कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोक्न सरकारले लकडाउन गरेको छ । लकडाउनले ज्याला/मजदूरी गर्नेहरुको चुलो बन्द भएको कयौं दिन भइसक्यो । सरकारले राहत दिने हल्ला चलाएसँगै नाम लेखाउनेहरुको तछाड–मछाड शुरु भयो । हुनेखानेले समेत आ–आफ्नो नाम लेखाएका छन् । कतिपय स्थानमा राहत बाँड्न थालेपछि झडप र हानाहान समेत भएको छ । हाम्रा गाउँका छिमेकी धनपति पसले काका पनि राहत पाउँने दौडमा सामेल भएका छन् । उनी गाउँकै धनपतिमध्येमा पर्छन् । अहिले पाको उमेरका कारण उनी मरणासन्न अवस्थामा छन् । जीवनभरि उनी धनकै लागि दौडधूप गरिरहे । जीवनको अन्तिम अवस्थामा पनि उनलाई धनकै चिन्ता थियो । अँझ, सरकारी राहत पाए हुन्थ्यो भन्ने चाहना उनीमा छ । धेरै दिन भयो, धनपति काकाले आफ्नो आँखासम्म खोल्न नसकेको । एक दिन जसोतसो उनले आफ्नो आँखा खोल्दै पत्नी (काकी)लाई सोधे छन्, ‘जेठा छोरा कहाँ छन् ?’ छोराबारे सोधेको यो पहिलो घटना थियो । त्यसैले काकी अत्यन्तै भावुक बन्न पुग्छिन् । शायद अन्तिम क्षणमा श्रीमानको ह्रदयमा छोराप्रतिको प्रेम भाव प्रकट भएर सोधिएको हुनुपर्छ भन्दै काकी भावुक बन्न पुगेको ठम्याउन गाह्रो थिएन । आँखाबाट आशुँ झार्दै काकीले भनिन्, ‘तपाई चिन्तित नहुनुस्, जेठा छोरा तपाईकै नजिक बसिरहेका छन् । ऊ हेर्नुस ।’ धनपति पसले काकाले फेरि सोध्यो, ‘माइलो चाहिं कहाँ छन् नि ?’ काकीले जबाफ फर्काउदै भनिन्, ‘अँ, ऊ पनि तपाईकै नजिकै त बसिरहेको छ । ’ धनपति पसले काकाका पाँच जना छोरा थिए । काकाले फेरि सोधे छन्, ‘सबैभन्दा काञ्छो चाहिँ कता छन् नि ?’ काकीले भनिछन्, ‘तपाईकै खुट्टा छेउमा त बसिरहेका छन् । पाँचै छोराहरू यहीं छन्, तपाई कुनै चिन्ता नलिनुस् ।’ काकीले यति मात्रै के सुनाएकी थिइन, मृत्यु शैय्यामा पुुगेका पसले धनपति काका जुरुक्क उठेछन् । थुचुक्कै बसेर भनेछन्, ‘ यदि पाँचै जना यहीं छन् भने पसलमा र वडा कार्यालयमा राहतको खाद्यान्न लिने लाइनमा चाहिँ को छ त ?’ यो सोधे लगतै धनपति काकाको निधन भयो । काकी भ्रममा थिइन कि श्रीमानलाई आफ्नो सन्तानहरुको माया लागेर उनीहरुका बारेमा सोधिखोजी भइरहेको हो । धनपति काका त मृत्युको अन्तिम क्षणमा पनि पसलमा कोही छन् या छैनन, कोरोनाको कहरले लकडाउन अवस्थामा सरकारी राहत पाउँने लाइनमा कुन छोरा गएको छ/छैन भनेर पो जान्ने कोशिसमा थिए !

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *