तिमीले मलाई
शिखरमा लगेर राख्यौ
म सेताम्मे हिउँ भएर जमिदिएँ
यदि म त्यसरी नजमेको भए
हिमाल हिमालझैँ
कहाँ देखिन्थ्यो होला ?
हिमाल त्यति सुन्दर
कहाँ लाग्थ्यो होला ?

तिमीले मलाई
सूर्यको रापमा छाड्यौ
म पग्लेर बगिरहेँ
यदि म त्यसरी नपग्लेको भए
यी नदी नालाहरू
कहाँ बग्थे होला ?
र अनन्त प्यास
कहाँ मेट्थे होला ?

तिमीले मलाई
भीरमा लगेर फाल्यौ
म झरना बनेर छङ छङ खसिरहेँ
यदि म त्यसरी नखसेको भए
झरना त्यति सुन्दर
कहाँ देखिन्थ्यो होला?
र, झर्नु पीडा भुल्न
कहाँ सक्थ्यो होला?

तिमीले मलाई
बगरमा मिल्कायौ
खोला बनेर बग्दै बग्दै
सागरमा मिसिन पुगेँ
यदि म सागरमा नमिसिएको भए
सागर, सागर कहाँ बन्थ्यो होला?
सागरजस्तो गहिरो पाठ
कहाँ सिक्थ्योे होला ?

तिमीले मलाई
अतिशय ताप दियौ
म बाफ बनेर आकाशमा उडिरहेँ
यदि म त्यसरी बाफ भएर नउडेको
र, झरि बनेर नबर्सिएकोे भए
धरती कहाँ सिँचिन्थ्यो होला ?
अनि मौलाएर धरती
कहाँ आवाद हुन्थ्यो होला ?

तिमीले मलाई
किरणमा मिसायौ
म किरणसँगै घोलिएर
सप्तरङ्गी इन्दे्रणी बन्न पुगेँ
यदि म त्यसरी नघोलिएको भए
इन्दे्रणी कहाँ झुल्थ्यो होला ?
अनि इन्द्रेणीजस्तै
जीवनका सुन्दर रङ्गहरु
कहाँ भथ्र्यो होला ?

यसरी, तिमीले मलाई—
जुन आकारमा ढाल्यौ
त्यही आकारमा ढलिएँ म
जुन रङ्गमा घोल्यौ
त्यही रङ्गमा घोलिएँँ म

फेरि पनि अस्तित्वको प्रश्नमा
हिलोमा कमलसरी फुलिरहेँ
भीरमा सुनाखरी भइ झुलिरहेँ

सम्पूर्णमा पानीजस्तै
जीवनकै संस्कृति म
त्यागमा प्रेमकै पक्षपाती र
अपार सौन्दर्यकै हिमायती म

म छु र त तिम्रो संसार यति सुन्दर छ
म छु र त तिम्रो संसार यति जीवन्त छ
म छु र त तिम्रो संसार यति आबाद छ

नढाँटेरै भन प्रिय मनु !
यदि म नभएको भए
के तिमी एक्लैले मात्रै
यो संसार चलाउन सक्थ्यौ होला त !
यो सृष्टिलाई धान्न सक्थ्यौ होला त !!

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *