– डा. श्याम न्याैपाने
“कसरी बिग्रियाे याे मेसिन ? ढङ्ग नभएपछि नचलाउनू पर्दैन ? तिमीलाई थाहा छ यसलाई कति पर्छ ?” उसले राता राता अाँखा बनाउँदै घनेलाई झपार्यो ।
” हाेइन, काम गर्न पनि कस्ता कस्ता मान्छे अाउँछन् कुन्नि !” ऊ एक्लै बडबडायाे ।
अल्लिपर उभिएको घनेले याे सबै सुनेर पनि नसुनेझैं गरिरहेकाे थियाे ।
उसले घनेतिरै फर्केर ठूल्ठूलाे स्वरले चिच्याउन थाल्याे ” कसले व्यहाेर्छ यस मेसिनको क्षति ? कम्ती परेकाे छ यसलाई ? ” त्यस कारखानामा कार्यरत् अन्य मजदुरले पनि याे सब सुनिरहेका थिए । तर उनीहरूका अाेठ फेबिकाेलले चिप्काएझैं टम्म जाेडिएका थिए ।
“कसरी तिर्छाै त मेसिनकाे क्षति ? ” उसले घनेलाई साेध्याे । “काम गर्न पाे राखेकाे, मेसिन बिगार्न राखेकाे हाे र ! ” उसले थप्याे ।
“कि कसाे !” ऊ च्याँठ्ठियाे ।
हाे, हजुर ! घरखेत जफत गर्ने, थुनामा बस्नु पर्ने जस्ता कुराले घने भयभीत भयाे । ” हजुर अब के गरुँ त । जानी जानी बिगारेकाे हाेइनँ, काम गर्दागर्दै बिग्रियाे त ” घनेले यतिमात्र के भनेकाे थियाे, ऊ निक्कै बम्कन थाल्याे । मालिक, मालिक, मालिक घनेले मालिकका खुट्टा समात्याे । माफी माग्याे । जेल बस्दा जहानपरिवारकाे बिचल्ली हुने भएकाेले त्यसाे नगरिदिन अनुनय गर्यो ।
घनेकाे अवस्था देखेर उसलाई दया लाग्याे र भन्याे ” घने, ल ठीक छ । तिमीले पाउनुपर्ने तलबबाट म उक्त मेसिन मरम्मत गरुँला ! भाेलिदेखि तिमी काममा पनि नअाउनू हुन्छ ।”
भयले वर्षाकाे अाकाशझैं कालाे भएकाे घनेकाे अनुहार एकाएक शारदीय अाकाशझैं देखियाे । बँधुवा गाई दाम्लाे चुँडेपछि बुर्कुसी मार्दै दगुरेझैं घने खुसी हुँदै घरतिर गयाे ।
*** *** *** ***
भाेलिपल्ट मजदुर दिवसकाे अवसर पारेर घनेकाे मालिकले ठूलो चाैरमा मजदुरकाे हकहितकाे लागि कारखाना मालिकले विभिन्न किसिमका याेजना ल्याएकाे , मजदुरकाे पक्षमा राम्रा राम्रा काम गरेकाे भाषण गरिरहेका थिए ।
घने कामबाट निकालिएको भए पनि भाषण सुन्न अाएकाे थियाे । मालिककाे भाषण उसले कति बुझ्याे, बुझेन तर अन्य मजदुरले झैं उसले पनि जाेड जाेडसँग ताली बजाइरहेकाे थियाे ।
( श्रोत : लघुकथा कुनो )