प्रत्येक नारी अस्मिताको कथा:
`घर चाडैं आएस् है, छोरी! धेरै दायाँबायाँ नगरेस् !´
आमाको यी वाक्यले साथीको घर हिँडेकी म घरको मुलद्वारको बिच बाटोमा टक्क अडिए। मानौ, ती बिन्तीले मलाई खबरदारी गर्दै छ कि तेरो प्रत्येक बाटोमा खतराको घण्टी बज्दै छ,प्रत्येक दोबाटोमा शत्रुको राग फैलिदै छ र प्रत्येक एकान्तमा दानवरुपि कालले मलाई पर्खदै छ।आमाको यी मर्मस्पर्शी लवजले म भित्र भएको नारी हृदय छताछुल्ल हुन्छ। मेरो स्वरुप एकैछिनमा शिशिरमा झरेको पात झैँ पहेलो र फुस्रो हुन्छ तर अन्तरमनमा भने भावना,चेष्टा र करुणा बीचको अन्तरद्वन्दले बर्खाको झैँ बाढिसँगै पहिरो बर्साइदिन्छ। मैले सानैदेखि चेतावनीका पर्खाल मात्र देखे, बनावटी स्वतन्त्रता मात्र देखे,कोरिएको मेरो परिधिभित्र च्यातिएको अधिकार मात्र देखे।
समयको अन्तरालसँगै मेरो भाइको जन्म भयो र क्रमशः मलाई मेरो घरको नासोको रुपमा हेरियो वा पराई बनाउन बाध्य बनाइयो। मैले पहिलो पटक रजस्वलाको तितो अनुभव गर्दा पर सरेको भन्दै टाढा राखियो। सायद यसैलाई नै आधुनिक युगको लैङ्गिक विभेद भनिन्छ। मेरा हरेक खुसीमा लेखाजोखा हुन्छ,हरेक सुखमा हिसाबकिताब हुन्छ। म खुलेर हाँस्न सक्दिन, कसैको सामु धित मारेर रुन सक्दिन। सक्छु त केवल साहसको कमजोर पर्खाललाई जोड्न,अरुको खुसीको निम्ति आफुलाई जिउँदै जलाउन। त्यसैले मलाई धर्तीको संज्ञा दिइयो।जुन धर्तीमा देवीदेवताहरुले जन्म लिए,आज त्यहीँ धर्तीका कुनाकुनामा यौनपिपाशुका लठैतहरु मडारिरहेका छन्। मैले पाएको यो जुनिको कुनै अस्तित्व छैन किनकी मेरो अस्मिता कुनै पनि बखत दोबाटोमा पछारिन सक्छ,एकोहोरो मूल बाटोमा लुटिन सक्छ,प्रेमको मेरो कमलो कोपिलालाई तेजावको तातो रापले खरानी बनाउन सक्छ, अर्धनग्न अचेत अवस्थामा बगर किनारामा फालिन सक्छ।
अन्तरमनमा यी द्वन्द चल्दाचल्दै मेरो कन्चेटलाई छेवैबाट एक सर्को चिसो हावाले स्पर्श गर्दै पार हुन्छ। र, मनको अर्को कुनाबाट याचनाको दमन आवाज सुनिन्छ- यो कलियुग हो,नानी। यहाँ भ्रुणमै तेरो खोजिनिधि गरेर भाग्य कोरिन्छ। यहाँ कुनै पनि वनमा कृष्णका मधुर मुरलीको आवाज सुनिँदैन, तपस्वी बुद्धका तपोवन भेट्टिन्न।भेटिन्छन् त केवल बैरागका गैरीहरु,गुहारका चित्कारहरु र अन्यायका फाँटहरु। यो कलिमा तेरो अस्मिता च्यातिनु स्वभाविक हो,नानी। छोरी मान्छे रास्ट्रपति भएको यो देशमा छोरी कै अस्तित्व जोगाउन नसक्नु नै यो देशको ठूलो दुर्भाग्य हो। यहीँ अन्तरनिहित कुराले मेरो मन भारी हुँदै गयो र गह्रौं मेरा हातले फलामको गजबार उचाल्दै सुस्त पाइला सारे:मानौ यो साँघुरो परिधिका समाज भित्रका नारी चेतनालाई उजागर गर्न,:म सारा चेलीको न्यायका निम्ति संसारसँग युद्ध गर्न जाँदै छु…।।।
-मनिष प्रजा
भदौ ४