विश्वव्यापी हुँदै गएकाे महामारीले मुलुकलाई पनि अछुतो राखेन । सम्भावित जाेखिमलाई दृष्टिगत गर्दै सरकारले विदेशबाट आउनेहरुकाे स्वास्थ्य परीक्षण गर्ने र क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्नुका साथै अत्यावश्यक काम बाहेक हिंडडुल गर्न प्रतिबन्ध लगायाे । सबैलाई घरमै बस्न अनुराेध गर्यो । सरसफाइमा ध्यान दिन आग्रह गर्यो ।
सरकारकाे व्यवस्था र निर्देशनलाई कतिपयले अनावश्यक भने । ‘राेगी नै नभएको ठाउँमा हिंडडुलमा प्रतिबन्ध लगाएर नागरिकको अधिकार कुण्ठित गरिएको’ भन्दै आलोचना गरे । सरकारी आदेशको वेवास्ता गर्दै कतिपय बिना काम लखरलखर डुल्न थाले । प्रशासन कठाेर बन्यो र तिनलाई कारबाही गर्न थाल्यो । त्यसको पनि कतिपयले विराेध गरे ।
यत्तिकैमा उता संसारभर राेगकाे प्रभाव बढ्दै गयाे भने यता देशका विभिन्न स्थानमा राेगसँग मिल्दाजुल्दा लक्षणका विरामी देखिन थाले । तिनको परीक्षण थालियो । दुर्भाग्य, दिनदिनै महामारी फैलाउने भाइरस प्रभावितहरु भेटिन थाले ।
याे क्रम बढ्दै जाँदा सरकारकाे आलोचना गर्नेहरू फेरि जागे । भन्न थाले ‘कस्तो गैरजिम्मेवार सरकार ?, संसारभर फैलिसक्दासम्म पनि जनताकाे ज्यानको परवाह नगरी जाेखना हेरेर, साइत पर्खेर बस्ने । यस्ताे राेक त पहिल्यै पाे लगाउनु पर्थ्याे, यस्तो पनि जनताको सरकार हुन्छ’
सुनेर दुनियाँ आश्चर्य मान्दैथियाे ।