– किशोर दहाल
२०७२ बैशाख १२ गते शनिबार !
खाना खाईसकेर कपडा धुँदा बिहानको एघारजति बजिसकेको थियो । म कोठामा बसिरहेको थिएँ । १० कक्षामा ‘समूह’ भन्ने पाठ पढाइसकेकाले म साे पाठकाे परीक्षा लिने योजनामा थिएँ । त्यसकै निम्ति एसएलसी र काठमाडाैंका केही बाेर्डिङका पुराना प्रश्नहरु हेर्दै थिएँ । प्रश्न हेर्दै आराम पनि गरिरहेको थिएँ भन्दा हुन्छ । केहीबेर पछि नुहाउने योजनामा थिएँ ।
म ढुङ्गा र माटोले बनेको घरको तेश्रो तला(बुईंगल)मा बस्ने गर्थें । चैत्र महिनाको मध्यसम्म त्यस कोठामा हामी दुईजना बस्थ्यौं । अर्को सरले छाडेर गएपछि म एक्लै बस्न थालेको थिएँ । तल्लो तलामा एनजिओका एकजना स्टाफ बस्नुहुन्थ्यो । त्यसदिनचाहिँ घरमा एक्लै थिएँ । घरबेटीहरु सँगैको अर्को घरमा बस्नुहुन्थ्यो ।
पहाडको घरहरु भुकम्पको दृष्टिकोणले निकै जोखिमपूर्ण हुनेगर्छ । म पहिलो पटक पहाड आउँदा पनि घरको संरचना देखेर डराएको थिएँ । घरको संरचना र भुकम्प एकसाथ सम्झिंदा आङ सिरिङ्ग हुन्थ्यो । बिशेष जग र खम्बाबिना नै तीनतले घरहरु ठड्याउने गरिदोँ रहेछ । न त जग बलियो हुन्छ, न त पर्खाल नै । ढुङ्गालाई माटोको सहारामा अड्याएर केबल घर बनाईको हुँदो रहेछ । कच्ची नै भएपनि तराइमा खाँबाे गाडेर घर बनाइन्छ ।
प्रश्नपत्र हेर्दै गर्दा जस्ता बज्न थाल्यो । जस्ता लगाईएको घरमा सामान्य कम्पनमा पनि जस्ता बज्ने गर्छ । घाम तातिदैं र सेलाउँदै जाँदा त्यसकाे प्रभावस्वरूप बिहान र बेलुका जस्ता नियमित नै बज्थ्याे । तर, यसपटक जस्ताको आवाज अलि चर्कै गरि बज्न थाल्यो । सँगसँगै घर पनि हल्लिन थाल्याे । भुकम्प गईरहेको छ भन्ने बुझ्न समय नै लागेन । नजिकै रहेको मोबाइल गोजीमा हालेँ ।
खाटबाट झरेर म खाटमुनि लुक्न खोजेँ । भुकम्पबाट हुनसक्ने मानविय क्षतिलाई न्युनिकरण गर्ने यो एउटा ब्राण्डेड तरिका थियो । हामीले त्यही सिकेका थियौं, सिकाएका थियौं ।
टाउको खाटमुनि र आधा ज्यान बाहिरै रहेको अबस्थामा घर हल्लिरहेको महसुस गरिरहेकाे थिएँ ।
म बसेको घर ढुङ्गा र माटोले बनेको हो भन्ने सम्झिने बित्तिकै मेरो डर झनै बढेर आयो । झन्, म बुइगलमा थिएँ । डर झन्झन् बढ्दै थियो । मलाई हतारहतार भ¥याङबाट झर्ने बिचार नआएको होइन । तर, बिचार गर्दा नगर्दै भित्तोको ढुङ्गाहरु खस्न थालिहाले ।
