छोप्दाछोप्दै
ती धेरै अनुहार र आकारहरू
ओझेलमा परेपछि
थोरै,
तर एकै मुकुण्डोधारीले मात्र घामको न्यानो तापिरहे
धेरै बर्ष
घाम नै उदाउन बिर्सियो ती बस्तीहरूमा
धेरै बर्ष
आकाश नै उघ्रिन तर्सियो ती भीर र थुम्काहरूमा ।
सायद
घाम हेर्दाहेर्दै
घामको हल्का न्यानोसँगै
या,जून हेर्दाहेर्दै
जूनको शीतसँगै पो अस्ताए कि ?
भोलि आज भयो
आज हिजो भइसक्यो
हिजो उखेलिएका रङ्गीचङ्गी चल्लाका प्वाँखहरू
च्यापिएर हुर्किएको चट्टाने बन तरुलझैँ
बर्सेनि ऊ आफै उम्रिन थाल्यो
अन्ततः
खोरभित्रको असभ्य त्यो गर्जिलो आवाज
बोल्न छोडेन
लङ्गडो थियो
हिड्न छोडेन
थिचिएको त्यो आकार
जताततै उम्रिन थाल्यो
थिचिएको त्यो उसको जरा
धेरै झाँगिएर आउन थाल्यो
उही गिट्ठाजस्तो स्वाद र स्वरुप बोकेर
आफ्नो नाम र इतिहास ब्युँताइरह्यो ।
फेरि त्यो पुरानो कुरुप आकारलाई
ढुंगाले छोप्यौ
माटोले पुर्यौ
शब्दले तगारो लगायौ
त्योभन्दा माथि उभिएर
उसको योग्यतालाई थिच्यौ
अँह
तर पनि ती खोरभित्रको तमाम आवाज
घस्रिँदै भएपनि बोल्न छोडेन
आफ्नो पाइतलाको माटोको नाम
सधैँ खोजिरह्यो ।
थिचिँदा-थिचिँदा हदै भएपछि
ती अनुहारहरू
क्रमश: जुर्मुराउन थाल्यो
अर्जापिन थाल्यो
बर्षौँदेखि खेल्ने आँगनमा
क्रमश: धारिलो भयो
र चम्किन थाल्यो ।
बिर्सिएको
उसको पुरानो सभ्यताको आकाश
गाँठो पारिएको
उसको दोहोरो छातीको तुना
थिचिएको
उसको भूमे पूजाको थान
मिचिएको
उसको बेँसी खेत
सवै ती विकराल समय सम्झँदै
अक्षरमा खेल्न थाल्यो ऊ
विचारमा दर्शन भेट्यो
माटोमा सगुनको वासना
निरन्तर
खोरभित्रको असभ्य आवाज
यसरी चिच्याउन छोडेन ।
आज
तिमीले लखेटेका ती कुरुप अनुहार
र असभ्य आवाज
आउँदै छ, गर्जेर आउँदै छ
आउँदै छ, उर्लेर आउँदै छ ।
उसकै वर्षौँदेखि खेल्ने आँगन
उसकै पुरानो सभ्यताको आकाश
अनि, आफ्नो पाइतलाको माटोको डाम
सवै लिएर आउँदै छ
उर्लेर पो आउँदै छ
आउँदै छ, गर्जेर आउँदै छ
आउँदै छ ।
You can listen on below links