राधा रोदन भक्ति भाव….
(शार्दूलविक्रीडित छन्द)
फक्री वक्षहरू फुले वदनमा आयो जवानी पनि,
माया प्रीति र हर्षको सुमन हूँ माने नमाने पनि।
धर्तीको गहना म हूँ सृजनकी स्रष्टा म हूँ बीजकी,
बान्की रूप कला मुहार हँसिली आस्था र विश्वासकी।०१।।
मेरा छन् प्रतिविम्ब विश्वभरि नै साहित्य मेरो घर,
मेरै शव्द र भाव छन् भुवनमा मेरोविना के छ र!
मेरो यो अनुहार लेख्छ कविले भाषा सिँगारीकन,
मेरै छन् प्रतिभा समस्त जगमा आशीष पाईकन।।०२।।
मेरै फूल बगान हुन् विपिनकी सौन्दर्यकी वल्लिका,
मेरो स्नेह मिलेर फुल्छ गिरिमा मुस्कानले मल्लिका।
मेरा दन्त कली नितम्ब रतिका छन् लुब्ध वात्स्यायन,
मेरै कारणबाट सिर्जिनगए वेदान्त रामायण।।०३।।
मेरो जीवन हो कथा र कविता सङ्गीत संसारको,
मेरो रोदन हो अनन्त करुणा अन्यायका लोकको।
मेरा हात र सीपबाट वसुधा शृङ्गार गर्छिन् नयाँ,
नौलो हुन्छ सधैं बिहान घर यो नौलो विधा सर्जन।।०४।।
दैला झ्याल र खाट हूँ मनजुको बोली म संसारको,
कोदो फापर दाल धान र मकै खाद्यान्न हूँ जीवको।
नानीको अनुहारभित्र सुकिलो वात्सल्य सञ्जीवनी,
मेरै आँचलभित्र फल्छ ममता माया दया जीवनी।।०५।।
छाया हूँ रविकी प्रिया प्रणयिनी निद्रा क्षुधा विश्वको,
मेरै हुन् सरिता तथा वसुमती आधार संसारको।
दुर्गा दुर्गतिनाशिनी भगवती मेरा स्वयं रूप हुन्,
पूजा पाठ र धर्म कर्म तपको श्रद्धा फलीभूत हुन् ।।०६।।
जिज्ञासा श्रुति वेद हूँ विरति हूँ अध्यात्म वैराग्यको,
तृष्णा भोग विलास सर्जक म हूँ सम्पूर्ण संसारको।
काली काल कराल हूँ प्रलयको रक्षा महाकालको,
आफ्नै सन्ततिबाट शोषित हुने नारी म हूँ विश्वको।।०७।।
मेरै छन् प्रतिमूर्ति मन्दिरहरू पाषाणका रूपमा,
ढुङ्गा पुज्न सिपालु मानिस भए हेपेर आमाकन।
बोल्दैनन् जननी समीप रहँदा सन्तान संसारका,
ढोग्छन् मूर्ति समस्त सन्ततिहरू सम्पूर्ण संसारका।।०८।।
राधाभाव लिएर यी कनकले राधाहरू पढ्दछिन्,
राधा छन् कति दु:खपूर्ण जगमा श्रीकृष्ण के बुझ्दछन्!
राधा रोदन भक्तिभाव सब हुन् बुझ्दैन दु:शासन,
मेरा पाठकमा समर्पण गरें यो आजको चिन्तन।।०९।।
-विनीत कनकधारा स्वामी स्वदेशानन्द
Sakshi Priya Astrological
Research Center
Permanent Address
Gangtok, Sikkim
MOB 9435506815, 7908534410
9434012165, 7908561200,
sabhar: Nepali katha kawita