तेस्राे तलामा पुग्न ढाेकाकाे रूपमा घाेप्टे थियाे । घरै हल्लिन थालेपछि जस्ताबाट बनाइएकाे घाेप्टे खस्याे र बन्द भयाे । अब मैले चाहेर पनि भ¥याङ्गबाट झर्ने स्थितिबाट झर्ने स्थिति रहेन । किनकि भ¥याङ्ग छेउकै चुप्पाबाट ढुङ्गाहरु खसिरहेको थियो र ढाेप्टेमाथि थुप्रिन थालेकाे थियाे । मेरो टाउको त्यतै फर्किएको थियो । त्यतै टाउको फर्काउनु मेरो बाध्यता थियो ।
मैले अगाडि हेर्दाहेर्दै मेरो खाट जाेडिएकाे पछाडिकाे भित्तो पनि खस्न थालिसकेछ । दुइवटा खाटलाई जोडेर राखिएको थियो । जसमा भित्तापट्टिको खाटमा किताब राख्ने गरिएको थियो भने छेउतिरको खाटमा सुत्ने गरिन्थ्यो । खाटमा ढुङ्गाहरु खस्न थाले । मेरो ढाडले खाटमा छोइरहेको थियो । खाटमाथि ढुङ्गाको दबाब बढ्दै गएको मेरो ढाडले मससुस ग¥यो ।
सहयोगको लागि कराउने शब्दै निस्केन । केही गर्ने बिचार पनि दिमागमा आएन । खस्दै गएको ढुङ्गाहरु हेर्नु र त्यसले आफुलाई नलागोस् भनेर सचेत रहनुबाहेक अरु के नै उपाय थियो र ? संकटको बेलामा दिमाग पनि शुन्य हुँदोरहेछ ।
भुकम्पको कम्पन कम भएको महसुस भएपछि म बुइगलको झ्यालबाट टाउको निकालेर बाहिर निस्कन खोजें । झ्याल साँघुरो भए पनि म त्यसबाट बाहिर निस्कने प्रयास गर्न थालें । हतार हतारामा मैले आफुलाई सन्तुलित राख्न सकिनँ । म झ्यालबाट खसेँ र पालीमा पछारिएँ । पालीमा गुल्टिदैं जमिनमा पछारिएँ, जहाँ पालीमा बाँधिएकाे भैंसीकाे मल फाल्ने गरिन्थ्याे ।
म त सुरक्षित भएँ । भुकम्पको धक्काहरु महसुस भइरहेकै थियो । बीरगञ्जतिर बस्नुहुने बुबाको फोन आयो । म सुरक्षित भएको जानकारी गराएँ ।
आफुले भने कसैलाई फोन गर्न सकिनँ । नमस्तेको सिमकार्डमा राती नै व्यालेन्स सकेको थिएँ । राती नमस्तेको सिममा ब्यालेन्स सकिएर नेट चल्न छोडेपछि मात्र म सुतेको थिएँ । एनसेलको ब्यालेन्स बिहान सकेको थिएँ । बिहान एनसेलबाट नेट चलाउँदा चलाउँदै ब्यालेन्स सकिएपछि मात्रै म कपडा धुन निस्किएको थिएँ ।
अब फोन कुर्नुको बिकल्प थिए । एनसेलको सिम भर्खरै चलाउन थालेको थिएँ । यसको धेरै सिस्टम र सुबिधाबारे उत्ती जानकारी थिएन । एनसेलले ऋण दिन्छ भन्ने सुनेको थिएँ तर प्रोसेस थाहा थिएन ।
त्यसाे त ब्यालेन्स भएकै भए पनि फाेन लाग्ने अवस्था थिएन ।
भुकम्पको धक्का कम हुन थाले पछि म गाउँतिर निस्किएँ । नजिकै पाँचवटा घर भएको एउटा गाउँका सबै घरहरु सुतेका थिए । एकजना च्यापिएका रहेछन् । स्थानियको सहयोगमा उनलाई उद्धार गरिएको थियो ।
