-दिलिप अविरल
वरूण ठिमापुर गाउँको एक गरिब केटो भए पनि शिक्षित र मेहनती थियो । भाग्यमा भन्दा कर्ममा विश्वास राख्ने ऊ सँधै कामलाई पूजा गर्थ्यो । हातमा डिग्रीको प्रमाणपत्र भए पनि वेरोजगारको चपेटामा परेर ऊ भित्रभित्रै आहात भएको थियो । घरमा भएकी बूढीआमाको पालन पोषण पनि उसैको काँधमा भएकोले ऊ अर्काको मजदुरी गर्न विवश थियो । आमाको पालन पोषण र जीविको पार्जनमा अहोरात्र खटिनु परेकोले ऊ गाउँ समाजका सभा भेलामा कहिल्यै सहभागी हुन पाउँदैन थियो । उसका हरेक दिनाचार्यहरू अरूकै मजदुरीमा बित्ने गर्थ्यो । तर एक दिन उसैको गाउँमा ‘समता माध्यमिक विद्यालय’मा नेपाली शिक्षकको माग भएकोले त्यसमा प्रतिस्पर्धा गर्ने अठोट गर्यो ।
नभन्दै प्रकृया पुर्याएर ऊ पनि परिक्षामा सामेल भयो । परिक्षामा सम्मेलितहरू मध्ये ऊ नै मेहनती र क्षमतावान् भएकोले उसमा ठूलो आशा थियो । आँफू नै प्रतिस्पर्धीहरू मध्ये प्रथम हुने कुरामा विश्वास लिंदै सपनाका खेतीहरूमा आशारूपी पानी हाल्दै भविष्यको रेखाङ्कन् गर्दै थियो । अचानक परिक्षकले आजको प्रतिस्पर्धामा ‘मठ्ठुराम गौचन’ यस विद्यालयको योग्य शिक्षक ठहर गर्यो भन्दा ऊ छाँगाबाट खसे जस्तै भयो । ऊ भन्दा कम क्षमतावान् व्यक्ति राम्रो शिक्षकको रूपमा नियूक्ती भएकोले वरूणलाई आफ्नो योग्यता ,क्षमता र प्रमाणपत्रप्रति खेद लाग्यो ।त्यसपछि उसले मनभरी सजाएका अनगिन्ति सपनाका महलहरू एकाएक ढल्दै गए खोई के के सोच्दा सोच्दै ऊ साँझपख घर पुग्यो र आफ्ना कागजी प्रमाणपत्रहरू फुसको छानोमा सिउरिएर दिन भरी गोठमा भएका भकाराहरू धमाधम सोर्न थाल्यो ।क्षितिजमा, साँझ भने औंशीको निष्पट्ट रात बोकेर ऊ भएतिरै छिटो छिटो लम्किरहेथ्यो ।
मधुमल्ला मोरङ
हाल कतार ।