– नन्दलाल आचार्य

पात्रहरूः
अध्यक्ष ः छट्टुराज
उपाध्यक्ष ः छत्तीसमान
सचिव ः छयालीसबहादुर
सहसचिव ः छरितकुमार
सदस्य ः छन्नुलाल
सदस्य ः छक्कमाया

(घरधनीलाई जबरजस्ती भगाएको भव्य घरको सुन्दर कोठा छ । आधुनिक सजावटले सुसज्जित कोठाका वस्तुहरू यत्रतत्र छन् । सरसफाइ र वस्तुको उचित रखाइको अभावमा कोठाले दिनुपर्ने रौनक दिन सकेको छैन । हाँसको बथानमा बकुल्ला उभिएझैँ केही न केही अमिल्दो लाग्छ । ७० वर्षे छट्टुराज कसैको प्रतीक्षामा एक्लै बसिरहेका छन् ।)

छट्टुराज ः (मनमनै) २००७ सालपूर्व राणाहरूको पाउ मोलेर भए पनि खुसी र सुखी जीवन बिताइयो । २००७ सालपछि अझ सजिलो भो । एउटै संस्थालाई रिझाउन बडो सजिलो थियो तर अहिले बूढेसकालमा आपत पर्यो । पार्टी नखोली धर पाइएन ।
(छत्तीसमानको कक्षमा प्रवेश)

छत्तीसमान ः जय छलछाम । जे छ त्यो भन्नै पर्यो । अवस्था नाजुक भो । अहंकारी सोच पचाउने जनमानस नभएकोले लोकतन्त्रले निरङ्कुशताका पारखीहरूको ढाड सेक्न थालेको हो । अब हामीले गोप्य षड्यन्त्रको जालो नबुनी धर छैन ।

छट्टुराज ः निरङ्कुशतन्त्रको छहारीमा छाती खोलेर बस्न सजिलो थियो । ती दिन गए । अब अर्काे रणनीति तय नगरे अस्तित्व धरापमा पर्छ । खै, साथीहरू आइपुग्नु भएन ?
(चारैतिर हेर्छ, चारजनाको एकै साथ प्रवेश ।)

चारैजना ः (एकै स्वरले) जय छलछाम । ढिलो भएकोमा मन डराएको थियो । अब ढुक्क भयो ।

छट्टुराज र छत्तीसमान ः (हात उठाउँदै) जय छलछाम ।

छट्टुराज र छत्तीसमान ः ल आजको कार्यक्रम सुरु गरौँ । भर्खरै स्थापना गरेको छलछाम छात्ते छ पार्टीका केन्द्रीय सदस्यहरूको यो पहिलो सभामा अध्यक्ष छट्टुराज विनाछक्कापन्जा यहाँहरूलाई छरितो अभिवादन टक्र्याउँछु । एकै शब्दमा भन्नुपर्दा २००७ सालदेखि हरेक सुखको स्वाद लिँदै र मूर्तिको फस्टाउँदो व्यापारमा संलग्न हुँदै आएको म अब बदलिँदो परिस्थितिमा आफूलाई पनि बदल्न चाहन्छु । जय छलछाम । अब क्रमैसँग परिचय दिँदै जाऔँ ।

छत्तीसमान ः हामीले भरखरै जन्म दिएको पार्टीको म उपाध्यक्ष, छत्तीसमान हुँ । २०३६ साल काण्डको मुख्य खलनायकका नाताले नेपाली जनताको आँखामा मैले निकै छारो हालेँ । सारालाई थाङ्नामा सुताएर राष्ट्रवादीको नाटक मञ्चन गर्न सफल भएँ । सबैजसो काण्डलाई नजिकबाट छामेर, खेलाएर अनि स्वाद चाखेर प्रौढ मानसिकता बनाएँ । जय छलछाम ।