पहाडको गाउँ भएकोले वरिपरिका गाउँको घरहरु लडेका देख्न सकिन्थ्यो । भुकम्पले क्षति पु¥याउँछ भन्ने थाहा थियो, तर यसरी गाउँ नै ध्वस्त बनाउन सक्छ र सबैलाई शोकमा डुबाउँछ भन्ने थाहा थिएन । म केही घरहरुतिर डुलेँ । सबै उस्तै थिए । बस्नलायक घर कुनै थिएनन् । भत्केका घर त भत्किनै हाले, चर्केका र फुटेका घरहरु झन् बढि जोखिमपूर्ण लाग्दथे । तिनीहरुले खतरा बढाईरहेका प्रतीत हुन्थे । हावा बेस्सरी चलेको थियो ।
कसैसँग सम्पर्क हुन सकिरहेको थिएन । काठमाण्डौंमा भाइ र ममी हुनुहुन्थ्यो । ममी काम बिशेषले त्यही दिन नाइट काठमाण्डौ आइपुग्नुभएको थियो । सम्पर्क नभएकाले डर लागिरहेको थियो । मानिसहरु काठमाण्डौमा करिब ५० हजार मर्न सक्ने अनुमान गरिरहेका थिए । त्यसकारण डर झनै बढिरहेको थियो । काठमाण्डौको हाम्रो कोठा पिल्लर नहालेको पुरानो मोडलको थियो । डर बढाउन हरेक कारण बलियो भएर मुटुमा आक्रमण गरिरहेका थिए ।
साँझ पर्दै गएपछि कलहरु आउन थाल्यो । सबै सकुसल भएको जानकारी पाएँ । मन अलि शान्त भयो ।
दिनभरिजसो भुकम्पको धक्का महसुस भइरह्यो । केही मानिसहरु पुरिएको सामान निकाल्न प्रयासरत थिए । जिर्णघरभित्र पसेर सामान निकाल्ने जोखिम उनीहरु उठाइरहेका थिए ।
मेरो ल्यापटप कोठामा नै थियो । ल्यापटप राखेको खाटमाथि ढुङ्गाको थुप्रो लागेको थियो । अघिल्लो साल किनेको ल्यापटप जिउँदै छ कि म¥यो भन्ने सम्म थाहा थिएन । बुइगलमा चढेर ढुङ्गा पन्छाएर ल्यापटप निकाल्ने आँट आइरहेको थिएन ।
भुकम्प लगभग रोकिएको महसुस भएपछि म बुइगलमा चढेँ र ढुङ्गा खोतल्न थालें । खाटमाथि ढुङ्गाको ठूलो थुप्रो थियो । खाट बीचमा भाँचिएछ । ल्यापटप कहाँ छ भन्ने थाहा थिएन । केहीबेर ढुङ्गा पन्छाए पछि मैले ल्यापटप भेटेँ । ल्यापटपलाइ मैले त्यसैकाे सानाे ब्यागभित्र राखेर अर्काे ठूलाे ब्यागले छाेपेर किताबमाथि राखेकाे रहेछु । त्यसकारण ढुङ्गाकाे ठक्करले प्रत्यक्ष असर गरेन । त्याे भाैतिक रूपमा ठीकै थियाे ।
घर त भत्किएको थियो । त्यहाँ बस्न सकिने अबस्था थिएन । केही सामान निकाले पनि बसोबासको दोश्रो बिकल्प खोज्नै पथ्र्यो । पाँचजनाको निम्ति रात कटाउन पाल टाँङ्नुको बिकल्प थिएन । अघिल्लो रातभर र शनिबार दिनभर हावा चलेको थियो । त्यसकारण त्यस रात पनि हावा चल्ने अनुमान थियो । त्रिपाल टाङ्दा पनि सुख पाइएला जस्तो लागेको थिएन । तर, बिकल्प थिएन ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)