– हरि मानन्धर ‘विवश’
प्रकृतिको बरदान स्वरूप मानिस, मानिस भएर जन्मनु, सर्वश्रेष्ठ प्राणीमा रहनु वास्तवमा नै फरक प्रकृतिको विषय हो । आखिरी मानिस किन सर्वश्रेष्ठ भएका होलान त? यसको एउटा मात्रै उत्तर हो चेतना । जन्मने र मर्ने थुप्रै प्राणीहरू बीच मानिस सिंगो सर्वश्रेष्ठ भएर परिचय बनाउनुमा चेतना शक्ति वा चेतनशीलता बाहेक केहि हुनै सक्दैन । केहि शारिरीक बनावटहरू फरक हुनसक्छन् तर शरीरका सम्पूर्ण अंगहरू उस्तै छन् मानिसहरूमा । जिन्दगी जिउने तरिकाहरू फरक होलान तर विकासक्रम उस्तै हुन् । खानाको प्रकारहरू फरक हुनसक्छन् तर सबै खानाले मानव शरीरमा दिने पौष्टिक तत्वहरू र यसका उपयोगिताहरू उस्तै हुन् । सबै प्राणीका आ–आफ्नै भाषाहरूहुन्छन् । त्यसो त मानिसहरू बीचकै भाषाहरू पनि त फरक छन् । सँसारभर बसोबास गर्ने मानिसहरूको देश, भौगोलिक सिमाना, जातियता, सम्प्रदायिकता तथा रहनसहनका आधारमा पनि फरक फरक भाषाहरू प्रयोगमा ल्याईएको पाइन्छ । विभिन्न भाषाहरूका लिपी अनुसार लेखिने वर्णहरू फरक होलान् तर उच्चारण गरिने व्यञ्जन उस्तै हुन्छन् । बोलिदा क नेपालीमा हो भने अँग्रेजीमा K (के) वा हिब्रुमा ק(कोफ) वा כ (काफ)हो । लेखिँदा फरक लेखिए पनि उच्चारण गर्दा निस्कने ध्वनि लवजले फरक होला तर हरेक भाषाहरूमा उस्तै हुन्छ । त्यसैले सँसारमा हजारौं भाषाहरू पाइएता पनि उच्चारणमा प्रयोग भएर निस्कने ध्वनि सबैका एउटै हुने गर्दछ ।
मानिसहरू बीचका भावनाहरू वा विचारहरू सम्प्रेषण गर्ने माध्यम नै भाषा हो । भाषाको प्रयोग यस्तो साधन हो जसको माध्यमले हामी आफ्ना विचारहरुलाई व्यक्त गर्न सक्छौ र विचार ब्यक्त गर्नलाई जुन ध्वनिहरुको प्रयोग गर्छौं ति सबै मिलेर एउटा सम्पूर्ण भाषाको उत्पत्ति भएको हुन्छ । मानिसहरूले बोलिने भाषालाई लिखित रूपमा व्यक्त गर्नको लागि लिपिहरुको निर्माण गरिएको हुन्छ । भाषा र लिपि, मानिस मानिसहरू बीच भाव व्यक्त गर्नका लागि सिर्जना गरिएको भिन्न माध्यम हुन। कुनै पनि एउटै भाषालाई थुप्रै लिपिहरुमा लेख्न सकिन्छ । वा कति भाषाहरू एउटै लिपिमा लेखिएको पनि पाइन्छ । जस्तोकि नेपाली,संस्कृत,हिन्दी आदी सबै देवनागरी लिपिमा लेखिएको हुन्छ ।
यो जगत भाषा बिना मानव अस्तित्व सर्वथा अपूर्ण छ । त्यस्तै मानव इतिहास तथा परम्परादेखि विच्छिन्न नै रहन्छ । साधारतय भाषा कुनै पनि मानिसहरूबीच एकआपसमा भावनाहरू वा सम्वेगहरू साट्ने माध्यम हो । भाषा-वैज्ञानिकहरुको अनुसार ‘‘भाषा वा दृच्छिक वाचिक ध्वनि-संकेतहरुको यस्तो पद्धति हो, जस द्वारा मानव परम्परा विचारहरुलाई आदान-प्रदान गर्छ ”– बि ब्लक र जिएल ट्रगेर ।
भाषा संकेतात्कम छ अर्थात् यसमा जुन ध्वनिहरु उच्चारित हुन्छ, ति कुनै वस्तु वा कार्य सित सम्बन्ध हुन्छन् । यि ध्वनिहरु संकेतात्मक वा प्रतीकात्मक हुन्छन। भाषा एक पद्धति हो, अर्थात एक सुसम्बद्ध र सुव्यवस्थित पद्दतिबाट संरचित वा संघटन हो, जसमा कर्ता, कर्म, क्रियाको सुव्यवस्थिति रूप आएको हुन्छन् । यहाँ भाषाको बारेमा व्याख्या जति गरिए पनि वास्तविकतामा भाषा पनि मानिसहरूले आफ्नो कार्य सम्पादनका लागि उत्पत्ति गराएका विभिन्न सँकेतात्म हावभावहरूलाई पछि आएर लिपिबद्ध गरिएको कुरा बुझिन्छ । भाषा वाचनमा ध्वनि-संकेत हुन, अर्थात् मनुष्य आफ्नो वागिन्द्रियको मद्दतबाट संकेतहरुको उच्चारण गर्छन, तिनै उच्चारणहरू विश्वका मानिसहरूको बीचमा भाषा अंतर्गत पर्दछन। यसरी प्रयोग गरिएका साँकेतिक वा ध्वनि–संकेतहरू नै विभिन्न सम्प्रदाय, जाति, बर्गहरू बीचमा फरक फरक तरिकाले प्रयोगमा ल्याइदै आएका हुन् । र पछि सँसारका विभिन्न स्थानका मानिसहरूले यिनै संकेतहरूलाई लिपिवद्ध गराउँदा आ–आफ्नै तरिकाले सहज र सरल तरिकाले प्रयोग गर्न वा लेख्न मिल्ने गरि प्रतिपादन गरेको पाइन्छ ।
भाषास्वेच्छिक संकेत वा तात्पर्यता हो । कुनै पनि विशेष ध्वनिको कुनै विशेष अर्थबाट मौलिक अथवा दार्शनिक सम्बन्ध भएको पाइदैन । प्रायः भाषाहरूमा कुनै विशेष ध्वनिलाई कुनै विशेष अर्थको संकेतको रूपमा लिईन्छ । फेरि उक्त ध्वनि त्यही अर्थको लागि रूढ भई हाल्छ । अर्थात त्यो परम्परानुसार त्यही अर्थको वाचक भई हाल्छ। दोश्रो भाषामा ति अर्थको वाचक कुनै अरु हुन्छ । जस्तो कि नेपाली अ, अँग्रजी a (ए) वा हिब्रको א (आलेफ) यी तिनै अक्षरहरूले अ वा आ भन्ने संकेत गर्दछ । यस्तै अरू विश्वभरमा थुप्रै भाषाहरूका थुप्रै संकेत वा वर्ण हुन्छन् । नेपालीमा बोलिने अ वा आ उच्चारण ध्वनिले यस्तो संकेत भए पनि अरू भाषाहरूमा फरक हुने हुनाले एक भाषाका मानिसहरूले उच्चारण गरेका ध्वनिहरू सबै मानिसहरूमा उस्तै सुनिन्छ मात्र लेखाईमा वा सँकेतमा फरक हुने गर्दछ ।
सँसारका कुनै पनि समुदाय, सम्प्रदाय वा जात–जाति, धर्म सँस्कृति, राज्य संरचना, भूगोलका सिमानाहरूले फरक पारेको भाषा शैलीहरूको उच्चारण वा ध्वनि समान हुने हुनाले नै मानिसहरू एक प्रदेशबाट अर्को प्रदेशमा जाँदा, एक ठाउँबाट अर्को ठाउँमा जाँदा यस्ता भाषाहरू सजिलै बोल्न सकिन्छ चाहे ती व्यक्तिहरू निरक्षर नै किन नहुन् । तर ती फरक भाषाहरूको प्रयोग आ–आफ्नै तरिकाले गरिएकाले कुनै भाषाहरू लेख्न वा अक्षरहरू चिन्न सजिलै सकिन्छ भने कति कठिन मात्र होइन एकदमै कठिन पर्ने हुन्छ । यस्ता अर्का भाषाहरूलाई लेख्न वा अक्षर चिन्नका लागि भने हामीले वास्तवमै नेपालीमा कखरा पढ्न र लेख्न सिके जस्तै गरि शुरूबाटै सिक्नुपर्ने हुन्छ । तर बोल्नका लागि भने त्यस्तो कुनै गहन शिक्षा लिनुपर्ने हुँदैन । अरू भाषिकहरू बोलेके सुनेकै आधारमा वा हाउभाउले भनेकै आधारमा पनि धेरै जानिन्छ । जस्तो अहिले म इजरायलमा छु, कति नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू लेखपढ नजानेर यहाँ आएका भए पनि अहिले इजरायली जस्तै खरर्ररर्ररर हिब्रु भाषा बोल्ने भैसकेका छन् । यति मात्रै हो र? अँग्रेजीका अक्षरहरू नचिनेकाहरू पनि फाट्टफुट्ट अँग्रजी बोल्न सक्ने भैसकेका छन् ।
भाषा अनेक भएता पनि उच्चारण गरिने ध्वनि समान हुनुले विश्वका कुनै पनि ठाउँमा स्थानान्तरण हुँदा मानिसहरूलाई सजिलै सिक्ने र बोल्ने वा बुझ्न सक्ने हुन्छ । यो प्रकृतिको मानिसहरू माथिको सबैभन्दा ठूलो देन हो । मानिसहरूले बोलिने वा लेखिने अक्षर फरक भए पनि तिनै ध्वनिहरूको प्रयोगबाट बनेका शब्दहरूले दिने अर्थ फरक हुने हुन्छ तर उच्चारण गरिँदा निस्कने ध्वनिहरू भने समान हुन्छन् ।
Please follow and like us: