हेर्यो भने जिन्दगी त
लेख्यो भने कथा हुन्छ।
कथा बन्छ जीवन सबको,
हर कथामा जीवन हुन्छ ।
हरिश ‘कल्पित’ को कथा सङ्ग्रह “ग्याब्रियले” घरको दराजमा सजिएर बसेको वा अझ भनौं सो पुस्तकले मलाई सिशाको दराजबाट गिज्याउन थालेको धेरै भइसकेको थियो । कुनै पुस्तक पढ्न बसेपछि पूरै नपढी ‘किस्ता’मा पढ्न थाल्यो भने त्यसको स्वाद आउँदैन् मलाई। अझ्, विगतको अनुभव सुनाउने हो भने, २-४ पन्ना पढेर छाडेपछि त्यो पुस्तक ‘फेरि’ पढ्न जाँगरै आउँदैन् र यसै कारण ‘नामी’ भनेर चर्चा कमाएका केही किताबहरू २-४ पन्ना पढेर छाडेपछि अल्छी लागेर पूरा नपढेका कारण त्यत्तिकै रहेका धेरै उदाहरणहरू छन् । यसै विषयमा आफैँले पनि एउटा कथै समेत लेखीसकेँ ।
यसैबीच हिँजो फुर्सदको उपयोग गर्दै एकै आसनमा बसेर कथा सङ्ग्रह अध्योपान्त पढीयो। …साँच्चै, किताब पढ्ने बेलामा आफ्नो फेरि गज्जबको खराब बानी छ । किताबको शीर्षक देखि प्राक्कथन, द्रष्टव्य, उपसंहार वा समष्टीमा गाताको आवरण भित्र रहेका सबैकुरा पढ्नै पर्छ मलाई। कमसेकम, लेखक स्वयं, प्रकाशक वा अरू कोही भूमिका लेखकको पुस्तकप्रतिको विचार पढेपछि मात्र विषय प्रवेश गर्छु म।
ग्याब्रियलेमा १३ वटा कथा रहेकाछन् । १३ कथा, मतलब १३ जिन्दगी, १३ संसार। लेखकले ‘मेरो भनाइ’मा लेखेकाछन् कि शीर्षक कथा ‘ग्याब्रियले” लगभग सत्यकथा हो। तर सबै कथाको अध्यययन गर्दा थाहा हुन्छ, लेखकले नभने पनि बाँकी सबै कथा त्यो सत्यकथा भन्दापनि जीवन्त छन्। पहिलो कथा ‘मोहभङ्ग’ होस् वा ‘पुष्पलता’, ‘बिहे’ होस् वा ‘भ्रमजाल’ सङ्ग्र्रह भित्रका कुनैपनि कथा पढ्दा यस्तो लाग्दैन कि यो केबल लेख्नका लागि मात्रै लेखिएका कथाहरू हुन्। पढ्दैजाँदा पाठक अनायसै कथाका पात्रहरूसँग भावनात्मक रूपमा जोडिन पुग्ने जादूमय शैली छ। हो,… हरेक कथाको कुनै मोडमा पुगेपछि ‘यस्तो होस्’ वा ‘यस्तो नभइदिए हुन्थ्यो” भन्ने प्रवल भावना समेत पाठकको मनमा आइरहन्छ ।
माथी नै लेखिसकेँ, हरेक जिन्दगी नलेखिएका कथा हुन् भने हरेक कथा कागजमा ऊतारिएको जिन्दगी। त्यसैले त सङ्ग्रह भित्रका जीवन्त कथाहरू पढीरहँदा कथा पढे भन्दापनि समाजलाई नियालेको भान हुन्छ। ‘मोहभङ्ग’ शीर्षकको कथामा कतै आफ्नै छिमेकका कुनै परिवारको झल्को आउँछ त ‘मेरी प्यारी छोरी’ हेर्दा कुनै साथीको घरको यथार्थ, ‘भ्रमजाल’ले आफ्नै कुनै आफ्नतको कथा बोकेको झै लाग्छ भने ‘बिहे’ ले सिङ्गै समाजको चरित्र। कथाहरु सबै सशक्त छन् र समष्टिमा कथा कथा मात्रै हैन् पूरै समाजको चित्रण वा ऐना जस्तो छ।
कथाहरू लामा छैनन् र प्राय: पढ्न थालेपछि नसक्काई छोड्न नसक्ने बनाउने तागत राख्छन् । पढुन्जेल कथाका तानाबाना र कथा भित्रका चरित्रहरूको तारतम्यले पाठकलाई मज्जाले बाँधेर राख्छन्। माथि नै भनेजस्तै सबै कथाहरू सत्यकथा होइन होला, तर सबै नै ‘अघटित यथार्थ’ हुन् भनेर भन्दा अत्योक्ति नहोला। ‘त्यस्तै’ नै भएन होला तर ‘त्यस्तै-त्यस्तै’ धेरै भएकाछन्।
कथाका कुनैकुनै एकै वाक्य वा हरफ गज्जब वजनदार छन्। मोहभङ्गमा एउटा पात्र भन्छीन्: “आइमाइ भनकै आगो हो, जसले दन्केर घरलाई न्यानो पार्न पनि सक्छे, घरलाई खरानी पार्न पनि…”। ‘पुष्पलता’को एउटा पात्र साथीलाई ढाडस दिँदै भन्छ “ जाबो जाँच बिग्रेर यत्रो दु:ख!, यहाँ जिन्दगी बिग्रेर त दु:खी भएको छैन्”। अर्को एउटा कथाको पात्र भर्खरै गएको भुइँचालोको जिन्दगीको परिवेशसँग तुलना गर्दै सोच्छ “ खासै ठुलो रहेनछ…यो भन्दा ठूलो भुइँचालो त थोमसको दामपत्य जीवनमा आएको छ” ।
ज्ञान प्रदर्शन गर्ने जोडबलमा कतै पनि क्लिष्ट शब्द, अनावश्यक बिम्ब र भारीभरकम शब्दको प्रयोग भएको छैन्। सरल, सरस र सामान्य शब्दले कथाहरूमा कुनै जटिलता थपिएको छैन्।
हो, कमजोरी हुँदै नभएका होइनन्। कथामा कतै कतै विदेशी भाषाको प्रयोग गर्दा त्यसले त्यस घट्नालाई वास्तविकताको रंग दिन्छ। तर कुनै कथामा दुई पात्रबीच विदेशी भाषाका पट्यारलाग्दा लामालामा सम्बाद नै आउँछन्। कुनै कुनै कथाको शीर्षकबाटै कथाको अन्त्य आँकलन गर्न सकिन्छ। ‘बधाई छ देवयानी’ र ‘मेरी प्यारी छोरी’ शीर्षकको कथाको शीर्षकले नै कथाको अन्त्य खुलासा गरिदिन्छ। २०४९ सालदेखि २०६८ सालको अन्तरालमा लेखिएका केही कथाले तात्कालिन समाजको चित्रण गर्दागर्दै पनि हालको परिवेशमा भने कता कता तारतम्य नमिलेजस्तो पनि देखिन्छ।
तर भनिन्छ नि, चन्द्रमामा भएको दाग, उसकै कान्तिले ओझेल पारिदिन्छ। कथाका सशक्त पक्ष र मिठासका अगाडि ती सबै गौण ठहरिन्छन्। समष्टिमा ‘ग्याब्रियले’ पठनिय अनि सङ्ग्रह र तारिफयोग्य छ।