काठमाडौ, मंसिर १६ – १) काबुलको लोककथामा त्यहाँको हजारा जाति र नेपालका किराँत एउटै थिए – सुरुमा पर्सियाबाट आउँदा । तर, हजारा जातिको नेता लालेहाङ नेपालमा पुगेर गोरखा बन्यो । (चेम्जोङ पेज ४)

हजाराको बारेमा यथार्थ हो (चङ्गेजखानको १२२१ मा भएको बामियान आक्रमणका बेला छुटेको हजार जनाको डफ्फाबाट ‘हजारा’ आउँछ ।

२) तिनले आसाम र लोहितलाई म्लेच्छ देश वा मेचेहरूको देश भन्दथे । (चेम्जोङ पेज ७)

म्लेच्छ देश भनेको मलय पर्वतयुक्त पहिलेको मलाया र अहिलेको मलेसिया हो । बरु मलय पर्वतलाई चन्दनयुक्त मानिएको छ र चन्दन वृक्ष -स्यान्टलम एल्बम) को उत्पत्ति मलेसिया छेउको इन्डोनेसियास्थित जाभा भएको आधुनिक विज्ञान (इन्डेक्स केवेन्सिस) ले पनि मानेको छ । मेचेलाई नेपालमा मात्रै मेचे भन्ने हो मेची नदीबाट । अन्यथा यसको भारतीय नाम बोडो हो, जसलाई चीनको फुजियान प्रान्तबाट आएको मानिन्छ ।

३) महाभारतकालमा आठ किराँत राज्य थिए भनी मार्कण्डेय पुराणले लेखेको छ । (चेम्जोङ पेज ७)

उक्त पुराणको कुन ठाउँमा लेखेको रहेछ पंक्तिकारले फेला पार्न सकेन । अर्थात् चेम्जोङले मार्कण्डेय पढेका छैनन् । त्यसमाथि महाभारतकाल पाँच हजार वर्षअघिको हो । र, मार्कण्डेय पुराण लेखियो २ हजार वर्षअघि । त्यति वर्षको ग्यापमा कति कुरा शुद्ध होलान् । बरु, मत्स्य र ब्रह्माण्डमा किराँत शब्द परेको छ लेखेको भए शुद्ध हुन्थ्यो ।

४) किराँत असुर जातिले आसाममा उत्तरबाट आएका चिनियाँसँग मिली राज्य खडा गरे । तिनको पहिलो प्रसिद्ध राजा नरकासुर थिए । उनको राजधानी प्राग्ज्योतिषपुर थियो । (चेम्जोङ पेज ८)

प्राग्ज्योतिषपुरका पहिलो राजा रामका नाति र कुशका छोरा अमूर्तराज थिए । यो रामायणमै छ । नरकासुरको कुरा गर्ने महाभारत र भागवत आदि रामायणभन्दा धेरै पछिका हुन् ।

५) जितेदस्तीको समयमा (लिम्बूहरूले) एउटा भेला गरी मुखियाहरूको सर्वसम्मतिले भाइफुट्टाहाङलाई आपmनो नेताका रूपमा ईशापूर्व पाँच सयमा चुने । (चेम्जोङ पेज १०)

यो भेन्सिटार्टको पुस्तकको पेज १३४ बाट सारिएको हो, जसको कुनै स्रोत छैन । त्यतिबेला हाङ शब्द जन्मिएको थिएन, किनभने सी ह्वाङ ती सम्राट भइसकेका थिएनन् चीनका । त्यसमाथि भेन्सिटार्टले पेज १३१ मा लिम्बूहरूलाई झगडालु भनेका छन् । यो भाइफुट्टाहाङ तिनले गरेको ठूलो व्यङ्ग्य हो भन्ने स्पष्टै छ । त्यति मात्र होइन, यही बानीले गर्दा उनीहरू रहेको भैरवनाथ गणलाई समेत अरूबाट टाढै राख्ने गरेको कुरा लेखेका छन् सोही पेजमा ।

