‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो

चियाको बुटामा

बल्झेछ क्यारे सुनको काँढा

कलिलो खुट्टामा’ -अल्झेछ क्यारे’.)

देशको तत्कालीन अवस्था र व्यवस्थाले साह्रै नै पिरोलिएका भूपि शेरचन आधुनिक नेपाली कविता साहित्यका होनहार प्रतिभा हुन् । नेपाली साहित्यको इतिहास केलाउँदा आधुनिक नेपाली कविता साहित्यमा उनको नाम अग्रपङ्क्तिमा पर्दछ । साहित्यका भिन्न विधामा कलम चलाई साहित्यिक आकाश चुम्ने कवि शेरचन नेपाली सङ्गीतको स्वर्ण्र्िम युगका उत्कृष्ट राष्ट्रवादी कवि एवं गीतकार पनि हुन् ।

सुब्बा हितमान शेरचनको कान्छो छोराका रूपमा वि.सं. १९९२ साल पुस १० गते मुस्ताङ जिल्लाको थाकटुकुचेमा उहाँको जन्म भएको हो । करिब ५ वर्षकै उमेरमा मातृवियोग सहनुपरेका कवि शेरचनको चिनाको नाम भाग्यमान शेरचन -कहीँ-कहीँ भूपेन्द्रमान शेरचन उल्लेख गरिएको) भए पनि उनी नेपाली साहित्यमा “भूपि” उपनामले नै सुपरिचित छन् ।

नेपाली साहित्यमा चिन्तन र लेखनका क्लिष्ट शैलीहरू चल्तीमा रहेका बेला भूपिले सरल, सरस र सार्थक साहित्य सिर्जना हुनसक्छ भन्ने कुरो प्रमाणित गरिदिए । छन्द कविताको बोलवाला रहेको समयमा गोपालप्रसाद रिमालले गद्य शैलीमा प्रारम्भ गरेको क्रान्ति भूपिले सफल पारे ।

प्रगतिवादी धारा र समसामयिक धाराका अनुयायीका रूपमा रहेका कवि शेरचनले कविताका साथै गीत, गजल, मुक्तक र नाटकमा समेत कलम चलाई सफलता पाएका छन् । तैपनि उनको सबैभन्दा मनपर्ने साहित्यिक विधा भने कविता नै रह्यो । वि.सं. २००८/१० सालदेखि सक्रिय कविका रूपमा देखापरेका कवि शेरचनले नयाँ झ्याउरे, निर्झर, घुम्ने मेचमाथि अन्धो मान्छे र भूपि शेरचनका कविता -सम्पादक शिव रेग्मी २०५७) जस्ता ४ वटा मात्र कविता सङ्ग्रह दिए नेपाली साहित्यलाई । तैपनि आफ्ना यी चारैवटा कविता सङ्ग्रहमा भिन्न भिन्न रूपमा प्रकट भएका शेरचन घुम्ने मेचमाथि अन्धो मान्छे कविता सङ्ग्रहको प्रकाशनपछि अत्यन्तै चर्चामा आए ।

सरल भाषा र तीखो व्यङ्ग्यले भूपिका कविता निकै लोकपि्रय र सशक्त बनेका छन् । उनका कवितामा अन्याय, अत्याचार, सामाजिक विषमता, आर्थिक शोषण र राजनीतिक अवसरवादितादेखि त्रस्त र कम्पित मानवीय भावहरू प्रभावित पाइन्छन् । सर्वसाधारणका नाममा माथि उठ्ने र उनीहरूकै पसिनामा रजाइँ गर्ने मनोवृत्ति कवि शेरचन रत्तिभर मन पराउँदैनन् । साँच्चै भन्ने हो भने पहिला-पहिला आफूलाई सर्वहारा भनेर चिनाउन खोज्ने र पछि त कम्युनिष्टबाट कवि भएँ भनेर आत्मटिप्पणी गर्ने उनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’, ‘यो हल्लै हल्लाको देश हो’, ‘शहिदको सम्झनामा’ र ‘हामी’ जस्ता कविताका शीर्षक र पङ्क्तिहरू नेपाली भाषामा चल्तीका वाक्यांश बन्नपुगेका छन् । तीन/चार दशक अघि लेखिएका उनका कविता आर्थिक, सामाजिक र राजनीतिक परिवेशको भावी कल्पना गरेर लेखेजस्तो अहिले पनि निकै समसामयिक देखिएका छन् ।

हामी आफुखुशी कहिल्यै मिल्न नसक्ने

कसैले मिलाइ दिनुपर्ने,

हामी रंगरोगन छुटेका, टुटेका, फुटेका

पुरानो क्यारिमबोर्डका गोटी हौँ

हो, हामी मानिस कम र बर्ता गोटी हौं । -‘हामी’)

नेपाली भाषाका पुस्तकमा सबैभन्दा बढी पढिनेमध्ये भूपिको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ पनि हो । उनको यो लोकपि्रय कविता सङ्ग्रह ४० हजारभन्दा बढी प्रति छापिइसकेको साझा प्रकाशनबाट थाहा पाउँदा यसबाट उनको जनपि्रयताको सहजै आँकलन गर्न सकिन्छ । नेपाली राज्य सञ्चालनकर्ताहरू अन्धा छन् र तिनै अन्धाहरू शासन सत्ताको घुम्ने मेचमाथि बसेको यथार्थ पस्कन्छन् भूपि ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ मा । फेरि पनि काठमाडौँवादप्रति कवि भूपिको कटाक्ष छ, त्यसैले उनी भन्छन्-

साँझमा जब नेपाल खुम्चिएर काठमाडौँ

काठमाडौँ डल्लिएर नयाँ सडक

र, नयाँ सडक असङ्ख्य मानिसका पाउमुनि कुल्चिएर,

टुक्रिएर, अखबार, चिया र पानको पसल बन्छ ।

घुम्ने मेचमाथि बसेपछि त्यसको शक्ति सम्पन्नताले अन्धो बनाउँछ मान्छेलाई । दिनभरि घुम्ने मेचमा निदाएर वा झोक्राएर बस्ने कुर्सीधारीहरू समग्रमा अन्धा हुन् र तिनै अन्धाहरूको शासनमा शासित थिए भूपि र शासित छौँ हामी ।

जटिल युगमा देखापरेका भूपिको साहित्यिक युग वास्तवमै जटिल कविताको युग थियो । डाइनल टमस, टी.एस. इलियट, एज्रापाउण्ड आदि विदेशी लेखकबाट प्रभावित युग र त्यस युगबाट अति नै प्रभावित भूपिको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ व्यङ्ग्य, विद्रोह अनि ओजस्वी अभिव्यक्ति र गद्यात्मक लयका कारण लोकपि्रय भएको हो । त्यसबखतका स्थापित र नयाँ कविका आदर्श कवि भूपि थिएनन् तर परिवर्तनशील समयले गर्दा भूपि कविहरूका नायक जस्तै भएर आए । पछिका पुस्ताले पनि काब्य लेखनको आदर्शका रूपमा भूपिलाई अँगालेको पाइन्छ । भूपिको त्यो नायकत्व अहिलेसम्म पनि यथावत छ । भूपिका कविता विकृति र विसङ्गतिविरुद्ध मात्र छैनन् । उनका कतिपय कवितामा प्रकृति प्रेम पाइन्छ भने कतिपयमा व्यक्तिगत प्रेमको सङ्केत पनि झल्कन्छ ।

वि.सं. २०१२ सालमा नेपाल कम्युनिष्ट पार्टीको जिल्ला सचिवको जिम्मेवारी सम्हालेका शेरचनले वि.सं. २०२६ सालमा पहिलो साझा पुरस्कार प्राप्त गरे । साथै वि.सं. २०३६ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य पदमा रही कुशल भूमिका निर्वाह गरे । २०३८ सालदेखि दम, क्षयरोग तथा मधुमेहबाट आक्रन्त भूपिलाई नयाँ दिल्ली, बैङ्कक र भेलोरको उपचारले पनि निको पार्न सकेन । २०४६ जेठ १ गते उनले यस संसारबाट बिदा लिए । आज उनी हाम्रो सामु छैनन् तैपनि उनका उत्कृष्ट काव्यकृतिले गर्दा उनी सधैँ हामीबीच छन् । अन्त्यमा दिवंगत भूपिलाई श्रद्धास्वरूप उनकै यी शब्दहरू-

”मैले पिएकोमा रिसाएका साथीहरू,

पिएर त हेर, पिउन झन गाह्रो छ ।

मरेर शहीद हुनेहरू,

जिएर त हेर, जिउन झन् गाह्रो छ “‘

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *