‘अब पनि विदेश जान्छु भन्छस् ?’ आमाले भर्खर बाह्र पढ्दै गरेको छोरासँग सोधीन् ‘किन र आमा ?’ उसले बुझेर पनि नबुझे जसरि प्रतिप्रश्न गर्यो । ‘देखिनस् यत्रो महामारी चलेको छ। संसारनै हल्लिएको छ । मानिसलाई अब कसरि ज्यान जोगाउने भन्ने चिन्ताले सताएको छ । पेटको भोक भन्दा मनको चिन्ताले दिनरात पिरोलेको छ । त्यो कोरोना कि सोरोना भन्ने रोगले मान्छेलाई घर भित्रने कैद राखेको छ ।’ ‘आमा पनि, यस्तो सँधै कहाँ हुन्छ र ? केही समयपछि सबै ठिक भैहाल्छ नि ।’ ‘मान्छेले अपराध बढाएका छन्, प्रकृतिको बिरुद्द गएका छन्, खानेकुरामा बिषादी हालेका छन् । यो सुन्दर संसारलाई कुरुप बनाए छन् त्यो सबैको सजाएँ प्रकृतिले यसरी दिन थाल्यो । के थाहा भविष्यमा अझ कस्तो कस्तो आपत बिपत आइलाग्ने हो । के भन्न सकिन्छ र ! अब मैले भनेको मान, विदेशको सपना छोडिदे । आफ्नै जन्मभूमिमा बसेर मिठो नमिठो जे खाएर भए पनि आनन्दले बस् । बिदेशमा जति धन कमाए पनि अन्त्यमा आफ्नै जन्मभूमि चाहिने रहेछ ।’ आमाले छोरालाई सम्झाइन् । आमाको कुरा सुनिरहेको उसले आमाको अनुहारमा गहिरिएर हेर्यो र भन्यो- ‘आमा तपाइको सबै कुरामा मेरो विमती छैन । तर एउटा कुरा के भने नि यो देशमा जतिनै पढे पनि रोजगार नै पाइन्न । के म जिन्दगीभर सर्टिफिकेटले पंखा हम्केर बंसु ?’ चैत १७, २०७६