उराठलाग्दो जताततै बालुवा अनि ढुङ्गाको बोलबाला र प्रचण्ड गर्मीको साम्राज्य भएको कतारको समाल भन्ने ठाउँको तरकारीबारीमा अनवरत मेहेनत गर्दै छ रामे । गर्मी छल्न बनाइएको बारीछेउको छाप्रोमा बिहानको खाना खाएर एकछिन पसिना सुकाउन ढल्केको रामबहादुर स्वपननगरीमा पुगेछ- ए, रामे तेरो घरबाट चिठ्ठी आएको छ । ‘खोई’ भन्दै काम गर्दै गरेका हात पुछ्दै घरबाट आएको चिठ्ठी हतारिंदै खोल्यो र त्यहीं थचक्क बसेर पढ्न थाल्यो । चिठ्ठी पढ्दै जाँदा रामेको अनुहारमा मलीनता, उदासीनता अनि आँखामा रसाएको अश्रुधारा प्रस्टै देखिएको थियो । म पनि रामेसँगै भाग्य फेर्न केही महिनाअघि मात्र त्यस मरुभूमिमा रामेको सहकर्मी बन्न आएको थिएँ । भविष्य सुधार्न नीलो सपना देखेर । रामेको आँखा उर्लिएको खहरे र मलीन अनुहारलाई देखी उसको घरमा पक्कै पनि केही भएछजस्तो लाग्यो । सोधंे- दाइ, किन ? के भो ? ऊ हतपत आँखाबाट बगेका आँसु पुछ्दै दुःख लुकाउने प्रयत्न गरें । उनी मुखले केही बखान गरेनन् तर घरबाट आएको चिठी मेरो हातमा दिए । यसमा लेखिएको थियो-

प्राण प्यारो खसम,

अन्तिम साष्टाङ्ग प्रणाम अनि माफी अनगिन्ती गल्तीको लागि । आराम छु । त्यहाँ पनि आरामै होला । खास समाचारभन्दा पनि मेरो हातबाट अन्तिमपत्र कोर्न गइरहेको छु । यो सुन्दा हजुरलाई दुःख लाग्छ सहन

गाह्रो पर्छ । जीवन निरशजस्तै लाग्न सक्छ । सम्पूर्ण नारीप्रति नै वितृष्णा जागेर आउन सक्छ तर प्यारा खसम सत्य यथार्थ अथाह तीतो हुन्छ ।

प्यारो राजा, हजुर परदेसिएको पनि अस्तिमात्र तीन वर्ष पुगेर चार वर्षमा टेकिसक्यो । मलाई थाहा छ हजुर म र हाम्रा दुई बच्चाका लागि प्रवासमा खुला आकाशमुनिको बन्धक भई शरीर छियाछिया हुने गरी गधाजस्तै जोतिनुभएको छ । तपाइर्ंको अथक परिश्रमबाट नै छोराहरू बोर्डिङ र मेरो अंगअंगमा सुनैसुनले सजिसजाउ छ तर खै तपाईंको अधिकारमात्र भएको मेरो सर्वस्व सर्वाङ्गलाई तपाईं आउन्जेल जोगाएर राख्न सकिनँ । सके मलाई क्षमा गरिदिनुहोला ।

त्रिशूलीको उर्लंदो भेलजस्तै उर्लिएको मेरो बैंसमा तपाइर्ंको न्यानो साथ, कसिलो आलिंगन र बलिष्ठ हातहरू नपाएपछि यो मेरो मृगतृष्णा मेटाउने सहयात्री पल्लाघरे जन्तरेलाई बनाउन पुगें । तपाईंको स्पर्श र चुम्बन अनि सहवासको कमी उसले पूरा गर्दागर्दै कतिबेला पापको निसानी मेरो पेटमा शूल बनी बढेछ थाहा भएन । समाज जुट्यो, केरकार गर्‍यो र अन्तमा जन्तरेलाई नै सर्वस्व सम्झी उसैसँग लाग्नुपर्‍यो । तपाइर्ंका कुनै दोष नभएर पनि मबाट आवेग रोकिएन । मलाई पनि उस्तै भयो जस्तै भन्ने गथेर्ं- भात खाने मुखले भात खान्छ नखाने मुखले के खान्छ, कुरा बुझ्नु । नारीलाई धनैधनले सुखी राख्छु भन्नु गलत हो । भौतिक सुखले मात्र नारी अपूरो हुन्छे । तनको सुख पनि चाहिन्छ । भूल तपाईंको पनि होइन । धन पनि चाहिन्छ तर मैले उर्लिएको जवानीको भेल रोक्न सकिनँ । जसको दुष्परिणाम भेलमै अन्धाधुन्ध बग्न बाध्य भएँ । जे भो सो भो । तपाईं र मबाट जन्मेका दुधेबालक काकाकै जिम्मा लगाएर जाँदै छु । चल सम्पत्ति बाँकी जीवनको लागि साथमै लगेर गएकी छु । माफ दिनु ल ।

हजुरलाई साथ दिन नसकेकी सुन्तली ।

चिठ्ठी पढिसकेर रामे बेसरी चिच्चाएर उठ्न खोज्यो । छेउमै बसेको श्याम दगुर्दै आयो र सोध्यो ऐ रामे, के भो तँलाई ? आँखा मिच्दै रामे उठ्छ र लजाएझैं गरी भन्छ- हतेरिका कस्तो नराम्रो सपना देखिएछ यार ।

– गढवा ४, बलाखुटी देउखुरी दाङ्ग

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *