सोच्छु म
बासु होपो बन्न सकुँ
अनि फपिदुपि बनेर मुसगस झारि दिउँ
मेसेल्मि बनेर
मासी लागाएर रक्तमुछेल बनाइ दिउँ
निम्लो बनेर
आछोगि हाउहाउ पा चोति भन्ने बनाएर
दुःधको दुःध पानीको पानी सत्य बक्न लगाउँ
सार्मी देयि बनेर
हलचल गर्न नसक्ने गरि
ठाउँको ठाउँ जन्मकैद हुनेगरि छोपौं ।
तर
हिउलाबाउला छरिएर
मेरो गिदिको गुबोमै
धमिरा लागेर धुलो बन्दै गर्दा
म को हुँ भनेर चिनाउन नसक्ने भए छु ।
तै पनि
आझै आसाका त्यान्द्रा जीवितै छन् महामहिमहरु हो
मेरो अशक्ततामा
तमासे भएर रमिता नहेरे हुन्छ ।
मनिप्लान्ट दुबो र गुर्जोलाइ
झाँगिएर आफु उभिएको जामिन ढाक्न
जराको आवश्यकता पर्दैन
मात्रै एक पटक माटो र पानीलाइ छुन पाउनुपर्छ
म त्यही दिनको प्रतिक्षामा छु।
Please follow and like us: