राहत बाँडी रहेको छ भन्ने थाहा पाएर चाँडो चाँडो त्यतैतिर दौडिन्छ ऊ ।
“दाई यो पटक त जसरी पनि राहत मिलाईदिनु पर्यो ।” दुई हात जोड्दै भन्छ ऊ ।
“ल्याईस् त नागरिकता अनि मिलाईदिनु मैले तँलाई राहत ?” पिच्च खैनी थुक्दै मेचमा बसेको व्यक्तिले भन्छ ।
“ कति खोजे कहाँ पर्यो पर्यो नागरिकता यहिबेला दाई । प्रतिलिपी बनाउन पनि गाँउ नै जानुपर्छ । जसरी हुन्छ यताउता गरेर मिलाईदिनु पर्यो । काम नभएर खाली बसेको आज एक महिना भैसक्यो ।” च्यातिएर लत्रिरहेको सर्टको बाहुलालाई माथि सार्दै फेरि अनुरोध गर्छ ऊ ।
“हेर ! भाई बिहानै आएर मेरो टाउको नदुखा । उसै त टेन्सन भएको बेला ।” हातमा खैनी माड्दै भन्छ ।
त्यत्तिकै मा हातमा मोबाईल खेलाउँदै उसैको अगाडि आएर मुसुक्क हाँसेर दुई हात जोड्छिन् महिला । उनलाई देख्ने बित्तिकै मेचमा बसेको व्यक्तिको अनुहारमा चमक आउँछ ।
”ओहो दाई ! एकाबिहानै के को लाईन हो यस्तो ?” मेचको नजिकै गएर सोध्छिन् ।
”अरु के हुनु मैयाँ । उहि राहत त होनि । ” महिलाको हात समाउँदै ।
“हामी पनि त गरिब नै त होनि । के हामीले चाँहि नपाउने त राहत ?” मस्किदै उनी ।
“यति चर्को घाममा बसेर किन लिन पर्यो तिमीले । यति कोमल गाला कालो भयो भने फेरि बेलुका कसरी मैले… ।” अब उक्त व्यक्तिको हात महिलाको कम्मरमा पुगी सकेको हुन्छ ।
“कस्तो मात्तेको होला । लु लु अस्तिको जस्तो मातेर आउने होईन नी फेरि । साधन चाँहि बोकेर आउनु नि । बिना साधन त अब… ।” हाँस्दै जान्छिन् उनी ।
ति दुईको संवाद सुनी सकेपछि , “यो त हामी जस्तोलाई अन्याय भएन र दाई ? कसैलाई चाँहि बिना केहि नै पाउने… ।” डराईडराई भन्छ ऊ ।
“साले, बढी बोल्छस् । त्यो मैयाँसँग जे छ तँसँग छ ?” गालामा जोडले हिर्काउँदै ।
सुरुवालबाट सुलुल्ल् बगेर बाहिर निस्केको प्रस्टै देखिन्छ उसको ।
समाप्त ।
अर्जुन थापा
धुम्बाराही, काठमाण्डौ