६) चाणक्यको राजनीतिक चलाखीले उत्तर विहार र उत्तर बंगालका किराँत राजा प्रभातक मारिए । त्यसपछि किराँतहरू पहाड लागे । त्यसपछि तिनलाई मधेसिया किराँत वा काशी गोत्रका किराँत भनियो । (चेम्जोङ पेज ११) ।

जब कि पोरस -प्रभातेश्वर) किराँत थिएनन्, न तिनी पन्जाब छोडेर कहिल्यै मगध आए । बरु, आफैं चन्द्रगुप्त मौर्यका छोरा बिन्दुसारका समय मन्त्री सुबन्धुका हातबाट मारिए ।

७) पर्सियाबाट आई अप|mासियाबले तिरहुतमा आक्रमण गरी किराँत फौजलाई हरायो । (चेम्जोङ पेज १५) ।

अप|mासियाब फिर्दाैसीको शाहनामामा परेको एउटा बोक्सोरूपी बादशाही पात्रको नाम हो, जसको भौतिक अस्तित्वको पुष्टि आजसम्म भएको छैन । हकिम फिर्दाैसीको शाहनामा ईस्वीको १०१० मा मात्र लेखिसिध्याइयो र भारतमा मध्यएसियायी क्षेत्रबाट पहिलो हमला ईस्वीको ११९१ मा मात्र भएको मानिएको छ । शाहनामाको एउटा सदियौं पुरानो प्रति छाउनीको संग्रहालयमा छ पनि । अरू थप्नु परेन ।

८) ऋग्वेद -१०/९९/१०) ले प्राचीन युगमा असुर राजाहरूको उपनिवेश इन्डस उपत्यका र सौराष्ट्रमा थियो भनेर प्रमाणित गरको छ । -चेम्जोङ पेज ४५)

तर, १०औं मण्डल, ९९औं सूक्त, १०औं ऋचा भनिएको हो भने त्यो कुरा कतै छैन । त्यहाँ मात्रै होइन, अन्यत्र पनि छैन । चेम्जोङले ऋग्वेद पढेका छैनन् ।

९) किराँत मुन्धुमले भन्दछ- काचीनहरू (बर्माका) नेपाल तराईको सिमानगढ -सिङमाङगढ/सिमरौनगढ) बाट त्यतातर्फ लागेका हुन् । -चेम्जोङ लिम्बू शब्दकोश पेज ४ र किराँत इतिहास पेज ४८)

जबकि आजभोलि बारामा पर्ने यो ठाउँको नाम सिमरौनगढ हो । सिमरन शब्दबाट सिमल शब्द बन्दछ । सिमलको जंगलले भरिएको यस वनदुर्गको नामकरण सबै जान्दछन् एघारौं शताब्दीमा मात्र भएको हो, जब त्यहाँ नान्यदेवले राज्यस्थापना गरे ।

१०) शान जाति (बर्माका) दक्षिणतर्फ बढेर बर्माको मध्यमा शान सङ्घ खडा गर्‍यो । तिनको प्रमुखलाई शब्बा भनिन्थ्यो । त्यसैबाट सुब्बा शब्द आयो । (चेम्जोङ पेज ४८)

सबै जान्दछन् सुबह -इलाका/क्षेत्र) को प्रशासकलाई मुगलकालमा सुबहदार (गभर्नर) भन्ने चलन थियो । जहाँगिरको समयमा शाहजहाँ स्वयम् लाहोरका सुबहदार थिए, बादशाह हुनुअघि । सुबह शब्द बाबरले बर्माको भाग नटेक्दै बनिसकेको थियो । यसैबाट आएको हो सुब्बा । इन्डोनेसियाको प्रान्त सबाह पनि यसैगरी बनेको हो, जसको बर्मासँग कुनै सम्बन्ध थिएन ।

११) पृथ्वीनारायण शाहले सन् १७६८ मा किपट उन्मूलन गरिदिए । (चेम्जोङ पेज ८५) जुन वि.सं. १८३१ को सनदमा दिइएको कबुलअनुरूप थिएन । अर्थात् यही किपट नहुनु नै सबैभन्दा असन्तोषको विषय हो ।

