भगवतीकुमारी खसेजस्तो भई । उसको मुख सुक्यो । गाला सुके र शरीर नराम्रोसँग काम्यो । कल्पनै नगरेको घटनाले आङमा ग्रहण लागेजस्तो भयो । श्वासप्रश्वास यसरी ह्वातै बढ्ला भन्ने त उसले सपनामा पनि सोचेकी थिइन । “दुःख नमान् भगवती ! कर्मको फल नबेहोरी हुँदो रहेनछ । के गर्ने त फुटेको कर्म लिएइर जन्मिएपछि ! राम्रो कर्म भएको भए त काखभरिको लोग्नेले घरको न घाटको बनाउँदैनथ्यो नि ।”
भगवतीको चर्किएको छातीमा नूनचूक दल्ने काम मास्तिर घरकी साहिँली फुपू पर्ने वसुन्धराले गरिन् । ‘मेरो लोग्नेजस्तो खाँटी हीरा कोही छैन भनेर कसरी गफ लाउँथिस् ! अब त खाइस् नि ! लोग्नेमान्छेको जात, नारीको पाखुरीमा र रगत हुन्जेल, गाला र छाती नचाउरिनजेलसम्म मात्र आफ्ना हुन्छन् । गाला सुकेपछि त उनीहरू अर्केतिर धाउन थाल्छन् ।” भगवतीकी फुपूले फेरि छेड हानिन् ।
भगवतीलाई यतिखेर भक्कानिएर रुन मन लाग्यो । सबै लुगा फुकालेर नाङ्गै सडकैसडक दौडन मन लाग्यो । यतिखेर उसलाई आकाशले थिचेको जस्तो भएको छ । ‘फुपू छेड नहान । मरेर जाने जीवनमा किन मेरो छातीमा नूनचुक छर्किन्छयौ ? जे भए पनि पन्ध्र वर्ष बिहे गरेको लोग्ने पो त । तिमी आफै सम्झन, मसँग बिहे गर्न पाइनँ भनेर सात दिन भोकै बसेर हडताल गरेको हैन त शेरबहादुरले ? कसरी तिम्रै अगाडि जीवनभर काखकी रानी बनाएर राख्छु भनेर कबुल गरेको थियो ?” बलिन्द्र धारा आँसु बहाउँदै भगवतीकुमारी भक्कानिई । उसलाई पृथिवी फाटेर भासिन्छु कि जस्तो लाग्न थाल्यो । यो संसारदेखि नै विरक्त लाग्यो र श्वासप्रश्वास बढेर मर्छु कि जस्तो लाग्यो । ‘अब के गर्छेस् त ?’ फुपूले मलिनो स्वरमा आफ्नो रूखो व्यवहार गर्दै भनिन् ।
“मान्छेस भने मावलीगाउँ जालिस् ?’ भगवतीका बाबुले मङ्गलबारको एक साँझ भगवतीलाई थर्काउँदै सातो लिएका थिए । ‘त्यो शेरेसँग गइस् भने माइती तेरा लागि मरे भन्ने सम्झनु । कस्ताकस्ता कुलघरानममा केटा माग्न आइरहेका छन् । भगवती ! मैले भनेको केटोसाग बिहे गरिस् भने म तल्लोबारीको जम्मै जेथा, तेइस तोला सुन, भनेको जस्तो पछयौरी, भनेको जस्तो धोती, चुरा हालिदिन्छु । त्योसँग गइस् भने मेरो घरमा कहिल्यै पाइला नटेक्नु ।’ बाबुले भगवतीको हात समात्तै गरेका यी कुरा भगवतीका लागि चलचित्र घुमेजस्तै लागिरहेछ यतिखेर ।
बाबुआमा र भाइबहिनीहरूको वास्ता नै नगरी सोमबार बेलुकी शिव मन्दिर दर्शन गर्न जान्छु भनेर शेरबहादुरसँग भगवती भागेकी थिई । कसरी उनीहरू रातारात गाउँ काटेर काठमाडौँ झरेका थिए । भगवती सम्झन पनि सक्तीन । कैयाँ दिन सिस्नो र मकैको एक छाक भात खाएर दुवैले जून र ताराहरू गर्दै दुई मुटु एकआपसमा छामेका थिए । कसरी चिसो र कठ्याङ्ग्रिने रातमा ओढ्ने नहुँदा पनि आफ्नो दौराले भगवतीलाई ओढाएर पशुपतिको पाटीमा शेरबहादुरचाहिँ जोगीहरूको छेउमा गई आगो बालेर रात कटाउने गर्थ्यो । कसरी दिनभरि ढुङ्गा र इाटा बोक्नेदेखि भाँडा माझ्ने र होटलमा खाना बनाउने काममा समेत दुवैले एकअर्कालाई सहयोग गर्थे । रात परेपछि मुटुमा मुटु जोडेर दिनभरिको थकान र दुःख बिर्सने कोसिस गर्दै एकअर्काको आँसु पुछ्ने गर्थे । कैयौँ वर्षसम्म पनि उनीहरूले डेरा लिन सकेका थिएनन् ।
‘बुझ्यौ भगवती ! मैले फेरि निम्न माध्यमिक विद्यालयमा पढाउने काम पाएँ नि ! अब यो पाटीको बास छोडेर डेरा लिएर बस्नुपर्छ । जेनतेन दुःख गरेर एक छाक खाएर भए पनि म बि.ए.पास गर्न चाहन्छु । बुझ्यौ ? मैले वि.ए. पास गर्न सकेँ भने त म तिमीलाई राम्रो कमाइ भएपछि रानी बनाएर पाल्छु । बाहिर कतै पनि काम गर्न दिन्नँ ।’ उसले अर्थात् शेरबहादुरले अरू दिनभन्दा त्यो दिन अर्थात् २०५४ साल माघमा यस्तो कुरा गरेर कसम खाएको थियो ।
