– रामकृष्ण सुनुवार ‘आँकाला’
तिमी मुस्कुराई रहेछौ तस्वीरमा
साँच्चै त तिमी कस्तो छौ ?
पिडा छ कि कतै तन दुःखेको ।
आँखामा तिमीलाई टाँसेर
मुटुमा तिमीलाई बोकेर
दुःख सुखका क्षण काटी रहेछु
समयको तरवारले चटाचट ।
गुलावी तिम्रो रङ्ग बदलिएन
घण्टौं घोरिएर हेर्दा पनि
तिम्रो मुस्कान टुटेन
तर बोल्दै बोलिनौ तस्वीरमा
निष्ठुरी बनि टोलाई रह्यौ
सम्झनाले तिम्रो सताई रह्यो ।
तिमी भन्थ्यौ जिन्दगी अक्षरस हो
जसलाई युगौंयुगसम्म पढ्नु पर्छ
तर म भन्छु
जति पढ्यो उति गल्ती हुन्छ ।
बरु पाण्डुलिपी नहराउने गरी
एकै पल्टमा लेखि राखुँ कि ?
यो जिन्दगीले कोल्टे फेरी हालेमा
शब्द शब्द दोहरिने गरी
तातो स्वासमा प्रेम स्पन्दनका
ढुकढुकीहरु बढे झैं
सदा याद आई रहने गरी
प्रेम रस सम्झि पिई दिउँ कि !
Please follow and like us: