“ए बुवा ! अस्ति देखि चामल सकिएको छ । कहिले लेउनु हुन्छ र ? त्यो सुत्केरी आमा पनि छट्पटाएर आत्तिसक्नु भयो, सानो भाइले दूध चुस्दा आएन भनेर रोएको रोई छ रातभरि भनेर । ” नौ बर्से छोराको कुरा सुनेर अनि भोको पेटको समस्याले छट्पट्टिएको धनीराम यतिखेर मौन छ। कसैका घर गुहारौं भने पनि सबका ढोका बन्द छन्। बिहान बेलुका ज्याला मजदुर गरेर जहान पाल्ने पौरखी पुरुषको अब उपाय नास्ती छ। -” ल हिंड छोरा ! एकछिन तँ र म बाहिर जाऊँ । कतै खानेकुराको बन्दोबस्त हुन्छ कि ? कसैले ऋण पत्याएर दिन्छन् कि ? कसैका पसल खुला छन् कि ? ” बाउको कुरा सुनेर केही खान पाइने आशले छोरो पनि पछि लाग्यो। बाटोमा कोरोना सुरक्षामा खटिएका सुरक्षाकर्मीले धनीरामलाई एकाएक ३ मिटर लामो बाँसको भाटाले सोंठ्याउँदै भन्यो -” तँ जस्ताले गर्दा हो सबै यस्ता रोगका शिकार हुने । देशको नियम पालन गर्न सक्दैनस् ? अघाइस् नि अब यति स्वाँठ खाएपछि ?” धनिरामले रुन्चे पारामा भन्यो -” पुग्यो हजुर! मलाई त पुग्यो । अब ऊ त्यो छोरोलाई र घरकी मेरी सुत्केरी बुढि अनि एक महिने छोरोलाई पनि यसरी नै भाटाले बजाइदिनुस् न प्लिज ! बिन्ती छ मेरो। यति गरेपछि यिनीहरुको पनि भोक मेटिने थियो कि ?”