विमल भौकाजी – साहित्यमा नयाँ आन्दोलनको खाँचो
आन्दोलन केवल राजनैतिक क्षेत्रमा मात्र हुँदैन सामाजिक क्षेत्रमा पनि हुने गर्छ धार्मिक वा साँस्कृतिक क्षेत्रमा पनि हुने गर्छ । र यस्ता आन्दोलनहरु जुन सुकै क्षेत्रमा किन नहोउन् तिनले मुलुकको इतिहास निर्माण गर्नमा महत्वपूर्ण भूमिका खेलेका हुन्छन् ।
उपर्युक्त प्रसंगमा लेखक-साहित्यकारहरुका तर्पुबाट गरिएका साहित्यिक आन्दोलनहरुले मुलुकको इतिहास बनाउँनमा जुन टेवा पुर् याएका छन् तिनका ऐतिहासिक तथ्य इतिहासका पृष्ठहरु पल्टाउने हो भने स्पष्ट रुपमा देख्न सकिन्छ ।
हाम्रो मुलुकको सन्दर्भमा अनेकौं पटक भएका आन्दोलनहरु प्रायसः राजनीतिबाटै प्रेरित भएका देखिन्छन् । तथापि ती आन्दोलनहरुमा केवल राजनीतिज्ञहरुका मात्रै नभै समाजका विभिन्न वर्गका नागरिकहरुको संलग्नता कतै न कतैबाट भएको पाइन्छ ।
अर्को शब्दमा भन्न सकिन्छ कि ती सबै प्रकारका काव्यिक आन्दोलनहरुले साहित्यिक इतिहासलाई जिउँदो राख्नका लागि ठूलै भूमिका खेलेका थिए । यद्यपि आजको समयसम्म आइपुग्दा ती भूमिकाहरु क्रमशः निस्तेज हुँदै गैरहेको भान परिरहेछ । अर्थात् त्यस बेलाका चर्चित आन्दोलनहरु आज मृतप्रायः भैसकेका छन् ।
हो आज ती कुनै पनि आन्दोलनहरुको त्यतिविध्न चर्चा हुँदैन- साहित्यिक क्षेत्रमा । मानौं नेपाली साहित्यको कुनै ऐतिहासिक कालखण्डमा ती आन्दोलनहरु भएकै थिएनन् । यसो हुँनुको पछाडि कुन त्यस्तो कारक तत्व विद्यमान छ खोज्ने हो भने केही त्यस्ता तत्वहरु फेलापार्न सकिन्छ जुन तथ्यको आधारमा ती आन्दोलनहरुको अस्तित्व आज औचित्यहीन सावित भएको पुष्टि गर्न सकिन्छ । उदाहरणको रुपमा ‘अस्वीकृत जमात’ नामक एउटा साहित्यिक आन्दोलनको चर्चा एकफेर यहाँ गरेर हेरौं ।
नामैले ‘अस्वीकृत जमात’ भन्नाले अस्वीकृत लेखक कविहरु जसका रचना स्वीकार्य नभएकोको जमात भन्ने बुझिन्छ । अर्थात् ती लेखकहरुका कथित अयोग्य लेख रचनाको अमान्य दृष्टिकोण नै अस्वीकृत जमात हो- मेरो विचारमा ।
जुन बेला अस्वीकृत जमातका सदस्यहरुले यो आन्दोलनको सूत्रपात गरे अनुमान गर्न सकिन्छ- त्यतिखेर साहित्यिक लेखनमा आजको जस्तो खुल्लापन सायद थिएन । अर्थात् केवल लेख्नुलाई लेखनका रुपमा मानिदैनथ्यो आजको जस्तो । एक अर्थमा लेखनमा एक प्रकारको प्रतिबन्ध थियो आजको जस्तो छुट थिएन त्यहाँ । तर अस्वीकृत जमातको अभिव्यक्तिमा ‘अराजकता’ थियो । नग्नता कुरुपतालाई पनि तिनीहरुले निःसंकोच अंंगालेका थिए । अन्य स्थापित साहित्यकारहरुका तुलनामा आफ्नो साहित्यको कुनै मान्यता नभएको ठानी आपुूहरुलाई अस्वीकृत मान्ने स्वधोषित उद्घोषण थियो ती अस्वीकृत जमातवालाहरुको ।
अस्वीकृत जमातको यस्तो उद्घोषण गरिएको घोषणपत्र अनुरुप नै तीनका लेख रचनाहरु साँच्चिकै अराजक भएकै कारणले तत्कालीन समयमै त्यस्तो आन्दोलन स्वीकार्य हुन सकेको थिएन जुन आजपर्यान्त लागु भैरहेको छ ।
यसै गरेर ‘बुट पालिस’ नामक आन्दोलनको पनि यतिखेर कुनै औचित्य नहरनुमा केही कारण लुकेको छ । बुट पलिसद्वारा कमाइएको आर्थिक आर्जनले साहित्यिक रचनालाई प्रकाशित गराउँन खोज्नु एउटा हास्यास्पद साहित्यिक शैली मात्रै त थिएन त्यो उतिखेर बुट पालिसको स्थितिलाई हेर्दा त्यो केवल असफल, असमर्थ लेखकहरुको एउटा प्रापोगाण्डा मात्रै थियो कि जस्तो लाग्छ । किनभने लेखक साहित्यकारहरुको काम भनेको लेख्नु हो । यदि साँच्चिकैै तिनको लेख्ने कर्मलाई मर्यादित राख्ने हो भने सरकार स्वयम्ले वा कुनै संघ संस्थाले तिनका प्रकाशनयोग्य स्तरका लेख रचनालाई प्रकाशित गराउँने दायित्व बोक्नु पर्छ । बुट पालिसबाट उठेको रकमबाट कुन पुस्तक प्रकाशित भयो वा त्यो रकम के भयो कहाँ गयो- त्यो पनि आजसम्म रहस्यै छ ।
