‘जीवन फूल कि काँडा’ कृतिका लागि झमक घिमिरेले यसवर्षको मदन पुरस्कार पाएपछि यतिखेर नेपाली साहित्य वृत्तमा उनकै चर्चा छ । बधाइ र शुभकामनाले फेसबुकका भित्तासमेत भरिएका छन् । पुरस्कार दिने निर्णय कसरी हुन्छ भन्ने कुराको नालीबेली र यसका एकल तजविजी निर्णायक कमल दीक्षितका बारेमा थाहा पाउने हो भने स्वाभिमानी झमकले सायदै पुरस्कार स्वीकार गर्ने थिइन् होला । झमकको आनिवानी नजिकैबाट बुझेको तथा उक्त गुठीमा विगतमा आफ्ना पुस्तक दर्ता गरेकै कारण पछुतोको भुङ्ग्रोमा परेको पंक्तिकारलाई विश्वास छ- यो पुरस्कारले झमकलाई जीवनभर पीडा दिइरहने छ विगतमा पुरस्कार पाउने पारिजातहरुलाई जसरी नै ।
हुन पनि साहित्यमा कलम चलाउने तर मदन पुरस्कारको भित्री वास्तविकता थाहा नपाएको हरेक श्रष्टाले यो पुरस्कारको चाहना राख्छ । यो पुरस्कार पाउन सके स्थापित हुन्थे भन्ठान्छ । सोही पुरस्कारका लागि हरेक वर्ष पुस्तक दर्ता गर्नेहरुको ताँती नै लाग्छ । त्यसै कारण यसका हर्ताकर्ता र समर्थकहरु यो नेपाली साहित्यको नोवेल पुरस्कार हो भन्ने दावी गर्न पनि चुक्दैनन् । तर प्रश्न उठ्छ- युगमा विरलै जन्मने महाकवि लक्ष्मीप्रसाद देवकोटा, कविशिरोमणि लेखनाथ पौडेल नाट्य सम्राट बालकृष्ण सम, विश्वेश्वरप्रसाद कोइराला, सिद्धिचरण श्रेष्ठ, लैनिसंह बाङ्देल, केदारमान व्यथित, माधव घिमिरे, भूपि शेरचन, युद्धप्रसाद मिश्र, विजय मल्ल, गोविन्द गोठाले, इन्द्रबहादुर राई, केशवराज िपंडालीहरुका कृतिले समेत नपाएको यो पुरस्कार कसरी त्यति सम्मानित स्थान हाँसिल गर्न सक्छ आफ्नो इमान गुमाएर त्यो पुरस्कार थाप्नेहरुको दाँजोमा प्रेमा शाह, गोविन्द भट्ट, देवकुमारी थापा, परशु प्रधान, विश्वम्भर चाचल, मनु ब्राजकी, भाउपन्थी, बेन्जु शर्मा, भागीरथी श्रेष्ठ, खगेन्द्र संग्रौला, भुवन ढुंगाना, पूर्ण विराम, मजु काँचुली, ध्रुव सापकोटा, नारायण ढकाल, माया ठकुरी, पद्मावती िसंह रामप्रसाद ज्ञवाली, सुधा त्रिपाठी, गोविन्द वर्तमान आदिका रचना कमजोर छन् ? आश्चर्यको कुरा हो साहित्यकार केदारमान व्यथितले आजीवन मदन पुरस्कार पाएनन् तर कृष्णचन्द्रिसंह प्रधानले लेखेको ‘केदारमानको काब्यसाधना’लाई २०२७ सालमा यो पुरस्कार दिइयो । त्यसलगत्तै केदारमानले एउटा सार्वजनिक कार्यक्रममा दीक्षितको वेइज्यती नै गरेका थिए अश्लील शब्दसहितको गाली बर्षाएर…। मलाई नदिने म बारे लेखिएको किताबलाई दिने भन्दै । त्यस्तै कवि चित्तधर हृदयको चित्त पनि जीवनभर पुरस्कारकै आसमा फाटिरह्यो ।
कमल दीक्षितको ‘गुरुभेटी’ पुस्तकमा उल्लेख भएअनुसार महाकवि देवकोटा उनका गुरु हुन् । तर उनले आफ्ना गुरुलाई जीवनपर्र्यन्त एक आँखाले पनि देखिसहेनन् । एकपटक महाकवि देवकोटा रानी जगदम्बालाई भेट्न गएका बेला अपमानपूर्वक फर्काइदिने पनि उनै दीक्षित थिए । बनारसमा अभर परेको बेला देवकोटालाई एक रुपैयाँ चन्दा दिएको कुरामा गर्व गर्ने दीक्षितले चाहेका भए पुरस्कारमा कृपा गरेर मात्र होइन अरु माध्यमबाट पनि देवकोटाको आयु अरु दुईचार वर्ष लम्ब्याउनेसमेतको हैसियत राख्थे । किनकि महाकवि देवकोटा आर्थिक संकटमा गुजि्ररहेका बेला दीक्षित रानी जगदम्बाको सचिव भएर चारैतिर पैसा छरिरहेका थिए । तर उनले कहिल्यै देवकोटाको हित चिताएनन् । हुन त उनले सोही पुस्तकमा एकडमीका तात्कालीन उपकुलपति बालचन्द्र शर्माले मातहतका सदस्यहरुलाई गुठीमा पुस्तक दर्ता गर्न प्रतिबन्ध लगाएकोले आफूले चाहेर पनि लेखनाथ सम र देवकोटालाई मदन पुरस्कार दिन नपाएकोमा पछुतो मानेका छन् । तर जानकारहरुका भनाइमा त्यो उनको पछुतोको रोदन मात्रै हो । यदि उनले साँच्चै दिन चाहेको भए ती श्रष्टाका घरका कुनामा खाँदिएका पाण्डुलिपिलाई पनि दिनसक्थे । पुरस्कारका लागि पुस्तक दर्ता गर्नुपर्ने बाध्यात्मक प्रावधान हटाउन पनि सक्थे । तर उनी अहिले पनि त्यो प्रावधान हटाउन चाहँदैनन् किनकि दीक्षित र उनको परिवारलाई चाकडी असाध्यै मन पर्छ । अनि उनीहरु नै गुड्डी हाँक्छन् नेपाली साहित्यको श्रीबृद्धिका लागि… । यदि उनीहरु साहित्यको साँच्चै श्रीबृद्धि चाहन्छन् भने यसवर्षको उत्कृष्ट पाँचमा यी पुस्तक थिए भनेर सार्वजनिक गर्न यिनलाई केले छेकेको छ ?
मैले पुरस्कार पाउष भनेर पुस्तक दर्ता गर्नु आफैँमा पाउमा त्वम् शरणम् गर्नु हो । तर पछिल्लो नेपाली कम्युनिष्ट आन्दोलनमा विद्यावारिधि गरेका एकजना स्थापित लेखक भन्छन् ूत्यो संस्था यतिधेरै कुहिएको सिनो हो भन्ने थाहा पाएको भए म पुरस्कारका लागि मेरा किताब दर्ता नै गर्ने थिइनँ । थाहा नपाएर दुईटा किताब दर्ता गरेकोमा मलाई जीवनभर पछुतो हुने भो ।’ यस्तै अनुभव पंक्तिकारलाई पनि भएको छ । यसो हुनुको मूल कारण भने विगतमा पुरस्कार वितरण गर्दा अपनाइएको विधि नै हो ।
औपचारिकताका लागि हरेक वर्ष गठन गरिने गुठीको निर्णयक समितिमा दुईपटक परेका एकजना सदस्यको भनाइमा कमल दीक्षितले सुरुमै ‘ल है सर्वसम्मत निर्णय गर्नुस् । विवाद भयो र गुठीले हस्तक्षेप गर्नुपर्यो भने तपाईँहरुकै बेइज्जत हुन्छ’ भनेर विवेकीय अधिकार कुन्ठित बनाउँछन् । उनको भनाईमा बैठकमा दीक्षित परिवारले राखेको प्रस्तावमा कमिटीका अरु सदस्यले असहमति राख्नुको कुनै अर्थ नै हुँदैन । विडम्बना भन्नुपर्छ मदन समशेरको पुरानो तबेलामा बर्षमा एकचोटि पाक्ने जिलेबी र बैठक भत्ता रु एक हजारका लागिसमेत आफ्नो विवेक र स्वाभिमान कमल दीक्षितको पाउँमा चढाउन लालयित हुनेहरुको खाँचो साहित्य वृत्तमा पटक्कै छैन ।
धेरैलाई थाहा नभएको कुरा हो २०६२ साल बैशाख अन्तिमतिर छापिएको नारायण वाग्लेको पल्पसा क्याफेलाई ०६१ सालको मदन पुरस्कार दिनुका पछाडिको प्रमुख कारण जगदम्बा प्रेसको घाटा हो । कान्तिपुर एफएममा कार्यक्रम चलाउँदा अश्लील बोलेवापत घोक्राइएका किरणकृष्णले सुरु गरेको नेपालय त्यसबेला प्रचारको तुजुक लिएर बजारमा देखापरेको थियो । र घाटामा जान थालेको उक्त प्रेसलाई चलाउने अन्तिम उपाय स्वरुप दीक्षित परिवारले उनीसँग गोप्य सहमति गरेको थियो- जगदम्बा प्रेसमा किताब छाप्नुपर्ने र साङ्गीतिक कार्यक्रम माकुराले जालो लगाएको गुठीको सभाहलमा गरेर दुवैलाई स्थापित हुन मद्दत गर्ने । यसले दुवैका हातमा लड्डु पारेरै छाड्यो । यही निकृष्ट स्वार्थबाहेक त्यस वर्ष सर्वोत्कृष्ट मानिएको गोविन्द वर्तमानको ुसोह्र साँझहरुलाई उपेक्षा गर्नुपर्ने कुनै आधार देखिँदैन ।
०५५ सालमा दीक्षितका अनन्य मित्र लक्ष्मीदास मानन्धरले साल्ट ट्रेडिङ साचालनको मामलामा उनलाई घात गरेपछि दिनेश अधिकारीको पासा पल्टियो । शेयरको ठूलो हिस्सा दीक्षित परिवारको स्वामित्वमा रहेको यो संस्थाभित्रको भ्रष्टाचार मुद्दा अदालतमा विचाराधिन रहेका बेला संयोगले दिनश अधिकारी महान्यायाधीवक्ताको कार्यालयमा थिए । मुद्दा जिताइदिएवापत् मदन पुरस्कार पाइने भएपछि अघिल्लो वर्ष ‘इन्द्रजात्रा’ निकालेपछि बचेका तथा पत्रपत्रिकामा छापिएका रहलपहल कविता लिएर अधिकारी भूमिका लेखाउन डा. तारानाथ शर्माकहाँ पुगे । उनले भने ‘यो किताबले यसबर्षको मदन पुरस्कार पाउँदैछ । भूमिका लेखिदिनु पर्यो ।’ तर पाण्डुलिपि पढिसकेपछि शर्माले किटेरै भने ‘तपाईँ जेसुकै भन्नुस् यस्तो काइते किताबले चै मदन पुरस्कार पाउँदैन ।’ कुरा सुनेर अधिकारी राँकिनु स्वाभाविक थियो । अन्नतः अधिकारीको ‘अतिरीक्त अभिलेख’ २०५६ सालको पुरस्कार पायो । जवकि त्यसअघि फुटकर रुपमा छापिएका रचनाको सँगालोलाई पुरस्कार नदिने भनी गुठी आफैँले मापदण्ड बनाएको थियो । त्यसबेला अधिकारीसँग भएको संवादका बारेमा शर्माले आफ्नो संस्मरणात्मक कृति ुचरी भररुमा समेत उल्लेख गरेका छन् ।
दीक्षित निकट स्रोतकै भनाइमा २०५१ सालमा फादर विलियम वर्कले ‘सही शब्द’मा यो पुरस्कार पाउनुका पछाडिको कारण पश्चिम बंगालको एउटा कि्रश्चयन ट्रष्टले दीक्षित परिवारको स्वामित्वको अग्रेजी पत्रिका नेपाली टाइम्सका लागि दिने गतिलो विज्ञापन प्रमुख कारण हो । आफ्नै दाजु विष्णुप्रसाद धिताल गुठीको सदस्य-सचिव भएका बेला विनोदप्रसाद धितालले २०५२ मा यो पुरस्कार पाउनु पनि नौलो कुरा रहेन । २०५३ मा लोकेन्द्रबहादुर चन्दले बिस्रजन कथासङ्ग्रहका लागि पुरस्कार पाउँदा प्रेमा शाहदेखि ध्रुव सापकोटासमेतका दर्जन बढी कथाकारको अपमान भएको अनुभव गर्नेहरु थुप्रै थिए । स्रोतको भनाइमा चन्दलाई यो पुरस्कार राजेश्वर देवकोटाको भनसुनपछि हात लागेको हो । किनकि गुठीका तात्कालीन सदस्य-सचिव धिताल र देवकोटा फुपुचेला-मामाचेला हुन् । उता २०४१ मा काचन पुडासैनीको ुप्रत्यागमनुले पाउनुको कारण चै उनकी भाइबुहारी अर्थात् डा. सोम पुडासैनीकी पत्नी दीक्षितकी फुपूकी छोरी हुन् । भनसुन र चाकडीका यस्ता घटना हरेक वर्ष हुने गरेका छन् अपवादबाहेक । तर अन्जान साहित्यप्रेमीहरु त्यही कुपित पुरस्कारलाई नोवेल पुरस्कारसँग दाँजिरहेका छन् ।
त्यति मात्रै होइन कृष्ण धरावासीले शरणार्थीमा नपाएर राधामा तथा जगदिश घिमिरेले लीलामु, सावितिजस्ता स्तरीय कृतिमा नपाएर अन्तर्मनको यात्रामा पाउनु गतवर्ष गैरसाहित्यिक किताब ुनेपालका बालीनाली र तिनको दीगो विकासुलाई दिइनु आदिका पछाडि पनि अनेक घटनाक्रम छन् । युवराज नयाँघरेको एकहातको तालीले पाउनुका पछाडिको कथा पनि बेग्लै छ । यसबारेमा पछि छुट्टै सन्दर्भमा उल्लेख गरौँला । तर खोजबाट फेला परेको सत्यचाहिँ के हो भने मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार पटक्कै निष्पक्ष छैनन् । साथै स्वाभिमानी तथा प्रगतिशील विचार राख्नेहरुप्रति यसका हर्ताकर्ताहरु असाध्यै पूर्वाग्रही छन् ।
