– कुमार खड्का
यतिखेर म बौलाएको सप्तकोशी तर्दै कन्चनपुर पुगेको सम्झिदै आङ् जिरिङ्ग हुने यात्राको कुरा गरिरहेछु । लोकसेवा आयोगको परीक्षा दिन म दमकबाट बागलुङ्तिर हानिएको थिएँ । यो यात्राक्रममा कोशी तरेर सप्तरीको कन्चनपुर पुगेको सम्झना विचित्रको छ । मानिस आफ्नो भाग्यको खोजीमा र सुनिश्चित भविष्य बुन्नका लागि नसोचेका अप्ठ्याराहरुसँग जुध्नुपर्दोरहेछ । यो यात्राले मलाई सिकाएको छ ।
सरकारी जागिरको मोह कसलाई हुँदैन र । अग्रजहरुको सल्लाह र आफ्नो सपना अनुसार मैले यसपालि लोकसेवा दिने विचार गरेको थिएँ । मेरो कार्यगत क्षेत्र पशु तथा कृषि व्यावस्थापन भएकाले ना.प्र.स. नायब प्राविधिक सहायक पदका लागि भिड्न गइरहेको थिएँ । यो लोकसेवा म्युजिकल चियर खेलजस्तो रहेछ । कुसर्ी सिमित छ तर खेलाडि अनेक । लोकसेवा परीक्षा दिनु डन्डीवियो खेलेजस्तो सजिलो होइन भनेर सरकारी जागिरेहरुले धक्कु लगाएको सम्झिदै रातदिन एक गरेर तयारी गरेको थिएँ । उत्सुकताका साथ लोकसेवा सामग्रीहरुको अध्ययन गरेको थिएँ ।
मेरो यात्रा भदौ २४मा सुरु भयो । २३ गते रातिको निद्रा पातलो थियो । अन्यौलले घेरिएका भोलिदेखि सुरु हुने दिनहरुको स्मरणले निद्रादेवीलाई टाढै धपाएको थियो । झिसमिसेमै ओछ्यान छाडें । झोलाझ्याम्टा अघिल्लै दिन रेडी थिए । मीठो निद्रा बिच्क्याएर मसँगै उठेकी जहानले पकाएको चिया हतारमा पिएँ । भर्खरै बोली फुटेको छोरोको तोते “बाई बाई बाबा” सुनूँ कि ? मस्तराम बनेर निदाइरहेको थियो छोरो । उठाइँन । म जहानलाई हात हल्लाउँदै बाटा लागें ।म दमक चोकबाट इटहरीसम्मका लागि बस चढें । जानुपर्ने त झुम्का थियो तर बसस्ट्याण्डमा बिराटनगरको बस लागिरहेको हुनाले फ्याट्ट चढिहालें । “इटहरीसम्म यसैमा हुँइकिन्छु । त्यहाँ ओर्लेर झुम्काका लागि देखा जायेगा ।”पहिलोपटक यति लामो यात्रा गर्नगइरहेछु भन्ने सोचले अचम्मको उत्साह मनमा भरेको थियो । तर कताकति अन्योल पनि थियो किनभने यो लामो यात्राले के कसरी कहाँ भन्ने प्रश्नहरु जन्माइरह्यो । अन्योललाई दबाउन र उत्साहलाई हौस्याउन एकमनले भन्दैथियो- “घर ढुकेर बस्ने छोरोमान्छे काम लाग्दैन । छोरो बाटा लाग्यो । अब केही नगरी फर्कने छैन ।”
