आधा लाखको हाराहारी मान्छे मारिसक्यो ।
कोरोनाले विश्वभरि सङ्कट पारिसक्यो ।।
नियन्त्रणका प्रयासहरू नभएका हैनन् ।
अझै पनि मानिसहरू ढुक्क भने छैनन् ।।
लकडाउन छ थुप्रै देशमा बढिरह्यो त्रास ।
गरिब दु: खी मानिसले कसको गर्नू आश ?
थुप्रै देशलाई ऋणको भारी बोकाएको किन ?
हजारौं जन खाइसक्दा नि भोकाएको किन ??
भ्याक्सिन बनाई यसलाई तह लगाउन पाए ।
रमाउथ्यो मन छिट्टै यसलाई भगाउन पाए ।।
कोरोनाको कहरबाट मुक्ति देऊ प्रभू ।
त्यसलाई नष्ट गर्न सही जुक्ति देऊ प्रभू ।।
काम नगरी ज्यामी, श्रमिक कसरी हो बाच्ने ?
बसी खादा लागेको ऋण कहिलेसम्म साच्ने ?
कोरोनाले मानवलाई नदेओस् दु: ख धेरै ।
नसुनौ म शक्ति बढ्या खबर कतिखरै ।।
(इति संवत् २०७६ / १२/ २० रोज ५ शुभम् ।)
(१/२)
अति सूक्ष्म जीव हो तर मानवको दुश्मन ।
नियन्त्रणमा लिन भने गाह्रो पर्यो भन्छन् ।।
अनेक थरी आविष्कार गर्ने पुर्खा हाम्रा ।
असमर्थ भए दबाइ बनाउनलाई राम्रा ।।
भाइरसले मान्छेलाई तर्साएको कति ?
केही महिनामा भयो धेरै मानवको खति ।
चीनको वुहान यसको मुहान पुग्यो कताकता ।
मान्छे मारिरह्यो यसले गयो जता जता ।।
कोभिड १९ नाम हो यसको भाइरस हो जात ।
यसले अब कतै नलाओस् मानव लासको खात ।।
वैज्ञानिकले पत्ता लगाऊन् यसलाई मार्ने दबै ।
त्रासमुक्त भै बाच्न पाऊन् मानव जाति सबै ।।
(इति संवत् २०७६ / १२ / १९ रोज ४ शुभम् ।)
(२)
मोबाइल र टि भी हेरी बसे केटाकेटी ।
घरमै तास खेली बसे युवा थकाइ मेटी ।।
बुढाबुढी वाक्क भए घर नै जेलझै बन्दा ।
छक्क परे उनीहरू बाहिर नजाऊ भन्दा ।।
बच्चालाई घरमै राख्न गाह्रो भयो अति ।
भनिरहे बाहिर जान पर्खौ हामी कति ?
सागसब्जी सकिएको देखी भान्सातिर ।
भान्सेले चाहिँ दु: खी हुँदै माने धेरै पीर ।।
कुखुरालाई दाना छैन बाख्रालाई घाँस ।
के दिएर धान्नेहोला गाईभैसीको सास ।।
भन्ने चिन्ता किसानलाई पर्दा अलि बढी।
रातमा पनि निदाएनन् बिस्तारामा लडी ।।
अत्यावश्यक वस्तुहरू खाचो हुँदा पनि ।
घरमै बसे मान्छेहरू रोग सर्ला कि भनी ।।
दूध बेच्नेले बेच्न छाडी तयार पारे घिउ ।
त्यही खाएर बनाए रे तिनले दह्रो जीउ ।।
अन्न, नगद सापट लिई चल्ने थुप्रै भए ।
सुरक्षा र स्वास्थ्यकर्मी ड्युटी गर्न गए ।।
राहत बाड्न टोलटोलमा पुगे नेताहरू ।
छलफल हुँदै छ रे अझै के दिने हो अरू ।।
सागसब्जी कुहियो रे भण्डारमै धेरै ।
व्यापारीको केही लगानी गयो व्यर्थ खेरै ।।
स्वास्थ्यकर्मी व्यस्त भए उपचार गर्न ।
नदिऊ भनी बिरामीलाई अकालमा मर्न ।।
(इति संवत् २०७६ /१२ / १८ रोज ३ शुभम् ।)
(३)
आँखा ले नदेखिने स्वरूप हुन्छ यसको ।
खुबी देखाई ध्यान तान्यो थुप्रै देशको ।।
उन्मत्त भई विश्व भ्रमणमा लागेको छ ।
गति बढाएर अति छिटोछिटो भागेको छ ।।
दिनुहुन्न कोरोनालाई गर्न मनोमानी ।
सचेत भए कसैलाई हुनेछैन हानि ।।
सङ्क्रमितको उपचार गरेदेखि छिटो ।
पाउनेछ्न् मानवले फल अति मीठो ।।
सक्दो छिटो कोरोनालाई ठेगान लगाउनुछ ।
मानव मनको केन्द्रबाट डरलाई भगाउनुछ ।।
निर्दयी भो यो कोरोना हराइहालौ छिटो ।
एकजुट भई तर्सेकालाई फल चखाऔ मीठो ।।
(इति संवत् २०७६ / १२ / १६ रोज १ शुभम् ।)
(४)
तेरो जन्म कसरी भो थाहा छैन केही ।
किन बनिस् शक्तिशाली जान्न मन छ यही ।।
थुप्रै देशमा पुगिकन कयौं मान्छे मारिस् ।
काममा नगई नहुनेलाई घरमै बस्न पारिस् ।।
विश्वभ्रमण नगर् अब त्रास बढाएर ।
पाउनेछैनस् तैले केही मान्छे लडाएर ।।
मान्छेलाई रुवाएर बनिरहे पापी ।
पाउनेछैनस् कुनै दिन कसैबाट माफी ।।
लौ न प्रभू कोरोनाको समूल नष्ट गर ।
मानव मनमा जीवनप्रति आशाभाव भर ।।
सहरसमेत कहिलेसम्म राखौं हामी सुनसान ।
कसैलाई रहर छैन उसकै गाउन गुणगान ।।
(इति संवत् २०७६ / १२ / १४ रोज ६ शुभम् ।)
(५)
लकडाउनको अवधिमा बसौं घरैभित्र ।
दिन बिताउन लेखौ गीत कोरौ राम्रा चित्र ।।
फकाउनू बालबच्चालाई खोजे बाहिर जान ।
घरमै बनाई ताजा ताजा दिनू खाजा खान ।।
नयाँ नयाँ किताबहरू पढे हुन्छ बरु ।
अनुशासन पालन गर्नू नगर्नू केही अरू ।।
बिहानमा योगाभ्यास गर्नू अनेक थरी ।
जहानसगै दिन बिताउनू हासोठट्टा गरी ।।
मनमा अनेक कुरा खेलाई दु:खी हुनुहुन्न ।
आफैंलाई कमजोर ठानी व्यर्थै रुनुहुन्न ।।
उमालेको पानी पिउनू नुहाइधुवाइ गर्नू ।
सागसब्जीको स्याहार गर्न बारीतिर झर्नू ।।
कोरोनाको सङ्क्रमण हामीलाई नहोस् ।
सधैंभरि भगवानको विशेष साथ रहोस् ।।
कोरोनाले विश्वलाई नसताओस् धेरै ।
दु: खद खबर सुन्नुपर्ने नहोस् कतिखेरै ।।
(इति संवत् २०७६ / १२ / १२ रोज ४ शुभम् ।)
(६)
कोरोनाको सङ्क्रमण नहोस् नेपालभरि ।
नेपालीलाई बचाइराखौ सचेतना छरी ।।
नफैलियोस् कुनै देशमा कोरोनाको त्रास (२)
घरमा फर्कून् सङ्क्रमित सही उपचार गरी ।
अरूलाई तर्साएर नरमाऊन् कोही ।
मानवता गुमाई धन नकमाऊन् कोही ।।
सङ्कटग्रस्त समयको फाइदा लिन खोजी (२)
धर्म छाडी गलत बाटो नसमाऊन् कोही ।
(इति संवत् २०७६ /१२ /९ रोज १ शुभम् ।)
(७)
सावधानी अपनाउनु बस्नू सचेत भई ।
रुघाखोकी लागे जाच्नू स्वास्थ्यसंस्था गई ।।
विश्व स्वास्थ्य सङ्गठनले खतरा बढ्यो भन्छ ।
कोरोनामुक्त देश बनाउन नेपालीलाई मन छ ।।
दक्षिण एसियाका आठ देश सङ्क्रमित भए ।
नेपालीलाई लाग्ला त्यो रोग तिनमा व्यर्थ गए ।।
केही दिन हाम्रा सबै नाका बन्द गर्नुपर्यो ।
नेपालभरि चेतनाको बिउ छर्नुपर्यो ।।
कोरोनाले नेपालीलाई छुन नपाओस् ।
अरू देशको जस्तो विपत् यहाँ नआओस् ।।
देशभरिका देवदेवीले हाम्रो रक्षा गरून् ।
हामीलाई जोगाउन सदा लागी परून् ।।
(इति संवत् २०७६ /१२ /०७ रोज ६ शुभम् ।)
(८)
स्कुल , कलेज बन्द भए कोरोनाको डरले ।
भिडभाडमा नजानुस् कोही आफन्तको करले ।।
सङ्क्रमणको जोखिममा छन् वृद्ध, बालबच्चा ।
दीर्घरोगी स्वजनको ख्याल गरी बनौं सच्चा ।।
कोरोनाको सङ्क्रमणबाट बाच्न जानौँ ।
रोग लाग्न नदिनलाई सबको सुझाव मानौँ ।।
हात मिलाउन छाडिदिनुस् भन्नुस् नमस्कार ।
हाच्छियु गर्दा मुख छोप्नू है नमानेर हार ।।
जाडरक्सीले कोरोनालाई मार्दैन रे साथी ।
सचेत भए त्यसको विपत् आउन्न हामीमाथि ।।
घरबाहिर जादा राम्रो मास्क लगाउनुहोला ।
सावधानी अपनाई यो रोग भगाउनुहोला ।।
रुघाखोकी लागिहाले गरौँ उपचार ।
कोरोना नै लाग्यो भनी नमानू है हार ।।
पशुपन्छी पाल्नेहरू बढी सजग हुनू ।
तिनलाई छोई फर्कनासाथ साबुनले हात धुनू ।।
केही दिन आफ्ना केही कामलाई राख्नू थाती ।
सतर्कता अपनाई विश्वास राखौं ईश्वर माथि ।।
निराधार हल्ला पत्याई कोही डराउनुहुन्न ।
अबोध आफ्ना बालबच्चालाई कराउनुहुन्न ।।
(इति संवत् २०७६ / १२ /०६ रोज ५ शुभम् ।)
मादी गाउँपालिका–४,
तारकाङ्ग, कास्की ।