त्यसपछि भगवतीलाई थाहा छ उसले कति कष्ट खाएर काम गर्दै जोगाएका पैसाले शेरबहादुरको खर्च भरेकी थिई । वर्षमा दुई चोटिभन्दा बढी कहिल्यै घरमा मासु पाक्तैन्थ्यो । भगवतीको खाऊँखाऊँ र लाऊँलाऊँ भन्ने सम्पूर्ण उमेर नै अर्काको भाँडा माझ्दै बितेको थियो । गरिबीका कारण सन्तान पाउँदा काम गर्न नसकिएला र लोग्नेलाई खर्च भ्याउन नसकिएला भनेर कसैले सूइँको पनि नपाई भगवतीले तीन महिने सुई लगाउने गरेकी थिई । ऊ अँझ त्यो दिन कति खुसी भएकी थिई जब लोग्ने लोकसेवा पास गरेर मालपोतको हाकिम भएको थियो । उसका आँखाबाट कसरी बलिन्द्र धारा आँसु झरेका थिए । लोग्नेलाई त्यो दिन पशुपतिमन्दिरको पेटीमा घण्टौँ अँगालो मारेर रोएको भगवतीलाई अहिले सपना हो कि जस्तो लागेको छ ।
यो गाउँको शेरबहादुर लोकसेवा पास गरेर हाकिम भए पछि अब भट्टी धाउन थालेको थियो । तरूनीका तिघ्रा समात्न थालेको थियो । बेलुका पाँच बजेर सत्ताइस मिनेटमा घर फर्किएर भगवतीलाई अँगालोमा कस्ने शेरबहादुर रातको एकदुई नबजी नफर्कने भएको थियो । एकै दिन पनि भगवतीसँग गालामा गाला नजोडी बस्न नसक्ने शेरबहादुर महिनौँ बितिसक्ता पनि भगवतीको ओछयान चिसो हुने गरेको पीडा उसलाई मात्र थाहा छ । कति बेला घर आउने, अब त भगवतीलाई शेरबहादुरले खबर नै गर्न छोडिसकेको थियो ।
त्यो डााडाकाँडा हात समातेर बाटोभरि जाई र गुराँसका फूलहरू टिप्तै हिँड्ने शेरबहादुर दिनभरि ईँटा र ढुङ्गा बोकेर कमाएको पैसाले जुलेबी र स्वारी लिएर आफूले खाँदैनखाई खाइसकेको छु भन्दै भगवतीलाई खुवाउने शेरबहादुर, दसैँमा पेट दुख्यो भनेर पकाएको सबै मासु भगवतीलाई खुवाउने शेरबहादुर अहिले तरुनीकोमा धाउदै भगवतीलाई छोडेर अर्कैको भएको छ । पन्ध पर्षअगाडि बाबुआमाको घर छाडेर आउँदाखेरिकी भवगति र पन्ध्र वर्षपछि लोग्नेको रित्तो बनाएर छोडेकी भगवतीमा कुनै अन्तर छैन । न टेक्ने अखटो र समाउने हाँगो भएर भगवतीमाथि शेरबहादुरले आज पन्ध्र वर्षपछि सौता हालेको छ । पन्ध्र वर्षअगाडि गाउँ छोडेर आउँदा एक कौडी नभएकी भगवतीको पन्ध्र वर्षपछि पनि एक कौडी छैन । रातदिन शेरबहादुरले चुम्बन गर्ने गाला चाउरिएका छन् । छाती सुकेका छन् तर भगवतीका आँसु सकिएका छैनन् ।
ऊ बिस्तारै लोग्नेको डेरातिर लागि, लोग्नेको बेइमानीमा आफ्नो न्यायका लागि लोग्नेसँग बोल्नु उसले उचित ठानी । लोग्ने जसलाई आजको अवस्थासम्म पुग्न उसले आफ्नो जवानी दिएकी थिई, उसले आफ्ना आँसु र वेदना लुकाएर खुसी र विश्वास दिएकी थिई । ऊ हिँडिरहेकी छे । उसलाई लोग्नेको डेरामा छिटोभन्दा छिटो पस्नु छ । उसले कसरी रातभरि जुनेली रातसँग ताराहरूलाई साउती मार्दै लोग्नेको कानभरि बैसालु भाका हालेर गीत गाउँथी । उसले योभन्दा बढी सम्झन सकिन । ऊ सरासर लोग्नेको डेराभित्र यताउता कैत नहेरी पसरी । भित्र सौता र लोग्ने देखि । उसलाई सहिनसक्नुभएको थियो । पन्ध्र वर्ष जीवन बिताएको लोग्ने आज अर्कैको भएको थियो । उसले सहन सकेकी थिइन् । उसका हात कामेका थिए, उसका खुट्टा कामेका थिए । बिस्तारै लोग्नेछेउ पुगी अनि पटुकामा लुकाएर राखेको खुकुरी निकाली, लोग्ने र सौताको हातमा घाउ बनाई दिई । लोग्ने र सौतालाई मार्न उसको मनले दिएन । हातमा घाउ भएकोले रगतको भेल बगेको थियो । कोठाभरि, ओछयानभरि रगतको भेल बगेको थियो ।
त्यसपछि भगवती बिस्तारै बाथरूममा गई, मुख धोई र घोप्टिएर रोइरही अनवरत रोइरही ।