16–डा.सुनुवार डीबी

चावहिलबाट दरबारमार्ग हुँदै जाँदा ठमेल छिर्ने मुखैमा फराकिलो सडकसँगै ढसमस्स सञ्चयकोष भवन उभिएको छ । भवनसँगै दाँजिए उभियौं भने नर्थफेस देखिन्छ । ठ्याक्कै त्यही नर्थफेसको ठूलो बोर्डमुनि जम्मा हुने सल्लाह थियो हाम्रो । विहान सखारै पाँच बजे हामी दुईभाइ त्यहाँ पुगिसकेका छौं । छत्र दाई तिखेदेवलबाट आउनुभएको थियो र म चावहिलबाट । अरु दशजना गोराहरूसहित ल्याण्डक्रुजरमा बाह्र दिनको खाना खजाना छतमा कोचेर कोटेश्वरहुँदै भक्तपुरतिर हुँइकियांै । हामी भिन्न दिशाबाट आएर एकै दिशातिर लाग्यौं । बनेपा, धुलिखेल, पाँचखाल हुँदै अस्सी–नब्बेको गतिमा दोलालघाटतिर खोलाको किनारै–किनार गुडिरह्यौं । गुरुजी (ड्राइभरलाई आजकाल गुरुजी भन्ने चलन छ । मानौं हामी पनि गाडी हाँक्न बसेका छौं) ले खाना खान खासामा नै पुग्ने भन्दैछन् । खाँडिचौर, बाह्रविसे हुँदै सिकुटे अनि लास्ट रिसोर्ट नजिक पुगेर बन्जिजम्प गर्ने ठाउँमा पुगेर बिश्राम ग¥यौं ।
मैले र्याफ्टिङ्ग, कायाकिङ्ग, प्याराग्ल्याइडिङ्ग गरेको छु, अव यो बन्जिजम्प पनि गर्ने रहर छ । बन्जिजम्प पनि एउटा साहसिक खेल हो । अहिले त भ्याइएन पछि कुनै दिन समय मिलाएर आउनु पर्ला, मनमनै सोचेँ । गाउँकै युवा क्लवको सक्रियतामा बन्जिजम्पको व्यवस्थापन भएको रहेछ ।
भारततिर छिर्दा आफ्नै देशको अर्को गाउँ गएकोजस्तो लाग्छ तर चीनतिरको सीमानामा अलि फरक छ । त्यसैकारण हामीले गोराहरूले जतिकै डलरमा मूल्य चुकाएर प्याकेज टुर किनेका हौं । हामीसँग जर्मन, अस्टे«लियन र युकेका साथीहरू थिए । खाना खाँदै गर्दा छत्र दाइले भन्नुभयो, “नेपालको माटोमा बसेर खाएको यो खाना करिव पन्ध्र दिनको लागि अन्तिम खाना होला ।”
हामीलाई काठमाडौबाट लिएर आउने आनन्दजीले तिब्बेतबाट हामीलाई लिन आएका गाइड ल्हाक्पालाई परिचय गराउँदै हाम्रो जिम्मा लगाए । हामीले चीनको पैसा साटिसकेका छांै । तलमाथि भयो भने खासा ल्हासामा साथीहरू पनि छँदैछन् । आहा, क्या मज्जाको यात्रा ।
ठूला–ठूला गाडीको पनि त्यतिकै लाम छ । मितेरी पुलमा सामान बोकेर आवतजावत गर्नेको पनि त्यतिकै धुइरो छ । चिनियाँ सेनालाई हाम्रो लगेज र कागज देखाउँदै, पारिपट्टि हामीलाई लिन आएका तीनवटा ल्याण्डक्रुजरमा चारचार जना गरी चढ्यौं । हेर्दा–हेर्दै नेपाल त पारी भइसकेछ । उ परको गुजुमुजु परेको हाम्रो गाउँ हो, अव हामी अर्काको गाउँमा आएका छौं । यहाँ हामीले टेकेको माटो, स्वास फेरेको हावा, पिएको पानी, सबै पराईको हो । मातृभूमि छाड्दाको एक किसिमको तर्कना हुनेरहेछ । त्यसैले आफ्नो भनेको आफ्नै हो, कति माया लागेर आयो, आफ्नो माटोको । हामीले अव आफ्नो गाउँलाई बस है भन्दानभन्दै सोनामले सुलुक्कै इमिग्रेसन अफिस अघि ल्याएर रोके । हामीभन्दा अघि आएका साथीहरू लाममा बसिसकेका रहेछन् । उनीहरू जसरी नै हामीहरू पनि लाममा जाँच पासका लागि अबद्ध भयौं ।
