–नारायण तिवारी
एउटा साहित्यिक कार्यक्रममा उपस्थित थिएँ । अलिक ढिलोगरी पुगेको थिएँ । कार्यक्रम शुरू भइसकेको थियो ।
मञ्चमा विराजमान मध्ये एकजना मानिस अलिक नौला–नौला लागिरहेका थिए । पहिले नदेखेको ।
कार्यक्रमभरी ती नौला मानिसकै प्रशस्ति चलिरह्यो । कार्यक्रमको आयोजन चाहिँ अरे अमेरिकाबाट पालेका तिनै व्यक्तिको स्वागतमा ।
“उनको परिचय चाहिँ के…?” मैले नजिकै बसेका अर्का व्यक्तिलाई फुस्फुसाएर सोधेँ ।
“अमेरिकाबाट…!” यति भन्दै त्यो व्यक्ति आवाज ननिकालेर खितितिति हाँस्यो ।
कार्यक्रममा मञ्चासिन सबै वक्ताहरूले ती अमेरिकाबाट आएको व्यक्तिको प्रशस्ति गान गरे– पालैपालो ।
त्यही पनि मेरो जिज्ञासा शान्त भएन । कार्यक्रम सकियो ।
मैले फेरि फुस्फुसाएर सहभागी अर्कालाई, फेरि अर्कालाई, फेरि अर्कालाई सोधिरहेँ– ‘आखिर उनको परिचय चाहिँ के…?’
सबैले ‘खितितिति’ गरेकै भावमा जवाफ फर्काए– ‘अमेरिकाबाट भनेपछि पुगेन ? बुझ्नुहोस् न अमेरिकाबाट भनेपछि अमेरिकाबाट । परिचय नै अमेरिकाबाट क्या…!’
अन्तिममा, मैले मलाई निम्त्याउने आयोजक नारायणजीलाई सोधेँ– “होइन, मैले कुरा नबुझ्या हो कि, उहाँको परिचय चाहिँ के हो भन्या…?”
नारायणजीले मलाई तानेर एउटा कुनामा लगे । र, भने– “तपाईं ह्वीस्की खाने कि रम…? तपाईंलाई पनि हामीले सामेल गराउने सोचेका छौं । नजानुहोला । सबै गइसकेपछि अर्को कार्यक्रम चल्ने छ हाम्रो…!”
केही बेरपछि अर्को कार्यक्रम चल्यो । सबैका हात–हातमा ‘जाम’ टकराए ।
मैले पनि मस्तीले खाएँ, पिएँ…!
तर पनि मेरो मुखबाट भने फुस् फुस् यही शब्द फुस्किरहेको थियो– ‘आखिर उनको परिचय चाहिँ के…?’
श्रोत : लघुकथा कुनो