“ए इटहरी दाजु “- खँलासीले चिमेटेपछि पो झस्केँ । स्वप्नसंसारमा डुबुल्की मारिरहेका मलाई पथरी कानेपोखरी आदिआदि परिचित ठाउँहरु कटेर इटहरी आइपुगेको पत्तै भएनछ । मन सरकारी जागिर खाएर कुसर्ीमा बसिरहेको थियो । आँखा खुला भएता पनि चलायमान दृष्यहरुको भेउ यिनले पाएनछन् । मलाई जानुथियो झुम्का । इनरुवादेखि उता भारदहसम्म राजमार्ग पुरै भत्किएको थियो । वर्षौंदेखि अविछिन्न रहेर सवारीहरुलाई कोशी तार्दैआएको त्यो सडकखण्ड त्यही कोशीमा बगेको थियो । कोशीपारी पुग्नका लागि झुम्काबाट माथि उत्तर चतारा पुगेर डुङ्गाचढ्नुपर्ने बाध्यता थियो । झुम्का जानका लागि एउटा कुद्नै लागेको टेम्पोमा झुण्डिएँ । यो पुटुटुटु आवाज निकाल्दै धुँवाका काला मुस्ला छाडेर कुद्यो । कुद्यो पनि के भन्नु घिसि्रयो । एकहल गोरुले बर्खायामको भासमा सकिनसकी हलो तानेजस्तो । यसले छाड्ने कालो धुँवामुस्लो सास नै थुन्लाजस्तो थियो । यो देखेपछि मलाई यी साधन काठमाडौंबाट किन धपाइएका थिए भन्ने कुराको रहस्य खुल्यो ।
झुम्कामा मेरै कदकाँटीका र मेरो जस्तै सपना बोकेका दुई साथी भेटेँ- राजकिसोर र रामेश्वर । यी दुई जवान इलाममा खरिदारका लागि लोकसेवा परीक्षा दिएर सप्तरीस्थित कन्चनपुर घर फिरेका रहेछन् । यिनलाई पनि मलाई जस्तै कोशी तर्नुपर्ने टन्टा थियो । चतारासम्मको यात्रा यी दुईसँग राम्रो जम्यो । यिनले इलाममा बटुलेको अनुभव मेरा लागि पाठ बनिरह्यो बाटाभर ।
चतारा पुगेर गड्गडाएर बगेको कोशी हेर्दै खाएको खानाको मीठो स्वाद अझैं सम्झन्छु । त्यहाँ कोशी किनारमा मानिसको अत्यधिक चहलपहल बढेको थियो । माझीहरुलाई भ्याइनभ्याइ थियो । मान्छेहरुबीच कोशी तर्न हानाथाप थियो । सबैलाई निकै हतार थियो । माझीहरु कोशीे किनारमा टोकन बाँडदथे । प्रति टोकनको मुल्य बीस रुपैंया थियो । हामी पनि टोकन किनेर हानाथाप गर्दै डुङ्ग चढ्यौं । हाम्रा डुङ्गामा पचहत्तर जना थियौं । “साठीजना क्षमता भएको डुङ्गामा किन यतिधेरै मान्छे चढाको हामीलाई मार्ने विचार छ कि कसो ” एकजना मधेसी दाइ कड्किए । यो सुनेर मेरो मुटु चिसो भयो । हंसले ठाउँ छोड्यो । आत्तिएको यात्रुभीड हल्लीखल्ली गर्नलाग्यो । “अझै दशजना थपे पनि फरक पर्दैन” भनेर माझीले आश्वस्त पारेपछि मात्र जमात केही शान्त भयो । मनमा भय हुँदाहुँदै पनि मानिसहरुलाई अभाव र आवश्यकताले जोखिमतिर धकेल्दोरहेछ भन्ने अनुभव पहिलोपटक त्यति नजिकबाट भयो ।”कोसी माताकी जय”- डुङ्गा बाढीको लहरसँग हुत्तिँदा आत्तिएका यात्रु एकसाथ चिच्याउँथे । जुन कोशीले यो आतस निम्त्याएको थियो त्यही कोशीलाई हामीहरु रहस्यमयी सुपरनेचुरल माता मानेर भक्तिरस गाइरहेका थियौं । प्राकृतिक विपतका बेला अज्ञात शक्तिको सहारा बाहेक अन्य विकल्प हामीसँग नहुने रहेछ । पारी पुगेपछि पछाडि फर्किएर गर्जनाका साथ बगेको कोशीलाई नमस्कार गर्दै त्यो अज्ञात शक्तिलाई धन्यवाद दिने धेरै थिए ।
चतारापारिबाट रामपुर जानका लागि बेग्लै प्रबन्ध थियो । त्यहाँ मान्छे ओसार्न ट्रयाक्टरहरु थिए । जम्मा दुई विकल्प थियो हामीसँग । कि त मुस्ला फर्किनेगरी घण्टौं हिँड्नुपथ्र्यो । होइन भने कच्ची बाटामा गन्द्र्याङ र गुन्द्रुङ् गर्ने ट्र्याक्टरको डालामा गुन्द्रीमाथि पलेंटी मार्नुपर्ने हुन्थ्यो । हामीले दोस्रो विकल्प राज्याँै । “भाडा चाहिँ सय टक्का लाग्छ है आँखा चिम्लेर ” मधेसी मूलका ड्राइभर दाइले सुरुमै चेतावनी दिए । ुआँखा चिम्लेरु दाइको थेगो रहेछ । हामीले पनि आँखा चिम्लेर त्यो चर्को रकम थमाइदियौं किनभने हामीलाई रामपुरसम्मको दूरीको ज्ञान थिएन । त्यहाँ पनि मान्छेको हानाथाप उस्तै थियो । एकैछिनमा त्यहाँ मान्छेहरुको खाँदाखाँद भयो । त्यो भोगीरहँदा मलाई घरमा गुन्द्रुक बनाउन आँगनछेउ सानो खाल्डोमा तोरीको साग खाँदेको सम्झना भयो । त्यसैबखतको मेरो अर्को अनुभव पनि सुनाइहालौं । गुन्द्रुकझैं खाँदीएका मेरा सहयात्रीहरुले मलाई गुन्दु्रकको स्वादको पनि स्मरण गराइदिए । पसिनाले निथु्रक भिजेका ती बबुरा ज्यानहरुबाट असैह्य अमिलो गन्ध फैलिरहेको थियो । बाटाभर ट्रयाक्टरले मर्नेगरी थर्थर्कायो । रामपुर पुग्दा पिँधको हड्डी खिएर गएझैं आसन दुखिरहेको थियो ।
त्यो ट्रयाक्टरले हामीलाई दिउँसो तीनबजेतिर रामपुर ओराल्यो । अब खाडलबाट गुन्द्रुक झिकेजस्तो भयो । म खाँदिएर गुन्दु्रुक भएको सागको त्यान्द्रो जिऊ तन्काएँ र आगे फत्तेपुर पुगेर रात्री बस चढ्न के गर्नुपर्ला भनेर गम खान थालें । ” आज कन्चनपुर मेरै घरमा बसौं । आराम गरेर भोलिमात्र जानुहोला ।”- रामेश्वरले प्रेमपूर्वक भने । मेरो थाकेको ज्यानले उनको कुरो लत्याउन सकेन ।”
रामपुरमा एउटा बस लागिरहेको थियो । हामी त्यसैमा चढ्यौं । बसमा यात्रु टनाटन भैसकेका थिए । सास फेर्नसमेत हम्मे थियो । तर एकघन्टा त्यसरी बसभित्र गुम्सँदा समेत बसको हिँड्ने सुरसार थिएन । कुरो के रहेछ भने चारहजार रकमसम्मको टिकट बिक्री नहुन्जेल बस नहिँडाएर मोटो रकम एकै झ्वाँकमा कमाउने विचार रहेछ गाडीवालाको । हामी चारैतिरबाट पि’ल्सएका थियौं । ओरालो लागेको मृगझैं थियौं । लालची बाछाहरु जता लखेट्थे त्यतै दगुर्न बाध्य थियौं ।
हामी फत्तेपुर ओर्लियौं । त्यहाँ रामेश्वर र राजकिशोरले आफ्ना साइकल राखेका थिए । साँझ पर्नैलागेको थियो । तीनभाइले पिरो चटपटे दुईदुई सोली खायौं र साढे दुईघन्टाको साइकल यात्राका लागि तयार भयौं । रामेश्वर र राजकिसोर एउटा साइकलमा अघि लागे । मैले अर्कोमा उनीहरुलाई पछ्याएँ । दिउँसोको ट्रयाक्टर यात्राले खपिनसक्नु दुखाएको शरीर साइकलयात्रामा झनै दुःख्यो । मलाई त लागेको थियो यो अढाइघण्टे साइकल यात्रा नै मेरो लोकसेवा यात्राको अन्तिम पीडा हो । तर संकटको घडि सिद्धिएको रहेनछ । हामी तीन कसैले नसोचेको जे नहुनु थियो त्यही भयो । आधाघन्टा मात्र भएको थियो साइकलको चेन च्वाट्टै चुँडियो ।
“ओ कुमारजी ! पटका पड्किएजस्तो के भयो ” रामेश्वरले साइकल रोके र पछाडि फर्किएर सोधे ।
“कन्तविजोग हुने भो ! साइकलको चेन चुँडियो ।”- मैले अमिलो अनुहार लगाएँ । राजकिसोर झनै अमिलिए किनभने यो लोदर साइकल उनकै थियो । नजिकै साइकल मर्मत पसल रहेनछ । हामी बिकल्पहीन जस्तै भयौं । अवाक् हामी परस्पर हेराहेर गरेर नयाँ जुक्ति सोच्न थाल्यौं । यत्तिकैमा मलाई एउटा उपाय सुझ्यो । जसरी एउटा बिगि्रएको गाडिलाई अर्को गाडिले डोरीले तानेर उद्दार गर्दछ त्यही आइडिया मलाई प्रयोग गरिहेर्न मनलाग्यो । रामेश्वरले उनको झोलाको लामो फित्ता खुस्काए । त्यसको एकापट्टिको फेर मेरो बिगि्रएको साइकलको ह्याण्डिलमा र अर्को फेर सद्दे साइकलको क्यारिअरमा बाँध्यौं । यो जुक्तिले काम गर्यो । तर यो निकै गाह्रो काम थियो । क्यारिअरमा रामेश्वर र पछाडि अर्को विमारी साइकलमा मलाई घिसार्नुपर्दा राजकिसोरको प्राणपखेरु उड्लाजस्तो भएछ । पन्ध्रमिनेट जति पछाडि उनी साइकल रोकेर रुन्चे स्वरमा बोले -“लौ कुमारजी आज्ञा गर्नुहोस् । सास जालाजस्तो भो !”मैले राजकिसोरलाई पालो दिएँ । एकैछिन पछि मेरो पनि धनुले काम गर्न छाड्यो । त्यसपछि चालकसिटमा रामेश्वर आए । यसरी तीन घन्टासम्म पालैपालो साइकल कुदाएर हामी राति आठ बजेमात्र रामेश्वरको घर पुग्यौं ।
रामेश्वरको घरमा उनकी आमामात्र हुनुहुन्थ्यो । हामी तीनभाइ घरपुग्नासाथ सिकुवाको गुन्द्रीमा खत्र्याकखुत्रुक हातखुट्टा फ्याँकेर बस्यौँ । राजकिसोरको घर त्यहीँ पर्तिर रहेछ । दिनभर एकै युद्धमैदानमा भीडेका तीन साथी छुट्टिन मनलागेन । उनी रामेश्वरकैमा बसे ।आमाको हातको मीठो खाना खाएर ओछ्यान पस्दा रातको दश बजिसकेको थियो । राजकिशोर र रामेश्वर एकैछिनमा घुर्न थाले । मेरो लोकसेवा यात्रा टुङ्गिएको थिएन । भोलि उठेर वागलुङ्तिर हानिनु थियो । तर पनि गन्तव्यमा आइपुगेझैं भएको थियो मलाई । बन्द आँखामा उही कोशीको गड्गडाहट डुङ्गा ट्रयाक्टर साइकल सजिव दृष्यझैं आइरहे । कतिखेर भुसुक्क भएँछु थाहै भएन ।
श्रोत : साहित्य संग्रह