तर १८३१ को सनदमा किपट शब्द कतै परेको छैन । यो पहिलो कुरा भयो । दोस्रो कुरा किपटको मूल रूप क्रितपत्र हो । अर्थात् किनिएको जमिन । यसैले किपट राई, लिम्बू आदि जातजातिको मात्रै हुन्थ्यो भन्ने कुरा होइन, बाहुन-क्षत्रीको पनि हुन्थ्यो । किनभने, किपट डोटी, बैतडी, अछाम, दैलेख, जुम्लामा पनि पाइएको छ ।

किपट भनेको छाप, बिरौटा, जागिरजस्तै जमिनको एक रूप हो । सामान्यतया किपट भन्नाले सिकार गर्न मिल्ने जंगलयुक्त पाखो भन्ने बुझिन्छ, खेतीपाती नगर्ने सिकार गर्ने जातजातिको । छाप भन्नाले सामान्यतया एक रुपैयाँ तिरेर छाप लगाई किनिएको जमिन हो । जसबाट डुकुछाप (पाटन), दिबानछाप (इलाम), भोटेछाप, सानीछाप, सुन्दरीछाप (तेह्रथुम), थोलेछाप, छापगाउँ, कार्कीछाप, ढुंगेछाप (भोजपुर), कार्कीछाप (खोटाङ), बाँचाछाप, बाग्रीछाप, भर्तीछाप, भोटेछाप, बोर्लाछाप, छुआनछाप (ओखलढुंगा) बन्न गएका छन् । बिरौटा भनेको प्रायः बाहुनका हुन्छन् । बँदेलको भाले (वीर) ले दाह्राले उधिनेको अर्थमा उधिनिएको, खनिएको, खोसि्रएको, खेत बनाइएकोबाट बिरौटा (बिर्ता) शब्द आउँछ । जागिर भनेको प्रायः क्षत्रीको हुन्छ, सैन्य भएबापत तलब दिनुनपर्ने उसले आयस्ता खान पाउने जमिन हो । पूर्वी नेपालकै मात्र कुरा गर्दा पनि जागिर भित्ता (उदयपुर), धनबहादुरको जागिर (मोरङ), जागिर गाउँ (धनकुटा), जागिरदारबारी (झापा) जस्ता ठाउँ अझै छन् ।

१२) स्रङचङ गम्पो (सातौं शताब्दी)का समय किराँत राजा हंसुदेव काठमाडौंको कोरी/कोली द्रङ्गस्थित किल्लाबाट राज्य गर्थे । द्रङ्ग अर्थात् दरबार अहिले बबरमहल भएको ठाउँमा थियो । (चेम्जोङ पेज ८९)

उनले हंसुदेव भनेका पात्र अंशुबर्मा हुन् । उनले कोरी भनेको ठाउँ कुरियागाउँ हो, जहाँ भर्खरै भित्रिएको मुरली मकै लगाउन थालेपछि बाँदरले दुःख दिन थाल्यो । रातबिहानै साराका साराले कुर्न थालेकाले कुरियागाउँ नाउँ रहन गएको हो । तर, यो जंगबहादुरको समयको कुरा हो अंशुबर्माको समय होइन । स्रङचङ गम्पोले नै अंशुबर्मापछि एक वर्ष कुरियागाउँमा बसेर नेपालको शासन गरेका थिएसम्म पनि लेख्छन् उनी । (चेम्जोङ पेज ८९)

र, के भने दरबारको पूर्वरूप द्रङ्ग होइन । पारसी शब्द दरको अर्थ भित्र हो । यसैले दरबारिया भन्नाले भित्रिया भन्ने हुन्छ । दरबार शब्द सत्रौं शताब्दीमा मुगल भारतबाट प्रचलित भएको हो । यसैले अबुझ वीरशमशेरले आफ्ना नौ घरका नाम प्रत्यय दरबार राखे पनि चन्द्रशमशेरले सिंहदरबार मात्र बनाए, अरू घरलाई महल नाम दिए । जुद्धशमशेर सिंहदरबारमा बसे । आफूले निर्माण गरेका घरहरूलाई भवन नाम दिए । तर, दरको मूल संस्कृत शब्द द्वार नै हो ।

१३) हर्षबर्धनपछि अर्जुनले चिनियाँ राजदूत वाङ हुयन त्सेलाई अपमान गरेकाले अर्जुनविरुद्ध स्रङचङ गम्पो र आसामका राजा भाष्कर बर्मा वा कुमारले सघाए । (चेम्जोङ पेज ९२)

अर्जुन होइन, अरुणाश्व हुन् । वाङ हुयन त्सेलाई अपमान गरेको होइन, चिनियाँ प्रतिनिधिमण्डललाई नै मारेकाले अरुणाश्वविरुद्ध चिनियाँ युद्धमा सन् ६४८ मा स्रङचङ गम्पोले सघाए । भाष्कर बर्माको हर्षवर्धनसँग मित्रता थियो अवश्य । तर, ६४७ मै हर्षवर्धन मरिसकेका थिए ।

१४) भृकुटी स्रङचङ गम्पोकी छोरी थिइन्, हंसुदेवसँग उनको विवाह भएको थियो । (चेम्जोङ पेज ९१) लेखिसकेपछि पेज १०० मा उनी फेरि जोड्छन्- स्रङचङ गम्पोले अंशुबर्माकी छोरी भृकुटीसँग विवाह गरेका थिए ।

अब हाम्रो परम्परागत इतिहासमा जाने हो भने यहाँ सोझै बाबुसँग छोरीको विवाह हुन पुगेको छ । अद्भूतरामायण (श्लोक २१६ र त्यसपछि) ले भनेजस्तो सीता रावणकी धर्मपुत्री नै सावित हुन पुग्छिन् । अरू विस्तारको जरुरी भएन ।

१५) लिम्बूहरू भनेका किराँत, चिनियाँ र शानमोकवान जातिको मिश्रण हो- चेम्जोङ लेख्छन् । किराँत राजा मोकवान शान -चेम्जोङ पेज १०४) ।

यहाँनिर शान मोकवान जाति र व्यक्ति दुवैको नाम बन्न पुगेको छ । यो आफैंमा अन्योल किन भएको हो भने शान जाति त्यहाँ अवश्य छ, तर मोकवान कतै छैन । किनभने, उनको शानमोकवानको प्रेरणा सेनमकवानी बुझिन्छ, जसको एउटा शाखाले विजयपुरलाई राजधानी बनाएर टिष्टा नदीसम्म शासन गर्‍यो । मकवानपुरमा सेन राज्य थियो नै ।

धर्मपाल, मगधका राजाले मिथिलाको शासन सन् ७७०-८१५ बीच किराँतहरूबाटै लिए ।(चेम्जोङ पेज १०४)

उनले यो ठाउँ भर्ने प्रयास गरेका छन् । किनभने, उनी जान्दछन् यो समय अन्धकार छ नेपालको इतिहासमा ।

१६) सुनीतिकुमार चटर्जी पनि भन्छन् अरमुडी संस्कृत शब्द होइन ।(चेम्जोङ पेज १३०)

अरमुडी संस्कृत नै हो । अरि (शत्रु) मुडी (मर्दन) गर्ने -चटर्जीले केराखेती नेपाली पहाडमा कोलीहरूले ल्याएका हुन् भनेका छन् एक ठाउँ । तर, केरा नेपालको रैथाने हो कसैले खेती गर्न सिकाउनु नपर्ने । पूर्वी पहाडका केही ठाउँमा केरालाई कोला भनिन्छ भन्ने जर्ज गि्रयर्सनको अनुसन्धानबाट थाहा पाएर उनले त्यसो भनेका हुन् । तर, नेपालको रैथाने वनकेरा (म्युसा बाल्वेसियाना) बाटै घरकेरा (म्युसा प्याराडिसिका) को विकास भएको हो । चटर्जी नेपालका कैयन् सन्दर्भमा आलोच्य छन् ।)

१७) घलेहरू वाषिर्क दौडका निम्ति जुटिरहेका बेला, द्रव्य शाह सुटुक्क लिगलिग दरबारभित्र पसे र खाली गद्दीमा बसे । उनीहरूले विजेतालाई गद्दीमा राख्न ल्याउँदा गद्दी खाली राख्नु हुँदैन भन्ने थाहा छैन ? भन्दै बसेको बस्यै गरिदिए । (चेम्जोङ पेज १३६)

सबै जान्दछन् द्रव्य शाहले दौडमा भाग लिएका थिए । र, दोस्रो कुरा घलेहरू त्यतिबिघ्न अबुझ पनि थिएनन् होला, चार सय वर्ष मात्र अगाडि जो नियम मिचेर गद्दीमा पहिल्यै बस्दैमा त्यसलाई मानिहाल्ने ? यसर्थ यो नितान्त पूर्वाग्रही लेखोट हो । यसै पनि जुन ठाउँमा उनको राज्याभिषेक भएको मानिन्छ, त्यो सानो जमिनको पाटो छ, ढुंगैढुंगाको थुप्रो भरिएको, त्यसलाई गद्दी मान्ने कुरै भएन ।

चेम्जोङकै शैलीमा जाने हो भने यतिबेला पनि सामान बोकेर पहाडी गाउँघर पुग्ने खच्चडहरूको लाममा नौओटाको छुट्टाछुट्टै जमात हुन्छ । सबैभन्दा अघिल्लो खच्चडलाई लम्बु भनिन्छ, सबैभन्दा पछिल्लोलाई घले । यो घले सधैं अन्त्यमा रहन्छ र आफूअगाडिका खच्चडलाई अनुशासित पनि गर्दछ । यो प्रचलनले घले दौडमा पछि नै थियो भन्ने पुष्टि हुन्छ । र, द्रव्य शाह घलेभन्दा धेरै अग्ला थिए भन्ने पनि ।

१८) मगर राजा बलिहाङले द्यौसीभैलोको चलन ल्याएका हुन् । (चेम्जोङ पेज १४३)

मगर परे गैरवैदिक, द्यौसीभैलो पर्‍यो तिहार अर्थात् सनातन चाडभित्रको एउटा रमिता । कसरी बलिहाङले ल्याए होलान् ? त्यसमाथि यो पाँच सय वर्षअघिका जुम्ली राजा बलिराज शाहीले युद्धखर्च उठाउन चलाएको भनेर बुझिँदै आइएको छ । बलिहाङलाई श्रेय दिने फिरंगी हेमिल्टन हुन् । गोराले बोलेपछि पाको भइहाल्यो ।

१९) हिन्दू धर्मप्रचारकहरूले पश्चिम नेपालमा हिन्दू धर्मप्रचार सुरु गरे । पाल्पाका शाह राजा हिन्दू हुने पहिलो थिए । उनको नाउँ चिल्लाराय थियो । (चेम्जोङ पेज १४७) लेखिसकेपछि उनको अर्काे पंक्ति छ – आसामका राजा शुक्लध्वजको नाउँ चिल्लाराय थियो । (चेम्जोङ पेज २३६)

अब यहाँनिर आएपछि कालिम्पोङमा जन्मेका ईसाई चेम्जोङको हिन्दूधर्मप्रतिको वितृष्णा र यो पुस्तक लेख्नुको उद्देश्य बुझ्न सकिन्छ- पहिलो कुरा । प्रेरणा हो उही फिरंगी हेमिल्टन । दोस्रो कुरा – चिल्लाराय लेखिए पनि मध्यनेपालका ठकुरीहरूले पूर्वज भनी नाम लिइने पात्र हुन् जिलाराय ।

अकबरले छोरी सदलसँग विवाह गर्न चाहेपछि जिलाराय उज्जैन हुँदै नेपाल पुगेको ठकुरीहरूको कथा पढ्न पाइन्छ । तर, अकबरको पूरा नाम जलालुद्दिन अकबर हो । उनले हिन्दू र मुसलमान धर्ममा निहित केही गुण समेटेर दीन-ए-इलाही मत प्रतिपादन गरेपछि उनलाई नै जिल-ए-इलाही भन्न थालियो ।(यही मतका विरुद्ध वैदिक सनातनीहरूले सत्यनारायण मतको परिकल्पना गरे) । त्यही हो, जिलाराय (उनको चिल्ला) नामको प्रेरणा र अकबरसँग जोड्ने हौसला । यो कथा हो यथार्थ होइन ।

२०) मुख्यमन्त्री बुद्धिकर्ण राई -चेम्जोङ पेज १५३), देवान बुद्धिकर्ण राई (चेम्जोङ पेज १५३) बुद्धिकर्ण राईले कामदत्त सेनको राज्य जफत गरेका थिए (चेम्जोङ पेज १५३) लेखिसकेपछि त्यस समयमा राजा बुद्धिकर्ण राई पहाडका राजाहरूमा अति चलाख थिए -चेम्जोङ पेज १९७) लेख्न कसरी मिल्यो ? विचित्र छ ।

विजयनारायण राईले राय पद दिएपछि यसरी मुरेहाङ खेवाङ लिम्बू त्यस्तो राय पदवी पाउने पहिलो पहाडी किराँत मुखिया बन्यो सोह्रौं शताब्दीमा -चेम्जोङ पेज १५४) ले आफ्नो कुरा कति हदसम्म काटेको छ, पत्तो छैन ।

२१) अर्का सेनापति टिपुटाका थिए । (चेम्जोङ पेज २११)

सिक्किमसँग नेपालको द्वन्द्व सन् १७७१ मा भएको थियो, नभन्दै त्यही वर्ष भारतको मैसुरका टिपु सुल्तानको इष्ट इन्डिया कम्पनीसँग पहिलो मैसुर युद्ध भएको थियो । यसबाट टिपुको प्रसिद्धि व्यापक भयो । चौथो मैसुर युद्धमा मारिएपछि उनका सन्तानलाई टाका -बंगाली मुद्रा) भत्ता दिई कलकत्तामा ल्याई अंग्रेजहरूले राखे ।

२२) तिनीहरूले गोरखालाई सत्रओटा युद्धमा हराए । त्यसकारण सिक्किमको सेनापति छ्योकथुक बारफोङलाई गोरखाद्वारा सत्राजित भनियो । लाप्चाहरूले उनलाई अथिङ(विजयी) भने ।(चेम्जोङ पेज २१५)

सत्रसत्रओटा युद्धमा हारेपछि गोर्खाली पक्षबाट पनि केही लेखिनुपथ्र्यो । आखिर कीर्तिपुरसँग दुईपल्ट मात्र हारेकोमाथि लेखिएकै थियो । तर, बारफोङसँगको द्वन्द्वबारे केही लेखिएन । किनभने, लेखिने कुरै थिएन ।

सत्राजित भागवतपुराणको एक पात्र कृष्णको ससुरा हो । छ्योकथुकको लेप्चा अर्थ योग्य र जिम्मेवार मात्र हो । विजयी पनि त्यस्तै हो । अर्थात् यी सबै विशेषण मात्रै भए नाम भएनन् । तर, जसले औरंगजेबको सेनापति रामसिंह द्वितीयलाई ब्रह्मपुत्रमा तीनपल्ट हरायो, ऊ अहोम् सेनापति लक्षित बाराफुकन हो । यो बाराफुकन यहाँ बाराफुङ हुन पुगेको छ । जुवा खेल्दा तीन पासा सुल्टो पल्टिँदा अंक ६+६+५≠१७ अंक पुग्यो भने खेलाडीले सत्रै पार्‍यो(जित्यो) भनिन्छ । तैपनि यो यति भयावह रूपमा अशुद्ध किन भएको छ भने स्रोत हुन् डेनियल राइट/भेन्सिटार्ट पेज १४९ जसको कुनै स्रोत छैन । यद्यपि, भेन्सिटार्टले पनि ती कथित लेप्चा सेनापति हारेकै कुरा लेखेका छन् – ‘बट हि वाज हिमसेल्फ इभेन्च्युअल्ली सब ड्युड ।’

२३) राजा भाष्कर बर्मा सातौं शताब्दीमा आसाम, नेपाल र उत्तरी बर्माका प्रसिद्ध राजा थिए । (चेम्जोङ पेज २३२)

त्यसो हो भने अंशुबर्मा, शिवदेव, नरेन्द्रदेवका पचासौं शिलालेख भेटिएको सातौं शताब्दीको भाष्कर बर्माको शिलालेखचाहिँ किन नभेटिएको हो ? अचम्मै छ ।

२४) किराँत जातिले अफगानिस्तानदेखि आसामसम्म शासन गरेको थियो । पछिबाट खस जातिहरू उत्तरबाट आएर किराँतहरूसँग युद्ध गरे । (चेम्जोङ पेज २३९-२४०)

खसहरू काबुलदेखि टिष्टासम्म छन् भनी एटकिन्सनले लेखेका थिए । यहाँ त्यही खस शब्द झिकेर किराँत शब्द ठ्याक्कै राखिएको छ । जब कि एटकिन्सनको लेखाइको यथार्थ के हो भने बडाखसान पर्दछ आजको अफगानिस्तानको उत्तरपूर्वी र ताजकिस्तानको दक्षिणपूर्वी भूभागमा । आज पनि अफगानिस्तानले त्यसलाई बडाखसान प्रदेश नाम दिएको छ र ताजकिस्तानले पनि बडाखसान प्रदेश नाम दिएको छ । करिब ६ हजार वर्षपहिले नै त्यहाँको अर्धबहुमूल्य पत्थर नृपोपल (लेपिस लाजली) विश्वभर छरिन्थ्यो । अहिले यहाँ खसबोधक खोसाजाति बस्दछन् ।

खासी पर्वत शृंखला छ बडाखसानको सुदूरपश्चिमतिर भारतको आसाममा । यहाँ बस्ने जातिलाई भनिन्छ खासी । मंगोल नश्लका हुन् । तर, तिनमा खसकै चलन छ- लासलाई जलाउने । यसैले खस एउटा संस्कृति मात्रै हो भन्नुपरेको । प्राचीन खसलाई मातृसत्तात्मक मान्ने हो भने खासी पनि मातृसत्तात्मक हुन् । यहाँका पुरुषलाई १९४४ सम्म मत हाल्ने अधिकार थिएन पनि ।

खसम भन्दछन् आफ्नो श्रीमान्लाई उत्तरभारतीय महिलाहरूले । यो मालिक/श्रीसम्पत्ति/संसारबोधक सम्बोधन हो । यसैबाट कसम -किरिया/शपथ) बन्दछ । जस्तो कि, नेवारहरूमा श्रीमान्श्रीमतीले एकअर्काेलाई बुझाउनुपर्दा जहान भन्ने चलन छ । पृथ्वी/संसारबोधक संस्कृतको ज्याबाट उर्दूको जहाँ र नेवारीको जहान बन्दछ । अर्थात् जसरी नेवार महिलाहरूले श्रीमान्लाई आफ्नो संसार ठान्दछन् त्यसैगरी कसम खानु कुरा नमिले संसारै सकियोस् भन्ने अर्थमा बनेको प्रतिक्रिया हो ।

अब द्रङ्गको अर्थः यही बडाखसानबाट अमुदरियाको उद्गम हुन्छ । दरियाको अर्थ नदी हो । तर, यही दरियाबाट भेग बुझाउने गरी अहिले पनि जुम्लामा असिदरा, पाँच सय दरा, सिञ्जादरा, चौधबीस दरा, कालिकोटमा कालिकोटदरा, बाह्रबीसदरा, रासकोटदरा, पलाँतादरा, सानीदरा, खालदरा, मुगुमा मुगुदरा, करानदरा, गमदरा, सत्याडदरा, हुम्लामा हुम्लादरा, गल्छादरा, सोलुदरा र डोल्पा जिल्लामा तिबि्रकोटदरा गरी १८ दरा अझै छन् । खासी हिल्सको उत्तरपट्ट िआसाममा दरङ जिल्लै छ । कास्कीको नाउँडाँडाबाट आधा घन्टाको दूरीमा दोरंगा भन्ने ठाउँ छ, जुन द्रङ्गबाट बिग्रेको हो ।

२५) उनीहरू राजा धनपालको नेतृत्वमा कोच राज्य स्थापना गरेको दाबी गर्छन् । (चेम्जोङ पेज २३९)

मोरङको कद्माहा गाविसमा धनपालको पोखरी भन्ने ठाउँ अवश्य छ । यस पोखरीको किनारमा रणपालको मन्दिर छ । दिल्लीबाट आएका अल्लारुदलले रुदललाई लिएर सुल्तानकहाँ गएको लोककथा पनि प्रचलित छ, जसको यथार्थ यस्तो हो –

आल्हा र उदाल (अल्लारुदल) महोवा राज्यका सेनापतिहरू हुन्, जसको विरोचित मृत्यु दिल्लीका शासक पृथ्वीराज चौहानसँगको लडाइँमा सन् ११८२ मा भयो । महोवा राज्य पर्दछ बुन्देलखण्डमा र बुन्देलखण्ड पर्दछ वर्तमान भारतको उत्तरप्रदेश र मध्यप्रदेशबीच । यसैले अल्लारुदलको प्रसंग कर्खा/वीरगाथा/सागा हो । तर रामपाल ठ्याक्कै सोही वर्ष अर्थात् सन् ११८२ मै मगधका सम्राट भए बंगाली पाल साम्राज्यअन्तर्गत । मगध पर्दछ मोरङको दक्षिणमा नेपालको सीमापारि । बंगाली पाल साम्राज्य भनिएकाले उनले ‘कोच’ थपिदिएका छन् । तर, यो कथाका धनपाल कोच होइनन् । यो समय नेपालको इतिहासमा अन्धकार रहेको जानेका चेम्जोङले ‘खाली ठाउँ भर’को नीति लिएका छन् ।

२६) ईशापूर्वको छैटौं शताब्दीतिर हुक्काङको लडाइँमा हारेर छरिएका १० लिम्बू सरदारले फिदिमको गढीगाउँस्थित आम्बे पोजोलाई जन्म दिए भन्ने चेम्जोङको लेखाइलाई एक लिम्बू विरही काइँलाले नै (१९९०) मा यो भ्रामक कुरा हो, भेन्सिटार्टको गन्थनबाट टिपेर बनाइएको हो भन्दै सो घटना विसं १८३० तिरको हो भनी लेखिसकेका छन् ।

२७) चेम्जोङले एक ठाउँ वाणले हानेर जितेको देशलाई लिम्बूवान् भन्ने अर्थ लगाएका छन् । त्यो विनाप्रमाणको अर्थलाई अर्का लिम्बू काजीमान कन्दङवाले किराँतेश्वर सन्देशमा खण्डन गरेका छन् ।

पुछारमा उनले प्रशस्त ठाउँमा आफैलाई उद्धृत गरेका छन् । स्रोत नदिएका फिरंगीहरूलाई लिएका छन् । र, तिब्बती स्रोतहरू कहाँ छन् कतै स्पष्ट छैन । उनकै आधारमा पछिबाट अरु धेरैले लेख्दै गएकाले अशुद्ध भएको हो । तैपनि इतिहास नै आफ्नो विषय परेका विज्ञहरू किन आजसम्म चुप भएका हुन् ? रहस्यमय छ ।

प्रकाशित मिति: २०७० मंसिर १६ ११:४५

– See more at: http://www.ekantipur.com/np/2070/8/16/full-news/380031/?utm_source=dlvr.it&utm_medium=twitter#sthash.x4Nc4V2n.dpuf

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *