“प्रत्येक शब्दमा भाषाको इतिहास हुन्छ । त्यसलाई बेलाबेला ताछ्तै खुर्किंदै नवीकरण गर्न थाल्यौं भने त्यसको उत्पत्ति हराउँछ र नचिनिने हुन्छ । नेपालीमा ह्रस्व छैन, दीर्घ छैन, श, ष अथवा ञ, ण छैन भनी शब्द स्वरूप भत्काउनु अत्यन्तै ठूलो अवैज्ञानिक अभियान हो ।”
“अर्काका शब्दलाई आफ्नामा ल्याएर कुच्याउनु बिगार्नु भनेको एउटा सामन्तवादी सोच हो । त्यसो गर्न पाइँदैन । आफ्नो भाषामा त्यसको ध्वनि भएसम्म मिलाएर अरूका शब्द बोल्नु, लेख्नु पर्दछ किनभने आज उपनिवेशवादी धारणाको वा त्यस्तो अभ्यासको अन्त्य भएको छ । आफ्नो भाषामा समान ध्वनि नभए अर्कै कुरा ।”
“कुनै पनि भाषाले लेख्य वर्ण र औच्चार्य ध्वनिबीच ‘वैज्ञानिक’ सम्बन्ध खोज्दैन, दुवैका आआफ्ना परम्परा हुन्छन् । उच्चारण अस्थिर छ— व्यक्तिपिच्छे फरक, स्थानपिच्छे र समयपिच्छे फरक भइरहन्छ । तर लेख्य रूप एक स्थिर परम्परा हो, लामो समयसम्म त्यो नबदलिई रहिरहन्छ । त्यसैले विश्वका भाषाले लेख्यलाई मानक बनाएका हुन् ।”
………
यतिखेर नेपाली भाषामाथि गरिएको आक्रमण र त्यसले पुर्याएको क्षतिलाई संझेर हामी साराको मन अमिलिएको छ । नेपाली विषयका अझ संस्कृत मूलका गुरुहरूले नेपाली भाषाका शब्दकोष, व्याकरण र पाठ्यपुस्तकको वृत्तमा प्राज्ञिकता होइन राज्यसत्ताको आडमा जुन हुँडलो ल्याए त्यसले गरेको भाषिक विध्वंस कहालीलाग्दो छ । त्यसका बहुआयामिक दुष्प्रभावको संझना मात्रले पनि मन भरंग हुन्छ । यसरी निरीह बनाइँदै गएको नेपाली भाषाको पक्षमा आज देशको न्यायालय खडा हुनु ठूलो खुशीको कुरा हो ।
त्यसो त मेरो यस वृत्तसित कुनै सम्बन्ध छैन किनभने नेपाली विषयका गुरुवर्गको दृष्टिमा म एक ‘मार्जिनल’ हुँ, किनारिएको नागरिक । त्यो केन्द्रमा मेरो भूमिका छैन । उहाँहरूको वृत्तमा अंग्रेजी, हिन्दी, उर्दू, फारसी, तिब्वती जस्ता कुनै विदेशी भाषामा खेल्नेको उपस्थिति वर्जित देखिएको छ । त्यसकारणले यी भाषिक चर्चामा मैले ध्यान दिनु हुन्छ कि हुन्न म भन्न सक्तिनँ । विगतका कैयौं वर्षदेखि भाषाविज्ञान विषय नै पठनपाठन गर्दै आएको, अनेक अध्ययन सामग्री योजक–स्रष्टा भएर यही विषयमा विद्यावारिधि समेत गरेकाले म आपूmलाई मनमनै भाषावैज्ञानिक हुँ भन्ने आडम्बर लिएर हिडिरहेको थिएँ । तर भाषा विषयको निर्णयमा हामी जस्तालाई गुरुवर्गले उपेक्षा गर्दै आएकाले यतिखेर आफ्नै योग्यतामा मलाई सन्देह हुनु स्वाभाविक हो । त्यसो त म जस्ता अरू पनि छन्, त्यहाँ अंग्रेजी, हिन्दी, उदूर्, फारसी, जस्ता कुनै भाषाले सम्मान पाएका छैनन्; तिनले नेपाली भाषाशास्त्री समक्ष उपेक्षित भएर बाँच्नु परेको छ ।
भाषाको प्रयोगका सम्बन्धमा चर्चा उठ्ता उहाँहरूले भनेको सुनियो— व्याकरण र कोशका विषयमा हामीले निर्णय गर्ने हो र प्रयोक्ताको इ्रच्छा अनुसार हामी बदलिन सक्तैनौं । त्यस्तो सुनेर म डराएँ किनभने म निर्णायक स्थानमा छैन, केवल भाषा प्रयोक्ता हुँ । त्यसैले ह्रस्व, दीर्घ र तत्सम, तद्भवमा झुण्डिने समय सिर्जनात्मक लेखनमै लगाउन चाहन्छु । तर प्रश्न उठ्छ, के प्रयोक्ताका दिन गएकै हुन् ? शासित वर्गको कुनै अधिकार नरहेको शासनसत्ता जस्तो स्थिति छ नेपाली भाषाको ।
उहाँहरूको तर्क आरम्भ हुन्छ— नेपाली भाषाको तद्भवीकरणको महान् अभियानमा हामी समर्पित छौं । २०३४ सालमा यस्तो प्रयोजन पुस्तिका निस्कियो, त्यसका आधारमा व्याकरण बन्यो, यति सालमा कोश लेखियो, यति यति सालमा हाम्रा गोष्ठी भए, फेरि यति सालमा यस्तो भयो, हामी त्रिभुवन विश्वविद्यालयको त्यही परम्परा अनुकूल गर्दछौं । अनि शब्दहरू टिपेर उदाहरण दिन थाल्नुहुन्छ : यसरी पीठो, मीठो संस्कृत मूलबाट बदलिंदै आएका तद्भव हुन् । तद्भव अर्थात् त्यसबाट बनेका हुन्, बनेर नेपालीमा पसेका हुन् । अब नेपालीमा तिनीहरूको पुरानो उच्चारण खुस्काउनु पर्छ— पीठो, मीठो भन्न पाइँदैन, पिठो, मिठो गर्नुपर्छ आदि इत्यादि ।
मनमा अनेक प्रश्न थिए— तपाईंहरू नेपाली उच्चारणको निर्णायक, मानक तोक्ने को हुनुहुन्छ ? कुनै यन्त्रले, प्रयोगशालाले भनेको कुरो हो ? के देशभरिका प्रयोक्ताको सर्भेबाट आएको निचोड हो ? यसरी शब्दको उच्चारण र लेख्य परम्पराको बीचमा संसारका कुनै भाषामा कतै संगति छैन । उच्चारण स्थान अनुसार व्यक्ति अनुसार फरक हुन्छ भने लेख्य रूप एउटा स्थिर मानक हो । कस्तो मानक भने प्रयोक्ताले अप्ठ्यारो भयो भन्दैमा लेख्य रूप डगमगाउँदैन, उसले त्यति सिक्नु जान्नु पर्छ र अभ्यास गर्नुपर्छ । प्राचीन ग्रीसेलीदेखि आएका अनेक शब्द छन्— जस्तै schizophrenia, तर यसलाई अंग्रेजीले जोगाइरहेको छ, ‘स्कित्सोफ्रेनिया’ उच्चारण गरिएको छ । अर्को शब्द छ प्राचीन ल्याटिनबाट आएको vacuum, लेख्यमा डबल यू अक्षर जोगाइरहेको छ । भाषा भनेको यसरी केही नियम हो अरू परम्परा । उहाँहरू परम्परा स्वीकार्नुहुन्न र नियम भत्काउनुहुन्छ ।
दोस्रो कुरा, २०३४ सालमा जुन अभियान आरम्भ गरियो, के त्यो ठीक थियो, त्यसपछि पुनर्विचार हुन पर्दैन थियो ? त्यो पुनर्विचार गर्न नमिल्ने, सदाका लागि बन्द गरिएको ‘च्याप्टर’ हो र ? कत्रा–कत्रा नियम, कानून बदलिए, संविधान फेरियो, विश्वका ‘कन्भेन्सन’ हरू फेरिन्छन् तर हाम्रो तद्भवीकरण अभियानको औचित्य र यसको वैज्ञानिक आधारबारे हामीले सोध्नै नपाउने कसरी हुन्छ ? आफ्नै तर्कले पेलेर एउटा व्यक्ति–नेतृत्वले त्यस्तो निर्णय लिनु कस्तो कुरा थियो !
म त ठान्दछु, प्रत्येक शब्दमा भाषाको इतिहास हुन्छ । त्यसलाई बेलाबेला ताछ्तै खुर्किंदै नवीकरण गर्न थाल्यौं भने त्यसको उत्पत्ति हराउँछ र नचिनिने हुन्छ । नेपालीमा ह्रस्व छैन, दीर्घ छैन, श, ष अथवा ञ, ण छैन भनी शब्द स्वरूप भत्काउनु अत्यन्तै ठूलो अवैज्ञानिक अभियान हो । तद्भवीकरण भाषाको स्थापित स्वरूपलाई बलात् अर्कोमा बदल्ने प्रयत्न थियो । हाम्रा अग्रजले नेपाली भाषाको मानक रूप निर्धारण गरिसके, अब स्वभावैले जे हुन्छ समयले गरोस् तर नियमको नयाँ साँचो निर्माण गरेर त्यसलाई बारम्बार बदल्नु हुन्न; सम्पूर्ण शिक्षित समुदाय एउटै भाषाको बन्धन मानेर बसेको हुन्छ । यत्रो वाङ्मय सृष्टि गरेका भाषामा पसेर यो राजमार्ग भत्काइदिंदा राष्ट्रले बेहोर्ने नोक्सान कत्रो हुन्छ; फेरि अर्को गोरेटो खन्नुपर्छ भनेर उर्दी गर्ने कत्रो आँट ?