छयालीसबहादुर ः म यस भूमिगत पार्टीको सचिव, छयालीसबहादुर हुँ । २०४६ सालदेखि जनता नामका कीराफट्याङ्ग्राहरूलाई भुसुनासरहको दर्जामा आरोपित गर्दै उनीहरूकै रगत चुसेर र पसिना खाएर मोटाएको छु । अहिले आएर खुला राजनीतिक जीवनमा सास फेर्न हम्मे परेकोले म यहाँहरूसँग हातेमालो गर्दै अघि बढ्न कम्मर कसेर लागेको छु । जय छलछाम ।

छरितकुमार ः म यस गौरवशाली नवस्थापित पार्टीको महासचिव, छरितकुमार हुँ । विशेष गरेर ०५९ सालपछिका हरेक अवस्थामा नेपाली जनतालाई अन्योल, अस्तव्यस्तता र अस्थिर भविष्य हात लगाउन विशेष सल्लाहकारको भूमिका निर्वाह गर्दै आएको थिएँ । खुल्ला आकाशमा चलबलाइयो भने अब सोझासीधा जनताले टुप्पी समातेर बाउको बिहे देखाउलान् भन्ने भयले भूमिगत रूपले म यहाँहरू माझ उपस्थित छु । जय छलछाम ।

छन्नुलाल ः म यस महान् पार्टीको सदस्य, छन्नुलाल हुँ । विशेषतः २०६२/०६३ को जनआन्दोलन-२ दमनको अधिकार र शान्ति स्थापनाको ठूलो जिम्मेवारी लिएर तुजुक प्रदर्शन गरेँ । न्वारानदेखिको बल झिकेर सोझा मन भएका जनतालाई अझै सोझाको सोझै राख्न चरम दमनको षड्यन्त्र बुनेँ । साँचो कलम चलाउनेहरूको कलम भाँच्ने काम गरँेँ, अर्थतन्त्रलाई टाट पल्टाउन मुख्य भूमिका खेलेँ । भिजिलान्तेहरूको भरणपोषणमा देशको ढिकुटी रित्याएँ तैपनि सफल भइनँ । जनता निकै चलाख भएछन् । सडकबासी बनाइछाडे । म अहिले सडकबाटै यस पार्टीमार्फत सदनमा पुग्ने उद्देश्यका साथ यहाँहरू सामु उपस्थित छु । जय छलछाम ।

छक्कमाया ः फोनमार्फत गठन भएको यस क्रान्तिकारी पार्टीकी एक मात्र महिला सदस्य, म छक्कमाया हुँ । राज्यले हामीलाई ३३ प्रतिशत अंश दिएकोले म त्यही प्रावधानअनुसार यस पार्टीकी महिला नेतृ बन्न पुगेकी हुँ । अवैधानिक शक्तिलाई वैधानिकता दिन प्रचलित कानुन-नियमअनुरूप कार्य हुँदै आएको छ । मेरो मन सोझो भए पनि मेरा पूज्य श्रीमानज्यूको इशाराले जनताको कान बटार्दै मालिकको सेवामा दत्तचित्त भइरहेको कालो इतिहास सबैका सामु भएकोले म अहिले यहाँहरूसमक्ष उपस्थित छु । जय छलछाम ।

छट्टुराज ः यहाँहरू सबैलाई आ-आफ्नो परिचयका लागि धन्यवाद । अब यस सभाका मुख्य एजेन्डातर्फ जाऔँ ।

१. सङ्ख्यात्मक रूपले कार्यकर्ता बढोत्तरीसम्बन्धी ।
२. पार्टी तथा कार्यकर्ता लालनपालन र पोषणसम्बन्धी ।
३. अस्थिर राजनीतिक अवस्था सिर्जनासम्बन्धी ।
४. जननेताहरूको राजनीतिक छवि नष्ट गर्नेसम्बन्धी ।

अब यी एजेन्डाबीच चिन्तनमनन गर्दै निष्कर्ष निकालौँ ।
(सबैजना सोचमग्न हुन्छन् । एकक्षण सन्नाटा छाउँछ ।)

ल, अब म उपाध्यक्ष छत्तीसमानलाई माथिका एजेन्डाले तय गरेका कुरा क्रमैसँग वाचन गरी सहमति खोज्न अनुरोध गर्दछु ।

छत्तीसमान ः धन्यवाद, अध्यक्षज्यू । भूमिगत यो भेलामा धेरै समय लिनु उचित नहोला । म निष्कर्ष प्रस्तुत गर्नेतर्फ लाग्छु ।

१. एजेन्डा नम्बर १ मा छलफल हुँदा निस्केको निष्कर्ष पार्टीको नीति जनतालाई खेलौना बनाएका, बनाउन सक्ने र बनाउन चाहने कार्यकर्ताको बढोत्तरी गर्ने रहेको छ । यसका लागि जस्तोसुकै नेप्टे, चेप्टे, ध्वाँसे, कलङ्कित व्यक्ति भए पनि हुन्छ । मान्छे हेरेर अरू राजनीतिक दलका बोलक्कड कार्यकर्तालाई भित्री अनुदान दिई सोहर्ने नीति सबैले अवलम्बन गर्ने ।
२. एजेन्डा २ को निष्कर्ष- यसका लागि व्यापक रूपमा चन्दा आतङ्क, अपहरण र फिरौतीलाई मूल मन्त्रका रूपमा अख्तियार गर्ने । आफ्नो अनुकूल नभए जीवन नै स्वाहा पार्दै हिँड्ने ।
३. एजेन्डा नम्बर ३ को निष्कर्ष- यसका लागि बन्द, हड्ताल, चक्काजामजस्ता कार्यलाई निरन्तर रूपमा अघि बढाउने । जुन पार्टी वा सङ्घसंस्थाले अवरोध नपुर्याएको दिन आउँछ, क्यालेन्डर हेरेर तिनै दिनमा हाम्रो अवरोधको कार्यक्रम राख्ने । जसले अवरोध तोड्छ, त्यसको सिरिखुरी गर्न तोडफोड, आगजनी जस्ता विध्वंशात्मक कार्यलाई तुरुन्त कार्यान्वयन गर्ने ।
४. एजेन्डा नम्बर ४ को निष्कर्ष- अरू राजनीतिक शक्तिलाई सभासम्मेलन गर्न अवरोध पुर्याउने । व्यक्तिगत चरित्रमा प्रश्नचिन्ह लगाउन षड्यन्त्रमूलक ढंगले पाइला चाल्ने विपक्षीहरूका घर वा कार्यालयमा बम, बारुदजस्ता विष्फोटक पदार्थहरू राखी विपक्षीले राखेको हो भन्ने भ्रम फैलाउने ।

(छत्तीसमानले निष्कर्ष सुनाउनेबित्तिकै सहमतिस्वरूप सबैले ताली बजाउँछन् ।)

छट्टुमान ः उपस्थित केन्द्रीय पदाधिकारी साथीहरू, फोन गरेकै भरमा गठन भएको यस पार्टीको पहिलो बैठकमा उपस्थित भएर भावी रणनीतिका बारेमा ठोस निष्कर्ष निकाल्नुभएकोमा म यहाँहरू सबैलाई धन्यवाद दिन्छु । अब हामी आजैदेखि धमाधम आफ्ना कार्यमा लागौँ । यति भन्दै दोस्रो सभासम्मका लागि यो सभा विर्सजन गरेको घोषणा गर्दछु । जय छलछाम ।

(सबै ताली बजाउँछन् । पर्दा खस्छ ।)

नन्दलाल आचार्य
तपेश्वरी-१, गल्फडिया, उदयपुर
हालः लिट्ल फ्लावर मा.वि., राजविराज-९, सप्तरी

(स्रोत : शब्दाङ्कुर, पूर्णाङ्क ७२, असोज २०६४)

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20