७२५ मास्क-डा. शिलु घिमिरे न्यौपाने
जब बारुदरुपी मेरा सेनाहरु शस्त्र उठाउनुको साटो
लाचार भई समाचार सुन्न थाले
दसबाट सय, सयबाट हजार
हजारबाट लाख अनि
लाखौं संख्याका शवका समाचार
पहिलो पटक असाध्यै खेद लाग्यो
रहर भएर पनि डाक्टर बन्न नसकेकोमा
मौका भएर पनि नर्सको पेसा नरोजेकोमा ।
मेरा शस्त्र त केवल कलमहरू थिए
तर कोरोनाको कहरमा किन हो कलम चल्नै सकेन
भय, पीडा, त्रास र अन्यौलले हृदय फुट्ला जस्तो भए पनि
खै किन हो–मसी बग्नै सकेन
खै किन हो–कलम चल्नै सकेन ।
त्यसले त मैले कलमबाट ‘म’लाई छुट्याएँ
अनि त्यो ‘म’ कल चलाउन थालें ।
अनि त के थियो ? घण्टाहरु दिनहरु बने र दिनहररू सप्ताह
अनि त्यही सप्ताहहरुमा मेरा सात सय पच्चीस कविताहररू तयार भए ।
मेरा हातले तयार पारेका काखभरीका कविताहरु ।
अलिकति आश, अलिकति विश्वास, धेरै प्रार्थना अनि
बलिया मायाका धागाहरुले लेखेका मेरा कविताहरू
तिमी लगाउनु आफ्नो अनुहारमा, आँखा मात्र देखिने गरी
अनि मुस्कुराउनु सन्तोषको मुस्कान
मेरा कलबाट निस्किएका ७२५ कविताहरू
तिमी र तिमी जस्ता सेनाहरुका रक्षाका निम्ति पठाएकी छु ।
आफ्नो उद्धार आफैँ गरेस् ।
०००