सबैलाई लाग्छ होला बिकशित देशहरुमा खाना र बस्नको लागि खासै समस्या हुदैन होला। यस्तो महामारीको बेला राज्यले सबै व्यवस्था गर्छ होला। दुख पाउने भनेको गरिब मुलुकमा बस्ने जनताहरुले मात्र हो। धनि मुलुकहरुमा तरकारी किन्न जान पर्दैन। दुध किन्न पशलमै जान पर्दैन होला। सबै चिजबिज घरघरमै पुर्याउछ होला। जागिरको पिर, बिहान बेलुका चुलो जलाउने पिर, ऋणको पिर सबै गरिब मुलुकहरुमा मात्र हुन्छ होला। दिनभरी मजदुरी गरेर बेलुकाको जोहो गर्ने नेपाल जस्तै गरिब मुलुकहरुमा मात्र हो।

तर कथा फरक छ।ब्याथा म आफूबाट शुरु गर्दछु। लगभग महिना दिनजति भयो यो महामारीको प्रकोप क्यानाडामा देखा परेको। शुरुशुरुमा खासै डर लागेन। फाट्ट फुट्ट बाहिरबाट आउनेहरुमा मात्र कोभिद-१९ को संक्रमण देखा परेको। सरासर काममा पनि गइयो। चाइना भाइरस भन्दै चाइनिज साथीहरुलाई पनि टुच्च टुच्च दिइयो। जब यसको प्रकोप इटाली र इरानमा तिब्र गतिमा बढेको खबरहरु आउन थाल्यो यसले अमेरिका र क्यानाडा जस्ता देशहरुलाई चिर निन्द्रा बाट बिउतायो। हामीहरु पनि सतर्क हुन थाल्यौ। यता उति दौड धुप गरेर मास्क खोज्न थाले। शुरुवाती दिनमै वाल्मार्ट र शोपर्स ड्रगमार्टमा मास्कहरु पाउन छोडे। अन्य पसलहरुमा त पाउने कुरै भएन। अमेजनबाट अनलाइन अर्डर गरेर अलिअलि मगाए। आजसम्म तिनै मास्कले काम चलिरहेको छ। धेरै दिनसम्म काममा मास्क लगाएरै गए। तर लन्च रुम सेयर गर्न पर्ने र कम्पनीले पनि छुट्टी नदिने भएपछी काम नै छोड्ने निधो गरे। जति पल्ट हात धोए पनि मनमा डर भैरहने। कोहि मान्छे नजिक आउदा पनि भाइरस सार्छ कि जस्तो लाग्ने। गर्दा गर्दा आजभोलि बाहिरबाट आउदा परिबार संग पनि नजिकै बस्न डर लाग्छ।

आज बिहान करिब नौ बजेतिर ग्रोसरी गर्न “नोफ्रिल’ गए। पशल खोल्नु भन्दा अगाडिनै मान्छेहरुको लामो लाइन थियो। मुखमा मास्क र हातमा ग्लोब लगाएर लाइनमा उभिए। सबैजना एक मिटरको दुरीमा उभिएका थिए। सबैको मनमा डर र त्रास प्रस्टै देखिन्थ्यो। बुढा बुढीहरुलाई भने लाइनमा बस्नु पर्दैनथ्यो। उनीहरुलाई हातमा सेनिटैजर दलेर भित्र जान दिन्थ्यो। प्रायजसो बुढा बुढीहरुले मास्क नै लगाएका थिएनन्। एकपल्टमा दश दश जनाको दरले भित्र छिराउथ्यो। तर पनि भित्र भिडभाड नै देखिन्थ्यो किनभने सिनियर सिटिजनहरु धेरै भित्र थिए भने उनीहरुलाई किनमेल गर्न पनि अलि धेरै समय लाग्दथ्यो।जोडी हुनेहरु एउटाको साहारा अर्को जस्तै बनिरहेका थिए भने जोडी नभएका एकल बृदा महिला होस् या पुरुष बेशाहारा बनिरहेका थिए। मनमा दया जागेर आयो। नेपालमा पनि धेरै बुवा आमाहरु एक्लो र बेसाहारा हुनुहुन्छ तरपनि यति धेरै हुनुहुन्छ जस्तो लागेको थिएन।