लेखक कविले आफ्ना रचनाहरु आफ्नै पहलमा स्वयम् छाप्दै छपाउँदै हिड्नु कुनै न्यायसंगत कुरो होइन । यदि लेखकको आर्थिक हैसियत ज्यादै निम्न स्तरको छ भने आफ्नो पुस्तक निकालेर कदापि हिँड्दैन ऊ । किनभने आफ्नो न्यून सम्पति लेखकको आफ्नो परिवारको पेट धान्नका लागि मात्रै पर्याप्त हुन्छ ।
फर्केर हेर्दा उतिखेर बुट पालिस आन्दोलनको शंखघोष गरेर त्यसमा सहभागी हुनेहरु कर्मले केवल कवि थिए जसको हैसियत आर्थिक रुपले बुट पालिस गरेर आफ्नो साहित्य प्रकाशित गरिरहनु पर्ने अवस्थाको थिएन ।
वास्तविक रुपमा तत्कालका लागि केही हदसम्म त्यो आन्दोलन सफल भएको देखिए पनि त्यसछि पुनः त्यसरी बुट पालिसहरु गरिएनन् । त्यसको खास कारण यही थियो कि बुट पालिस जस्तो असाहित्यिक काम गरेर साहित्यलाई सस्तो विषय बनाउँने कुरा साहित्यकारहरुमात्रै हैन साहित्यानुरागीहरुलाई पनि स्वीकार्य थिएन ।
यही प्रकारले तरलवाद लगायत नेपाली साहित्यमा देखिएको सबैजसो आन्दोलनहरु कुनै उपयोगी सिद्ध भएनन् । पछि गएर त ती सम्पूर्ण औचित्यहीन नै सावित भए । यस आधारमा साहित्यिक आन्दोलनहरुले कालान्तरसम्म आफ्नो अस्तित्व कायम राख्नुपर्ने शर्त इतिहासका प्रायसः आन्दोलनहरुले पालना गर्न नसकेको स्पष्ट देखिन्छ ।
उपर्युक्त सत्यतामाथि दृष्टि लगाउँदा एउटा यथार्थ हाम्रो सामुन्ने के देखिन आउँछ भने कुनै पनि साहित्यिक आन्दोलन सुरु गर्दाखेरी त्यसको उपयोगितालाई ख्याल राख्नै पर्छ ।
त्यसै पनि त आजको विसंगतिपूर्ण साहित्यिक वातावरणमा एउटा उपलब्धीमूलक आन्दोलनको खाँचो टड्कारो रुपमा देखिन आएको छ । अर्को अर्थमा साहित्यको नाममा हुने गरेको मनपरी तन्त्रलाई प्रकाशक-सम्पादकहरुले बहिस्कार गरिदिनु जरुरी परेकेा छ । अर्थात् साहित्यमा पनि अब आचार संहिता लागू गर्नैपर्ने अनिवार्यता देखा परेको छ- जसका लागि अग्रज लेखकहरुले नयाँ पुस्तालाई अपाच्य विकृत लेखनप्रति हतोत्साही गराउँनु अति आवश्यक छ कदाचित त्यस्ता लेखन भएमा त्यसलाई बहिष्कार गरिनु पर्छ । सम्र्पूणमा लेखक वर्ग सबैले साहित्य रच्नुको नाममा असाहित्यिक लेखनलाई बढावा दिनतिरबाट आपुूलाई बचाउँनु पर्छ । यो नै नेपाली साहित्यको एउटा उपयोगी आन्दोलन सिद्ध हुनसक्छ ।
हुँनत नेपाली साहित्य-संसारमा देखापरेका साहित्यिक आन्दोलनहरु मद्दे केही मात्र यहींको माटोमा उब्जिएका हुन् र धेरै जसो अमेरीका युरोप भारत हुँदै नेपाल भित्रिएका हुन् । प्रस्तुत छ केही आन्दोलनको काल क्रमिक विवरण ।
क्रमसाहित्यिक आन्दोलनसूत्रपात-समय वि. सं.
१.मोती मण्डली १९३८
२.हलन्त बहिष्कार१९६५
३.मकै पर्व१९७७
४.झर्रोवादी आन्दोलन२०१३
५.आयामेली आन्दोलन२०२०
६.राल्फाली आन्दोलन२०२३
७.अस्वीकृत जमात२०२६
८.अमलेख२०२६
९.यंग रायटरस फ्रंट२०३१
१०. बुट पालिस२०३१
११.लीला लेखन२०३४
१२.सडक कविता क्रान्ति२०३६
१३.सडक नाटक सर्वनाम२०३८
१४.तलरवाद२०४०
१५.जन आन्दोलन कालो पट्टी२०४६
नयाँ बानेश्वर, काठमाडौं