हुन त स्थापित साहित्यकारहरुलाई पुरस्कार दिन नसकेकोमा कमल दीक्षित स्वयम्लाई पछुतो भएको देखिन्छ । प्रायश्चित स्वरुप मदन पुरस्कार पुरस्कार दिन छुटेकाहरुलाई दिने गरी ४४ सालमा उनले जगदम्बाश्री पुरस्कार सुरु गरेका छन् । तर यो पुरस्कार छनोटको मापदण्ड पनि चाकडी नै प्रमुख भएको देखिन्छ । रमोलादेवी शाह छिन्नलताले नेतृत्व गरेको कमिटी भित्र रहेका प्रत्येक साहित्यकार कमलबाबुको पाकेटका पुरस्कार पाउनबाट वन्चित नहुनु २०२५ सालमा मदन पुरस्कार पाइसकेका धर्मराज थापाले २०५७ सालमा फेरि जगदम्बाश्री पाउनु आदि यसका आधार हुन् । कमलबाबुका अगाडि गएर आफ्ना दुई हात माडेपछि केही न केही झारेरै छाड्ने भएकाले छिन्नलतालाई त्यसबेला साहित्यवृत्तमा ‘चाउचाऊ’ नै भन्ने गरिन्थ्यो ।
पुरस्कार वितरणमा कुन हदसम्मको चाकडी हुन्छ भन्ने कुराको अर्को प्रमाण डायमण्डसमशेर राणा हुन् । जीवनको उत्तरार्धमा एकपटक त उनले दीक्षितसँग मुख फोरेरै भनेका थिए ‘धेरै पर्खे मदन पुरस्कार पाइनँ । अब म धेरै बाँच्दिन । मलाई जगदम्बाश्री त दिनोस् ।’ डायमण्डसमशेरका बारेमा गुगलमा उल्लेख भएअनुसार त्यसपछि दीक्षितले भने ‘यसवर्षलाई मैले धर्मराज थापालाई बचन दिइसकेको छ । म अर्को वर्ष दिउँला ।’ त्यसको अर्को वर्ष २०५८ मा उनले सो पुरस्कार पाए पनि । उता धर्मराज थापाले त सार्वजनिक रुपमै भनेका छन् ‘पुरस्कार पाउनका लागि मैले एकवर्षसम्म कमलमणिको पाउ मोलेको छु…।’
मदन पुरस्कार दिन छुटेकाहरुलाई सोधभर्ना गर्नेगरी सुरु गरिएको जगदम्बाश्री पुरस्कारको थालनी २०४५ सालमा नारायणगोपालबाट गरिएको थियो । त्यसको अर्को वर्ष मह जोडीले पाए । तर नातिकाजीले पाउन सकेनन् । अम्बर गुरुङलाई पनि १० वर्षपछि ०५४ सालमा मात्रै दिइयो । जानकारहरुका भनाइमा पुरस्कार लिने निर्णय गरिसकेर िसंढी ओर्लिसकेपछि पनि उनले एकपटक ‘लिन्न’ भनेका थिए । उनको असन्तुष्टि थियो ‘के मैले नारायणगोपालभन्दा १० वर्षपछि सिर्जनाकर्म सुरु गरेको हुँ ?’ यद्यपि उनलाई फकाइयो । तर उनले पुरस्कार थापिसकेपछिको मन्तब्य नै दिएनन् असन्तुष्टिका कारण । जगदम्बाश्री पुरस्कार वितरणका यस्ता विकृतिबारे थाहा पाएकै कारण कमलबाबु घरमै गएर आग्रह गर्दासमेत कविवर माधवप्रसाद घिमिरेले यो पुरस्कार अस्वीकार गरे । जवकि घिमिरेलाई नजिकबाट नचिन्नेहरु उनलाई ‘लोभी’ भन्ने गर्छन् ।
कमल दीक्षितलाई बर्मा भ्रमणको अवसर मिलाएर २०५३ सालमा ठाकुरप्रसाद गुरागाइलाई जगदम्बाश्री दिलाएका डा। दुबसु क्षेत्री यसवर्षको मदन पुरस्कार थाप्न हात धोएरै लागेका थिए । प्रेस किनिदिने लोभ देखाएर साझालाई नै टाट पल्टाउने गरी ५०० पृष्ठको कवितासङ्ग्रह ‘अश्वमेघ युद्धका घोडाहरु छाप्न लगाएका उनले आफ्नो मण्डलीमार्फत् प्रचारप्रसार पनि उत्तिकै तीब्र पारेका थिए । दुवसुको उक्त किताबका बारेमा कमलमणिले बैठकमा गरेको टिप्पणी सुनाउँदै गुठी सूत्र भन्छन् ुयस्तो यान्त्रिक किताबलाई पुरस्कार दिएर मदन पुरस्कारको शाखलाई डुबाउन चाहन्नँ ।’ यद्यपि यसवर्षको मदन पुरस्कार घोषणाको भोलिपल्टै दुबसुको किताबले साझा पुरस्कार हात पारे ।
स्रोतको भनाइमा झमक घिमिरेको किताबका बारेमा समेत निर्णयक कमिटीमा निकै विवाद भएको थियो । कमिटीका बहुमत सदस्यहरुको राय थियो ‘यो किताबलाई पुरस्कृत गर्ने हो भने पुरस्कारकै बद्नाम हुन्छ । कृतिलाई नभइ अपाङ्गतालाई पुरस्कार दिएको ठहर्छ । अर्को वर्षदेखि गतिला लेखकहरु कसैले पनि पुस्तक दर्ता गराउँर्दैन ।’ तर सदस्य-सचिव रहेका कुन्द दीक्षितले कडा प्रतिवाद गरे ‘तपाईँहरुले भन्दैमा हुन्छ हेरौँ न कसले दिँदोरहेनछ किताब मदन पुरस्कार गुठीसँग टक्कर लिन सक्ने को छ ?’ दीक्षित परिवारका पाकेटका पुरस्कारभन्दा नइ मातहतका पुरस्कार धेरै निष्पक्ष भएको अनुभव सुनाउने स्रोत भन्छ ‘मैले त अबदेखि मदन पुरस्कार गुठीको छनोट कमिटीमा कहिल्यै बस्दिन भनेर कान समातेर आएको छु ।’
प्रसिद्ध जलस्रोतविद् दीपक ज्ञवालीलगायतका आफ्नै भााजाभााजी तथा अजय अर्जुनमणिसमेतका भाइभतिजाका नजरमा समेत विझाउने कमल दीक्षितका बारेमा नरेन्द्रराज प्रसाईँले गरेको टिप्पणी पनि उनको चरित्र उजागर गर्ने खालको छ । दीक्षितले नै सम्पादन गरेको गुठीको मुखपत्र ‘नेपाली’को २०६६ कार्तिक अंकमा लेखिएको छ ‘…नेपाली भाषासाहित्यमा यहाँको अनुयायी भएर अनाटकीय ढंगबाट उपस्थित भइरहेको छु । मलाई माचमा बस्न माला लगाउन र पुरस्कार थाप्न संकोच लाग्छ भनेर एकदशकको छेउछाउदेखि लेख्दै आएको बेहोरा पनि हो । तर पनि विशेष गरी जगदिशसमशेर राणालाई मैले मदन पुरस्कार पाएको हेर्ने इच्छा थियो । अनि त्यही परिवेशमा मैले राणालाई मदन पुरस्कारको चटकबारे एउटा लामो चिठी लेखेर भारतको सिमला पठाएको थिएँ । वास्तवमा ईश्वरबल्लभदेखि जगदिशसमशेर राणासम्मले जति जोड गरे पनि मैले मेरा कुनै कृति मदन पुरस्कारको चिट्ठामा सामेल गराइनँ । बिन्तीपत्र हालेर आफ्नो योग्यता एकल तजविजीको तुलोमा जोखीपाऊँ भन्नु र आत्महत्या गर्नु मेरो लागि बराबर हो ।’++++++++++++++++++++++++++++
[जनआंस्था साप्ताहिकको भदौ २२ गतेको अंकका लागि तयार गरिएको मूल लेख । स्थानाभावका कारण केही काँटछाँट हुनजाँदा केही पाठकमा भ्रम पर्न गएकाले यहाँ पूर्णअंश राखिएको हो ।}