हिउँदभरी बजेटको सिरानीमा फ्वाँफ्वाँ सुतियो
घिउ भात मासको दाल मारेर घाम मात्रै तापियो
बर्खाको `ख´ नेर आइपुग्दा
अलिकति अलकत्रामा एक पाथी गिटी मिसायो
त्यो माथी, डोजरको भाँडो आफैले चलायो
अहिले न बाटो छ न बजेट !
भा´को पाखो बारी र एकदुइटा घर पनि बगायो
यो कस्तो जात्रा हो?
शासन फालेर
तन्त्र ल्याउनेहरु आजकाल मन्त्र फुक्दै बस्या छ
कहिले कुन टार कहिले कुन दुलो?
नचाहिने मिटिङ मात्र राख्या छ
अनि, त्यही मिटिङमा गनिने टाउकेलाई
कहिले दायाँले उचाल्या छ
कहिले बायाँले पछार्या छ
हजारौं मार्नेलाई शान्ति पुरस्कार चाहियो रे
नक्कली क्रान्तिलाई नयाँ नेपाल चाहियो रे
उठ्या करले गुटको साथीलाई गाडी किन्ने रे
सुखी नेपाल नारामा मात्र सीमित भो रे
त्यसैले जताततै भीउ टावर बन्ने रे
माथी गएर आफू पनि रमाउने रे
अरु रमाइ रहेका नी हेर्ने रे
यो कस्तो जात्रा हो?
यहाँ,
slc फेलहरु मजाले देश हाक्दै छन्
मरिमरि पास भाकाहरु खाडीमा धस्दै छन्
अझ धेरै पढ्नेहरु त भुराभुरी पढाउँदै छन्
१० जनाको निवेदनमा १०० जनाको आवेदन छ
सबै नेपालमा नभाको पैसो १० जनाको बैंकमा छ
PR को पछि कलिलो छोरी बेच्ने पल्ला घरे साँहिला
अब मानवअधिकारमा जागिरे हुने रे
होली वाइनमा डुबेर डलर कमाउने रे
उसले सबै नेपालीको मर्म बुज्दै हिड्ने रे
कालोसुची सेतोसुची केही मतलब नगर्ने रे
जताततै आफ्नै सालो मात्र नियुक्त गर्ने रे
यो कस्तो जात्रा हो?
यहाँ,
रोग, भोक, उदेक सबै बढिराको बेला
जेठा छोरालाई १८ टेक्ने बित्तिकै बाइक चाहियो रे
टिकटकमा कान्छी छोरी नयाँ फरियामा नाच्ने रे
तरकारी किनेर खान नसक्ने बेला
मेरी उनीलाई चैं सारी र गहना चढाउन पर्ने रे
माइतीको खोलाछेउमा नयाँनयाँ फोटो खिच्ने रे
कठै!
गाईजात्रे जिन्दगी !
बिचित्रको घर बनेछ !
जात्रैजात्राको देश बनेछ !
जात्रैजात्राको देश बनेछ…।।।
बाँकी जात्रा तस्वीरमा!
मनिष प्रजा
साउन २०