देशको राजधानी मात्र होइन काठमाण्डौं आज
प्रदुषणको पनि राजधानी बन्न पुगेको छ ।
स्वच्छताले मनै लोभ्याउँन सक्थ्यो तर आज
विश्वकै प्रदुषित सहरमा सूचिकृत भैसकेको छ ।।
हरिया खुल्ला चौरहरु कहाँ देखिन्छन् आज
अतिक्रमणले चेपिई कुरुप बन्न थालेका छन् ।
नागबेली झै फैलिएका स्वच्छ खोलानालाहरु आज
ढलमती हुँदै दुर्गन्धित बन्न पुगेका छन् ।।
बालिनालीले रमणिय देखिने यहाँका फाँटहरु आज
कंक्रिटको जंगल बनी हामीलाई गिज्याउँन थालेका छन् ।
विकासको नाममा यहाँको प्रकृतिमाथि धावा बोल्दा
काठमाण्डौ आज विकृतमय बन्न पुगेको छ ।।
उत्तरतिर चम्किने लस्करै हिमश्रृङ्खलाहरु आज
वायु प्रदुषणले ग्रस्त बनी टुलुटुलु हेरिरहेका छन् ।
रहरलाग्दो, कलकलाउँदो, भर्भराउँदो काठमाण्डौ आज
कोलाहलको सहर बनी धुलोमाण्डौ बन्न पुगेको छ ।।
Please follow and like us: