ए झरी असिमित उर्लिएर दर्किरहेको थियो मानौं यो झरीले भेल बनेर केही न केही उटुङ्ग देखाउनेछ । झरी आाउँदा पनि नहुने नआउँदा पनि नहुने । नआउँदा पनि “कत्ति सारो गर्मी छ हगी ?किन यसपाली नआएको” भनेर प्रतिक्षारत बनाउने । आउँदा पनि यसले उटुङ्ग देखाउने । यो झरी तीन दिनदेखि अबिरल दर्किरहेको थियो । विरहमा लागेकाहरु आँसु दर्केको देखिरहन्थे भने खुशीले चुलबुल भएकाहरु त्यसैमा सङ्गीत सिर्जेको देख्थे । त्यसै सेरोफेरोमा एउटा खोला किनारको सुकुम्बासी बस्तीमा खैलाबैला मच्चिरहेको थियो । रातारात भागाभाग दौडादौड भइरहेको थियो । ज्यानमारा खोलाको भेलले छाप्राहरु सबै सिनित्तै पारिसकेको थियो । सुकुम्बासीहरु सबैलाई उदास बनाइरहेको थियो । समाचारमा पनि त्यहीँको बिचल्ली देखाइरहेको थियो । पत्रपत्रिकाहरुमा पनि त्यही समाचार छापिरहेको थियो । बिहान सबेरै देश दौडाहामा आएका नेताहरुले छाता ओढेर त्यहाँ पनि “यस सुकुम्बासी बस्तीमा भोलि दिउँसो २ बजे एकहप्ताको लागि खाद्यान्न वितरण गरिनेछ ।” भनेर २ घण्टा भाषण छाँटेर गए । यो नै आजको मिडियामा प्रमुख समाचार बन्यो । दिउँसोको समयमा ४ बजेतिर नेताजीले भनेजस्तो खाद्यान्न वितरण भयो । सबैले खोसाखोस गरे , एक–एक प्याकेट प्रत्येकले बाँडेर लिए । त्यो प्याकेटमा मात्र एक पाउण्ड पाउरोटी थियो । अर्को खाद्यान्न राहत वितरण एकहप्तापछि आउने रे ! २०७१ श्रावण ३० शुक्रबार बिजु सुवेदी “विजय” कुलेश्वर, काठमाडौं