लक्ष्मण अर्याल
“तल साउने धारातिर जालास् नि नजा है बाबु !” – फुपूले भदालाई भनिन् ।
“किन र दि ?” – भदाले बालसुलभ जिज्ञासा राख्यो ।
फुपूले भनिन् – “त्यता त भूत, प्रेत, मरिमसान, लागूभागू हिंडिरहेको हुन्छ हावामा । दिदीका घर आ’छस् केही भयो भने मैले तेरा बालाई के भन्ने ?”
उद्योगको बालमन चसक्क चस्कियो । लामा लामा दारा, कोरोना कट ठाडा केश, गुज्जाजस्ता टलक्क टल्किने आँखा, बाक्ला झमक्क झप्किएका जुँगामुठे बडेमाको भूतका मनोकल्पनाले पनि उद्योगका जिउभरि काँडा उम्रिए । उद्योगले स्विकृतिमा मुन्टो हल्लायो ।
बेलुकी उद्योगलाई हन्हन्ती जरो आयो । दिदीले भनिन् – “तल साउनेतिर गयो कि क्याहो यो ?”
उद्योग दिदीका जिउमा रुखका बोक्राझैं लुपुक्क टाँसियो ।
दिदीले भनिन् – “नजा भनेको ठाउँमा जान्छन् त कोही । दिदीलाई यसले कत्ति माया गर्दैन । अब जान्छस् कि जान्नस् । नजाने भए भूत भगाइदिन्छु ।”
जान्नको मुन्टो हल्लियो उद्योगको । दिदीले एक पसर चामलमा बेसार मोलिन् र भदाका टाउकादेखि पैतालासम्म छुवाउँदै भन्न थालिन् – “भूत, प्रेत, पिचास, मरिमसान, लागूभागू यही अक्षता खाएर जाओ । हामीलाई शंका लाग्यो । यो अबोध बालकले के जानेको छ र यसलाई दुःख दिन्छौ । ल गइहाल । नत्र ढ्याङ्ग्रो ठटाउनुपर्ला । खुर्सानीको धूपधुवाँर गर्नुपर्ला । आआफ्नू थान्कामा बस । भनेको खुरुक्क मान । ल गइहाल, छिटो गइहाल ।”
आधा घण्टा नबित्दै भदाका जिउबाट भुते जरो भाग्यो ।
यो घटना हेरिरहेका पल्लाघरे कान्छा दाइले मलाई भने – “मैले केही जान्या छैन तर खरानी र कुचाले ठटाएर यस्ता उपचार धेरै गरेको छु मैले पनि । यसो गर्दा बिसेक हुन्छ भन्ने मैलाई विश्वास छैन तर मान्छेहरू निको भयो भन्छन् र दिनदिनै बिरामी बोकेर आउँछन् । मनको बाघ धपाउन कैलेकाहीं यस्तो उपचार पनि अचुक ओखती बन्छ ।
२०७७ जेठ १
श्रोत : लघुकथा कुनो