करिब एकघन्टा जति बाहिर लाइनमा ठिंग उभिएर भित्र छिर्ने पालो आयो। एक अर्कोको बिचमा एक मिटर सम्मको दुरी त केवल ढोकाबाट भित्र छिर्ने बेला मात्र रहेछ। भित्र त मान्छेहरु सामान उठाउनलाई तछाड र मछाड पो गरिरहेका रहेछन्। दृश्य हेर्दा लाग्यो रोगले भन्दा भोकले छिटो मोरिन्छ कि भन्ने पिर छ मान्छेहरुलाई। सरासर पालक भएको ठाउमा गए। एक मुठा पालक हातमा लिन मात्रै खोज्दै थिए एउटी बुढी आमै धुसुम्म मेरो छेउमा उभिएकी। ए बाबै ति आमालाई कसले सिकाउने हो मान्छे मान्छे बिचमा दुरी कायम राख्नु पर्छ भनेर। सास भित्रै रोकेर अर्को आएल्सतिर गए। बन्दा गोभी, काउली र अलि छिटो नकुहिने खालका केहि तरकारीहरू मेरो डोकोभित्र हाले। जता जान्छु उतै उतै मास्क पनि नलगाएका मान्छे आउछन गाँठे। भएन भनेर ग्रोसरीमा काम गर्ने नब्बे प्रतिशतले मास्क नै नलगाएका। के उनीहरु उच्च जोखिममा छैनन् र ? ग्रोसरिमा कामगर्ने कामदारहरुलाई पोजिटिव देखिएको खबरहरु पनि आइरहेका थिए मिडियामा। मनमा झन् संका उपसंका उठ्न थाल्यो। सरासर दुध हुने ठाउमा गए। फ्रिज बाहिर नोटिस थियो,’प्रति परिवार जम्मा दुइ पोका मात्र।’ दश पन्द्र दिनको लागि एकै पल्ट लिएर आउछु भनेर सोचको थिए। तर सबै कुराहरु लिमिटेडमात्र किन्न पाइन्थ्यो। दुध निकाल्दै थिए एउटी काली नजिकै टासिने हो कि जस्तो गरेर आई। हे भगवान यो स्नेकहोलबाट कतिबेला निस्कने होला।

चिज, पनिर, दहि र बटर उठाएर फ्रोजन फूड्स भएको आएल्समा गए। फ्रोजन हरियो केराउ निकाल्न लागेको बेला एउटा काले केटा मेरो पछि टाउको हल्लाउदै उभिरहेको छ करिब एक फुटको दुरीमा कानमा ठेटी ठोकेर टाउको हल्लाउदै। मनमनै सोचे यो डर मलाईमात्र हो कि क्या हो ? कसैलाई बालमतलब छैन। कति निस्फिक्री छन् यिनीहरु। यहि कारण पनि हो बिकसित देशहरुमामा कोरोनको प्रकोप फैलिदै गएको। मास्क लगाउने अनुहार भनेको एशियन मात्र पो देखे मैले। ग्रोसरिको लिस्ट हेरको अझै धेरै कुरा डोकामा हाल्ने बाँकी रहेछ। फलफुल हाले। अदुवा र खुर्सानि कागजमा पोको पारेर डोकोमा हाल्न बिर्सेछु। घरमा बुढीले थन्काउदा पो बल्ल थाहा भयो। ग्रोसरीबाट किनेर घरसम्म त पुर्याइयो तर घरभित्र छिराउन पनि उस्तै डर। गाडीबाट निकालेर बाहिरै सबै प्लास्टिक निकालेर गार्बेज। फलफुल त धुन मिल्ने जति साबुनपानीले मज्जाले धोएर मात्र फ्रिजमा हालियो। कपडा खोलेर पोको पारि तुरुन्त लंड्रीमा हाले। हात धोए मिची मिची। केटा केटिलाई एकछिन बेडरुममा बस्ने आदेश दिए। छोरा छोरी ‘कोरोना कोरोना ‘ भन्दै बेडरुमतिर दौडे। हे भगवान के दिन आयो एउटै घरभित्र पनि फेमली डिस्ट्यांसिङ्ग।

भर्खर चोखनिष्ट भएर सोफामा बसेको थिए एउटा साथीको फोन आयो,” ग्रोसरी गरेउ त ?”

“अँ गरे यार। किन तिम्रो गर्नु पर्ने छ र ?”

‘छ नि । मलाई भन्नु पर्दैन। म पनि जान्थे नि तिमीसंग,’ उसले केहिपनि नसोची भनिहाल्यो।

हैन किन नबुझेको होला उसले पनि। यो बेलामा कसरि सहयोग गरौ। आफ्नै बुढीको त नजिक नपरेको बेला साथिलाई गाडीमा राखेर हिडाल्ने कुरो आएन। यो हामि दुवै जनालाई अशुरक्षा हुने कुरो भयो। हो उसलाई पनि समस्या परेहोला। आफ्नो गाडी छैन। पब्लिक गाडीहरु शुरक्षित छैनन्। तर पनि उसकोबाट ग्रोसरी स्टोर नजिकै छ। हिडेरै पनि पाँच सात मिनेटमा पुगिन्छ।

‘सोरी यार , बिर्सेछु। तिमि बरु नजिकै हिडेर जाउ भोलि बिहानै। अहिले लामो लाइन छ। भर्खर फ्रेस भएर बसेको छु ‘, मैले अलि घुमाउरो पाराले ‘नो’ भनिदिए। के गर्नु यस्तो बेला आफ्नो मान्छे भनेर पनि नहुने। साथीभाई संग फोनमा कुरा गर्ने हो भेटघाट गर्ने हैन।

‘आज एक तारिक हो। भाडा दिनुभयो त ?’, बुढीले बेडरुमबाटै फर्माइन।

‘दिउला नि। बैंक खातामा ब्यालेन्स छ कि छैन ? ढुकुटी पनि तिर्नु पर्ने हो। आज तिन दिन भैसक्यो खोलेको’, मैले अलि चिड्चिडिएको स्वरमा बोले। मोबाइलमा बैंक ब्यालेन्स चेक गरे। चेकिङ्ग अकाउन्टमा चार हजार रहेछ। क्रेडिट कार्डको तिर्नु पर्ने अठार सय चानचुन थियो। तलब आउन छाडेको महिना दिन भैसकेको थियो। कामदारको बिमा रकमको लागि अप्लाई गर्ने कि नगर्ने निधो थिएन। न काममा जान सक्ने स्थिति। न कम्पनीले ‘ले अफ’ दिने। सारै अफ्ठेरो थियो अवस्था। जागिर भन्दा ज्यान ठुलो भनेर बसेको छु घरमा। राहत कोटामा अप्लाई गर्ने हो दिने नदिने सरकारको जिम्मा। त्यसको लागि पनि अप्लिकेसन खुलेको छैन अझै। यिनै कुराहरु खेलाउदै खेलाउदै दिन त ढल्की सकेछ। अलिकति भएपनि मुड फ्रेस गर्ने बिचारले एकछिन ड्राइभमा निस्के।

ब्रिम्ले रोडमा निस्कदा बाटो पुरै खालि थियो। यो बाटोमा कैयौ पल्ट लेफ्ट टर्न लिनको लागि हम्मे हम्मे परेको छ मलाई। तर आज बाटो पुरै खुल्ला छ। बाटोको अवस्था हेर्दा नेपाल बन्दका दिनहरु याद आए। नेपाल बन्दमा मान्छेहरु कमिला झैँ निस्कन्थे शहर बजारतिर त। तर नेपाल र क्यानाडाको अवस्था फरक छ। यहाँ मान्छेहरु खासै बाटोमा हिड्दैनन अगिपछि पनि । तर खोला बगेजस्तै निरन्तर बग्ने गाडीहरु फाट्ट फुट्ट मात्र देखिएका छन्। बजारहरु सुन्य छन्। भित्रि बाटाहरु झन् सुनसान छन्। गाडी ब्लाफ़र पार्कतिर हुइकाए। बाटो खालि भएर पनि होला जतिबेला पनि ओभर स्पिड हुदोरैछ। ब्लाफ़र पार्कमा पुग्ने बेलैमा बाटो ब्लक पो गरेको रैछ। सायद मान्छेहरु अटेर गरेर घुम्न आउछन भनेर होला। त्यहीबाट यु टर्न गरे। बाटोमा पर्ने कुनै पनि पार्कहरु खुल्ला थिएनन। नोब हिल पब्लिक स्कुलको अगाडी चर्चयार्डमा एकैछिन गाडी पार्क गरे। पुरै पार्किङ्ग लट सुनसान थियो। ओर्हन पामुकको ‘माई नेम इज रेड ‘ खोलेर पढन लागे। मन खासै स्थिर भएन। एक दुई जना मान्छेहरु साइडबाट हिड्दै थिए। सबै भयभित देखिन्थे। लाग्यो म पनि उनीहरुको नजरमा कतै संकास्पत व्यक्ति भएको त छैन। किताब बन्द गरे र गाडी स्टार्ट गरे। एकैछिनमा भित्रिबाटो हुदै घरमा फर्के। कुनै पनि भित्रि बाटोमा एकजना पनि बाहिर देखिएन। सबैले घरको अगाडी गाडी पार्क गरेका थिए। मान्छे सबै घरभित्र बन्द थिए । धेरै मान्छेहरु सायदै घरमा बस्थे होला अघि पछि। रंगी बिरंगी यो शहर आज हारेको छ। घरहरु केबल निर्जीव कंक्रिट जंगलमा परिबर्तन भएका छन।

जति कहाली लाग्दो छ बाहिरको दृश्य त्यो भन्दा भयाबह छ ति घरभित्र बस्ने मान्छेहरुको कथा। सन्तोष पनेरु। इन्डियन रेस्टुरेन्टको कुक । पाँच वर्ष पहिले कतार हुदै क्यानाडा छिरेको थियो ऊ । चौध चौध घण्टा काम गरेर जम्मा गरेको पैसोले सानो घर किनेको थियो पोहरसाल। महिनाबारी तिन हजार बैंकमा किस्ता तिर्दथ्यो। पानि, बिजुली, गार्बेजको पैसा जनतन भाडाबाट उठाउथ्यो। परिवारलाई पनि बोलाएको थियो पोहोर साल। दुइ जना छोराहरु स्कुल पढ्दै छन् एउटा कक्षा पाँच र अर्को कक्षा दुइमा। उसको श्रीमतीलाई अंग्रेजी बोल्न कतिपनि आउदैनथ्यो। जसले गर्दा ऊ घरमै छोराछोरीको हेरचाह गरेर बसेकी थिई। सन्तोष पैसो भने राम्रै कमाउथ्यो। आधा तलब नगद र आधा चेकमा ल्याउथ्यो। अहिले साहुले रेस्टुरेन्ट बन्द गरेको छ। आधा पैसो नगद ल्याएकोले गर्दा उसले सरकारबाट पाउने पैसो पनि कम पाउने भएको थियो। घर किन्दा साथीहरुको ऋण पनि तिर्न अझै बाँकी थियो। अर्को महिना कान्छो छोराको दाँतको सर्जरी गर्नलाई पैसो जम्मा गर्दै थियो। कोभिद -१९ ले गर्दा उसको सबै प्लानहरु अनिश्चित कालको लागि बिश्राम गरेका थिए। हिजो फोन गरेको थिए मैले। ऊ भन्दै थियो ‘सुगर झन् बढेको छ। टेन्सन छ भाई। यो कहिले सम्म सकिन्छ ?’

‘खै दाई खबरहरु हेर्दा त अझै दुइ चार महिना त पक्का पनि जान्छ। पछि पनि खै के हो के हो ‘, मैले भनेको थिए।

एकै छिन कुरा गरेर उ नैले फोन काटेका थिए। उनीजस्तै समस्यामा पर्ने अनगिन्ति नेपालिहरु छन् यो शहरमा। कतिपयले बेलु का मात्रै भए पनि रेस्टुरेन्ट खोलेका थिए। धर्म दाइले भन्दै थिए हिजो,”भाई कस्तो मान्छे औउछन कस्तो थाहा हुदैन। ज्यानको बाजी थापेर काममा गैयाछ। अर्को गर्न जानिया छैन। खै सरकारले पैसो बाडेको छ भन्छन, आफुलाई त त्यो पैसो कसरि पाइन्छ त्यो पनि थाहा छैन। ‘ हो धेरै जसोको लागी अनलाइन फर्म भर्ने कुरो पनि गाह्रो छ। पोहोरसाल आमा बा लाइ बोलाएका थिए उनले। थुप्रै पैसो खर्च भयो भन्थे। एकजना नेपालि ओकिलले नै हो रे सहयोग गरेको राम्रै सहयोग गरेको सुनाए उनले।

सुदिप र प्रबिण चार महिना अगाडी एउटा प्राइभेट कलेजमा पढ्नलाई नेपालबाट आएका हुन्। नेपालिकै घरमा एउटा सानो कोठा भाडामा बसेका छन्। किचन घरबेटी संग सेयर गर्छन। पानिको र इन्टरनेटको पनि पैसो मागेको छ घरपेटीले भन्दै थिए अस्ति भेट हुदा। बल्ल बल्ल काम गर्न थालेका थिए फास्ट फुड रेस्टुरेन्टमा। त्यसैबाट घरभाडा सम्म कमाउ थे। त्यो पनि बन्द भयो। ‘हामीहरुलाई सरकारले पैसो दिन्छ कि दिन्न दाई ? हाम्रो त आओर पनि पुग्दैन’, सुदिपले सोधेको थियो।

