाविक छ, यो हटाएर झिगाँसिगाँ केले धपाउने र ? जनावरहरूको पुच्छरजस्तै यहाँ दल, दलका पुच्छरहरू छन् । तर पुच्छर राख्ने कि टाउको मात्र राख्ने बडो घोचपेच चलेको छ । एउटाले भन्छ, “हामी जङ्गली युगबाट अब आधुनिक युगमा प्रवेश गरिसक्यौं । त्यसैले पुच्छर हटाउनुपर्छ ।” अर्काले भन्छ, ‘‘आधुनिक युगमा प्रवेश गरेर के भो ? हाम्रो उत्पत्ति त जंगलमै भएको हो । त्यसैले पुच्छर किन हटाउने ? हटाउन्नै हुन्न ।” पुच्छर त परम्परा हो, धर्म हो, संस्कृति हो, राजनीति हो भने पुच्छर नरहे अब के रहन्छ त ? टाउको ! टाउकाले माखा, लामखुट्टे, भुसुना धपाउन सक्छ ? ¥याङ्ग¥याङ्गे फोहोरीहरूबाट जात जोगाउन सक्छ ! टाउकाले पुच्छर हल्लाउन सक्छ ! मतलब पुच्छरले टाउको हल्लाउने नेपालमा पुच्छरै भएन भने टाउको के ले हल्लाउने ? पुच्छर राख्यौं भने त जसोतसो खोज्दा टाउको भेटिएला नि ! पुच्छरै भएन भने त यो मन आत्मालाई चारखुट्टेले पनि कसरी चिन्लान् र ? समानताको निम्ति पनि पुच्छर राख्नैपर्छ, पुच्छर नराखे त पुर्खा–महात्म्य नै हुँदैन । पुच्छर नभए कुर्सी पनि एकैचोटिमा भुकम्पै नआएर गल्र्याम्म ढल्न सक्छ । त्यसो त देखिने, लेखिने वा सम्झिने पुच्छर मात्रै राखे पनि हुन्छ ।
पुच्छरवादीहरू भन्छन्– ‘‘इतिहासका ढड्डाहरू खोतल्दै जाँदा देश दुनियाँ खाने प्रख्यात पार्टीहरूले पुच्छरको पैयाँ बनाएनन् तर कामभन्दा पनि नामको पछाडिको चर्केपीडको यात्रा गर्नुछ भने पुच्छरको प्वाँख जोड्नैपर्छ । पुच्छर नजोडे त यहाँ समाजवादी नै कहाँ भइन्छ र ?’’ माग्ने बेला भन्नको निम्ति सजिलो होस् भनेर पनि त पुच्छर हुनैपर्छ । आहा ! बेसारे मुहारमा फुस्रो खरानीले मेकअप गरी, समाजवादी औजार कुल्चेर, चिम्टा र कमण्डलु बोकी भिक्षा माग्दै हिड्न थालिसकेपछि किन पुच्छर हटाउने ? पुँजीवादीसँग हार गुहार नगरेर अर्थात् हलो, हजुर र जदौ नभनी दान र भिक्षा पाइन्छ र ? अब आधारभूत सिद्धान्तलाई याँक्देर कमण्डलु अर्थतन्त्रको पुच्छर समाएर पौडिन थालिसकेपछि आफ्नो पुच्छर झन किन हटाउने ? बरु पुच्छर अझ लामो बनाउनुपर्छ । पार्टी आफ्नो ध्यानमा कच्रघान भए पनि पुच्छरले विश्व भ्रमण गरिरहोस्, अवसरको थुप्रोमा मस्ती ओसारिरहोस् ।
हो त नि, अझ, साँच्चिकै पुच्छर भएको भए झन् कति मजाक हुन्थ्यो भनेर कल्पनामय आनन्दमा रम्छु म । म त मान्छे भा’हुनाले पचक्कै छु । आखिर मान्छेको बिल्लामा दरिए पनि अर्थात् दाह्री जुँगाको जङ्गल खौरिए पनि किन यो पुच्छर झ¥यो होला ? अरू दे’शाँ मान्छेको झरे पनि हाम्रो नझरेको भए क्या गजबको नमुना हुन्थ्यो । झरे पनि बुद्धिको होइन, उही पत्थरकै प्रयोग छ, उही ढुङ्गे युगकै ढुङ्गा र मध्ययुगकै ठोस्नेले आगो सल्काउँदै छौँ । ठूलो बुद्धिको बहान बसाले पनि उही ढुङ्गा वीरको शानमा महान् बनेका छौँ अर्थात् पुच्छरको बलमा टाउको अड्याउँछौँ, कति उत्कृष्ट ज्याम्नेस्टिक !
सायद त्यसैले होला नेपाली जिब्रोबाट पुच्छर जोडिएका उखानहरू फटाफट खसेको देखिन्छ । जस्तो कि कुकुरको पुच्छर बाह्र वर्षसम्म ढुङ्ग्रामा राख्यो बाङ्गाको बाङ्गै, त्यस्तै कुकुरले पुच्छर हल्लाउनुपर्नेमा पुच्छरले कुकुर हल्लाउने, शरीरभन्दा पुच्छर लामो, माउसुलीको पुच्छरजस्तो, बाँदरको पुच्छर लौरो न हतियार, सिङ न पुच्छर, पुच्छरको पनि पुच्छर, मुसाको पुच्छर मजाको भाउ, नक्कली बनाऊ या मुसामारी ल्याऊ जस्ता दर्जनौँ उखानहरू छन् । जो पुच्छरसँगै मितेरी गाँसेका छन् तर त्यो पुच्छर जनावरको होइन, मान्छेकै हो ।
उही साजी नामको हाम्रो बासी चरित्रलाई चित्रमय रूपमा चित्रण गर्नलाई जन्मेका छन्, यी उखानहरू । पचास किलोको टाउकाको धाक लगाए पनि आधा किलोको पुच्छरमा बाँचिरहेका छौं हामी । प्रत्येक पाइला–पाइलामा विदेशीले थुक्दैछ, हामी पुच्छरले मसार्दैछौ, मिष्ठान्न थुकको आशामा पछ्याउँदैछौं । थुक्दै फालेका डलरका विषाक्त मुठा होस् या टुक्राउँदै फालेका राजनीतिका विचारहरूको शंखनाद गर्नु नै पुच्छरवादको महान् सफलता हो । त्यसैले निर्देशकले कुर्ता पाइजामा लगाइदेओस् या नग्न वस्त्रमा सजाइदेओस् । क्षणभर हिरो बन्नुछ भने साम्यवादी न पुँजीवादी पुच्छरवादलाई पुकार्नुस् तपाईंको राम्रै इतिहास बन्नेछ । जय हो पुच्छरवाद !
अस्तु
– रोल्पा
(स्रोत : छलफलविक्ली डट कम)