शब्द मूलतः स्वरूप नै हो; आकार नै हो । त्यो परम्परा हो, कन्भेन्सन या प्रचलन । बारम्बार त्यसलाई भत्काउनु हुन्न । तीन हजार वर्ष अघिदेखि चलेको ग्रीकको glucoma (ग्लुकोमा) अंग्रेजीमा पनि उही हिज्जे सुरक्षित राखेर बसेको छ । यस्ता शब्द पचास हजार होलान् । उनीहरूका उच्चारण फरक छन् । ल्याटिनको lingual अंग्रेजीमा पनि त्यही सुरक्षित छ । फ्रेन्चको lubricate त्यही नै सुरक्षित राखिएको छ । अरबीका, फारसीका त्यस्ता उदाहरण असंख्य होलान् । यस्ता सयौं होइन, हजारौं उदाहरण छन्, क्लासिकल भाषाबाट लिइएका केही शब्द बदले पनि अधिकांश सुरक्षित राखिएका हुन्छन् ।
लिखित परम्परा स्थापित भइसकेको भाषामा लेख्य रूप केन्द्रीय तत्व हुन्छ, औच्चार्यको हिसाब हुँदैन । यादृच्छिक रूपले उच्चारणको निर्णय गर्ने र त्यस निर्णय अनुसार लेख्य परम्परा परिवर्तित गर्दै जाने प्रक्रिया अत्यन्तै अवैज्ञानिक लाग्छ । संसारको कुनै भाषामा त्यो चलन छैन । त्यसैले यतिवेला एक त तद्भवीकरणको परियोजनालाई सदाका लागि अन्त्य गर्नु पर्छ किनभने संस्कृत (तत्सम) नै औपचारिक भाषाको, शिष्ट बोलीको, लेख्य साहित्यको अनन्त भण्डार र सुन्दरतम गहना हो । त्यसबाट यथानुरूप ग्रहण गरेरै नेपाली भाषा सम्पन्न हुन्छ । संस्कृतबाट उधारो लिने काम अनन्तकालसम्म रहिरहनेछ । बंगाली, आसामी, गुजराती, हिन्दी जस्ता अनेकौं आर्य–भारोपेली भाषाहरूले ती शब्द सुरक्षित राखेका छन् । उच्चता त्यसैले निर्मित छ ।
संस्कृत मूलका शब्दहरू नेपालीमा प्रवेश हुने बित्तिकै लोकको उच्चारणलाई आधार मानेर नेपालीकरण गर्न खोज्दा संस्कृतको व्युत्पत्ति नाश हुने र नेपाली पनि कथ्य भाषातिर बढी झुक्ने सम्भावना छ । यसलाई जोगाउनु पर्दछ । उच्चारण विज्ञानले भन्छ— स्थापित भइसकेको मार्गलाई पछ्याउनु राम्रो हुन्छ । नेपाली भाषा सुधारका नाममा जुन अभियान चाल्ने प्रयत्न गरियो, यसको आधार नै अवैज्ञानिक थियो । उच्चारणको आधार होइन, लेख्यको आधार मानक हुन्छ । (बरु लेख्य रूप नभएका भाषामा शुरूमा निर्णय गर्न औच्चार्य ध्वनि केन्द्रमा हुन्छ ।) अनेक भेदका उच्चारण त्यसका वरिपरि हुन्छन् । अंग्रेजी भाषाको औच्चार्य मानक किंग्स इंगलिशलाई मानिन्छ । जबकि त्यसका सही उच्चारणकर्ताहरू सम्पूर्ण अंग्रेजीभाषीमा तीन प्रतिशत मात्र रहेका छन् । तर ती शब्दको लेख्य रूपमा अधिकांशले गल्ती गर्दैनन् किनभने लिखित रूप भनेको सबैको सम्झौताले स्वीकारेको आकृति हो । नेपाली सुधार अभियान यस मान्यताको ठीक विपरीत गएर सारा भत्कायो । नेपालीमा लेख्य रूप स्थापित भइसकेको छ । यसैलाई नै सृदृढ बनाउनु पर्दछ । निरन्तर परिवर्तन गर्नाले प्रयोक्ता अल्मलिने र भाषाको मौलिक रूप पनि अस्थिर हुने डर हुन्छ । त्योभन्दा ठूलो डर त्यसबेला उत्पन्न हुन्छ, जब लाखौं प्रयोक्ताको मनोविज्ञान एकातिर, भाषा नियामक गुरुवर्ग अर्कोतिर उभिने स्थिति आउँछ ।
भाषा एक परम्परा नै हो । एक हजार वर्ष हुर्के बढेको नेपालीमा के छ जोड्ने र भत्काउने कुरा ? अरूका हेरौं— Desmoules, दे मूल । हामी भए डेसमौल्स् भन्थ्यौं होला । जसको अर्थ हुन्छ एक प्रकारको सीपी । नानीहरूलाई व्यञ्जनात्मक शब्द सिकाउन कति कठिन होला । फ्रान्सेली शब्दमा अन्त्यको कुनै पनि व्यञ्जन उच्चारण हुँदैन तर त्यसो भनेर उनीहरूले ती हटाएका छैनन् । अंग्रेजीमा पनि calm, palm, psalm आदिमा एउटा व्यञ्जन वर्ण अनावश्यक छ; queue, through, pneumonia जस्ता शब्दमा दुइटा वर्ण अनावश्यक छन् तर पनि शताब्दियौंदेखि ती त्यहीं छन् । ती अनावश्यक अथवा अनुच्चरित छन् भनेर कसैले कहिल्यै तिनीहरूको सुधार गर्ने वा उठाउने प्रस्ताव ल्याएन, ल्याउने छैन । नेपालीमा चाहिं हाम्रा प्रा.डा. हेमाङ्गको सबल नेतृत्वमा उदाएको अभियानले यी शब्दहरू यसरी उच्चारण हुन्छन् वा हुँदैनन् भन्ने पूर्णरूपेण यादृच्छिक तर्क राखेर सुधार गर्ने तत्परता देखायो । त्यसले नेपाली भाषामा अनेक भ्रान्ति उत्पन्न भएका छन् ।
म यति बोल्ने थिइनँ किनभने नेपाली भाषा नपढेको भए म टाढै रहन्थें हुँला । तर गर्दै लाँदा गुरुवर्गका कर्मले मेरो पेशामा धक्का लाग्ने स्थिति आयो र आज यति बोल्न उठेको हुँ । कति कुरा अघिल्लो रचनामा पनि बोलेको थिएँ । आज केही थप्न चाहन्छु । कुराको मर्म के हो भने नेपालमा शिशु कक्षादेखि स्नातकोत्तर तहसम्मै अंग्रेजी भाषा र साहित्यको पठनपाठन हुन्छ । एकथरी विद्यालयले त यसलाई पूरै माध्यम बनाएका छन् । अंग्रेजी विषयको पाठ्यक्रममा तलदेखि माथिसम्मै उच्चारण विज्ञान (Phonetics) लाई ठूलो महत्व र पाठ्यभार दिइन्छ । स्नातकोत्तर तहमा पनि १०० पूर्णांक छ । डेनिअल जोन्सदेखि यताका अनेक प्रोनाउन्सिङ डिक्शनरीको प्रयोग हुन्थ्यो, यतिखेर प्रत्येक शब्दको उच्चारण सुनाउने अनलाइन सेवा लगायत अनेक इलेक्ट्रोनिक डिभाइसहरू विश्वभरि उपलब्ध छन् । उनीहरू आज अंग्रेजीभित्र परेका फ्रान्सेली शब्द कसरी उच्चारण हुन्छन्, जर्मन, रूसी कसरी हुन्छन् सबै बुझ्न पनि सक्छन् । त्यसैगरी विश्वकै स्थाननामकोश बनेका छन् ।
वर्णको नाम र ती मिलेर बन्ने शब्दको आकार र उच्चारणमा कुनै सम्बन्ध छैन । त्यसैले शब्द भनेको आकारले पढिने ‘दृश्य’ पाठ हो भन्ने सबैलाई थाहा छ । कुनै पनि भाषाले लेख्य वर्ण र औच्चार्य ध्वनिबीच ‘वैज्ञानिक’ सम्बन्ध खोज्दैन, दुवैका आआफ्ना परम्परा हुन्छन्, ती परम्परा मानेर मानिसले भाषा सिक्छन्, प्रयोग गर्छन्, सिकाउँछन् । हाम्रामा के भयो भने शिशुहरूलाई यो अक्षर वा शब्द पढाउन मुश्किल पर्यो भन्दै भत्काउँदै गर्ने साहस पलायो । भाषाको अनुगमन गर्ने कुनै केन्द्रीय निकाय नभएकोले जसले हान्यो उसले जान्यो भन्नु जस्तो स्थिति छ । त्रिविमा नेपाली भाषाको पाठ्यक्रम बनाउने एउटा निकाय छ, शक्तिशालीले हल्लाउने एकेडेमी अर्को छ, पराश्रित जस्तो भाषा आयोग वर्षैभरि अन्तर्राष्ट्रिय अनुदान र प्रोजेक्टमा चलेको छ, अनि केन्द्रीय भाषाविज्ञान विभाग छ आफ्नै पाठ्यक्रम, पठनपाठन, परीक्षा चलाइरहेको । यसरी विगत पाँच दशकदेखि नेपाली भाषा हान्न सक्नेको लात्ती भकुन्डो बनेको छ । यसको दुष्प्रभाव संसारभरि पुगेको छ ।
अघि बेलायतीहरूले विश्वविजय गर्दा अन्य भाषाका कतिपय शब्दलाई जस्तो मन लाग्यो, त्यस्तो उच्चारण गर्ने गरेका थिए । अर्काका संवेदनालाई थिचेका थिए तर ३०० वर्ष अघि उनीहरूले बिगारेको बर्मा आज म्यान्मा भयो, पेकिङ वेजिङ, क्याल्कटा कोलकाता, बम्बै मुम्बई, म्याड्रास चेन्नई आदि । अर्काको भूगोललाई, संस्कृतिलाई, भाषालाई विकृत पार्न आजका सचेत मानिस डराउँछन्, होशियारीसाथ प्रयोग गर्छन् । नेपालीले पनि यो सजगता अँगाल्नुपर्छ ।
अब त अरूका बिगार्नु हुँदैन, त्यसो गर्न पाइँदैन । आफ्नो भाषामा त्यसको ध्वनि भएसम्म मिलाएर अरूका शब्द बोल्नु, लेख्नु पर्दछ किनभने आज उपनिवेशवादी धारणाको वा त्यस्तो अभ्यासको अन्त्य भएको छ । अर्काका शब्दलाई आफ्नामा ल्याएर त्यसलाई कुच्याउनु बिगार्नु भनेको एउटा सामन्तवादी सोच हो । आफ्नो भाषामा समान ध्वनि नभए अर्कै कुरा । हाम्रा शब्दलाई कसैले बिगारेर प्रस्तुत गरेको देख्ता कस्तो दुःख लाग्छ ! समतुल्य ध्वनि नभएका खण्डमा मात्र निकट समतुल्यको खोजी हुन्छ । त्यस्तामा कसैलाई दुःख लाग्दैन । देवनागरी लिपि र ध्वनि व्यवस्था संसारकै उन्नतमध्ये एक गनिन्छ । यसमा नअटाउने ध्वनि व्यवस्था कमै होला ।
अंग्रेजीमा ‘स’ र ‘श’ को फरकले, ‘इ’ र ‘ई’ को फरकले, ‘उ’ र ‘ऊ’ को फरकले शब्दको अर्थमा आकाश पातालको फरक पर्दछ । जस्तै save सेभ (बचाउनु), shave शेभ (दारी काट्नु); sin सिन (पाप), scene सीन (दृश्य); grin ग्रिन (डिच्च गर्नु), green ग्रीन (हरियो); pull पुल (तान्नु), pool (दह, पोखरी) । अझ सिट (sit) बस्नु, सीट (seat) आसन, शिट (shit) फोहर, शीट (sheet) पत्र, ताऊ आदि । यस्ता उदाहरणले एउटा कोश नै बन्दछ । हामी विद्यालय प्रणालीमा अर्थात् पाठयक्रममा सिकाइए अनुसार यसरी नै उच्चारण गर्न सिकाउँछौं । नेपाली गुरुवर्गले कक्षा एकदेखि बीएसम्म १०० पूर्णांकको नेपाली पढाउँछन्, हामी अंग्रेजी पढाउनेहरू पनि कक्षा एकदेखि बीएसम्मै १०० पूर्णांककै अंग्रेजी पढाउँछौं । यस परिवर्तनको अभियानमा एक दर्जन नेपाली गुरुहरू विजय जुलूस गर्दै उडेका छन्, खोई त्यहाँ एक जना अंग्रेजी विज्ञको प्रतिनिधित्व ? भाषा यसरी सुरक्षित हुँदैन । राजनीतिमा जस्तो भाषामा, भाषाका निर्णयमा पनि बोल्न दिनुपर्छ, कुरो सुन्नुपर्छ । धेरै नेपाली विद्वानले उच्चारण विज्ञानमा विद्यावारिधि गर्नुभएको छ तर कसैले उच्चारण अनुसार लेख्य स्थापित गरौं भन्नु भएको छैन । लेख्य अनुसार उच्चारण गर्न नजाने पनि, नसके पनि पाठकको मनोविज्ञानमा ह्रस्वदीर्घको भेद र तिनमा हुने अर्थभेद स्वयम् स्थापित हुन्छ— लङ लिभ र लङ लीभ फरक हुन् भन्ने बुझ्दछ । भाषा कानले पढ्छ, अझ धेरै चाहिं आँखाले पढ्छ, भाषाको लेख्य आकारमा मनैले पढ्ने छाप हो । यी सबै परम्पराले सिकाउँछन् । हाम्रा गुरुहरूले यतिखेर आँखाले पढ्ने भाषा मेट्न खोजे । अर्थात् आँखालाई भूमिकामुक्त गर्न खोजे, जुन कुरा असम्भव छ । किनभने उच्चारण अस्थिर छ— व्यक्तिपिच्छे फरक, स्थानपिच्छे र समयपिच्छे फरक भइरहन्छ । तर लेख्य रूप एक स्थिर परम्परा हो, लामो समयसम्म त्यो नबदलिई रहिरहन्छ । त्यसैले विश्वका भाषाले लेख्यलाई मानक बनाएका हुन् ।
नेपाली भाषामा अंग्रेजीको प्रयोग अनेक प्रकारले बढ्दो छ । हामीले नेपालीमा ल्याउँदा ती शब्दको उच्चारण नबिगारी मौलिक स्वरूप, लेख्य र उच्चार्य परम्परा बुझ्नुपर्छ, बुझ्ने प्रयत्न गर्नुपर्छ, हाम्रा कोश र व्याकरणले त्यही सिकाउनुपर्छ । अंग्रेजीमा शब्दान्तका tion, sion आदिले पनि ‘श’ उच्चारण निकाल्दछन् । nation ‘नेशन’ भए झै fiction ‘फिक्शन’, punishment ‘पनिशमेन्ट’ आदिमा पनि ‘श’ खुट्याएर लेख्नु पर्दछ । पीस जोन (peace zone) लाई ‘पिस जोन’ (piss zone) बोलियो भने अनर्थ हुन्छ । पीस (शान्ति) र पिस (पिसाब फेर्नु) मा कत्रो फरक छ । fool फूल (मूर्ख) र full फुल (भरि) जस्ता शब्दहरूका उदाहरण धेरै छन् । हाम्रो नयाँ पुस्ताले यो भेद सिकेर आएको छ, सिकिरहेको छ । नेपालीमा त्यो ज्ञानलाई, अभ्यासलाई सुरक्षित गरेनौं भने त्यस ज्ञानको र ती शब्द हामीलाई दिने मुलुककै अपमान हुन जान्छ । वास्तवमा स्वरध्वनि दुवैमा धेरै मिल्छन् । ह्रस्व–दीर्घ एकाम्मे पारेपछि हाम्रा विद्यार्थीमा कत्रो भ्रान्ति उत्पन्न हुन्छ ? त्यही कुरा उनीहरू पालन गर्ने हामी भत्काउने, जसरी लेखे पनि हुने !
नेपालीमा ल्याउँदा अंग्रेजीका ‘श’ र ‘स’, ‘उ’ र ‘ऊ’, ‘इ’ र ‘ई’ का बीचको अन्तरलाई सम्मानपूर्वक सुरक्षित गरौं, त्यस भेदलाई लिपिमा पनि सुरक्षित गरौं । वर्तमान शिक्षामा जे सिकाउँदैछौं, व्यवहारमा त्यो अभ्यास हुनुपर्दछ । हाम्रा नव अभियन्ताहरूले नेपाली भाषाको मानक स्वरूप नै भत्काइदिएकाले भाषाविज्ञान सोच्ने हामी सबैलाई पीर परेको थियो तर एक दिन न्यायको ढोका पनि खुल्ने दिन आउने रहेछ । आज सबैलाई ढुक्क लागेको छ । तर राष्ट्रको ढिकुटी रित्याएर चार दशक लगाएर भाषा भत्कायौं, मनलागी लेख्ता हुन्छ भन्यौं, संयुक्त वर्ण उडायौं— यो कम्तीमा ६ हजार वर्षदेखिको आर्य भारोपेली परम्परामा बञ्चरो हान्यौं । धन्य धन्य, जडताको सन्देश हिन्दी बंगालीसम्म पुगेको छैन भन्ने आशा गर्दछु । अब यो अवस्थाको भाषालाई उठाएर सद्दे पार्न फेरि राष्ट्रकै ढिकुटी खर्चिनु पर्ने दिन आए ।
विश्वको इतिहासमा यस्तो दृष्टान्त पाउन मुश्किल छ । हामीले अनुनय विनय गर्यौं तर सर्वनाश नगरी नबिसाउने उहाँहरूको प्रतिज्ञा थियो । धन्य छ प्रा. हेमाङ्ग सर, यो तीस वर्ष चलेको अभियान अब रोकियो । तर कति मुश्किलले सिकेको कुरा नसिकेको (unlearn) बनाउनु झन् कति मुश्किल ! कक्षा पाँचका विद्यार्थीले फेरि उल्टाएर एकमा झरेको कल्पना गरौं । भाषाको यस्तो सरलीकरण अभियान संसारमा कतै चल्दैन । राष्ट्रको ढुकुटी कति स्वाहा भयो !
आफ्नो उपन्यास (सुकरातको डायरी) प्रकाशन गर्ने अन्तिम तयारीमा पुगेका बेला (२०६८ मा) मैले देखें, त्यहाँ प्रयुक्त २०० जति अंग्रेजी शब्दहरूको हुर्मत लिइएको छ र तिनलाई आगन्तुकको नियमले मूच्र्छा पारिएको छ । मैले सम्मानपूर्वक बोलाएका विदेशी पाहुना (शब्द) को यादृच्छिक पाराले परिचय बदलिएको पाएँ, त्यो परिचय मलाई अस्वाभाविक लाग्यो । वर्षौंदेखि जुन कुरा सिकाइरहेको छु, त्यसको विपरीत कसरी जाऊँ भनी एक–एक गरेर ती बदल्न लगाएँ— पोलिश (Polish), फ्रेश (fresh), स्पेशल (special) सूप (soup), स्पीड (speed), बीन्ज (beans), सी बीच (sea beach), शेल्टन (shelton), बीट (beat), शल (shawl), डीप टोन (deep tone), थीम (theme), ब्लूज (blues), फिनिशिङ (finishing) आदि । उपन्यासभरिका २०० जति शब्दलाई यसरी उद्धार गरें । म गर्ने थिइनँ होला तर प्रा. श्रीधरप्रसाद लोहनी र प्रा. रामेश्वर अधिकारीले परिश्रमपूर्वक तयार पार्नु भएको एकता कम्प्रिहेन्सिभ इंगलिश नेपाली डिक्शनरी प्रेमले किनी ल्याएर हेर्दा थाहा भयो, आधा शताब्दीदेखि अंग्रेजी पढ्दै पढाउँदै आउनु भएका विशिष्ट नेपाली विद्वानले अंग्रेजीको त्यो स्वरूपलाई कतै नबिगारी यथावत् बचाएर सम्मानपूर्वक राख्नु भएको छ । म अत्यन्तै प्रसन्न भएँ, मैले बुझेको पनि त्यही थियो । नेपाली गुरुका नयाँ नियमले किन त्यो स्थापित नियम भत्कायो बुझ्न नसकिरहेको थिएँ, पछि बुझें । आगन्तुक शब्दको उनीहरूले प्राण खुस्काएका रहेछन् ।
अनि मलाई चिन्ता लाग्यो— नयाँ नेपाली व्याकरणको नियमले अरू भाषालाई पनि यसै गरी दाँदे लगायो कि ? हाम्रा छिमेकी के गर्दैछन्, हेर्न मन लाग्यो अनि अरविन्द कुमार र कुसुम कुमार कृत समांतर (हिन्दी) कोश (१९९०) पल्टाएर हेरें । त्यति पुरानो र ४० करोड भन्दा बढी प्रयोक्ता भएको हिन्दीमा संस्कृतका वर्ण, संकेत, हिज्जे यथावत् सुरक्षित छन्, उनीहरूलाई बदल्नु परेन । हाम्रा गुरुहरूले चालीस वर्षभित्र भाषा बदले, नेपाली जस्तो एउटा ससानो र कलिलो भाषालाई नयाँ रूप दिन यादृच्छिक निर्णय गर्दै साहित्य स्रष्टाहरूलाई, भाषा प्रयोक्तालाई ठूलो रनभुल्लमा पारे । यस्ता निर्णयमा भाषावैज्ञानिकको हस्तक्षेप हुनुपर्थ्यो, भएन; यस्ता निर्णयमा विश्वको प्रचलन के छ, त्यो बुझेर गर्नुपथ्र्यो तर त्यो भएन । यी कोशकार र व्याकरण लेखकले नेपाली भाषालाई युद्धमैदान बनाएर छाडे । प्रयोक्ताहरू खूब डराएका छन् । नेपाली भाषालाई स्थिरीकरणमा लानुको सट्टा यसरी सदा अस्थिर पार्ने काम भए झैं लाग्छ । हजारौं वर्षको अंग्रेजीमा विश्वभरि एउटै शब्दकोश चल्छ, हाम्रो के भएको होला, प्रत्येक कोश, प्रत्येक व्याकरण बेग्लै छ । हिन्दीमा आल्टरनेट नंबर, इलेक्ट्रोन, कैमोथेरापी, गाइनेकोलाजी, ट्वाइलेट शोप, टिक मार्क, परफोरेशन, पर्सनल हाइजीन, फ्यूज, फ्रीज, क्याश, कोटेशन जस्ता अनगिन्ती शब्द सापट आएका छन्, तर हिन्दी प्रयोक्ता विद्वानहरूले तिनीहरूको मौलिक उच्चारणलाई सकेसम्म देवनागरी संकेतले स्थापित गरेका छन् । नेशनल बुक ट्रष्टको यो स्तरीय प्रकाशन हेरेको भए हाम्रो पनि मानक बन्न सक्थ्यो होला ।
हामीले मात्र भिन्न पथ रोज्यौं । यसले गर्दा नेपाल र भारतमा लेखिने नेपाली फरक पर्दै गयो, नेपाली साहित्य भारतीय भूमिका पाठकलाई फरक पर्दै गयो र नेपाली साहित्य भारतीय भूमिका पाठकलाई बुझ्न कठिन हुने स्थिति बढ्दैछ । यद्यपि भारतमा सूधपाहरूले स्थापना गरेको भाषिक रूप नै चल्दैछ । दार्जेलिङ, सिक्किम, आसाम, मणिपुर आदिका स्रष्टाले त्यही प्रारम्भिक रूपको आदरसाथ संरक्षण गरेका छन् । नेपालमा चलेको दिग्भ्रमित पार्ने अभियान देखेर उनीहरू साँच्चै दुःखी थिए । यो नेपाली भाषा ता देहरादून, बनारस, दार्जेलिङ, सिक्किम, शिलाङ, आसाम सबै सबै मिलेर हुर्काएको वृक्ष हो । आज एक दुई जनाले बञ्चरो हान्न मिल्छ ?
धन्न, सर्वनाश हुनुभन्दा पहिले अदालतको विवेकले रोक्यो । उताको यता नबुझिने हुनेछ एकातिर, नेपाली वाङ्मय विश्वव्यापी वेग लिएर उड्दैछ अर्कातिर, यसलाई नेपालमा सीमित गर्ने प्रयत्न बढ्दैछ यहाँ चाहिं । यस प्रयत्नले नेपाली भाषाको विकासलाई अवरुद्ध गर्दछ, यसले धेरै धेरै अपवाद थप्तै जानेछ । ससाना भाषा, भाषिका भेदमा टुक्रिएर विलयन हुने डरलाग्दो स्थिति छ । यसबेला हामी धेरैबीच स्थिर भइसकेको रूप नै मान्यता, प्रचलन, अभ्यास हुन सके राम्रो हुन्थ्यो होला । यस्ता चिन्ताहरूले हाम्रा शरीर सुक्न थालेका बेला गत असार ९ गते सर्वोच्च अदालतले गरेको ऐतिहासिक निर्णयले ठूलो खडेरीमा पानी हालेका बिरुवा भएका छौं । एक दिन न्यायको ढोका खुल्ने रहेछ ।
भाषालाई बारम्बार चलाइरहनु भनेको कमजोर मुलुकमा प्रजातन्त्र दिंदै खोस्दै, संविधान बनाउँदै फेर्दै गर्नु जस्तै हो । लेख्यलाई यादृच्छिक कथ्यतिर लान खोज्नु भनेको पनि विश्वले मानेको भाषाविज्ञानको परम्परालाई थन्क्याएर निजी व्याकरण बोल्नु हो ।
धन्न, अदालतको विवेकले एउटा महाभूल सच्चियो ।
नेपाली वाङ्मय कलिलो छ । भर्खर फल लाग्दैछ । भानुभक्तीय रामायण हेरौं—
तेस्ले जीत्छ अवश्य यै बखतमा सायत् इ फौज्ले गरुन्
मेरो दक्षिण नेत्र फुर्छ बढिया लक्षण् छ धीर् मन् धरुन् ।
यहाँ परेका आगन्तुक शब्द हेरौं; श्लोक निर्माणमा ह्रस्वदीर्घ उच्चारणको ख्याल कत्रो भानुको ! भानुभक्तभन्दा अघिदेखि हाम्रो भाषाले हिन्दी, उर्दू, फारसी, बंगाली, मैथिली, अवधी र देशभित्रका अनेक भाषाबाट पैंचो उधारो लियो । सैन्य सेवा, कानून, कूटनीति आदिमा उल्लेख्य प्रतिशत नै फ्रेन्च, ल्याटिन, इङ्लिशबाट छन् । अब झन् प्रविधिको प्रवेशले, विश्वव्यापीकरणले हाम्रो शिक्षा सञ्चार आदिमा, प्रशासन र दैनिकीमा बोल्दा दश प्रतिशत शब्द आगन्तुक पुग्छन् । आफ्नै अवैज्ञानिक नियम बनाएर छिमेकीहरूको अपमान गर्नुहुन्न, जति गर्नु गर्यौं । अरूको अपमान होइन, अन्यत्रबाट आउने, ल्याइने अतिथिको सम्मान गरौं । आफ्नो देशमा कृषि, पशुविज्ञान, औषधिशास्त्र, प्रविधि, उद्योग कुनै कुराको उत्पादन र आविष्कार छैन । अहिले ग्लोबल दुनियाँमा संसारबाट भुमरी परेर उत्पादन र शब्दहरू सँगसँगै खनिन्छन् । टिपौं, छानौं, मिल्ने अनुवाद गरौं, नमिल्ने आफ्नै पारौं । भाषा त्यसरी अरूको हारमा धनी हुँदै जान्छ । अबको कुनै भाषा ‘प्योर’ छैन, सर्वमिश्रित हुन्छ ।
अब सभ्यताको मार्गतिर पाइला चालौं । अब नेपाली भाषा पुनः सिक्नु/सिकाउनु पर्ने भयो । कक्षा एकदेखि । जसलाई समयले गल्ती सिक्नु पर्यो, तीहरूले प्रा.डा. हेमाङ्ग राज अधिकारी र उहाँका अनुयायीलाई आजीवन सम्झिनेछन् ।