‘देला नि केहि न केहि त। बुझ्दै गर्नु। म पनि बुझौला।’ यत्ति भने मैले। दुवै जनाको पढाई अनलाइन गराइसकेको थियो। केहि पनि पढाउदैनन। खालि रिसोर्सहरु मात्र देखाईदिन्छन। ‘कशम दाई ,यो भन्दा त नेपाल कै पढाई राम्रो थियो। पढ्नेहरु पनि सबै बिहारी जस्ता छन्। बिहार हो कि क्यानाडा ? ‘ प्रबिणले उतिबेलै भनेको थियो मलाई। बिचराहरुले कसरि स्कुलको फिस तिर्छन। कसरि घरभाडाको जोहो गर्छन। रमाइलोको त कु रै छोडौ। नेपालबाट बाबा आमाले पनि कहिलेसम्म पैसो पठाउने। यहाको सरकारले पनि इन्टरनेसनल बिध्यर्थिको लागि खासै केहि राहत ल्याएको छैन। जसले हिजोका दिनमा राज्यलाइ ट्याक्स तिरे उनीहरुले मात्र केहि मात्रमा राहात पाउने भएका छन्। त्यो राहात प्याकेजमा पनि धेरै कुराहरु अझै कन्फ्युजनमा छन्।

मनोहर जोशी उबर चलाएर गुजारा गरेका थिए। उबर ड्राइभरहरु संक्रमित भएको हुनाले उनले गाडी ग्यारेजमा थन्काएर घरमै बसेका छन्। उनलाई राज्यले कसरि राहात दिन्छ वा दिदैन भन्ने कुराले रातदिन पिरोलिरहेको छ। मैले भनेको थिए ‘भाई तिमि सेल्फ इम्प्लोयेडमा पर्दछौ। अप्प्लाई गरेर हेर दिईपो हाल्छ कि। ‘ उनकी श्रीमतीले एउटा बिउटी पार्लरमा काम गर्दी रैछन। तलब सबै नगद ल्याउने हुदा राज्यले दिने राहतको लागि योग्य भैनछ्न। क्यानाडामा नगदमा काम गर्नु गराउनु दुवै कानुन सम्बत मानिदैनन। तरपनि मान्छेहरुले ट्याक्स छल्नको लागि यस्तो गरिरहेका हुन्छन।यस्तो गर्नेमा नेपालि रेस्टुरेन्ट ब्यबसायीहरु धेरै छन्। त्यसको असर अहिले आएर आफैमा पर्न गएको छ।

दिपक र सुनिल एडमन्टनको सामुहिक हेरचाह गर्ने केन्द्रमा काम गर्छन। पहिले त राम्रै थियो काम कमाइको हिसाबले। तर अहिले तिनै केन्द्रहरुमा संक्रमितहरुको संख्या बढेको हुनाले काममा जान डर भएको बताएका थिए। न त उनीहरुलाई छुट्टी नै मिल्छ यस्तो बेलामा न ‘ले अफ ‘ नै। आफैले काम छोड्यो भने न त रोजगारी बिमाबाट पैसो नै मिल्छ न पछाडी काममा फर्किन पाइन्छ। सारै अप्ठेरोमा परको गुनासो गर्दै थिए। मैले खासै उनीहरुको मामलामा केहि बोल्न चाहिन। हजारौ नर्स तथा डाक्टरहरु पनि काम गरिरहेका छन् यो बेला। उनीहरुको पनि काम छोडेर परिबारसंग बस्ने रहर त होला। तर के गर्ने उनीहरुले काम छोड्नु भनेको शत्रुका सेनाहरुले देशको सिमामा आक्रमण गर्दा देशका सेनाहरुले जागिर छोडे जस्तै हो।

यस्तै यस्तै साना ठुला समस्याको भुमरीमै छ नेपालि समाज आज क्यानाडामा। घर भएकाहरु, भाडामा बस्नेहरु,जागिर गर्नेहरु , ब्यबसाय गर्नेहरु सबैलाई गाह्रो परेको छ। बाख्रालाई आफ्नै सिंगको भारि ,भैसीलाई उसकै सिंगको भारि भनेझै तनाब सबैलाई छ। यो अबस्थामा सबैलाई आफ्नै देशको र गाँउको मायाले सताएको छ।

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Articles researcher, contributer & Editor for www.sahityasangalo.com Poem and song writer studying master in business

Leave a Reply:

Your email address will not be published. Required fields are marked *