जाँच पासको सबै काम सकेर चियापानीका लागि एकछिन खासा बजारमा बस्यांै । गोराहरूले डलरलाई स्थानीय पैसासँग साट्दै थिए । हाम्रो त नेपालमा नै जे–जे गर्नुपर्ने काम गरिसकिएको थियो । अव खासाको चिसो पिउँ भनेर एउटा मिनरल वाटर लिएर सानो बाटोबाट उकालो नै उकालो कच्ची बाटो उक्लिन थाल्यौं ।
हाम्रो बाजेले यतैबाट भोटको नुन खेप्थे रे । पहिले भारतबाट साल्ट टे«डिङ्गले नुन नल्याउँदाताकाको कुरा हो, धेरैले त नेपालबाट अन्नपात बोकेर ल्याएर यहाँबाट नुन साटेर लानुपर्ने अवस्था थियो रे । खासालाई यतातिर जाङ्गमु भन्छन्् । हाम्रोमा “ल्हासा जानु कुतीको बाटो” भन्ने उखान छ । त्यही कुती हो आज हामी बास बस्ने ठाउँको नाउँ ।
कुतीलाई पनि यहाँका स्थानीय भाषामा न्यालाम भन्दा रहेछन् । आछुछुछु, यहाँ अति नै जाडो छ मनमनै बात मारेँ । गाडीबाट बाहिर निक्लने वित्तिकै कटक्क मुटु नै छेड्ने खालको स्याँठले घोच्दोरहेछ । होटल न्यालममा हाम्रो लागि टुइन् बेड बुकिङ्ग गरिएको रहेछ । स्वास फेर्न नै गाह्रो हुने गरी चलेको हावाले हुत्याउनै खोज्छ– बा, यो कस्तो जवर्जस्ती हो ? नयाँ अनुभूति सँगाल्छु ।
छत्र दाइले तलैदेखि चिनियाँ वियर खाने इच्छा राख्नुभएको थियो । खाना खाने बेलामा अर्डर गर्नुभएको वियर हाइ सिकनेशले गर्दा खान सक्नुभएन । कोठामा लगेर खाने भन्नुभाको त्यो पनि सक्नुभएन । करिव चार हजार तीन सयको उचाइमा रहेको कुती चारैतिरबाट हिमालै–हिमालले घोरिएको छ । ढोका झ्याल सबै ठाउँमा जाडोदेखि बच्न दोहोरो सुरक्षा व्यवस्था मिलाइएको छ ।
प्लास्टिकको पर्दा, त्यसपछि काठको ढोका र त्यसपछि डसनाजस्तो तिब्बती पर्दा भएको, ठूलो कोठा छ । चार थरमस पानी छ । तातो पानीमा खुट्टा डुवाउने भाँडो पनि छन् । दुई–दुई वटा सिरक र डसना छन् । तर यो राक्षसी जाडोको अगाडि हामीलाई लाग्यो, यिनीहरू केही पनि होइनन् । लिङ्गजी कफीले सुकेको ओँठमुखलाई रसाउने कोसिस गरिरहेका छौं । बोल्न चल्न केही मन लागेको छैन ।
स्वास फेर्न गाह्रो भैरहेको छ । “माइनस् सात डिग्री मात्र भन्थे त ल्हाक्पाले, किन यति धेरै सकस भैरहेको छ हँ ? धान्न सकिदैन कि कसो हो डम्बर भाइ ?” हँस्यांैली गर्दैछन् छत्र दाइ । “अब कपडा फुकाल्ने त कुरै आएन, बरु खुट्टामा चाहिँ मोजा थप्नुपर्छ जस्तो छ”, भन्दै फेरि तीन खाप मोजा पनि गुत्यौं । ओच्छ्यान बाहिर धान्नै नसकिने भएपछि जिउ तताउनका लागि सिरक र डसनाभित्र शरणागत छि¥यौं । जति निदाउन खोजे पनि निद्रा लाग्दैन । स्वास त्यसै–त्यसै नपुगेको जस्तो रोकिन खोज्ला खोज्ला जस्तो । कतिपय मानिसहरू त यस्तो हँुदाहुँदै सुतेको सुतेकै पनि हुन्छन् भन्ने सुनेको थिएँ । भोलि विहान उठ्नै बिर्सियो भने ? सम्झेर झन् निद्रा लाग्ने कुरै भएन ।
मानसरोवरमा जान चाहनेहरूलाई पनि हाइ अल्टिच्युट परिक्षणका निम्ति यसै ठाउँमा ल्याउँछन् अरे । बल्ल–तल्ल रात कटायांै दुईभाइले न्यालाममा, झन्डै स्वास नफुस्केको । यस्तो पनि हुँदोरहेछ जिन्दगीमा कहिले कहिले । सम्झेर मेरो आङ्ग सिरिङ्ग हुन्छ ।
यात्राको दोस्रो दिन, ग्राबेल बाटो । विहान खाजापछि हिजो राति हामीलाई सताउने त्यो राक्षसी चिसोलाई शक्ति दिने हिमालको अनुहार प्रेमपूर्वक हेर्दैहेर्दै थुङ्गला पासतिर बढ्दै रह्यांै । ल्याण्डक्रुजरको गति तीब्र छ । सोनामले कति कुदाउन सकेको हो, कतै धागो तन्काएर बनाएको जस्तो बाटो । कतै घुमेको घुमै । कति पटक ठोकियो–ठोकियो यो निधार ।
ठूला–ठूला ढुङ्गा । त्यही ढुङ्गामाथि चढेर चक्काहरू उफ्रिँदा उफ्रिँदा, सिलिङ्गमा टाउको ठोक्किएर कानको जराबाट रगत पनि चुहेछ छत्र दाइको । आहा, यात्रा त ल्हासाको होइन, खासाको भनेको यस्तो पो रहेछ, अष्टे«लियन नागरिक डेभिड चालक सोनामसँग झगडा नै गर्न तम्से । तर हामीले त्यसो गर्न दिएनौं । चालक रिसायो भने झनै यात्रा चौपट हुन्छ भन्ने हामीलाई थाहा छ । छत्र दाइ पनि पाको चालक हुन् पल्टने सेवाभरि नै चालकको काम गरेर सेवानिबृत्ति लिएका । म पनि राम्रो चालक हुँ । तर के गर्नु ? यो गाडी, यो बाटोले मलाई चिन्दैन ।
पाँच हजार दुई सय उचाईको थुङ्गला पास । यो पासलाई ल्हासा जानेहरूले सम्पूर्ण बाटो मध्येकै कठीन पासको रुपमा चिन्दा रहेछन् । कतिपय मानिसहरूको हाई सिक्नेसको कारणले गाडीमा बस्दाबस्दै प्राण गएको छ अरे, हामीले पनि विभिन्न उपाय अपनाउने कोसिस ग¥यौं । सोनामले गाडी रोक्ने वित्तिकै गोराहरू हतार–हतार ओर्लिए । हामी पनि देउरालीमा पाती चढाउनु पर्छ भनेर निक्लन मात्र के खोजेका थियौं, चिसो हावाको सिरेटोले मज्जाले भित्रै हुत्याई दियो । गाडीभित्रै बस्यौं । तर मन के मान्नु ? टोपीसहितका जाकेट गुतेर बाहिर निस्केँ । वाह, स्वर्ग त मैले यहाँ पो देखेँ । चाँदिको सहर भनुँ कि, चाँदिको दरवार भनुँ ? के उपमा दिउँ, चाँदिका आकर्षक गहनाले सुसज्जित हिमकन्याहरू, राजकुमारहरू । स्वाभिमानको फराकिलो छाती, गर्वोन्नत शिर π म त्यसै–त्यसै नतमस्तक भएँ यो हिम साम्राज्यप्रति । मानिसहरू हिमाल किन चढ्दा रहेछन् भन्ने बल्ल बुझेँ । शैलेन्द्र उपाध्यायहरू सायद त्यसैले सगरमाथा आरोहणमा लोभिएका हुनुपर्छ । नाम कमाउनुकै लागि मात्र त होइन रहेछ नि हौ, हिमालमा चढ्दा प्राप्त हुँने आनन्दको कुरा पनि त्यतिकै हुँदोरहेछ । मेरो सगरमाथालाई सम्झेँ, कति मान्छेलाई ठूलो बनायो यसले, कतिले लात हाने यसको टाउकोमा, त्यति मात्र कहाँ हो र, हेलिकप्टर नै बिसाए शिरमा, गर्नु नगर्नु गरे ।
सगरमाथा चढ्नेहरूलाई आनन्द आइरहेको होला तर मलाई भने दुखेको छ । मेरो शिरको टोपीमा कसैले टेक्दा मेरो स्वाभिमान आहत भएको अनुभूत गर्छु । आँखैको अगाडि उत्तर दक्षिणले यसैको नाम बेचेर दाम हसुरिरहेको छ । म लाटो होइन, तर बोल्न सक्दिँन । म कमजोर होइन, तर केही गर्न सक्दिँन । म बेवकुफ होइन, तर बुझ्न सक्दिन । मेरो घाउ चहराइरहन्छ सगरमाथा भएर । यस्तै छ, मेरो देशको नियति । म जस्तै । तर म अहिले आनन्द उठाईरहेको छु । थुङ्गला पासको चिसो–चिसो हावामा ।
थुङ्गला पास गरेपछि हामीले थिङ्गरीमा खाना खायौै । खाना पनि के खायौ भन्नु दुई गाँस पनि भित्र छिरेको होइन । मान्छेका हात–गोडा, अनुहार पर्पर फुटेर रगत निस्केका देखियो । हावा त्यतिकै । धुलोसँगै उडाउलाजस्तो चलेको छ । ड्राइभर, गाइडलगायत केही स्थानीय तिब्बतीहरू, मारिसकेको नाङ्गो भेँडाको फिलामा चक्कु चलाइरहेको देख्छु । यहाँ काँचै मासु खाने चलन पनि रहेछ । चियाको लागि पानी पनि मनतातो मात्र । मन राख्नका लागि मात्र । प्रायः खानाका परिकारहरू काँचै हुँदोरहेछ । सबै कुरा अनौठो लाग्यो मलाई । “उ चोयु जाने बाटो” यहाँबाट छुट्छ सोनामले भन्यो । हाम्रो हिमाल हो चोयु । चोयु नाउँ हुँदैमा चीनको भन्ने होइन । यसको उचाई आठ हजार दुई सय एक मिटर छ । यो नेपालको आठ सबैभन्दा अग्लो हिमाल मध्यमा पर्छ । “उ पर चोमोलुङ्गमाको आधार शिविर जाने बाटो यहाँबाट एक सय एक किलोमिटरको दूरीमा छ ।” गाइड लाक्पाले बाटो बताउँदै गर्दा मेरो मनमा आरिस जाग्यो, चोमोलुङ्गको यहाँ पनि नाम भजाइएको छ । चोमोलुङ्गमा पनि सगरमाथा नै हो । ए रातै कति भजाउनु सकेको हो नाम पनि ?
“सगरमाथा त त्यताको नाम मात्रै हो दाइ, पैसा जति सबै यतै सोहरपटार पारेको छ । बोराका बोरा पैसा । यहाँको प्रान्तीय सरकारले उठाइरहेको छ । के जानेको छ र नेपालीले ? संसारकै उच्च ठाउँमा एअरपोर्ट बनायो चीनले, संसारकै उच्च स्थानबाट रेल गुडायो ।” छत्र दाईलाई विस्वास्त पार्न खोज्छु र मनमनै कुरा खेलाउँछु– धन्य होस् नेपाली, धन्य होस् सगरमाथा, धन्य होस् नेपाल । उता दक्षिणमा कालापानी भनेपछि कहाँ नेपालको हुन्छ ? भन्ने नेताहरू हाम्रै नेपाली हुन् । अनि कस्को के लाग्छ र ? कहिले जाग्ला हामीभित्र राष्ट्रप्रेमको भावना ? देशको माया कहिले लाग्ला हामीलाई ? कति रोई होलिन् हाम्री आमा नेपाल ?
एक रातको बास बसाई ल्हाक्षेमा रहेको छ । उचाई अझै त्यति घटेको छैन कि क्या हो चिसो त जस्ताको तस्तै छ । स्वार्रर लामो पाटामा फराकिलो सडक, हाम्रो होटल त्यसैको मध्यभागमा पर्छ । हुरुरु बतास चल्छ र सडकलाई बढारेर सफा पार्छ । मान्छेलाई त बढारूँला जस्तो गर्छ अरू कुरा त अरू भैहाले । बाहिरीफेरो मान्छेको अनुहार देखिनु तपस्या नै गर्नुपर्छ कि ? हामी पनि गाडीबाट ओर्लेर सिधै कोठामा ठोक्कियौं । किन ठोक्कियौँ भने यताको ढोकामा पस्नका लागि तीन तह पार गर्नुपर्छ । एउटालाई उचाल्ने, अर्कोलाई ठेल्ने र अन्तिमलाई च्यात्ने अनि परेन त ठोकिनु ।
लगभग न्यालाममा जस्तै होटलको व्यवस्था गरिएको छ ल्हाक्षेमा पनि । दिनभरिको भोक अब मेट्नुपर्ने छ । छत्र दाइको मद्यपान गर्ने धोको अझै पुगेको छैन । खाना नै भनेको जस्तो पाइएन, अव थुक्पा सुक्पा खाएर गुजारा गर्नुपर्ने भयो । दिसापिसाव गर्ने ठाउँ देखेर हरेस खाइयो । डुँडमा दुईतिर पञ्जाले टेकेर छोड्नु पर्ने तलतिर सबै खुल्ला छ त्यस्तै पर्यो भने दिसापिसाव हावाले उडाएर आफ्नै जिउतिर मुखतिर पर्ने प्रवल सम्भावना छ ।
म दङ्ग परेँ । कस्तो प्रकृति प्रेम हो, यहाँको मान्छेहरूको ? उत्ताउलो हावा मात्र होइन बैमानी पनि, कस्ता शान्त स्वभावका भोटेहरू । भित्र गडिएको स्वरमा गुनगुन मात्र छ । ऊ माने पद्मे हुम् मात्र भन्छ कि क्या हो ? रातभरि त्यस्तै ऐठन छ, सिरक डस्नाको वीचमा घुस्दा पनि हुँदैन । बाटामा तातो पानी भरेर खुट्टा डुवाए पनि तातिदैन जिउ, निद्रा पटक्कै लाग्दैन । ननिदाएको भरखर त दुई दिन मात्र भएको हो नि । खाना त जसोतसो भेटिएकै छ । ल्हासा जसरी पनि पुगि हालिन्छ । त्यहाँ दह्रो व्यवस्था भैहाल्छ के को खसखस्, मन बुझाउँछु ।
तेस्रो दिन, बल्ल घामको मुख देख्न पाइयो । सिगात्सेमा आइपुग्दा हामी बसेको गाडी पनि मैलो भैसकेछ । हामीलाई चारतारे प्लायोङ्ग होटलमा सफा हुनका लागि छाडिदिएर आफू पनि सफा हुनजान्छ सोनामलाई लिएर ल्याण्डक्रुजर । आज चाहिँ तीन दिन खर्चेको शक्तिलाई पुनः फर्काउनुपर्नेछ । सफा सुग्धर भएपछि सिगात्से सहरलाई एक फन्को मारियो । खाना खानका लागि भाइ प्रेमले निमन्त्रणा गरेको थियो । संयोगले आज यहाँ एक छेउको बजारमा घुमाए ल्हाक्पाले । त्यहाँको क्युरियो र मासु पसलमा अचम्मको भीड देखेँ । गाई, च्याङ्गरा, भेँडा र बँदेल सबैको छाला मात्र तारिएको छ । छक्क पर्छु । तल थिङरीमा पनि छुरीले काट्दै काँचो मासु खाँदै थिए गाइड र ड्राइभरहरूले । म त सुकाएर सुकुटी बनाएको होला भन्ठानें तर होइन रहेछ । यहाँको हावाले ती काँचा मासुहरू आफैं फ्रोजन हुँदोरहेछ । बिग्रिंदा पनि नविग्रने र धुलो पनि नटिप्ने, त्यसैले सबै चोक्टाहरू लाजै नभएका नाङ्गै देखिन्थे ।
क्युरियो सपमा सुन्दरी भुमोसँग कामसूत्रका विभिन्न भावभंगीमा जनावरको सिङ्ग र ढुंगामा कपेर बनाएको तस्विरको बारेमा एकछिन गफियांै । खाना खाने समय अलि भएको छैन अझै, यसो एक दुई गेम हामीलाई पनि जाने विचार आयो विल्यार्ड खेल्न ।
सोनामले लडाउनु लडाई हाले हामीलाई । अव हामी पनि विल्यार्डको बल लडाएर भए पनि रिस मेट्नु प¥यो भन्दै थिए छत्र दाइ । रेस्टुरेन्टमा विभिन्न बहानामा मानसम्मानले भाइबैनीहरूसँग मनोरञ्जन गरे ।
ल्हासा घुम्नको लागि उसले नै बोलाएको हुनाले म आउने खबर साथी प्रेमलाई पहिले नै थाहा थियो । बेला बेलामा ल्हाक्पाले पनि ऊसँग सम्पर्क भैरहेको खबर सुनाउँथ्यो । हाम्रो सम्पूर्ण यात्रामा उसको विशेष ख्याल रहेका जस्तो लाग्थ्यो । हुन पनि हामी पहिलो पटक ल्हासा आएको भएर केहि सहयोग गर्नपर्ने हुनसक्छ भन्ने कुरामा सतर्क भएको थियो ऊ । जे होस् अघिल्लो दिनको तुलनामा सिगात्सेको बसाई आरामै भन्नुपर्छ । त्यहाँको बसाईमा टूर प्याकेजकै सबै व्यवस्थापन भए पनि भाइ प्रेमले राम्रो हेरविचार र मानमानितो गरेको थियो ।
समयतालिका अनुसार अरू धेरै गुम्बाहरू अनि ऐतिहासिक स्थालहरू हेर्ने कार्यक्रम छ । तर हामीहरू ल्हासा पुग्ने ध्याउन्नमा छौं । बाटोमा त के छ ? जे छ ल्हासामा पो छ त, यहाँ त के ? त्यहाँ पो छ मस्ती त । किनभने प्रेमसँग मेरो सानैदेखिको सङ्गत छ । म बेग्लै व्यवसायमा लागेँ, ऊ भने त्यै व्यवसायमा छ, रेस्टुरेन्ट व्यवसाय । उसको व्यवसाय राम्रो चलेको छ ।
ल्हासामा उसलाई राम्रो फापेको पनि छ । वर्ष–वर्षमा प्रगतिका केहि न केहि नमूनाको रुपमा केहि न केहि जोडेकै हुन्छ । ल्हासातिर गुडेको हाम्रो गाडी मानसरोबर देखिनै आएको रे । यहाँको ब्रह्मपुत्र खोला भारतमा गएर समुद्र बन्छ अरे । गाडी आफ्नै गतिमा हुँईकिरहेछ, बाटोको छेउछाउमा सरकारले बनाइदिएको एकै नासे घरहरू र होटलहरू अनि सुपर मार्केटहरू फुत्त फुत्त पछाडितिर भागिरहेछन् । काला पत्थरको पहाडलाई कन्दनी जस्तो गरी बनाएको बाटोको धेरै तल नदी आफ्नै लयमा बगिरहेको छ । उ ल्हासाको विमानस्थलबाट आउनेबाटो गयो । अव हामी ल्हासाको नजिकै छौ भन्ने कुरा भित्तामा झुण्डिएको “ल्हासामा स्वागत छ” भन्ने ठूलो बोर्डले भन्यो ।
स्नोल्याण्ड होटलमा हाम्रो स्वागतको लागि साथी आइपुगिसकेको रहेछ । यही जोखाङमा नै हो हाम्रो होटल जहाँ न्यु मण्डेला नेपाली रेस्टुरेन्ट अवस्थित छ । जुन रेस्टुेन्टको साहु प्रेम हो । जाडो चाहिँ तिब्बतमा एकछत्र हँुदोरहेछ कि जस्तो लाग्यो । कसरी मिलाएर बनाएको होला हौ । हावापानी पनि सबै ठाउँमा उस्तै उस्तै । पुरा तिघ्रा पाखुरा शो गरुँला भन्ने लागिरहेको थियो, क्या बोर भयो । यस्तै मन चुक्चुकायो । यो जोखाङ भन्ने ठाउँ चाहिँ हाम्रो काठमाडौंको दरवारमार्ग जस्तो रहेछ क्यार । ऐतिहासिक राजदरबारलाई गुम्बामा परिणत गरी अहिलेको सङ्ग्रहालय जस्तो बनाएको हो कि भन्छु म । गोरखपुर, पटना, बनारसमा चोकमा यसो निस्कियो भने सेतै सेतो देख्न पाइन्थ्यो । तर यहाँ त्यसको ठ्याक्कै उल्टो छ बा । एकछिन त छक्कै परे अनि मन बुझाए, यो पनि एउटा अनुसन्धानको विषय हो । किन जोखाङ चोक काल्लै छ ? किन रातो भएन किन सेतो भएन ?
“हैन हौ भाइ तपाई त एकोहोरो हुनु भयो त ल्हासासँग प्रेम प¥यो कि कसो ?” छत्र दाइको आवाजले म झस्किएँ ।
“कुरा ठीकै गर्नु भो दाइ, पहिलो प्रेममा यस्तै हुन्छ भन्थे प्रेम गरेकाहरूले ।” मैले सतही जवाफ दिएँ । वास्तवमा दाइको प्रश्नले अञ्जानैमा मेरो पहिलो प्रेमको याद दिलाएको थियो । एक क्षणको निम्ति म थाहै नपाई भावुक हुन पुगेछु । तर मेरो यो आफ्नो मनको कुरा खोलिन कसैलाई ।
हामी दोहोरो मानसम्मान र व्यवस्थापनमा पर्ने छाँट आयो एउटा टुर कम्पनीले गर्ने त छँदैछ, अर्को साथीको तर्फबाट पनि हुने भएको छ । हाम्रो योजनानुसार ल्हासाको पोताला दरबार र सिटी टुर मुख्य तालिकामा टुर कम्पनीले र बाँकी सबै जिम्मा प्रेमले लिने भयो । दालभात तरकारी, जीउधन सरकारी, अव भएन त मज्जा । उता छत्र दाइ दालभात खान नपाएको पनि चार दिन भैसक्यो भन्दै हुनुहुन्थ्यो ।
राजा अंशुबर्माकी छोरी भृकुटी त यहाँ ल्याएको रहेछ स्रोङचोङ्ग गोम्पोले । कठै हाम्री दिदी । सातौं सताब्दीतिर यहाँका बलवान राजाले पेकिङ्गबाट र काठमाडौंबाट दुई राजका छोरी राजकुमारीहरू विवाह गरेर ल्याएका रहेछन् । काठमाडांंैकी राजकुमारीले तिब्बतमा बुद्ध धर्मको शिक्षा प्रसार गरेकोले कालान्तारमा तिनलाई हरिततारा देबीको रुपमा लिने गरेको बुझियो । त्यसैले बुद्ध धर्ममा हरिततारालाई देबीको रुपमा पुजिने ग्रन्थहरूमा उल्लेख छ । “भनेपछि नाता त हाम्रो पहिलेदेखि नै रहेछ नि, हामी पो आउन ढिलो गरियो हैन त, प्रेम जी ?” मुसुक्क हाँस्नु भो प्रेम जी मेरो ठट्टा सुनेर ।
पोताला दरबारको भ्रमणको लागि हाम्रो टिकट पहिले नै तयार भैसकेको थियो । अव मात्र ल्हाक्पासँग समय तालिकाको पछि लाग्नुपर्ने हुन्छ । ल्हासामा आजको पहिलो साँझको खानाको सौजन्य न्यु मण्डेलाका प्रेमजीले गर्नुभएको छ । प्रेमले प्रेमपूर्वक सबै कुरा देखाए आफ्नो चलिरहेको व्यवसाय, उसँग साझेदारी गरेका साथीहरू, पहिलाको शुरुवात, हालको अवस्था अनि भावी योजना । भरत बस्नेतले मसँग भोजनगृहको बारेमा पनि यसरी नै व्याख्या गरेका थिए कुनै दिन । प्रेमजीमा व्यवसायी तथा लेखक कर्ण शाक्यको प्रभावको ह्वास्स गन्ध आउँछ । आउन पनि किन नआओस् उनैकोमा त काम गरेका हुन् उनले ल्हासा आउनुभन्दा पहिले ।
कुनै बेला हामीसँगै थियौं । नेपाली परिकारहरूको वीचवीचमा तिब्बती परिकारहरू पनि घुसेको छ । “हलुवामा बालुवा यो घुस पैठ भन्ने कुरा चाँहि जहाँ पनि हुँदो रहेछ” भनेर ठट्टा गर्दै छन् छत्र दाइ । थिङरी धिङ्गरीतिरको वाक्क लाग्दो काँचो मासुको परिकारको सम्झनाले हुनुपर्छ सायद उहाँले यसरी ठट्टा गरेको । यहाँ भेँडा चाङग्रा काटेर छाला तारेपछि केहि पनि गर्नुपर्दैन, चिसो हावाले त्यतिकै फ्रिजरमा राखेको जस्तो साह्रो हुन्छ । ट्याक्टर र गाडामा उदाङ्गै राखेर काठ ढुङ्गा लगे जसरी लगिन्छ । स्थानीय बजार र होटलमा त्यतिकै फिजाएर राखिन्छ । त्यो नाङ्गो फिला र साँप्रालाई धारिलो तीखो चुपीको सहायताले मसिनो टुक्रा निकालेर दारिन्छ । हाम्रो लागि यो सुन्दा अनौठो अनि देख्दा वाक्क लाग्दो कुरा हो । तर यहाँको यथार्थ यही हो । प्रेमले सुझाए ।
सरर… ल्हासाको सिटिटुरको एक फन्को लागाएपछि गाडी पार्किङ्गहुँदै ढुंगा छापेको टुँडिखेलतिर लाग्यौं । ल्हाक्पा आज विहानैदेखि तिबेटन पोसाकमा तिरिक्क परेर हँसिलो मुद्रामा बर्बराई रहेको छ । पहिले त्यस्तो अनुहार देखेको थिइँन मैले उसलाई, आज मुड फ्रेस छ । हामी दश–बाह्र जना सबैलाई दिल खोलेर पोताला दरवारको बारेमा ऐतिहासिक पृष्ठभूमिको व्याख्या गरे । हाम्री चेली भृकुटीको पालामा बनेको रहेछ यो विशाल भव्य दरवार । ‘तस्बिर आफै बोल्छ’ भनेजस्तै यस विशाल दरवारको निर्माण गर्ने कलाकारको महानता बाहिरैबाट अवलोकन गर्दा थाहा हुन्छ । पर पर उभिएका मानिसहरू साना साना खेलौना गुडिया जस्ता लाग्छन् । कस्तो विशाल यो ढुंगे टुँडिखेल । बत्ति, पानी, बिजुली, बगैंचाको कति सुन्दर व्यवस्थापन । ओहो कुरागरि साध्यै छैन । रातो र सेतो गरी व्यवस्थापनको दृष्टिकोणले यस दरवारलाई दुईभागमा विभाजन गरिएको छ । यस ढुङ्गे टुँडिखेलको एउटा कुनामा उभिएर उत्तर दिशाको आकाशतिर हेर्दा यसको भव्यभाको अनुमान मात्र लगाउन सकिन्छ ।
ल्हाक्पाले तेह्र तले पोताला दरबारको उचाई एक सय पन्ध्र दसमलव सात सय तीन मिटर रहेको जानकारी निरन्तर दिइरहेका छन् । ढुंगाबाट बनेको विशाल सिँढिको टाउकोमा टेक्दै ठूलो ढोकाको मुखमा पुग्यौं लावालस्करै । ल्हाक्पा भट्भटाको भट्भटाकै छ । हरेक कोठा चोटामा पुगेर, हामीहरू दङ्ग परेर टाउको मात्र हल्लाईरहेका छौ । अहिलेको दलाई लामाभन्दा पहिलेको धेरै दलाई लामाका अवतारहरूको समाधिलाई व्याख्या गर्दै छ ल्हाक्पा । सुनै सुनको बाकसतिर आँखा तानियो मेरो ।
“हैन हौ, छत्र दाई ल्हासामा सुन छ भनेको साँच्चै रहेछ । कत्रो ठूला–ठूला सुनका डल्लाहरू ओहो । त्यसैले पो भोटेहरूले सुन पोको पारेर लाँदोरहेछ । मैले त नेपालमा दुई थरीको तिब्बतेनमा कि त शरणार्थी कि चाहिँ यस्तै पोताला जस्तो दरवारको साहु देखेको छु ।” मेरो कुराको कुनै प्रतिकृया नजनाई छत्र दाइ आफ्नै तालमा अधि बढिरहनुभयो ।
यहाँको दरवार हेर्दा हेर्दा थकित भइयो, अझै सकिएको भने छैन । पैतालाले समूहलाई पछ्याई रहे पनि मन त हाम्रो बौद्ध स्वयम्भुतिर पुगेछ । हाम्रोतिर पनि साना छैनन् गुम्बा स्तुपाहरू । सुन बोकेर गएपछि कस्को के लाग्छ र । जे भए पनि हाम्रो बुद्ध त हुन बरु, विश्वमा शान्ति फैलाई रहुन निरन्तर । प्रेम जीले समय नै पुग्दैन, बरु एक महिना यतै बसौंन भन्नुहुन्छ । छत्र दाइले “ठाउँ हेर्न पनि पाईने तलव पनि पाईने किन नबस्नु त” भन्दै छड्के हान्छन् । म चाँहि यहि समयलाई पुर्याएर काम गरौंन भन्ने पक्षमा छु । घुम्न पनि ल्हासाको कुना काप्चा सम्पूर्ण ठाउँ घुमायो प्रेमको गाडीले, त्यसमा हात चाँहि प्रेमकै छ । के खाईएन, के गरिएन, कहाँ गईएन ? यस्तो मजा अरु ठाउँमा के आउला ? धन्न प्रेम थियो र हामी मज्जाले यार्सागुम्बा, सर्प, विच्क्षी र हिमाली सञ्जीवनी बुटि हालेर बनाएको रक्सी चाखियो । “हैन युरोप नै बनाएछन् नि चीनले ल्हासालाई” मैले मन मनै यस्तो सोचेँ । घरहरूको शैली युरोप अमेरिकाको जस्तो भए पनि अनुहार चाँहि तिब्बती शैलीमा नै रहेछ । मुख्य सडक हवाईजहाज बिसाउन मिल्नेगरि बनाएको रहेछ ।
मन मनै सोँचे अहिले त यस्तो खुला फ्रिज जस्तो छ तिब्बतमा, हामी दिदी भृकुटी कसरी कति कष्टले हरित तारा बन्न सफल भइन होला ? अनि उनैको सम्झनामा आदरकासाथ, छत्र दाइ र मैले समवेत स्वरमा भन्यौ, “ल्हासो ल्हासा”

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *